विकासन्युज

वायुसेवा निगमको छलाङः पर्यटन वर्षलाई लक्षित गर्दै जापानपछि अब चीनमा पनि उडान

काठमाडोै । ‘भिजिट नेपाल २०२०’ लाई मध्येनजर गरी नेपाल सरकारले अंग्रेजी नयाँ वर्षदेखि चीनको ग्वाङ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल वायु सेवाले चीनको सो प्रान्तमा साताको दुई पटक उडान भर्ने निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । करिब डेढ वर्ष अगाडि नेपालले चीनको सो प्रान्तमा उडान भर्न आवश्यक पहल गरेपनि अहिले अनुमति पाएको हो । चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न निगमले प्रक्रिया अघि बढाएपनि अनुमति पाएको छैन । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको हो । नेपालले यात्रुहरूको चाप अनुसार साताको दुई वा तीन पटक उडान भर्नेछ । यसका साथै नेपालले जापानको नारितामा पनि आगामी मार्च २ गतेदेखि उडान भर्ने तयारी गरेको छ । नेपालले यस अघि जापानको ओसाकामामा उडान भर्न शुरु गरिसकेको छ । भ्रमण वर्ष नजिकिदै गर्दा विशेष कुटनीतिक पहलबाट चिनियाँ सिभिल एभिएसनले ग्वाङ्जाओमा उडान गर्न स्वीकृती दिएको हो । लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको प्रवक्ता चन्दले बताए । नेपालले आन्तरिक रूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि अनुमति आएको हो । प्रवक्ता चन्दकाअनुसार निगमले यसअघि बेइजिङ र साङ्घाई उडानका लागि पनि पहल गरेको थियो । तर, उक्त प्रान्तमा उडान भर्न चीनले अनुमति दिएको छैन । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको शर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै नेपाल आउने भनिएको थियो । तर, चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरेपछि उडान सञ्चालन गर्ने समझदारी बनेको हो । लामो समयको अन्तरालपछि अन्ततःराष्ट्रिय ध्वजावाहक जहाज नेपालले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ । यसअघिनै नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मङ्सिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान शुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ । निगमले गत भदौ १२ देखि जापानको ओसाकामा सिधा उडान शुरु गरेको थियो । तर, यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको छ । निगमले ओसाकामा सातामा दुई दिन उडान भर्दै आएको छ ।

नेपाल टेलिकमले ल्यायो गिफ्ट प्याकेज, कसरी पाउन सकिन्छ ?

काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार , सम्बन्ध सदाबहार‘ गिफ्ट प्याकेज ल्याएको छ । ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने गरी सो सुविधा ल्याएको हो । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्न सर्वप्रथम नेपाल टेलिकमका ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ । यही एपमार्फत आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनेले एप खोली गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, रु.३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु.६० मा ७ दिनको १९० एमबी र रु.१०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । यसैगरी, यही एपको गिफ्ट प्याकेजमा गई भ्वाइस क्लिक गरी रु.२५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा रु.१ सय मात्र लाग्दछ । जम्मा रु.२४० मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ । साथै रु. ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उनीहरुकै मोबाइल व्यालेन्सबाट रकम काटिन्छ ।

