विकासन्युज

मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो चल्ती र बचत खाता, दुर्घटना मृत्यु बीमा साथै विनाधितो कर्जाको सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा नीजि कम्पनी लगायत प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण संघ/संस्थालाई लक्षित गरी उक्त दुई खाता सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १००० रुपैयाँमा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ । साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १०० रुपैयाँमा संस्थाका कर्मचारी तथा व्यक्तिगत सदस्यहरुले खाता खोल्न सक्ने छन् । यस खाता खोलेका व्यक्ति तथा संस्थाका कर्मचारीले ७ लाख रुपैयाँको दुर्घटना मृत्यू बीमाको सुविधा पाउने छन् । यसका साथै, कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुनकम हुन्छ, सो बराबर हुने गरी विनाधितो कर्जा सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क अन्तर शाखाकारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधातथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड प्रदान गरिनेछ । यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।

आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, वित्तीय क्षेत्रमा २७ वर्षको अनुभव

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह यहि पौष ३ गते बिहिबार हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह पौष ३ गते पुल्चोक क्याम्पसको खेलमैदानमा हुने भएको हो। यस्तै मंसिर २५ गते देखि पौष २ गते सम्म त्रि.वि परिक्षण नियन्त्रण कार्यलय (पनिका)बाट विद्यार्थीहरुले गाउन, टोपी र स्कार्फ लिन सक्नेछन्।  गाउन बिदाको दिन पनि वितरण गरिने पनिकाका सहायक डिन घन्श्याम ठाकुरले बताए। गाउन लिनको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म अनिवार्य ल्याउनुपर्नछ। साथै दिक्षान्तको समारोहमा प्रमाणपत्र प्राप्त गर्नको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त भएको सरोमोनी स्लिप लैजानुपर्छ। उक्त दिन प्रमाणपत्र नपाएका विद्यार्थीहरुले वा फारम भएर सहभागी हुन नपाएका विद्याथीहरुले त्रि.वि परिक्षण नियन्त्रण कार्यलयको कोठा नं ३ बाट प्राप्त गर्न सक्नेछन्।  

चिलिमेकोे २५ प्रतिशत लाभांश पारित, निर्माणाधिन तीन आयोजनाको ५० देखि ८५ प्रतिशत काम सम्पन्न

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रस्तावित २५ लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस पाउने भएका छन् । चार अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयरपछि पाँच अर्ब ७० करोड रुपैयाँ नाघेको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ लाख ७२ हजार अधिक यूनिट सहित ६ करोड ३५ लाख १२ हजार यूनिट विद्युत बिक्री गरेको छ । जसबाट कम्पनीले ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, व्याज आम्दानी २ करोड १४ लाख समेत गरी कम्पनीले ५० करोड ४ लाख रुपैयाँ आय आर्जन गरेको छ । सो अवधिमा चिलिमे जलविद्युत केन्द्रको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको सञ्चालन तथा सम्चार खर्च २ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यस कम्पनी अन्तर्गतका जलविद्युत कम्पनीहरु मार्फत तीन निर्माणाधिन आयोजनाहरुको हालसम्म ५० देखि ८५ प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको छ ।सान्जेन तथा सान्जेन(माथिल्लो) जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भईसकेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको निर्माण काम ७२ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ । यी तीन वटै आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सम्पन्न गर्ने चिलिमेको लक्ष्य रहेको छ ।

मालपाेतकाे बिचाैलिया हटाउन अब अनलाइनबाटै लालपुर्जा

डाेटी ।  मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्ण शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताएका छन् । उनले भने, “पहिलोपटक अनलाइनमार्फत सेवा शुरु गर्यौँ र पहिलो सेवाग्राही शाही भएका छन् ।” पहिलो सेवाग्राही भएका शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गरेको मालपोत कार्यालयले जनाएको छ । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताएका छन् । उनले भने, “अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।” यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ । रासस

उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री गुरुङ

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकास अपरिहार्य भएकोमा जोड दिएका छन् । स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रबर्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रबर्धनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रबर्धन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

