३ महिनादेखि रोकिएको नलगाड जलविद्युत् आयोजनाको काम अघि बढ्यो
जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति (एमओयु) भएपछि तीन महिनादेखि रोकिएको काम शुरु भएको हो । सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम शुरु भएको छ । सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको थिएन । सेनाको अडानपछि करीब तीन महीना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो । आयोजना र सेनाबीच सहमतिपछि नलगाड नगरपालिका–७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम शुरु भएको छ । त्यस्तै विद्युत् उत्पादन गृहको भूमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउने काम पनि शुरु भएको छ । सम्झौतामा विस्फोटनमा खटिएका सेनाको बीमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा आयोजनाले उपलब्ध गराउने सहमति भएको छ । सेनासँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका दुई हजार ७०० ‘होल’ विस्फोट हुन नसकेर काम रोकिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए । सम्झौतापछि अहिले तीव्ररुपमा काम अगाडि बढेको छ । ड्रिफ्ट टनेल टेस्ट कार्यमा विस्फोटन नहुँदा डिपिआर अलपत्र परेको आयोजनाका इञ्जिनीयर थापाले बताए । नलगाड जलविद्युत् आयोजनाको डिपिआर, पहुँचमार्ग, मुआब्जा वितरण, कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्यमा ढिलाइ भएको थापाले बताए । कम्पनीको डिपिआरमा ढिलाइ हुँदा आयोजना नै अलपत्र पर्ने हो कि भन्ने शङ्का बढेको थियो । डिपिआर शुरु भएको ३२ महीनामा ६५ प्रतिशत काम मात्र पूरा हुँदा स्थानीयस्तरमा यस्तो शङ्का गरिएको थियो । ३० महीनामा सम्पन्न गर्ने सर्तसहित अष्ट्रेलियाका स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले बताए । परामर्शदाता कम्पनीले विद्युत् उत्पादन गृहमा ३४५ मिटर भूमिगत सुरुङ नमूना परीक्षणको काम गर्नुपर्नेमा अहिलेसम्म १५५ मिटर मात्र सुरुङ निर्माण भएको छ । बारेकोट गाउँपालिकाको अधेरीखोलामा रहेको बाँधस्थलमा २४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य पनि शुरु हुन सकेको छैन । डिपिआर गर्ने समय अवधि गत मङ्सिरमा सकिएपछि छ महीना थप गरी काम गरे पनि कामले गति नपाउँदा जिल्लावासी चिन्तित भएका थिए । यो आयोजनाबाट ४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विज्ञका अनुसार आयोजनाबाट ६०० मेघावाट विद्युत् उत्पादन गर्न सकिने दाबी छ । जाजरकोट, रुकुम र डोल्पामा निर्माण हुन लागेका विद्युत् आयोजनाको विद्युत् सव स्टेशनका लागि सरोकारवाला निकायले नलगाड नगरपालिका–७ दानीपिपलमा जग्गा अधिकरणको काम शुरु गर्ने बताएको छ । उत्पादन कम्पनी, ग्रेट कम्पनी, नलगाड जलविद्युत् आयोजनाका अधिकारीले दानी पिपलमा जग्गा हेरेर उपयुक्त भएको भन्दै केही दिनमा जग्गा अधिकरण गरिने इञ्जिनियर पदम थापाले बताए । जग्गा अधिकरण गरेपछि ४०० केभी प्रसारण लाइनका वितरण केन्द्र निर्माण हुनेछ । त्यसबाट डोल्पाको जगदुला हाइड्रोपावर, रुकुमको उत्तरगङ्गा, जाजरकोटको नलगाड जलविद्युत् आयोजना, भेरी ए, बी, सी, र डाँडागाउँ चिसापानी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने योजना छ । रासस
१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु
दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोश्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनले भने, “ठेक्का सम्झौता भएबमोजिम काम शुरु गर्नका लागि कम्पनीका कामदार परिचालन भएका छन् ।” आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा सम्झौता भएको थियो । अधिकारीका अनुसार आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागिसमेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ । उनका अनुसार ट्रान्समिसन लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ । नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्यौल सिर्जना भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो । सरकारले मेलम्चीमा सिएमसीसँगको ठेक्का तोडिसकेको छ । काममा फर्कने भन्दै स्वदेश फर्किएका कम्पनीका ठेकेदार हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । “उहाँहरुलाई दिएको समयावधि बाँकी छ, त्यसबेलासम्म कुर्छौँ त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ”, अधिकारीले भने । पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो । थप जग्गाका लागि साढे सात करोड मुआब्जा आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाका लागि सात करोड ५० लाख मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । प्रभावित ६२ घरपरिवारमध्ये ४३ ले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु आठ करोड विनियोजन गरेको छ । आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एशियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैँक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । रासस
विस्थापित नगरी आन्तरिक परीक्षामा सहभागी गराउन माग
काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति-२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन चाहाने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्नपनि माग गरेको छ । समितिका संयोजक हेमनाथ चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाईने बताए । उनले भने,‘यदि सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्यो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं ।’ उनले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्नेमा जोड दिए । उनले भने,‘अघिल्लो पटक आन्तरिक परीक्षामा सहभागी हुनबाट बञ्चित गराईएकाहरुलाई पनि पुनः आन्तरिक परीक्षामा सहभागी गराउनु पर्छ ।’ कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपालबहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ । समितिले यही माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन, फागुण १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रमपनि राखेको जानकारी दिएको छ ।
जमीन बाँझो राख्नु भएको छ ? ३ लाखसम्म जरिवाना हुने कानून आउँदैछ !
काठमाडौँ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसदमा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसदमा दर्ता भएको हो । सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन् । सरकार गठन भएको झण्डै एक वर्षपछि संसद्ले “भूउपयोग ऐन, २०७५” पारित गर्दै छ । आगामी फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्दैछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जीशीले वर्षेपिच्छे खेतीयोग्य जमीन बाँझो हुनेक्रम बढ्दै गएकाले सरकारले उक्त ऐन बनाउन लागेको जानकारी दिए । संसदमा भने उक्त ऐन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले पेश गरेको हो । नेपाललाई कृषिप्रधान देश भनिन्छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । सरकारी तथ्याङ्कअनुसार गतवर्ष दुई करोड ६० लाख रोपनी जमीन बाँझो थियो । हाल झण्डै तीन करोड रोपनी जमीन बाँझो रहेको अनुमान विज्ञहरुको छ । हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा खेती गरिँदै आएको छ । एक हेक्टर भनेको २० रोपनी जमीन हो । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रम (बजेट) मार्फत आगामी पाँच वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना पेश गरेका थिए । सरकारको बजेट पेश भएको वर्ष राज्यले दुई खर्बको चामल आयात गरेको थियो । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महीनामा नेपालले जिउँदो तथा खान तयारीयोग्य माछा ४२ लाख ८९ हजार ७३८ केजी र पक्षीको मासु (कुखुरा, हाँस, टर्की र अष्ट्रिच) भेँडा तथा अन्य जनाबरको मासु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबर आयात गरेको छ । व्यापार घाटा कम गर्ने प्रमुख अस्त्र कृषि हो । त्यसैले कृषिमा विभिन्न थरीका अनुदान दिने व्यवस्था छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार मुलुकको व्यापारघाटा १२ खर्ब पुगेको छ । कृषिमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन सक्दा धेरैहदसम्म व्यापार घाटा कम गर्न सकिन्छ । “भूउपयोग ऐन, २०७५” को मस्यौदामा भूमिको वर्गिकरण, समूचित उपयोग र प्रभावकारी व्यवस्थापनबाट कृषिमा देखिएको परनिर्भरता घटाउन सकिने उल्लेख छ । ऐनको मस्यौदामा भूमिको वर्गिकरण १० प्रकारले गरिएको छ । जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक छन् । सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिीकीकरणमार्फत कृषिमा देखिएको परनिर्भरता कम गर्ने बताउँदै आएको छ । सरकारले अघि सारेको करार, सहकारी र सामूहिकखेती प्रणाली प्रभावकारी हुनसकेको छैन । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले करार खेती गर्न चहानेलाई भने जति जमीन उपलब्ध गराउन नसकिएको बताए । उनले भू–माफियाले जमीनलाई खण्डीकरण गरी जथाभावी रुपमा खेतीयोग्य भूमि घडेरीमा परिणत गरिसकेकाले व्यावसायिक खेतीमा लगानी गर्न चहानेलाई पछिल्लोपटक जमीन उपलब्ध गराउन नसकेको हुँदा कृषिमा ठूला लगानी भित्र्याउन नसकेको बताए । सरकारले गत वर्षदेखिनै सामूहिक, करार र सहकारी खेतीको अवधारण अघिसारेको थियो । तर, ऐन नभएका कारण कार्यान्यनमा आउन सकेन । यद्यपि भारत, चीन, भियतनाम, बङ्गलादेश, लगातयका मुलुकमा भने करारखेती सफल मानिएको छ । सरकारले कृषि अनुदानमा बढोत्तरी गर्दै लगेको छ । सस्तो ब्याज दरमा कर्जा लगानी गर्ने नीति कार्यान्यनमा ल्याएको छ । थोरै भए पनि रासायनिक मलमा अनुदानको व्यवस्था छ । तर युवा जमात कृषिमा आर्कषित हुनसकेको छैन । राज्यले कृषि मजदुर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानलाई जमीन उपलब्ध गराउन सकेको छैन । छैठौं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । सो गणनामा ७१ प्रतिशत जनता पूर्णकालिन कृषक रहेकोमा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मानिर्भर छन् भने ४२ प्रतिशत कृषकले कृषि ऋण पाउन नसकेको उल्लेख छ । रासस
उन्नती माईक्रोफाईनान्सकोे साधारणसभाबाट ४० % बोनश सेयर स्वीकृत
भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा अवस्थित उन्नती माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले शनिबार चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिको माघ ३ गते बसेको एक सय २५ औं बैठकको निर्णय अनुसार संस्थाले २६ गते चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले पाँच वटा सामान्य र सात वटा विशेष प्रस्ताव पास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले जानकारी गराए । पाठकले उपलब्ध गराएको जानकारी अनुसार चुक्तापुँजीको दुई दशमलव १३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस स्वीकृत गरेको छ । त्यसैगरी उक्त साधारणसभाले ४० दशमलव ५० प्रतिशत बोनस सेयर, संस्थाको नाम संशोधन, ५ः१ को अनुपात अर्थात २० प्रतिशत हकप्रद सेयर जारी, अधिकृत, जारी र चुक्तापुँजी बृद्धि, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती, संशोधन तथा परिमार्जनमा सञ्चालक समीतिलाई अख्तियारी र मर्जर तथा गाभ्ने/गाभिने, प्राप्ती गर्ने वा प्राप्ती हुन जान आवश्यक काम कारवाहीको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सात वटा विशेष प्रस्तावहरु पारित गरेको छ । ४४ करोड ५१ लाख निक्षेप संकलन गरी एक अर्ब ३६ करोड कर्जा प्रवाह गरेको संस्थाले हाल ३९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।
सहयोगी विकास बैंकले तीन चक्के सवारीमा लगानी गर्ने, ६० % कर्जा दिने
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा ललितपुरमा दर्ता भएको जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रालिको तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरे । यो संझौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । तर, कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो संझौतामा उल्लेख छ । कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ । जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत संझौतामा उल्लेख छ । कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ । यो संझौता २०७७/०९/३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो । बैंकको यो लगानीबाट आर्थिक अवस्था कमजोर भएका मेहनतीहरुले टेम्पो सेवा सञ्चालन गरी उनीहरुको समृद्धिमा टेवा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत रिजालले लिए । आफ्नो सेवाकालको १६ औं बर्षमा हिडिरहेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकले यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ । सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको यो बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । त्यस्तै बैंकले पुस मसान्त सम्मको बासलातअनुसार २९१ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । गएको १ बर्ष भित्र बैंकले एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत ३ वटा शाखामार्फत एटीएम सुविधा उपलब्ध गराउदै आएको छ । थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा बैंक रहेको छ । त्यसका साथै बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ । ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म ४ अर्ब ३४ करोड ६८ लाख निक्षेप संकलन गरी, ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । बैंकमा हाल ८५,००० जना ग्राहकहरु रहेका छन् ।
उपत्यका सहित देशैभर हिमपातः आइतबारदेखि मौसममा सुधार
काठमाडौँ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, विराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि अहिले केही स्थानमा आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ । आज काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ । पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौसमविद शान्ति कँडेलले बताए । “अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–उनले भने । यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ । रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । दामनमा चर्को हिमपातः हिउँ खेल्दै रमाउँदै पर्यटक दामन । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो । आज बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । “यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ”, स्थानीय विजय कार्कीले भने, “हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।” कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् । हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षात्का कारण यतिबेला यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत्को अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ । दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौँबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुग्नुभएका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए । फुसफुस झर्दै गरेको हिउँको अनुभव उनले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साटे । “कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखेँ”, उनले भने, “हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।” उनका अनुसार शुक्रबार राति असिना पानी प¥यो त्यसपछि लगातार हिउँ पर्न थाल्यो । विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एशोसिएशनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताए । होटलको कोठाबाट बाहिर निस्कदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए । एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ । दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिए । राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । राजधानीको दक्षिणकाली, फाखेल हुँदै कुलेखानीको बाटो मार्खुभञ्ज्याङ हुँदै दामन पुगेर पनि हिउँको मज्जा लिन सकिने स्थानीय बताउँछन् । दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् । समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ । हिन्दू र तथा बौद्धमार्गीको वासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनी ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । हिउँ परेपछि आएर रमाइलो गर्ने पर्यटकले स्थानीयले निर्माण गरेका होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् । हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ । केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ । लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उनको भनाइ थियो । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । हिमपातका कारण आवतजावत गर्न कठिन भएकाले अन्य स्थानभन्दा उपल्लो डोल्पावासीमा समस्या बल्झिएको छ । त्यस्तै रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ । अघिल्ला वर्षहरुमा पुस माघमा मुस्किलले एक दुई पटक हिमपात हुने गरे पनि यस वर्ष लागातारको हिमपातले स्थानीयवासी त्रस्त भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए । “हिजो राति शुरु भएको हिमपात अहिले पनि जारी छ, भिरालो जमीनमा बस्ती भएकाले ढुङ्गा तथा पहिरो खस्छ कि भन्ने डरले गाउँवासी नै डराएका छन” उनले भने । पटक–पटकको हिमपातले लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि बड्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प हुनाका साथै घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्र÷बाहिर गर्न, धारा–पँधेरो पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ थियो । वर्षात्सँगैको हिमपातका कारण गाईवस्तु चर्ने डाँडाकाँडा हिँउले छोपिएको र हिउँदको समयका लागि भण्डारण गरेर राखिएका घाँसपातसमेत सकिएको ठूलीभेरी नगरपालिका निवासी अमर कठायतले बताउनुभयो । शुक्रबार रातिदेखि शुरु भएको हिमपात अहिलेसम्म रोकिएको छैन । लगातारको हिमपातका कारण कर्णालीको तापक्रम शुन्यभन्दा कम भएकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । कर्णालीका चारै विमानस्थल बन्द शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् । हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ । लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ । विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन । जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । “डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनौँ”, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भन्नुभयो । “आज फेरि हिउँ परेकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदल जाने तयारी गर्दैछौँ”, उनले भने । लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ । हिमपातले कर्णालीमा पानीको बहाव घट्यो हुम्ला । लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ । नाम्खा गाउँपालिका-६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उनले भने । उनले यसबारे मुचु-६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताए । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भने । हावाहुरीले छात्रवासको छाना उडायो जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ । छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका छन् । हावाहुरीले १२ कोठे भवनको छाना उडाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । यस्तै हावाहुरीले मानसरोवर माविको छानोसमेत उडाएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।
बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको आकर्षण पानी सोस्ने ब्लक
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य आकर्षण पानी सोस्ने ब्लक देखिएको छ । नेपालमै पहिलो पटक मानिस हिड्ने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकप्रति अवलोकनकर्ताको आकर्षण देखिएको हो । गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले नेपालमै पहिलो पटक यस्तो ब्लकको उत्पादन थालेको थियो । उक्त स्टलको मिस नेपाल श्रृंखला खतिवडाले समेत अवलोकन गरेकी थिइन् । हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर, उत्पादन गरिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने उत्पादनकर्ता गोर्खा प्रिकाष्ट एण्ड विन्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर राजन दुवालले बताए । आफूहरुबाट उत्पादिन यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइएको जनाइएको छ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ । काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्टे«न्ठ (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफ्नो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ । ब्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइएको जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ ।