एकैदिन प्रतितोला आठ सयले बढ्यो सुन, ७२ हजार दुई सयमा कारोबार
काठमाडौं । बुधबार सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन एकैदिन ८ सय रुपैयाँ बढेको छ । मंगलबार ७१ हजार एक सयमा कारोबार भएको तेजावी सुन बुधबार ७१ हजार ९ सयमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । विवाहको महिना भएता पनि सुनको मूल्यमा भएको परिवर्तनसँगै मंसिर महिना गत वर्षको तुलनामा ७० प्रतिशत व्यापार घटेको जानकारी दिएको छ ।
शहरका होर्डिङ बोर्ड हटाउन कामपाकाे सक्रियता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो । कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ । उक्त समयभित्र पनि नहटाए कामपाले नै हटाउने र कारबाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ । अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राख्ने कार्य भएको कामपाले जनाएको छ । नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा सम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । विसं २०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणात्मक व्यवस्था गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको चार वर्षसम्म पालना नभएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलनामा कारबाही गर्न हालै रिट दायर गरेका थिए । रासस
नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता
काठमाडौं । नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन् । हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने र हस्तकला क्षेत्रकाे उत्थानका लागि नेपाल हस्तकला महासंघसग सहकार्य गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । त्यस्तै,नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएको जानकारी दिएका छन् । साथै, नबिल बैंकले ९२ वटा शाखा, १ सय ४२ वटा एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा एजेन्टहरु मार्फत सेवा दिंदै आएको छ ।
दिगो लाभांश, व्यवसायिक बजार, ग्राहकको सन्तुष्टि नै हाम्रो सफलताः सीईओ उपाध्याय
३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाइ वर्ष मै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन अनिलकुमार उपाध्याय । २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रवन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित गत २०७५ पुस १० गते सीईओ बनेका हुन् । उनले बैकिङ करियर शुरु गर्दैको अवस्थाबाट यहाँसम्म आइपुग्दा बैंक आफैमा र बाहिरी परिवेश समेतमा परिवर्तन आएको पाएका छन् । ‘ग्रामीण क्षेत्रका किसानलाई विशुद्ध कर्जा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको बैंक अहिले पूर्ण बैंक बनेकोे छ ।’ कृषि विकास बैंकले ४ वर्षको व्यवसायिक योजना बनाइसकेको छ ।अहिले अन्य बैंकमा जस्तै सबै सुविधा कृषि विकास बैंकमा पाउन सकिन्छ,’ उनी भन्छन् ‘किसानको क्षमता वृद्धि गरी प्रविधिलाई कृषिसँग जोडेर आमजनतासम्म पुर्याउने उद्देश्य सहित २०२४ सालमा कृषि विकास बैंक स्थापना होे, सरकारको वितरण प्रणालीको रुपमा ।’ त्यति बेला कृषि विकास बैंकको पहिचान ऋण दिने सरकारी संस्थाका रुपमा थियो । सरकार र दातृनिकायबाट ऋण लिएर ग्रामीण किसानलाई कर्जा उपलब्ध गराउने बैंकको काम थियो,’ उनले सरल जवाफ दिए । त्यसैले अहिले पनि कृषि विकास बैंकमा १ लाख ४५ हजार ऋणीमध्ये करोडभन्दा ठूला कर्जा २ सय वटामात्रै छन् । ५ लाखदेखि १५ लाखसम्मका ६० प्रतिशत ऋणी छन् । स्रोतको समेत सुनिश्चिता नभएकोले कर्जामात्रै दिएर पूर्ण बैंक बन्न सक्ने अवस्था थिएन । आर्थिक क्रियाकलाप एकातिर बैंक अर्कोतिर जस्तो देखियो । अवसरबाट बैंक बञ्चित हुँदै गयो ।देशको आर्थिक गतिविधिको सम्पूर्ण प्रणालीमा बैंक समावेश हुन नसकेको बैंक व्यवस्थापनले बुझ्यो । पछि विस्तारै स्थानीय स्तरमै निक्षेप संकलन गरी त्यहि नै कर्जा प्रवाह गर्न थालियो । ‘स्रोतलाई आत्मनिर्भर बनाउने अवधारणा अनुरुप हामीले निक्षेप संकलनको काम शुरु गरेका हौं,’ उपाध्यायले भने । त्यसपछि २०४१ सालमा बैकलाई परिमार्जन गरिएको हो । ग्रामीण क्षेत्रका किसानलाई सेवा दिन स्थापना भएको बैंकले पहिलो पटक रत्नपार्क शाखाबाट कम्प्युटर सिष्टमबाट सेवा शुभारम्भ गर्यो । त्यति गर्दा पनि राजनीतिक, आर्थिक र सामाजिक रुपमा बैंकको पोटफोलियो त्यति राम्रो थिएन । फेरि बैंकलाई पुनसंरचना गर्नेतर्फ लागियो, नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा । अहिले बैंक सबै नियम कानुनको परिधिभित्र रहेर साधारण शेयर समेत निष्काशन गर्न सक्ने सफल बैंक भएको हो । अनिलकुमार उपाध्याय प्रमुख कार्यकारी अधिकृत(सीईओ), कृषि विकास बैंक बैंक व्यवस्थापनको बलबुतोमा बैंकलाई स्थापित गराइयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । यसमा कर्मचारीको ठूलो देन छ । उहाँहरूकै मेहेनतले अहिलेको अवस्था बैंक पुगेको हो । अहिले बैंकमा ५ सय ४६ महिला सहित २ हजार एक सय ५७ कर्मचारीले सेवा गरिरहेका छन् । बैंक पनि सफलताको सिढी उक्लदै गयो । कृषि विकास बैंकमा बैंकलाई बन्द गराएर स्वार्थ लिने कर्मचारी नभएकै कारण यो सम्भव भएको हो । यसको पुरानो इतिहास हेर्ने हो भने बैंकको हरेक परिवर्तनमा कर्मचारीले साथ र सहयोग रहेको छ । यदि कर्मचारीले साथ नदिएको भए हामी यो अवस्था आउने थिएनौ । चुस्त व्यवस्थापन मेहनती कर्मचारी, नयाँ र समय सान्दर्भिक व्यवसायिक योजनाको समिश्रणबाट बैंक अहिले प्रतिस्पर्धी बैंकको रुपमा स्थापित भएको हो । शहरदेखि गाउँसम्म सबै सामु पुग्न सफल यो बैंक पेशागत कार्यमा अडिक छ । समग्र बैकिङ सुविधायुक्त सिष्टमबाट बैंकले कार्य सम्पादन गरिरहेको छ । २०६३ सालमा बैंक पुनसंरचनामा गएसँगै कृषिलाई नछाड्ने र अरु क्षेत्रका व्यवसायलाई सँगसँगै लैजाने उच्च मनोबलका साथ बैंकलाई अघि बढाइयो,’ उपाध्यायले भने । अहिले विश्व बजारमा चलेका टप सफ्टवेयर हाम्रो बैंकले प्रयोग गरिरहेको छ । फरक यति छ कि हामी शहरबाट शाखा सञ्चालन