विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । अस्ति आइतबार बसेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । हिजो सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन् । गत असोज २२ गते नेपाल सरकार अर्थ मन्त्रालयको सहसचिवबाट अवकास पाएका उनी निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सदस्य र बीमा समितिको सदस्य बनिसकेका छन् । २०४३ सालबाट सरकारी सेवामा प्रवेश गरेका अधिकारीले जनप्रशासन र अर्थशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग

काठमाडौं । जनता बैक नेपाल लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्ने प्रयोजनका लागि सो रकम दिएको हो । उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले श्री वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।

अंग्रेजी टिचर बन्ने रहर पालेका भुवन दाहाल बै‌ंकर्स एसोसिएशनको अध्यक्ष पदमा सर्वसम्मत

काठमाडौंं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल नेपाल बैंकर्स एसाेसिएशनको अध्यक्ष बन्दैछन् ।अध्यक्ष पदका लागि दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मतबाट एसाेसिएशनको अध्यक्ष बन्ने भएका हुन् । यसकाे औपचारिक घोषणा भने बिहीबार हुने एसाेसिएशनको वार्षिक साधारणसभाले गर्नेछ  । सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन भुमिका खेल्ने बताएका छन् । उनले आफू अध्यक्ष भएपछि राष्ट्र बैंकसँग सहकार्य गर्दै उच्च मनोबलका साथ पदिय भुमिका निर्वाह गर्ने बताए । यस्तो छ दाहालको बैकिङ करियर अंग्रेजी टिचर बनेर राष्ट्रको सेवा गर्ने उच्च अभिलाशा बाेकेका दाहाल नबिल बैंकमा प्रवेश गरेसँगै उनको जीवनमा नयाँ मोड आयाे। सिन्धुली जिल्लामा जन्मेका दाहालले रौतहट चन्द्रनिगाहपुरको जनज्योति माविबाट २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । अंग्रेजी विषयका शिक्षक प्रेमनारायण चौधरीबाट प्रभावित भएर सोही विषयको शिक्षक बन्ने इच्छा पालेका दाहालको नबिल बैंक लिमिटेडबाट बैंकिङ करिअर शुरु भएको हो । २०४८ पुस ११ देखि नबिल बैंकबाट बैंकिङ करियर शुरु गरेका दाहाल २२ वर्ष विभिन्न पदमा रहेर सोही बैंकमा कार्य सम्पादन गरे । सहायक महाप्रबन्धकसम्म पुगेर उनी २०७० असार १५ गते उक्त बैंकबाट विदा भए । नबिल बैंक छोडेकै वर्ष उनी २०७० मा नै देशकै कान्छो वाणिज्य बैंक सानिमा बैंक लिमिटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरे । एक वर्ष डेपुटी सीईओको रुपमा काम गरेपछि उनी अहिले सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर बैंक काम गरिरहेका छन् ।  दाहाल ६ वर्षअघि डेपुटी सीईओबाट सानिमा बैंकमा प्रवेश गरेका  थिए । दाहाल हाल काठमाडौंको कपनमा बस्दै आएका छन् । बैकिङ क्षेत्रमा प्रवेश गरेपछि फाइनान्समा स्नातकोत्तर गरेका दाहालले अर्थशास्त्र र अंग्रेजी विषयमा स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । दाहालसँग बैंकरको मात्र अनुभव नभएर शिक्षक र सरकारी जागिरको समेत अनुभव छ । एसएलसी पास गरेपछि पाटन संयुक्त क्याम्पसमा पढ्दै गर्दा खरिदारमा नाम निकालेर उनले संसद सचिवालयमा समेत केही वर्ष जागिर गरे । उनी लेखक पनि हुन् । ४८ वर्षीय दाहालले करियर शुरु गरेको यो अवधिमा बैंकमा मात्र जमेनन्, ह्याण्डबुक टु बैंकिङ, ग्लोसरी अफ बैंकिङ टम्स् पुस्तक समेत प्रकाशित गरिसकेका छन् । नरम स्वभावका दाहालको नेपाली शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको छ । उनी त्रिभुवन विश्वविद्यालयको एकेडेमिक काउन्सिलको सदस्य, नेपाल बैंकर्स एसाेसिएशन, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको विभिन्न कमिटी, बैंकिङ नियमन ड्राफ्टिङ टास्कफोर्समा समेत सदस्यको रुपमा रहेर काम गरिसकेका छन् । घुमफिर, ट्रेकिङ, योगा तथा शिक्षण गर्न रुचाउने दाहालले आइतबार बैंकर्स एसाेसिएशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । ६ वर्षसम्म योजनाबद्ध रुपमा काम गरेर आफू कार्यरत बैंकलाई उचाइमा पुर्याएका उनले अबको केही समय बैंकका साथै एसाेसिएशनलाई समेत समय दिएर नयाँ उचाइमा पुर्याउन कसिएका छन् । साधारणतया एसाेसिएशनमा अघिल्लो कार्यकालको उपाध्यक्ष अध्यक्ष बन्ने अभ्यास भएपनि यस पटक प्राविधिक समस्याका कारण दाहाल अध्यक्ष बन्ने पक्का भएको हो । आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन हो । एसाेसिएशन सचिवालयका अनुसार अहिलेसम्म अरु कसैले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छैनन् । दर्ता गर्ने समय आजबाट सकिएकाे छ । अध्यक्षका उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक अनिल अधिकारीले विकासन्युजलाई बताए । एसाेसिएशनको साधारणसभा पर्सी १९ गते हुँदैछ । एसाेसिएशनमा जम्मा सात जना सदस्य रहने व्यवस्था छ । माछापुच्छ्रे र सिभिल बैंकबाट प्रतिनिधित्व गरेका सदस्यले आगामी कार्यसमितिमा पनि निरन्तरता पाउने छन् । दुई कार्यकाल एसाेसिएशन कार्य समिति सदस्य बनिसकेका दाहाल २ वर्षको लागि अध्यक्ष बन्न लागेका हुन् ।

गुराँस लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा बस्नेत नियुक्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । संस्थाकाे सञ्चालक समितिले मंसिर १३ गते निजलाई  नियुक्त गरेकाे हाे ।  उनलाई   १५ गतेबाट लागु हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वावलम्बन लघुवित्तमा विभिन्न तह सहित विभागीय प्रमुख सम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको लामो अनुभव संगालेका छन् । लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएको छ ।  

सहकारी ऋण कोषकाे २७औं वार्षिक साधारणसभा सम्पन्न, निक्षेप बढेर ३० करोड नाघ्याे

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । “बचत त्याग बाट प्राप्त हुन्छ” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४९ साल भाद्र ७ गतेका दिन विधिवत रुपमा सहकारी ऐन २०४८ बमोजिम सहकारी विभागमा दर्ता भएको हो । संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै आएको छ । संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ । ४४ जना बाट शुरु भएको बचत समुह हाल तीन हजार दुइ सय २७३ सदस्यहरुको साझा चौतारी बनेको छ । संस्थाले आफ्नो शेयर पूँजी तीन करोड १४ लाख १४ हजार २ सय रुपैयाँ पुर्याएको छ, भने सदस्यबाट निक्षेप संकलन ३० करोड ८० लाख ६८ हजार रुपैयाँ गरेको छ । सदस्यहरुलाई लगानी ४१ करोड ५१ लाख २२ हजार १३७ रुपैयाँ गरेको छ । अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन र आगामी दिनमा समेत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध रहेको छ । संस्थाका अध्यक्ष रामकृष्ण कार्कीको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका संचालक अम्बिका कुमारी थापा , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष करुणारत्न बज्राचार्य,राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख सुनिल महर्जन, नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वैकुण्ठ प्रसाद गौतम, सहकारी संस्थाका कानुनी सल्लाहकार चोकबहादुर मगर , व्यवसयी तथा समाजसेवी सलाहकार जनार्दन कृष्ण श्रेष्ठ एवं विभिन्न संघ–संस्था लगायत पत्रकार ,मिडियाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको संस्थाका उपाध्यक्ष सुनिल कुमार देवकोटाले बताए । संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ अभियन्ताहरु र जेष्ठ नागरिकहरुलाई दोसल्ला , चाँदीको सिक्का, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको थियो । जसमा उत्कृष्ट सदस्य एवं बचतकर्ताहरुमा अमित श्रेष्ठ, मान बहादुर बिश्वकर्मा, प्रविन शाही ,मनोरथ चौधरी, सम्मान गरियो भने संस्थाले सहकारीका उत्कृष्ट सदस्य जेष्ठ नागरिकहरु आशा राणा, सोम माया तामांग , नरमाया अधिकारी, लगायतलाई सम्मान गरेको थियो । त्यस्तै संस्थाले संस्था एकीकरणमा बिशेष योगदान दिने सदस्यहरु श्री लक्ष्मी बानिया र महेश कुमार दाहाललाई पनि सम्मान गरेको थियो । संस्थाले यसै गरि संस्थामा १० बर्ष योगदान गर्ने कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरेको थियो । संस्थाको कार्यालय कुपन्डोल ज्वागल स्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिट्यान्स् लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

एनएमबी बैंकले पायो जर्मनीको टभ राइल्यान्डबाट आईएसओ प्रमाणपत्र, नेपालकै पहिलाे बैंक बन्न सफल

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो । टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो । आईएसओ २७००१ मापदण्डले एनएमबी बैंकद्धारा सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित गरेको छ । आईएसओ/आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रूपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डहरूमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ ।

एलजीको ‘कन्डेन्सर ड्रायर’ अब नेपाली बजारमा

काठमाडौं । एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सही तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ । यसमा ठूलो ड्रमको क्षमता भएकोले धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित हुनाले नाजुक कपडा, कपडाको खेलौना तथा जुक्ताहरु नघुमाईकन सुकाउदछ । ट्रु स्टिम र टु वे टम्बिलिङ टेक्नोलोजीले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ्ग मेसिनसँगै सजिलै जडान गर्न सकिन्छ । साथै, एलजीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथै शतप्रतिशत सुकाउछ ।

चिनी मिलद्वारा उखुको मूल्य निर्धारण

कञ्चनपुर । बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो । सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ । मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए । उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले रु १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले जानकारी दिएका छन् । रासस