बैंकहरुले सीईओ नियुक्त र बर्खास्त गर्नुअघि राष्ट्र बैंकको सहमति लिनुपर्ने; उमेर हद ‘६९ बर्ष’
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत नियुक्त र बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंकसँग सहमति लिनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैकले प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा १ लाई संशोधन र ३ र ४ लाई थप गर्दै प्रमुख कार्यकारीको नियुक्त र बर्खास्त गर्नुअघि केन्द्रीय बैंकसँग सहमति गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । राष्ट्र बैकले उच्च स्रोतका अनुसार यो प्रस्ताव राष्ट्र बैक बोर्डबाट पारित भई अर्थ मन्त्रालयमा पठाएको छ । राष्ट्र बैंकले तयार गरेको संशोधन प्रस्तावमा बाफियाको दफा १४ को उपदफा १ मा रहेको ‘सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधिनमा रही बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्त गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोमा ‘राष्ट्र बैंकको पूर्व सहमतिमा’ भन्ने वाक्यांश थप गरेको छ । त्यस्तै साेही दफाकाे उपदफा ५ मा कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखतमा पदबाट हटाउनसक्ने व्यवस्था रहेकोमा त्यसमा पनि ‘राष्ट्र बैंकको पूर्व सहमतिमा’ भन्ने वाक्यांश उल्लेख गरिएको छ । त्यस्तै सोही दफाको उपदफा ३ मा हाल एउटै बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल पूरागरिसकेका प्रमुख कार्यकारी अधिकृत वर्तमान कार्यकाल समाप्त भएपछि स्वतः अवकाश हुने व्यवस्था समेत गरिएको छ । हाल केही ठूला समूहको प्रमुख लगानी भएका बैंकहरुमा प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालकहरुले भनेअनुुसार काम नगरेपछि अक्षमताको कारण देखाउँदै बर्खास्त गर्ने प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो । अझ केही बैंकहरुले त क्षमतावान् व्यक्तिलाई सुरुमा प्रमुख कार्यकारी नियुक्त गर्ने र आफ्नो अनुकुलको मान्छेलाई डेपुटी कार्यकारी प्रमुख बनाउने र डेपुटीले क्षमता विकास गरिसकेपछि प्रमुख कार्यकारीलाई अक्षमताको आरोप लगाएर राजीनामा दिन बाध्य पार्ने गरेको तथ्य समेत बाहिर आएको छ । उमेरहद ६९ बर्ष ! उक्त प्रस्तावअनुसार ऐन संशोधन भए ६९ बर्षभन्दा बढी उमेरका मानिसहरु प्रमुख कार्यकारी बन्न अयोग्य हुने देखिएको छ । राष्ट्र बैंकले दफा २९को उपदफा ५ थप गरी कुनै पनि कार्यकारी प्रमुख नियुक्त हुँदा ६५ बर्ष पुरा हुन नहुने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले उमेरको अधिकतम सीमा किटान गर्न आवश्यक भएकोले त्यस्तो व्यवस्था गरिएको कारण समेत उल्लेख गरेको छ । प्रमुख कार्यकारी अधिकृतकाे कार्यकाल बढीमा ४ बर्ष ताेकिएकाे परिप्रेक्षमा नियुक्ति हुँदाकाे उमेर बढीमा ६५ बर्ष रहने भएपछि त्यस्तो व्यवस्था लागु भएपछि ६९ वर्षभन्दा बढीका व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी हुन नसक्ने भएका हुन् ।
बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार !
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । “हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो । अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् । ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन । रासस/एएफपी
माछापुच्छ्रे बैंकले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गर्यो जुत्ता-चप्पल कक्ष
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता-चप्पल कक्ष एवम् सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी फागुन १७ गते पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे । बैंकले पशुपति मन्दिरमा आउने तीर्थालुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तीर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम समेत जडान गरी सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंकले घटायो ०.५% सम्म ब्याज दर
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।
राम्रो काम गर्दा गर्दै….अलबिदा रविन्द्र अधिकारी
काठमाडौँ । सायद रविन्द्र अधिकारीलाई यति छिट्टै जानु रहेछ, त्यही भएर उनले गर्नु पर्ने काम रफ्तारमा गरेका रहेछन् । एक वर्ष अघि मन्त्री बन्दै गर्दा रविन्द्र अधिकारी केही हतास देखिन्थेँ । कसरी काम गरेर देखाउने ? १०० दिनको कार्यप्रगति देखाउन उनी यसरी लागे कि कर्मचारीलाई राम्ररी निदाउन समेत दिएनन् र सबैभन्दा छिटो कार्यप्रगति प्रस्तुत पनि गरे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा (अनेरास्वीयू) मा राम्रो अभ्यास गरेर खारिएका अधिकारी मिडिया ह्यान्डलिङमा अब्बल रहेका थिए । उनले यो कुरा राम्ररी बुझेका थिए कि काम नगरे मन्त्री बन्नुको कुनै तुक छैन । उनी मन्त्री बनेपछी अति हतारोमा देखिन्थेँ, कामलाई कसरी गति दिने ? पर्यटनको माध्यमबाट देशलाई समृद्धिको यात्रामा अघि बढाउन वर्ष २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय गरे । धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउन उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा अघि बढाउन सक्दो प्रयास गरे । मन्त्रीको निर्देशनमा विमानस्थल असारबाटै परीक्षण उडान गर्ने र असोजसम्ममा व्यवसायिक उडान गर्ने गरी निर्माण भैरहेको छ । चिनियाँ पर्यटक भित्र्याउन उनले चिनियाँ भाषामै एप्सको निर्माण गरेका छन् । पटक पटक चीन भ्रमणका बेला करोडौं चिनियाँ पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याउन सकिन्छ भनेर बारम्बार भन्दै आइरहेका थिए । चिनियाँ ब्युरोकेसी नेपालको पर्यटनमा सहयोग गर्न तत्पर छ, करोडौं चिनियाँ बुद्ध भूमि टेक्न चाहन्छन् भनेर बारम्बार दोहोर्याउदै आएका थिए । उनी मन्त्री बनेपछि नेपाल वायुसेवा निगमले २४ अर्ब खर्चिएर ल्याएको २ जहाज यति विवादित बन्यो कि सारा जनता जहाजको विषयमा विज्ञ बन्न भ्याए । यसै क्रममा संसदको सार्वजनिक लेखा समितिले अधिकारीलाई समेत छानविन गर्न सिफारिस गरेपछि उनीमाथी संकट चुलिएको थियो । नेपालको इतिहासमै ल्याइएको सबैभन्दा ठूलो जहाजलाई नेपाल वायु सेवा निगमले व्यस्त बनाउन नसक्दा अधिकारीले जसको साटोमा अपजस पाउन थाले । पछिल्लो समय अधिकारीलाई मन्त्री पदबाट हटाउन खोजिएको भनेर पनि आँकलन गर्न थाले । तर, उनले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिने स्पष्ट पारे । यसपछिका दिनहरुमा उनी देशका विभिन्न विमानस्थलहरुको स्तरोन्नती र बन्द रहेका विमानस्थलहरुलाई सञ्चालन गर्न मै व्यस्त रहन्थेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्नका लागि काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल बनाउन उनकै सक्रियातामा स्थल छनोट गरी काम अघि बढाइयो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिए । ओलीले सार्वजनिक रुपमै सो विमानस्थल आवश्यक रहेको र बन्नु पर्ने विचार व्यक्त गर्दै आएका थिए । त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्नका लागि उनले सक्दो प्रयास गरे । उनकै पहलमा विमानस्थलमा हेलिप्याड, पार्किङस्थल बनाउने लगायत प्रगतिको काम गरे । विमानस्थलमा कर्मचारीको व्यवस्थापन गरी दैनिक २३ घण्टासम्म सञ्चालन गरे । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन र आइकाओको कालो सूचिबाट हटाउन उनी निरन्तर लागि परे । यद्यपी आइकाओको कालो सूचिबाट हटेपनि युरोपियन युनियनले हटाउन मानेन । ताप्लेजुङ घटनाले अधिकारी मात्र होइन पर्यटन क्षेत्र विकासका चम्किला व्यक्तिहरु पनि सधैका लागि बिलाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक विरेन्द्र श्रेष्ठ, प्राधिकरणकै एरिड्रोम इन्जिनियरिङका प्रमुख धुब्र भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी, उपसचिव युवराज दाहाल र सेनाका जमदार अर्जुन घिमिरेले ज्यान गुमाएका छन् । अधिकारी हँसिला र कामलाई उच्च गति दिन सक्ने व्यतित्वका धनी थिए । राम्रो काम गरेरै चर्चामा उक्लिन खोजेका अधिकारी अप्रत्यासित रुपमा बिलाएका छन् । उनको यो सकारात्मक सोच र उनको आत्मा देशको प्रगतिमा धड्किरहनेछ ।
कालिका पावरको फागुन २७ गतेदेखि बुक क्लोज
काठमाडौं । कालिका पावर कम्पनीको आगामी फागुन २७ गतेदेखि चार दिन बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन ३० गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको एघारौँ वार्षिक साधारणसभा चैत ८ गते बस्दै छ । उक्त सभा सो चितवनको भरतपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्दै छ । सभाले सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना संचालकहरु निर्वाचन गरि नियुक्त गर्दै छ ।
शनिबारदेखि पुनः वर्षा दोहोरिने मौसम पूर्वानुमान महाशाखाको अनुमान
काठमाडौँ । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् अर्यालले भने । राति देशको पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज दाङको न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबै भन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
चालक अनुमतिपत्रः प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार
काठमाडौँ । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताए । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उनले भने, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उनले भने, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।” यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भर्याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । रासस