विस्तार नगरेर गाउँबाट गरिरहेका छौं । हिजो हामी गाउँमा मात्रै थियौ । करिब ५ सयको हाराहारीमा साना किसान आयोजना नै थिए । अहिले शहरमा पनि बैंकको कार्यक्षेत्र विस्तार भएको छ । अहिले हामी कुनै अवस्था पनि पछि छैनौ । पुँजी, रिटर्न अर्निङमा एक/दुई नम्बरमा हौंला । रिपेमेन्ट र कर्जामा पनि हामी अगाडि नै छौं । बैंकमा कर्मचारीको समस्या भएको भए बैंकले यो प्रगति गर्न सक्ने थिएन । समस्या आएपनि त्यसको सहजै समाधान भएको छ । यो बैंकमा ५१ प्रतिशत सरकारको शेयर छ भने ४९ प्रतिशत शेयरमा २ लाख ५७ हजार सर्वसाधारणले लगानी गरेका छन् । बैंकको शेयर पुँजी ९ अर्ब रहेको छ । सरकारी स्वामित्व बढी भएपनि बोर्डमा तीन जना सर्वसाधारणबाट सञ्चालक हुनुहुन्छ । तीन जना सञ्चालक सरकारबाट हुनुहुन्छ । एक जना स्वतन्त्र । हामी पुसभित्रै बैंक साधारणसभा गर्ने योजनामा छौं,’ उनले अगाडि भने । जोखिम वहन गर्न सक्ने अवस्थामा बैंक पुगेको छ । कतिपय बैंक सवल र कतिमा अबल । अहिले बैंकको खराव कर्जा तीन प्रतिशत छ । गाउँका मसिनो ऋण हँदा खराबकर्जा बढी देखिएको हो । तर, पनि ऋण जोखिममा छैन । हामी कहाँ हुने ऋण सिजनल हो । चाडपर्व सकिएपछि फेरि खराब कर्जाको अवस्था सुधार आउँछ । दुई/चारवटा मुद्दा परेका छन् । यसमा आत्तिनु पर्ने अवस्था छैन । कर्मचारीको कारण केही जोखिम देखिए पनि सिष्टममा कुनै खराबी नभएको उनी बताउँछन् । पहिलो र दोस्रो त्रैमासमा खराब कर्जा बढी भएपनि पछि घट्छ । गत आर्थिक अवस्थामा हामी नाफामा दोस्रो बैंक भयौ । अहिले पनि त्यहि लक्ष्यका साथ हाम्रो व्यवसाय विस्तार भएको छ । कर्जाको गुणस्तर हेर्नुपर्ने हुन्छ । सवल र व्यवस्थित कर्जा छ भने यसले राम्रो गर्छ । वित्तीय सूचंकाक राम्रो छ । बैंकसँग दुई प्रकारका शाखा छन् । नाफा गर्ने र सेवा दिने । गाउँका बैंक शाखामा सञ्चालन खर्च बढी छ । गाउँको विजनेश लशमा छ । त्यसैले गाउँमा हामीले सेवा दिइरहेका हुन्छौ भने शहरमा आयअर्जनको लागि व्यवसाय गछौं । बैंक स्थापनादेखि हामी हुम्ला, जुम्ला, जाजरकोट, मुग, कालिकोटलगायतका थियौ । अहिले पनि कालिकोटका तीन/चार वटा ब्रान्चमा हेलिकप्टरबाट सेफ पठाएर सेवा दिइरहेका छौं । त्यहाँ नाफा हुँदैन । हामी सेवा दिनको लागि स्थापना भएका हौं । कृषि क्षेत्रको विकास लागि यो बैंक स्थापना भएको हो । कृषिलाई नछाडी अन्य व्यवसायलाई सँगसँगै लैजाने हाम्रो रणनीति हो । हामी सेवा प्रदान गर्नको लागि पनि त्यतिकै लागनी गछौ । कृषक र कृषिका गतिविधि हामीबाट टाडा छैनन् । कृषिमा अहिले पनि एक तिहाइ लगानी छ । कृषिनै यो बैंकको प्राथमिकता हो । कृषि विकास बैंकका २ सय ७५ शाखामध्ये १ सय ६ शाखाले कृषिमा प्राथमिकताका साथ लगानी गरिरहेका छन् । साे शाखामा ८० प्रतिशत कृषि क्षेत्रको लगानी रहेको छ । यतिबेला उपाध्यायको काँधमा आफ्नो नेचर अनुसार ग्रामीण किसानलाई सेवा उपलब्ध गराउनुुका साथै अन्य प्रतिस्पर्धी बैंकसँगसँगै व्यवसाय गर्ने जिम्मेवारी छ । केही वर्षअघि बैंकलाई कृषि क्षेत्रलाई छाड्यो