इयुहोफा सम्मेलन आजबाट, विश्वभरिका ७० पर्यटन शिक्षासम्बद्ध विज्ञ नेपालमा

होटल स्कुल एसोसिएसन (इयुहोफा)को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखिदेखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपालले गर्न लागेको यस कार्यक्रम एसियामै पहिलोपटक हुन लागेको हो। यस भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । उक्त कार्यक्रम सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको थियो । यसरी, काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन्। पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन शुरु भएको केही दशक मात्र भएको छ। तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो। यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन्। नेपालको आयोजना किन महत्त्वपूर्ण छ ? अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मिक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो। युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो।  

यसअघि कसैले नगरेकाे काम हामीले गरेका छाैं, कम्तिमा ५० वटा गाेल्डमेडल जित्छाैं- रमेश सिलवाल

रमेश सिलवाल- सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी हामीले भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । हामीले २८ वटा खेलमा २५ वटाको स्थान तयार गरिसकेका छौं । हाम्रो हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा छौं । खेल मैदान अझै तयार भईसकेको छैन नि ? पूर्वाधार बनेन भनेर कुनै पनि खेल रोकिने अवस्था आउने छैन । ११ गते रातीसम्म सबै काम सम्पन्न गरिसक्ने छौं । १२ गते १ बजे सम्पूर्ण तयारी पूरा गरेर सबै तयारी पूरा भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । पूर्वाधार बाहेकको तयारी कस्तो छ ? पूर्वाधार बाहेक हामीले अन्य सबै तयारी गरिसकेका छौं । जस्तै, हामीले काठमाडौंमा १२५ वटा होटल, पोखरामा ३५, जनकपुरमा १५ वटा होटल बुक गरिसकेका छौं । पत्रकारहरु बाहेक ५४०० व्यक्तिको लागि हामीले सिंगल र डबल गरेर ३२०० बेड बुक गरेका छौं । कति खेलाडी सहभागी हुँदैछन् ? खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् । नेपाली खेलाडीहरुको तर्फबाट कस्तो तयारी भइरहेको छ ? खेलाडीहरुको तर्फबाट तयारी एकदम राम्रो भईरहेको छ । मैले उनीहरुलाई नजिकबाट हेरेको छु । म आउनुभन्दा अगाडी असार मसान्तसम्म १३ वटा खेलको बन्द प्रशिक्षण रहेको थियो । म आएपछि हामीले साउनदेखि बाँकी खेलको बन्द प्रशिक्षण गरायौं । हामीले कम्तिमा पनि हरेक खेलको ४ देखि ५ महिनाको बन्द प्रशिक्षण पहिलो, दोस्रो र तेस्रो ३ चरणमा विभाजन गरि गराएका छौं । यस्तै, बाँकी खेलका खेलाडीलाई विदेशमा लगेर प्रशिक्षण गरायौं । त्यसको मुख्य उदेश्य भनेको एउटा राम्रो प्रशिक्षकबाट प्रशिक्षण गराउनको साथै, एक्सपोजर म्याच, प्रयाक्टिस म्याच तथा एक्र्टनर कम्पिटिशन गराउनु थियो । अहिले हामीले दिएको प्रशिक्षणको नतिजा पनि देखिन थालेको