विकासन्युज

छिमेकी नगरलाई समृद्ध बनाउन काठमाडौँ महानगरको नीति, ९ नगरलाई १-१ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक-एक करोड रुपैया उपलब्ध गराउने भएको छ । २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो । यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि एक करोड प्रदान गरिसकेको छ । अब टोखाबाहेकका अन्य नगरलाई रकम दिइनेछ । बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ । त्यस्तै, भवन निर्माण मापदण्ड पुनरवलोकन गर्न प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडाध्यक्ष मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य छन् । शहरी सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई तीन करोड उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।

निजगढ विमानस्थल बनाउन अन्तर्राष्ट्रिय दाताको खोजी, उपयुक्त बिकल्प नआए सरकार आफैँले बनाउने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने उल्लेख गरे । उनले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने जानकारी गराए । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखे । “निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हँुदैन”, मन्त्री अधिकारीले भने, “निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको छ।” राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए । पूर्वाधारविद् डा सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माण अघि बढाउन रणनीतिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिनुपर्नेमा बताए । पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले वातावरणीय पक्षलाई लिएर विमानस्थल निर्माणमा अलमल गर्नाको साटो शीघ्र रुपमा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदीप अधिकारीले हरेक हिसाबले उपयुक्त निजगढको विकल्प नखोजी स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने बताए । एशोसिएशनका महासचिव छविराज पोखरेलले संस्थाले पूर्वाधार विकास बहस कार्यक्रमको शृङ्खलाअनुरुप राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणको सान्दर्भिकताबारे विज्ञहरुसँगको छलफल गरिएको उल्लेख गरे ।

फुटबलप्रेमीका लागि दुःखद खबरः ब्राजिलका १० फुटबल खेलाडीको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ । रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो । रासस/एएफपी

विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, १३ सरकारी र ४ प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन

नयाँ दिल्ली । भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन् । उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । “हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने । उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । उत्तराखण्डको स्थानीय सरकारले १३ जना सरकारी अधिकारी र चार जना प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन दिएको छ । विषाक्त मदिरा सेवनकै कारण उत्तर प्रदेशको सहरानपुरमा भने ६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि केही उपभोक्ता बिरामी भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । संवाददाताका अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय पसलबाट लगेको मदिरा सेवन गरेका थिए । बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् । रासस/सिन्ह्वा

उन्नति माइक्रोफाइनान्सले फागुन १३ गतेदेखि हकप्रद बिक्री गर्दै, पुँजी साढे ६ करोड नाघ्ने

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि २० प्रतिशत(अर्थात ५ बराबर १ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गर्ने भएको छ । संस्थाले आगामी फागुन १३ गतेदेखि १०० अंकित दरको एक लाख १० हजार कित्ता सेयरको बिक्री खुला गर्दै छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी चैत १७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । हाल संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ५ करोड ५० लाख रहेको संस्थाको चुक्ता पुँजी हकप्रद पछि ६ करोड ६० लाख रुपैयाँ नाघ्ने छ ।

नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् गृहमा बम विस्फोट

खाँदबारी । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका-३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुगेका छन् । बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने ब्रुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताए । घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ । बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत बिवरण आइसकेको छैन ।

चट्याङबाट दुई मृत्यु, ४ जना घाइते

अमरगढी । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् । घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पल्सर राईड मेनिया बुटवलबाट रानीमहलसम्म

काठमाडौं । बजाज मोटरसाइकलको नेपालकालागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ । बजाजले माघ २५गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागिता जनाएका थिए । उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो । पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस प्रालिले बुटवलबाट शुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजान गरेको छ ।