विकासन्युज

असुरक्षित जनाउँदै प्रभु बैंकले भिषा कार्ड हटायो, पुराना सबै ग्राहकलाई एससीटी कार्ड निःशुल्क दिने

काठमाडौं । प्रभु बैंकले असुरक्षाको कारण जनाउँदै भिषा कार्ड हटाउने निर्णय गरेको छ । आफ्ना उपभोक्ताहरुको अधिकतम सुविधा र सुरक्षित कारोबारका लागि आधुनिक प्रविधि युक्त र थप सुरक्षित कार्ड प्रयोग गर्ने क्रममा भिषा कार्ड विस्थापित गर्न लागेको बैंकले जनाएको छ । बैंकले अब पुराना ग्राहकलाई एसीटी यूपीआई कार्ड निःशुल्क वितरण गर्ने भएको छ । हाल बैंकको ग्राहक संख्या करिव ८ लाख रहेको बैंकले जनाएको छ । नयाँ कार्ड वितरण शुरु भईसकेको बैंकले जनाएको छ । ‘नो नेम कार्ड माग गरेकै दिन पाइन्छ । नामसहितको कार्ड लिन एक साता कुर्नुपर्छ’ बैंक स्रोतले बतायो । नयाँ कार्डमा भिषा कार्डबाहेक यूनियन पेको सुविधा समेत भएको बैंकले जनाएको छ । आगामी माग १ गतेदेखि भिषा कार्ड नचल्ने जानकारी दिदै बैंकले सीटी यूपीआई कार्ड लिने ग्राहक वर्गलाई अनुरोध गरेको छ । कार्डको दुरुपयोग गर्दै बैंक ठगि गर्ने क्रम बढेसँगै प्रभु बैंकले भिषा कार्ड हटाउने निर्णय लिएको हो ।

पुनःनिर्माण प्राधिकरणले गर्याे ४२ हजार ७४२ गुनासो सम्बोधन, चार हजार लाभग्राही थप

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरिएको छ । बाँकी गुनासोको शीघ्र विश्लेषण गरी नजिता निकालिने प्राधिकरणले जनाएको छ । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका करीब ५० इञ्जिनीयरले विश्लेषण गरिरहेका छन् । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो–२, सानो हाकुटोलका ४६ विस्थापित घरधुरी तथा सोही गाउँपालिकाको पाङ्लिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरीद गरी थप पाँच जग्गाधनी मिलेर ५१ घरधुरी एकीकृत बस्ती विकास गर्न लागेका हुन् । प्राधिकरणले एकीकृत बस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रतिघरधुरीका दरले रकम उपलब्ध गराउँछ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत बस्तीका लागि प्रतिघर पाँच लाख रुपैयाँ, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर चार लाख रुपैयाँ र तराईका जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर तीन लाख रुपैयाँको दरले एकमुष्ट रकम उपलब्ध गराउँछ । त्यसैगरी मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५, चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरि गाउँपालिका–६, जोगीतालमा एकीकृत बस्ती विकास गर्दैछन् । कैशाल–१० को न्याम्सेढुङ्गाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ । रासस

नेपाल र भुटानबीच फुटबलमा प्रतिस्पर्धा हुदै, आजै १५ खेलमा प्रतिस्पर्धा

कठमाण्डौं । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ आैं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ । भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो । नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताए । उनले भने, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले तयारी गरेका छौँ ।” शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । खेल अपराह्न ४ बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । खेल अपराह्न १ बजे हुनेछ । फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ । यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । उक्त खेल अपराह्न १ बजे हुनेछ । त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन् । उक्त खेल अपराह्न ५ बजे हुनेछ । राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ । उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । सुटिङ–सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ । सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । तेक्वान्दो– सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हँुदैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो । त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन् । महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन् । एथ्लेटिक्स– यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हँुदैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ । खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । कराते– सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ । गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ । टेबलटेनिस– सोमबारदेखि शुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन् ।

भारत र श्रीलङ्काले ३/३ स्वर्ण जित्दा नेपालले १५ वटा स्वर्ण पदक जित्याे, नेपाल सबैभन्दा अगाडि

काठमाडौ ं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ । श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात/सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो । पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्फ सात स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्पm १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो । यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् । सागको पदक तालिका देश         स्वर्ण     रजत      कास्य     जम्मा नेपाल       १५         ३            ६          २४ भारत        ३           ८           ३           १४ श्रीलङ्का     ३           ६           १०          १९ पाकिस्तान २          ३            ५           १० बङ्गलादेश  १         ०            १२          १३ भुटान         ०        ०              १             १ माल्दिभ्स     ०       ०             ०             ० रासस

पेट्रोल र डिजेलमा मूल्य वृद्धि, पेट्रोलका प्रतिलिटर १०९ र डिजेल ९७ रूपैयाँ

काठमाडाैं । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अब पेट्रोलका प्रतिलिटर १०९ र डिजेल ९७ रूपैयाँ मूल्य कायम भएकाे छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जानकारी दिए । हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

टाटा मोटर्सकाे ग्लोबल सर्भिस क्याम्प मंसिर १९ गतेदेखि शुरू, नयाँ कमर्सियल गाडी सार्वजनिक हुने

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङग प्रा.लि ले आगामी मंसिर १९ गतेदेखि ‘चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९’ को आयोजना गर्दैछ । कम्पनीले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि साेही दिनदेखि २१ मंसिरसम्म उक्त क्याम्पको आयोजना गर्न लागेकाे हाे । ग्राहकसम्म पुग्ने यो तीनदिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ। यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन्। कम्पनीका अनुसार तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याकलु ब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिने छ। यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ। सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखाजाँचको पनि आयोजना गर्दैछ। सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुने कम्पनीले जनाएकाे छ । तीनदिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक सेवाहरू यसप्रकार छन् । – निःशुल्क ४७पोइन्ट्स चेकअप – निःशुल्क कम्प्युटर डाइगनोसिस – निःशुल्कइलेक्ट्रिकल तथा ब्याट्री परीक्षण – निःशुल्कएफआईपी परीक्षण – निःशुल्क टायर परीक्षण – निःशुल्क प्रदूषण जाँच – निःशुल्कलन्च सुविधा – गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू – दैनिकलक्की ड्र तथा मोबाइलफोन जित्ने मौका – बम्पर लक्की ड्र क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कलदिई आफ्नो गाडी दर्ता गर्न सकिने कम्पनीले जनाएकाे छ ।

गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग​

काठमाडाैं । ज्योति विकास बैंकद्धारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ​। गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हाे। प्रदेश नं२ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योगबहादुर पाल​को उपस्थिति रहेको थियो। गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं२ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ​। हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएकाे छ । त्यस्तै, यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

कामना सेवा विकास बैंकको १०४औँ शाखा ललितपुरको सानागाउँमा

काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा आफ्नो १०४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १०४ वटा शाखा तथा ५३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।