छ । जस्तै, हामीले भलिबल प्रतियोगितामा स्वर्ण पदक, फुटबलमा रजत पदक जितेका छौं । भुटानमा भएको गल्फमा रेकर्ड बे्रक गर्दै स्वर्ण पदक जित्यौं । अहिलेसम्म नजितेको कराँते प्रतियोगितामा चीन खेलेर १ रजत र ३ कास्य ल्याउन सफल भयौं । त्यसैगरि बाङलादेशमा भएको तेकोन्दोमा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक ल्याउन सफल भयौं । यी सबैले प्रशिक्षण प्रभावशाली भएको देखिन्छ । सागका नतिजामा नेपालको स्थान के होला ? सागको नतिजा राम्रो आउँछ । हामीले दोस्रो हुने तरिकाले तयारी गरेका छौं। न्युनतम ५० वटा स्वर्ण पदकको हामीले अपेक्षा गरेका छौं । तपाईको भनाईहरु जोशिलो छ र सुन्दा आनन्द पनि लाग्छ । तर नतिजा चाहि निराशाजकन आउने हो कि ? अहिले तपाईहरुलाई मैले हचुवाको भरमा र झुटो बोलेको जस्तो लाग्ला । मैले भरोसा गर्न भनेको प्रशिक्षक र खेलाडी र संघहरुसँग हो । उहाँहरुसँग लिएको रिर्पाट अनुसार हामी ५० भन्दा बढी स्वर्ण जित्छौं । अझै प्याराग्लाईडिङ खेल हुने भएमो भए ५ वटौ स्वर्ण हाम्रो हुन्थ्याे । तर त्यसमा अन्य देशले सहभागि गरेनन्। जम्मा ३४९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन्छ । त्यसमा ५० हाम्रो पक्का हो । अफगानस्थान किन सहभागी नभएको हो ? १२ औं सागमा अफगानस्थानको सहभागी थियो तर त्यसपछि उ अर्को जोनमा गयो । हामीले यहाँ गेम गराउने कुरा थाहा पाएपछि उनीहरुले सहभागी जनाए । तर हाम्रो सेड्युल बनिसकेकोले हामीले १० खेलमा मात्र खेल्न दिन सक्ने बतायौं तर उनीहरु यसमा सहभागी हुन चाहेनन् । यो सागभित्रको अर्थतन्त्र कस्तो छ ? कति बजेटमा काम भईराखेको छ ? झट्ट हेर्दा यो खर्च जस्तो देखिन्छ किनभने हामीले पूर्वाधार बनाउन र खेल खेलाउनको निम्ति करिब ५ अर्ब बजेट विनियोजित छ । तर यो खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ । कसरी भन्दा अहिले हामी भिजिट नेपाल २०२० को संघारमा छौं । हामीले यस पटक विदेशी च्यानलहरु ल्याएर हाम्रो खेलहरुको प्रत्यक्ष प्रसारण गर्दै छौं जुन २ अर्ब भन्दा बढि मानिसको घरघरमा पुग्छ । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ । दोस्रो यसको समचार सम्प्रेशणको लागि विदेश र स्वदेश गरेर ७ सय पत्रकार बोलाएका छौं । जसमा २ सय देखि ३ सय पत्रकार विदेशदेखि आउँछन् । यो हाम्रो निम्ति ठूलो अवसर हो । दोस्रो खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँछन् । यस्तै खेलाडीहरु खेलमात्र खैल्न आउँदैनन् । उनीहरुले यहाँका होटल, रेष्टुरेन्ट, मलमा खर्च गर्छन् जुन सबै नेपाली अर्थतन्त्रमा जोडिन जान्छ । खेल आयोजना गर्दा कति आम्दानी हुँदैछ र आम्दानी कुन ठाउँमा खर्च हुँदैछ ? सागको ईतिहासमै पहिलोपटक हामीले यस्तो गर्न लागेका छौं कि प्रसारणको अधिकार अरुलाई दिएर हामीले ८ करोड रुपैंया आर्जन गर्दैछौं । प्रसारणको अधिकार भारतीय नक्षेत्र च्यानलले लिदैछ । त्यस्तै भैन्यु ब्रान्डिङ पनि हामी गर्दैछौं । यि दुवैबाट हामीलाई न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । अर्को हामीले टिकटबाट पनि आर्जन गर्दैछौं । हाम्रो रंगशालाको क्षमता १७ हजार हो । नेपालको खेल भएको दिन दर्शक धेरै हुनेछन् भने अन्य दिन थोरै हुनेछन् । ९ दिन हुने खेलमा न्यूनतम १० हजार दर्शक लिए पनि ५ सयको दरले करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यसरी विभिन्न शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका स्र्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं । खेलाडीहरुले पाउने सुविधाहरु के कस्ता रहेका छ ? पहिला खेलाडीको भत्ता प्रतिदिन १४ सय हुन्थ्यो भने अहिले म आएपछि बढाएर देनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म बनाएका छौं । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सिद्धिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । उनीहरुलाई राम्रो प्रशिक्षण दिनको साथै हरेक हप्ता स्वास्थ्य अवस्था जाँचमा लगिरहेका छौं । यस्तै उनीहरुलाई पहिलाका पदक विजेताहरुको तर्फबाट प्रेरणा मिल्ने कार्यक्रम संचाल्न गरेका छौं । यस्ता रिफेश्मेन्टको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छौं । हामीलाई आशा छ यि सबै कुराहरुले खेलाडीहरुलाई राम्रै प्रभाव परेको छ । सागप्रति संचार क्षेत्रबाट केही गुनासा पनि आएका छन् । जस्तो नेपालीहरुलाई प्रशारणको अधिकार नदिएको गुनासो छ । यसमा भएको के हो ? गुनासो खेलाडी, प्रशिक्षक र संघ कतैबाट आएको छैन । आएको छ त केवल केही पत्रकारहरुबाट जो पत्रकारको दर्जाका लायक छैनन् । प्रशारणको अधिकारको कुरा गर्नुपर्दा कुन नेपाली च्यानलसँग क्षमता छ जसले यी सबै गेमको लाइभ गर्न सक्छन् ? सक्ने व्यक्ति वा संस्था मसँग कुरा गर्न आउन् । साँघुरो मानसिकता बोकेर हुँदैन । अहिले चाँही विश्वमा ओलम्पिकको, एसियन गेमको प्रशारण अधिकार बेचिएको हुन्छ । किनभने त्यो बढी भन्दा बढी मानिसहरुमा पुगोस् भनेर । खेल आयोजना गर्ने भनेको डुब्नको लागि होइन । यो भनेको राष्ट्रको आर्थिक अवस्था बढाउनको लागि गरिन्छ । यो कुराहरु सबैले बुझ्नुपर्छ । हामी नेपालको घेरा भित्र मात्र रहन सक्दैनौ । सात वटा राष्ट्रमा मात्र नभएर जापान, हङकङ, कोरिया, सिङापुर, थाईल्याण्ड जस्ता देशहरुमा पनि हामी लाईभ ब्रोडकास्ट गर्दैछौ । यति राम्रो काम गर्दा कसरी भयो कमजोरी । हामीले जे काम गरेका छौं, यसभन्दा अगाडि कसले हिम्मत गरेको थियो ? प्रशारण अधिकार लिने च्यानलले के के अधिकार लिएकाे छ ? प्रशारण अधिकार लिने च्यानलले सम्पूर्ण ठाउँमा टिभीमा प्रशारण गर्ने अधिकार लियो । उसले त्यसको विज्ञापनको अधिकार पनि लिन्छ । नेपालमा यात्रो ठूलो खेल हुँदा हामीले एउटा फुटेज पनि खिच्न नपाउने भयो भनेर फोटो पत्रकारहरु निराश भएका छन् नि  ? सबैले एउटा कुरा बुझन जरुरी छ कि कसैले प्रशारण अधिकार किन्छ भने सबै उसको हातमा जान्छ । संसारभरमा नियम यही नै हो । यदी तपाई मोबाईल फोन किन्नुहुन्छ भने के त्यसमा मेरो ह्क लाग्छ त ? त्यस्तै यसमा हामीले केही गर्न सक्दैनौं । तर पत्रकारहरुलाई