भन्ने आरोप लागेको थियो । बैंक अहिले त्यो चिर्न सफल भएका छ । कृषि क्षेत्रलाई नछुटाइ अन्य क्षेत्रमा लगानी बढाउँदै लैजादा शहरमुखी सञ्चारमाध्यमले त्यो देखेका मात्रै हुन् । हामीले कृषिलाई छाडेका होइनौं । समय सापेक्ष अन्य क्षेत्रमा पनि लगानी बढाएका हौं । अहिले हाम्रो उद्देश्य भनेको डिजिटलाइजेश हो । गाउँ गाउँमा यो सेवा पुर्याउने हाम्रो योजना छ । राष्ट्र बैंकले ल्याएको १ सय रुपैयाँमा खाता खोल्ने नीतिअनुसार ४३ हजारले शाखा खोलिसकेका छन् । त्यो खाताबाट पनि २८ करोड निक्षेप संकलन भएको छ । डिजिटलाइजेशनलाई देशभरि पुर्याउने कार्यलाई तीव्रता दिएको हो । हामीसँग बैकिङ बजारमा चलेका हरेक नयाँ प्रविधि र सुविधा छ । शेयरधनीलाई राम्रो लाभांश दिइरहेका छौं । शेयरधनीलाई अझ बढी प्रतिफल दिन बैंकले १०.३५ प्रतिशत डिबेञ्चर ल्याउनल लागेकाे छ। हामीसँग वर्षौदेखि गाँसिएका कृषकको आशालाई अझ बलियोसँग कस्न हामीले आकर्षण डिबेञ्चरको अवसर ल्याएका हौं । नियामक निकाय राष्ट्र बैंकको निर्देशनलाई परिपालना गर्दै किसानसँग याे बैंककाे पुरानाे नातालाई अझ जीवन्त रहोस् भनेर अलि बढी ब्याज दिएर डिबेञ्चर ल्याउन लागेका हौं । स्रोत परिचालन पनि हुने किसानसँगको सम्बन्ध पनि गाँसिराख्न बैंकले यो प्रक्रिया अघि बढाएको हो । उत्पादनलाई सहयोग गर्ने अभियानमा कृषि विकास बैंक अघि बढेको छ । अहिले बैंकले नयाँ प्रडक्टको रुपमा होमस्टे (घरबास) कर्जालाई प्राथमिकतामा राखेकोे छ । यसमा २० लाखसम्म कर्जा लिन सक्ने व्यवस्था छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो प्रडक्ट ल्याएका हौं । सरल कृषि कर्जाको रुपमा यो कर्जा उपलब्ध गराउन लागिएको हो । यसले गति लिन्छ । यो आर्थिक वर्षमा यसले राम्रो रिजल्ट दिनेमा म विश्वस्त छु । सरकारी बैंकहरूको मर्जरको विषयमा उनले सहज उत्तर दिए ‘मर्जरको एउटा उद्देश्य हुन्छ, मर्जर के का लागि गर्ने । शाखा विस्तारको लागि कि, व्यवसाय विस्तारको लागि या पुँजीको लागि ? यी विषयमा बैंकले आफूलाई अब्बल राखेको छ । सुधार गर्नुपर्ने पक्षमा विस्तारै सुधार पनि बैंकले गर्ने नै छ । आफ्नो व्यवसायिक योजनालाई सफलतापूर्वक सम्पन्न गर्नु नै हाम्रो ठूलो सफलता हो । मैले मेरो रोडम्याप बनाएको छु । यहि रोडम्याप अनुसार कार्यसम्पादन भइरहेको छ । आगामी दिनमा बैंक औसतभन्दा माथि हुन्छ । त्यो भन्दा माथि पुर्याउन सके अझ राम्रो । प्रत्येक वर्ष कार्य प्रगतिको समीक्षा गर्दै बैंक अघि बढ्छ । कम कर्मचारीबाट बढी काम लिने र अन्ततः सञ्चालन खर्च घटाउने मूलभूत सिद्धान्तका साथ काम गरिरहेको छु । रोडम्याप अनुसार काम भइरहेको छ । औसत भन्दा तल आउँदैन । पेपर लेसको माध्यमबाट आमजनतालाई सेवा दिन लागेका छौं । हामीले हाम्रा शेयरधनीलाई विगतदेखि नै लाभांश दिँदै आएका छौं । गत वर्ष २१ प्रतिशत लाभांश दियौं । यो वर्ष बोर्डले पास गरेको छैन । र पनि निराशा हुने गरी आउँदैन । दुई लाख ४२ हजार शेयर होल्डर छन् । बैंकको रिजर्भ र रिटर्न अर्निङ सबै राम्रो छ । यसको अर्थ शेयर होल्डरलाई राम्रो प्रतिफल दिन सक्षम छ भन्ने हो । औसत प्रतिफलभन्दा माथि दिन्छौं । बैंकको योजना तथा कार्यशैलीले वृद्धि गरेर टिकाइ राख्न सक्ने अवस्थामा बैंक छ । ‘पेशामा चुनौती भएन भने काम गर्न मज्जै आउँदैन,’ उनले भने ‘म हरेक चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्न चाहन्छु । अहिले हाम्रो चुनौती भनेको मार्केटसँगको प्रतिस्पर्धा के हो, आन्तरिक प्रतिस्पर्धा त्यति ठूलो समस्या होइन । आत्तिनु पर्ने अवस्था छैन । व्यक्तिको कारणले लाहनको घट्ना घटेको हो । बैंकको सफ्टवेयर र सिष्टमको कारणले होइन । संस्थागत रुपमा बीमा पनि गरिएको छ । अदालतमा पनि मुद्दा दायरा भइसकेको छ । प्रहरीको सहयोगमा नियन्त्रण गर्न पनि सकियो । घट्ना आउँछन् । यस्ता घट्ना हुन नदिने हो,’ हाम्रो चाहना हो । हामी लक्ष्य अनुसार काम गरिरहेका छौं । कृषि कर्जामा अग्रणी भुमिका खेल्न सकेका छौं कि छैन भन्ने हो । सम्पूर्ण जनतालाई कृषि विकास बैंकले मात्र सेवा दिने होइन । पहिला कृषकलाई ऋण दिने एउटामात्र द्वार थियो । अहिले त्यस्तो छैन । बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी पनि छन् कर्जा दिन र निक्षेप संकलन गर्न । यति भनेर हामी पन्छिन खोजेका होइनौ, अझ धेरै गर्न वाँकी छ । सबैको घर आँगनमा पुुग्ने नारालाई सार्थक बनाउन हामीले हलोदेखि हाइड्रोसम्म नुनदेखि सुनसम्म लगानी गर्दै आएका छौं ।
त्रिभुवन अन्ताष्ट्रिय विभानस्थलमा १८२ जना कर्मचारी माग, सरकारी निकाय पनि आउटसोर्समा कर्मचारी राख्दै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयमा १८२ जना कर्मचारी राख्ने भएको छ । भन्सार र एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएकोले कर्मचारीको लागि यो क्षेत्र निकै आकर्षक मानिन्छ । प्राधिकरणले विमानस्थलको लागि कम्प्यूटर अपरेटर १५ जना, सहायक कम्म्पूटर अपटेर १२ जना, उद्घोषक/उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना माग गरेको छ । त्यस्तै, हेभि सवारी चालक ८ जना, हलुवका सवारी चालक १३ जना, पालेपहरेदार ७९ जना र ट्रली कलेक्टर ३६ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको छ । तर प्राधिकरणले यी सबै कर्मचारी सोझै नियुक्ती नगरी श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने भएको छ । सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको कम्पनीले मात्र जनशक्ति आपूर्तिको काम गर्न सक्ने भएको छ । विदेशमा वाहिरी कम्पनीबाट जनशक्ति आपूर्ति गर्ने अभ्यास पुरानो भए पनि नेपालमा यस्तो अभ्यास कम छ । त्यो पनि पूर्ण सरकारी निकायले यति ठूलो संख्यामा जनशक्ति बाहिरबाट आपूर्ति गर्न लागेको सम्भावतः पहिलो पटक हो ।
ग्लाेबल आइएमई र जनता बैंक १९ गते बन्द हुने, भाेलिदेखि एटीएम कार्ड नचल्ने
