
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई चुनाव लागेको छ । यसपटक महासंघका नेतृत्वका लागि हुने निर्वाचनमा कम्तिमा पदाधिकारीमा सर्वसहमति जुटाउने प्रयास शुरु भएको छ । तर ४ पदका लागि एक दर्जनभन्दा बढी आंकाक्षी भएकोले सहमति जुट्न कठिन देखिन्छ ।
वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने व्यवस्था भएकोले महासंघको चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति ३ वर्षपछि अध्यक्ष हुने भएकोले पनि यो पद पाउन महासंघभित्र कडा प्रतिष्पर्धा हुन्छ ।
वरिष्ठ उपाध्यक्षका आकांक्षीमा चन्द्रप्रसाद ढकाल र किशाेर प्रधान अगाडि देखिएका छन् । ढकाल महासंघमा एसोशिएट समूहको उपाध्यक्ष हुन् भने प्रधान जिल्ला नगर समूहको उपाध्यक्ष हुन् ।
सोही पदका लागि उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठ पनि आकांक्षी हुन् । उमेशलाल हाल वस्तुगत समूहको उपाध्यक्ष हुन् भने दिनेश पूर्व उपाध्यक्ष तथा प्रदेश ३ उद्योग वाणिज्य संघको सभापति हुन् ।
सबैलाई मिलाएर नेतृत्व गर्ने क्षमता भएको, यसअघि पनि एशोसिएट उपाध्यक्षमा सर्वसहमत चुनिएकाले अन्तिम समयसम्म ढकाल वरिष्ठ उपाध्यक्षमा सर्वसहमत हुन सक्ने अनुमान गरिएको छ । तर महासंघका पूर्व अध्यक्षहरु बीचको इगो टसलका कारण सहमति नजुट्न पनि सक्छ ।
एसोशिएट उपाध्यक्ष पदमा कम आकांक्षी छन् । सौरभ ज्योति यसपाली सर्वसहमतिमा एसोशिएट समूहको उपाध्यक्ष बन्ने सम्भावना बढी छ । यस समूहको उपाध्यक्षमा शाहिल अग्रवालको पनि दाबी छ । तर उनको दाबी अर्को पटक उपाध्यक्ष हुने धरातल बनाउनको लागि मात्र आएको जानकारहरु बताउँछन् ।
वस्तुगत समूहको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ र कमला श्रेष्ठले चाहाना राखेका छन् । सहमतिको वातावरण बन्दा अन्जन सर्वसहमत हुन सक्छन् भने चुनावै हुँदा पनि अन्जन बलियो उम्मेदवार हुन् ।
पदाधिकारीतर्फ सबैभन्दा बढी आकांक्षी जिल्ला नगर उपाध्यक्षमा देखिएका छन् । कार्यसमिति सदस्य अरुण सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कार्यसमिति सदस्यहरु गुणनीति तिवारी, दिलसुन्दर श्रेष्ठ पनि जिल्ला नगर उपाध्यक्ष बन्न दौडधूपमा लागेको छ । दिनेश श्रेष्ठ र डीवी बस्नेतलाई पनि जिल्ला नगर उपाध्यक्षको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । आकांक्षी धेरै नै भएकोले जिल्ला नगर उपाध्यक्षमा सर्वसहमति जुट्ने सम्भावना कम छ ।
आगामी चैतमा ५ पदाधिकारीसहित ७० पदको लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष पदमा लागि प्रत्यक्ष निर्वाचन हुन्छ भने कार्यसमितिबाट कोषाध्यक्ष चयन हुन्छ ।
‘वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा सर्वसहमति हुन पनि सक्छ, हामी त्यसतर्फ कसरत गरिरहेको छौं’ महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने–‘सर्वसहमतिमा चुनिदा नेतृत्वको भूमिका प्रभावकारी हुन्छ । निजी क्षेत्र मिलेर अगाडि बढेको सन्देश पनि जान्छ ।’