समाचार संकलनमा समस्या भने आउँदैन । यस्तै फोटो पत्रकारहरुलाई पनि फोटो खिच्ने व्यवस्था हामी मिलाउँदै छौं तर हामी यसको लागि पनि केही नियम बनाउँने छौं । उनीहरुले फोटोको नाममा भिडियो खिच्न पाउँदैनन् । यदी यस्को गरेको पाईएमा उनीहरुको कार्ड रद्द गरिनेछ । हाम्रो अफिसियल क्यामराहरुले पनि खिच्नेछ तर यहाँ अन्यलाई भिडियो गर्न दिईनेछैन । नेपाली मिडियाहरुको सबैकुरा खिच्न पाउनुपर्छ भन्ने आएका छन् । के अब नेपाली मिडियाले भनेको सबै कुरामा हामी ल्याप्चे लगाउनु पर्ने ? विदेशी च्यानलले हामीलाई करोडौं दिन्छु भन्दै आएका छन् । नेपाली मिडिया उल्टै हामीले कति दिने भन्ने कुरा गर्छन् । उनीहरुलाई फोटो खिचेको, भिडियो खिचेको पैसा दिनुपर्ने रे । उहाँहरुले समाचार प्रयोजनको लागि पाउने एउटा पाटो हो तर अब भिडियो खिच्नै पाउनु पर्छ भन्नुहुन्छ भने आउनुहोस् पैसा तिरेर प्रशारणको अधिकार लैजानुहोस् । यद्यपी यहाँ विज्ञापनको सबै रकम नक्षत्र च्यानलले लैजान पाउँदैनन् । यसमा हाम्रो ५०/५० प्रतिशत रहनेछ । अनि हामीले कहाँ गल्ती गर्यौं ? प्रतियोगिताको क्रममा हुने जोखिम व्यवस्थापन गर्ने तयारी कस्तो छ ? हामीले जोखिम व्यवस्थापनको लागि दमकलको व्यवस्था गरेका छौं । हामीसँग एमबुलेन्स सेवाको व्यवस्था छ । अस्पतालहरुमा आईसियु र सिसियुमा बेडहरु छुट्टाए राखेका छौं । यस्तै ३५० डाक्टर र नर्सहरु प्रत्यक्ष रुपमा परिचालन गर्दैछौं । यस्तै नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्माचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरीसकेका छौं । विदेश खेलाडीहरुको हकमा भने हाम्रो गर्ने नियम थिएन तर पनि हामीले विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिदिएका छौं । सागको समग्र व्यवस्थापनमा कति कर्माचारी संलग्न हुन्छन् ? हाल व्यवस्थापनाको तर्फबाट हेर्नु भयो भने काठमाडौं, पोखरा र जनकपुर गरी ३ हजार मान्छे रहेका छन् । जसमा १२ सय कर्माचारी छन् । ५ सय जति स्वयंम्सेवक हुन्छन् । विभिन्न २७ वटा संघसंस्थामा बसेर काम गरिरहेका साथीभाईहरुको क्रियाशिलता रहेको छ । यदी २७ वटै संघको साथीभाई जोड्ने हो भने ५ हजार बढी पुग्छ । २२ हजार सुरक्षाकर्मीहरु खट्दैछन् । ओपनिङ र क्लोजिङ सेरोमोनीको दिन व्यवस्थापन कार्यमा करिव १५ हजार मानिस खट्दैछन्। सार्क आँफैमा सक्रिय हुन सकेको छैन । यसबीचमा साग गेमले कस्तो सन्देश दिन खोजेको छ ? एक दमै राम्रो प्रश्न सोध्नुभयो । राजनीतिले विभाजन ल्याउँछ र खेलकुदले एकता ल्याउँछ । भारत र पाकिस्तानबीच राजनीतिक तनाव भएकोले सागमा यी देशका खेलाडीले भाग लिदैनन् भनेर पनि मिडियाले लेखे । दुबै देशले सागमा भाग लिएका छन् । यस खेलको क्रममा भारत र पाकिस्तान बीचको मिलाप हुँदैछ । दुई राष्ट्रका खेलाडीहरु हात मिलाउँछन् र कतिले खेलपछि अंगालो पनि हाल्छन् जसले अन्तरराष्ट्रिय स्तरमा निकै नै राम्रो सन्देश दिन जान्छ । नेपालले पनि यस्तो अन्तरास्ट्रिय स्तरको कार्यक्रम संचालन गर्न सक्षम छ भनेर विश्वमा चिनाउँछ ।