महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा जाम नहुने, दर्शन पास पूर्ण रुपमा हटाइने
काठमाडौँ । यस बर्षको महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा जाम नहुने नभएको छ । त्यसका लागि बातावरण बनाउन पशुपति क्षेत्र विकास कोष लागी परेको छ । अघिल्ला बर्षहरुमा महाशिवरात्रीको समयमा सर्वसाधारणले जामका कारण निकै हैरानी व्यहोर्नु परेको थियो । साथै, अघिल्ला बर्षमा पासको व्यवस्था गर्ने गरेको कारण जाम पर्ने गरेको भएपनि यस बर्षबाट दर्शन पास पूर्ण रुपमा हटाउन लागिएको कोषले बताएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृती महाशाखा प्रमुख प्रेमहरी ढुङ्गाना भन्छन्–‘यसपालिको महाशिवरात्रीमा हामी सकेसम्म जाम नहुने बातावरणको सिर्जना गर्न प्रयासरत रहेका छौ ।’ उनले अघिल्ला बर्षमा जामको समस्या निकै हुने गरेकाले भक्तजनहरुले समस्या भोग्नु परेको बताए । साथै, भक्तजनहरु भगवानको घरमा आउने भएकाले सकेसम्म कोषले पनि कसैले कुनै किसिमका कष्ट भोग्न नपरोस् भन्ने प्रयासमा जोड दिने बताए । महाशिवरात्रीको दिनमा पशुपति परिशर क्षेत्र हुँदै चल्ने यात्रुबाहक गाडीमा कुनै रोकतोक नगरिने भएको छ । सामान ल्याउने टोयटा ट्रयाकसम्मका गाडी समेत सो दिनमा चल्न पाउने छन् । तर, गाडी मन्दिर क्षेत्रमा रोक्न मनाही गरिएको छ । गाडी चल्दा हुने असहजताका विषयमा कसरी व्यवस्थापनको तयारी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा पशुपति विकास कोषले आफूले जामको बातावरण सिर्जना हुन नदिने बतायो । कोष भन्छ– विगतमा जाम हुने कुरा सत्य हो, तर यसपालि ठ्याक्कै त्यस्तो अवस्था आउँदैन, लोकल गाडी चढेर आएपनि अथवा आफ्नो गाडी नै ल्याएपनि भयो, तर पार्किङ गरेर बस्न भने पाईदैन । पार्किङ गर्न थाले जाम हुने निश्चित छ, तर हामीले सोही कुरामा कडाई गर्ने तयारी छ । शिवरात्रीका दिन यही फागनु २० गते सोमबार सवारी आवागमन बन्द हुँदैन । विगतमा रिङगरोडमा गाडी नचल्दा वृदवृद्धा देखी निकै भक्तजनलाई गाह्रो भएको हामीले पाएका छौँ । यसपालि भने सकेसम्म यस्ता गुनासा नआउन भन्ने हाम्रो चाहाना छ । यसमा हामीले मात्र नभई सम्बन्धित पक्ष सबैले ध्यान पुरयाएमा मात्र यो सम्भव छ–संस्कृती महाशाखा प्रमुख ढुंगानाले बताए । ट्राफिक व्यवस्थापन कस्तो हुन्छ ? सामान्यतया गौशाला चोकमा जाम हुने गर्छ । सोही चोकमा चौबाटो रहेका कारणपनि जाम पर्ने गरेको छ । महाशिवरात्रीको अवसरमा भने यस्तो जाम सकेसम्म न्यूनिकरण गर्न आफूहरु लागि पर्ने काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका एसपी जयराज सापकोटाले बताए । महाशिवरात्रीको दिनमा सामान्यतया अन्य बेलामा जस्तै गाडीहरु चल्ने छन् । तर, सर्वसाधारणको भिड अत्याधिक बढेमा गौशला प्रवेश गर्ने सम्पूर्ण बाटोहरुमा रोक लगाईने छ । भिडभाड बढेको अवस्थामा चावहिल, सिफल, गौरीघाट, ज्ञानेश्वर, तिलगंगा लगायतका कुनै स्थानबाट सवारी साधन गौशलातर्फ लान नपाईने व्यवस्था गरिने छ । यस्तै, सिनामंगल पूलबाट उत्तरतर्फ होटल महाराजासम्म जाने रुटमा गाडी चलाउन पाईने छैन । जोरपाटी आउने मालबहाक सवारी चुच्चेपाटीसम्म आउन पाउने व्यवस्था रहेको छ । पार्किङको व्यवस्था कहाँ ? महाशिवरात्रीको समयमा तिलगंगामा सवारी पार्किङको व्यवस्था उपलब्ध हुनेछ । यस्तै, सिफल चौर, गुखह्ेश्वरी पारी रहेको बाग्मती करिडोर लगायतका स्थानमा पार्किङको व्यवस्था रहने छ । पुरानो बसपार्कबाट माईतीघर हुँदै सिनामंगल जाने गाडी तिलगंगासम्म पुग्न सक्ने छन् । यस्तै, कालोपुलबाट कपनसम्म चल्ने गाडीहरु शिवरात्रीको दिनमा महाराजगञ्जको रुट प्रयोग गरेर चलाउनु पर्नेछ । सवारी पासको के छ व्यवस्था ? सकेसम्म पास प्रयोग नगरिने भएपनि अत्यावश्यक सवारी साधनलाई सवारी पासको व्यवस्था गरिने छ ट्राफिक महाशाखाले जनाएको छ । पास भएका सवारी नक्साल भगवतीवहाल हुँदै चावहिल निस्किन सक्ने छन् ।
बीमा इन्स्टिच्यूटले दियो ३२८ कर्मचारीलाई तालिम, ग्रामीण भेगमा बीमा पोलिसीबारे जानकारी गराइने
काठमाडौ । बीमा इन्स्टिच्यूटले ३ सय २८ जना कर्मचारीलाई तालिम दिएको छ । इन्स्टिच्यूटले सुरुवातमा बीमा समितिका १७ जना कर्मचारीलाई तालिम प्रदान गरेको हो । हालसम्म बीमा इन्सिच्यूटले १४ वटा तालिम कार्यक्रम सम्पन्न गरेको पाईन्छ । अहिले तालिम कार्यक्रम सोही बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुमा मात्र लक्षित रहेको छ । आगामी दिनमा बीमा समितिको निर्देशन पाएमा कार्यक्रम मार्फत सर्भेयरलाई समेत तालिम दिने उदेश्य बीमा ईन्स्च्यिूटले राखेको पाईन्छ । तालिम कार्यक्रम जीवन बीमा, निर्जीवन बीमा तथा पूनर्बीमाका विषयमा छलफल हुने गरेको छ । बीमा समितिमा नव नियुक्त कर्मचारीले तालिम मार्फत आवश्यक ज्ञान हासिल गरेका छन् भने सुपरभाईजर समूहमा समेत तालिम संचालन भएको छ । बीमा क्षेत्रका विभिन्न संस्थाका प्रमुखकालागि समेत माग भएका विषय अनुरुप तालिम हुँदै आएको छ । तालिम किन आवश्यक ? बीमा क्षेत्रलाई व्यवसायिक बनाउन तालिमको आवश्यकता रहेको छ । यस्तै, बीमा क्षेत्रमा पारदर्शिता कायम गर्नपनि तालिमले महत्वपूर्ण भुमिका खेल्छ । साथै, दक्ष जनशक्तीको निर्माण गर्नलाई पनि तालिम आवश्यक रहेको बीमा ईन्स्टिच्यूटले जानकारी दिएको छ । तालिमको खर्च भने सम्झौता अनुसार कायम हुन्छ । सम्झौतामा बीमा क्षेत्रमा नयाँ पुराना कुन वर्गको व्यक्तीलाई तालिम दिने भन्ने कुरा तोकिएको हुन्छ । साथै कुन स्तरको तालिम हो सोही अनुसार खर्च लाग्ने जानकारी पाइएको छ । सम्झौता भने तालिम लिनु अगावै गर्ने गरिन्छ । बीमा समितिका पूर्व अध्यक्ष, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तीत्वले तालिम दिने गरेको पाईन्छ । बीमा समितिका सहायक निर्देशक गणेश शर्माले बीमा ईन्स्टिच्यूटले प्रदान गर्ने तालिम मार्फत ग्रामीण भेगमा समेत बीमाका पोलिसीका बारेमा जानकारी होस् भन्ने हाम्रो उद्देश्य रहेको बताए ।
दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीयवासीलाई पहिलो प्राथमिकता
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई लगानीमा पहिलो प्राथमिकता दिइने भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए । जलविद्युत् आयोजनाको पावरहाउस र कर्मचारी आवासगृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरिन् । कूल पाँच अर्ब १४ करोड लागतमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने अध्यक्ष कुँवरले बताए । आयोजनामा सानीमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भइसकेको छ । आयोजनामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँमा बसोवास गर्ने म्याग्दीका बासिन्दा, म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वद्धक रहेका छन् । विद्यत् खरीद सम्झौता (पिपिए)मा नेपाल विद्युत् प्राधिकरणले प्रर्वद्धकसँग वर्षात्का आठ महिनाप्रति युनिट चार रुपैयाँ ८० पैसा र सुख्खायामका चार महिनाप्रति युनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्ने उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभि ट्रान्समिटर लाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रियप्रशारण लाइनमा जोडिने छ । योजना आगामी २०७९ सालसम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुँवरले बताए ।
दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका ११ जना कै सनाखत
दार्चुला । दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् । यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पुर्याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । जिप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिश गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जिप दुर्घटना भएको हो । जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ । क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताए । सो सडकखण्ड उकालो छ । “पहिरो आएको कारण सडक सुधार भएको थिएन”, बमले भने, “रातिको समयमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्छ ।” दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जिप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जिप सञ्चालनमा रोकसमेत लगाइएको हो । साघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् । जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले बिहान १० बजेपछि शव परीक्षण शुरु हुने बताइएको छ । अहिले अस्पतालमा आफन्तहरुको भीड लागेको छ । यो वर्षकै ठूलो जिप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जिपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
व्यवसायमा निरास हुनुपर्ने स्थिति छैनः अथमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले उल्लेख गरे । काठमाडौँमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौंँ वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।” ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए । ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले औँल्याए । उनले विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी एक प्रतिशत रहेकामा अहिले आठ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ । रासस
डेढ दशकपछि पुनरागमन गर्दै हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’
काठमाडौँ । कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो । सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माणमा व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् । विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ । समुहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ । यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नया एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ । यस्तो छ सिजन्स ब्याण्डको नयाँ म्युजिक भिडियो:
कर्णालीका १ लाख नागरिक स्वास्थ्य बीमामा, ३५ हजार लिए सेवा, ४ करोड भुक्तानी
सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् । नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२÷७३ देखि कार्यक्रम सञ्चालन गरेको हो । कर्णालीमा भने आर्थिक वर्ष २०७३/७४ असार १ गतेदेखि जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो । हाल यहाँका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम सञ्चालनमा छन् । स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले हालसम्म ३५ हजार ५१९ ले सेवा लिएको जानकारी दिए । उनका अनुसार बिमितलाई सेवा दिएवापत सेवाप्रदायकलाई चार करोड ४० लाख ५६ हजार ७३८ भुक्तानी भइसकेको छ । झण्डै एक लाख बिमितबाट चार करोड ७८ लाख ६६ हजार ३२० योगदान रकम सङ्कलन भएको बताइएको छ । बिमितमध्ये अति गरिब परिवारको सङ्ख्या २५ हजार ५५४ रहेको छ । “कतिपय जिल्लामा सेवाप्रदायक संस्था न्यून छन्”, संयोजक पण्डितले भने, “ती स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको छ ।” चालू आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बीमा बोर्डको तयारी छ । स्वास्थ्य बीमासम्बन्धी प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारिताका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । “स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकलाई अनिवार्य बिमित हुन आकर्षित गरिनेछ” उनले भने । रासस
सहकारीलाई खम्बाका रुपमा स्थापित गरे मुलुकको आर्थिक समृद्धि हुन्छः मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक दुईदिने प्रादेशिक गोष्ठीेको उद्घाटन गर्दै उनले प्रदेश सहकारी ऐन प्रदेशसभामा पेश भइसकेको र सहकारी मैत्री आउने विश्वास दिलाए । महासङ्घका अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले प्रदेशमा सहकारी अभियानले गति लिएको यसमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय नारालाई सार्थक बनाउनुपर्ने विचार व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आगामी योजना बनाउन लागेको अवस्थामा गोष्ठीको निष्कर्ष मार्गदर्शन हुने बताए । प्रदेशसभा सदस्य जयराम यादव, सर्वध्वज साँवा, शेखरचन्द्र थापा र सावित्री रेग्मीले सहकारीमार्फत नेपालीको आर्थिक जीवनस्तर उठाउनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव हस्तबहादुर विष्टले सहकारी अभियानको प्रवद्र्धनका लागि मन्त्रालयले सहकारीमैत्री वातावरण सिर्जना गर्ने विश्वास दिलाए ।