काठमाडाैं । मर्जकाे अन्तिम तयारीमा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । ग्लाेबल आइएमईमा जनता गाभिएर मंसिर २० गतेदेखि एकिकृत काराेबार गर्दैछन् । एकीकृत कारोबार थाल्नु पूर्व दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ । दुबै बैंकले मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द हुने भएकाे छ । मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाएको छ । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंकको गाभिएपछि बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १९ अर्ब पुग्नेछ । मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् । मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।
ओयोको बोर्ड अफ डिरेक्टरमा आदित्य घोष नियुक्त
काठमाडाैं । ओयो होटेल्स एण्ड होम्सको बोर्ड डिरेक्टरमा आदित्य घोष नियुक्त भएका छन् । दक्षिण एशियाको होटेल्स र आवास व्यवसायमा हालका सिईओ आदित्य घोषलाई मंगलबार कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरी नियुक्त गरेको बताएको हो । घोषको कम्पनीमा एक वर्षको कार्यकाल पश्चात बोर्ड डिरेक्टरमा बढुवा गरिएको हो । ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ रितेश अग्रवालले घोषको कडा व्यवसायीक कौशल, समस्या समाधान गर्ने क्षमता, शक्तिशाली संस्थागत सुशासन भएको संगठन निर्माण गर्ने चाहना र विविधता र समावेशीकरण सिद्धान्तहरुमा आधारित उच्च प्रदर्शन गर्ने कार्यले गर्दा डिरेक्टरमा बढुवा गरेको बताए । यस्तै ओयोले हाल नयाँ रियल स्टेट बिजनेसको सिइओ रोहित कपुरलाई समग्र भारत र दक्षिण एशियाको सिईओमा नियुक्त गरेको घोषणा गरेको छ । पछिल्लो वर्षमा रोहितले ओयो लाइफ–ब्राण्डको दीर्घकालिन रेन्टल हाउजिंग पोर्टफोलियोको साथ साथै भारतमा अन्य नयाँ रियल स्टेट बिजनेसको निरीक्षण गरिरहेका छन् ।
यामाहाको नयाँ अफरोड बाइक सार्वजनिक, आर१५ कै इञ्जिन समावेश
काठमाडौं । यामाहाले विल्कुलै नयाँ अफरोड मोटरसाइकल ‘डब्लुआर १५५आर’ सार्वजनिक गरेको छ । यामाहाकै ‘आर१५’ मा आधारित रहेर निर्माण गरिएको सो मोडेललाई इन्डोनेसियामा सोमवार सार्वजनिक गरिएको हो । ‘डब्लुआर १५५आर’मा आर१५ मै प्रयोग भएको इञ्जिन समावेस गरिएको छ । तर यस इञ्जिनलाई बाइकको अफरोडिङ्ग विशेषतालाई मध्यनजर गर्दै थोरै परिमार्जन गरिएको छ । डब्लुआर १५५ आरमा उक्त १५५ सीसी इञ्जिनले १६.५ बीएचपीको पावर र १४.३ एनएमको टर्क प्रोड्युस गर्दछ । सेमी–डवल क्र्याडल फ्रेममा निर्माण गरिएको यस बाइकमा ६–स्पिड गियरबक्स दिइएको छ । उक्त बाइकमा ४१ मिलिमिटर अपसाइड डाउन फर्क तथा ग्यास–चाज्र्ड मोनोशकले सस्पेन्सनको काम गर्दछन् । त्यसैगरी सो बाइकमा अगाडि पट्टि २१ इञ्चको र पछाडि चाहिँ १८ इञ्चको डुअल–पर्पोज टायरहरु समावेस गरिएको छ । डब्लुआर १५५आरका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाले उक्त बाइकमा एबीएस भने समावेस गरेको छैन । हाल नेपाली बजारमा उपलब्ध भइरहेको यामाहाको एकमात्र अफरोड बाइक भनेको ‘एक्सटिजेड १२५’ हो । कम्पनीका अनुसार डब्लुआर १५५आर तत्काल नेपाली बजारमा आइपुग्ने सम्भावना भने छैन ।