अभियुक्तलाई धरौटीमा छुटाइदिने प्रलोभनमा सुरक्षाकर्मी नै सक्रिय, साढे २ लाख घुस माग गर्ने नायव सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत काठमाडौंका नायव सुब्बा सुधिरकुमार खड्का विरुद्ध मुद्दा दायर गरेको छ । खड्काले अभियुक्त देबजंग शाहीलाई धरौटिमा छुटाइदिने प्रलोभन देखाउँदै साढे २ लाख रुपैयाँ घुस माग गरेको पाइएपछि आयोगले उनी उपर मुद्दा दायर गरेको हो । विशेष अदालत काठमाडौंको कैफियत प्रतिवेदनको आधारमा शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको थियो । जसमा विशेष अदालत काठमाडौंको आदेश विरुद्ध सर्वोच्च अदालतमा ०७६-आरई-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा शाहीलाई धरौटीमा छुटाइदिने भन्दै अदालतका नायव सुब्बा खड्काले घुस/रिसवत माग गरेको उजुरी परेको आयोगले जनाएको छ । अनुसन्धान हुँदा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुब्बा खड्काले आफ्नो पदीय आरचरण विपरितको कार्य गरेको पाइएपछि उनी विरद्ध मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ । साथै, सर्वोच्च अदालत काठमाडौंमा दर्ता भएको उक्त नम्बरको मुद्धा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीको काम कार्यलाई सजिलो तरिकाबाट सेवा दिनुपर्नेमा उल्टै अप्ठेरोमा पारेको आरोप लागेको छ । उनले कार्यालयमा सरकारी कामको सिलसिलामा आउने सेवाग्राहीलाई परिवन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाएदिने भनी घुस वापत माग गरेको रकम मध्ये ५० हजार कम गरी दिने भनी २ लाख ५० हजार माग गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपी खड्कालाई बिगो स्वरुप २ लाख ५० हजार रुपैयाँ तोकिएको आयोगले बताएको छ । साथै, निजले उजुरी निवेदकको दाजु निवेदश विपक्षी नेपाल सरकार भएको सर्वोच्च अदालतमा दर्ता रहेको हाल बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको उक्त नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई गत असोजको अन्तिम तिर चार हजार र अर्को पटक गराई गत कात्तिक महिनाको तिहार अगाडी ५ हजार गरी जम्मा ९ हजार रुपैयाँ समेत घुस वापत लिएको भेटिएको छ । जसको बिगो स्वरुप ९ हजार रुपैयाँ कायम गरिएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१)र दफा २ को उपदफा(१) को खण्ड(क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस लिएको रकम ९ हजार रुपैयाँ असुल उपर गरी जफत हुन समेत मागदावी लिई आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो ।

बाहिरिँदै राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक, अब क-कसले पाउँछन् कामु ?

काठमाडौं । राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरू घरबिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका चार कार्यकारी निर्देशकहरूमध्ये सुनिल उदास र सरिता भट्ट अधिकारी यहि मंसिर २१ गतेदेखि घर बिदामा बस्दैछन् । २१ गते शनिबार परेकोले उनीहरू मंसिर २० गते शुक्रबारबाटै घरबिदामा बस्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । उदास र अधिकारीको कार्यकाल पुस २१ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघि उनीहरू घरबिदामा बस्दै छन् । हाल सुनिल उदास वित्त कम्पनी सुपरीवेक्षण विभाग प्रमुख छन् भने भट्टले विदेशी विनियम व्यवस्थापन विभाग प्रमुखको भुमिका निर्वाह गर्दै आएकी छिन् । अर्का द्वय कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ पनि पुस पहिलो साताबाट घरबिदामा बस्दैछन् । निरौला र श्रेष्ठ माघ पहिलो साताबाट ३० वर्षे कार्य अवधि सकिएर अनिवार्य अवकाशमा परेका हुन् । हाल निरौला राष्ट्र बैंकका प्रवक्ता हुन् भने उनले मुद्रा व्यवस्थापन विभाग प्रमुख भएर कार्यभार सम्हालिरहेका छन् । श्रेष्ठ कर्पोरेट प्लानिङ विभाग प्रमुखको रुपमा कार्यरत छन् । भट्ट र उदास वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए भने निरौला र श्रेष्ठले सोही वर्ष माघमा राष्ट्र बैंक प्रवेश गरेका हुन् । अनिवार्य अवकास पाउनु अघि राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरु सामान्यतया एक महिना अघिदेखि घरबिदामा बस्ने चलन छ । सोही अनुसार उनीहरु घरबिदामा बस्न लागेका हुन् । यसअघि गत जेठमा ५ कार्यकारी निर्देशकले अवकास पाएका थिए । कार्यकारी निर्देशकहरू नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले गत जेठ २५ मा राष्ट्र बैंकबाट अवकाश पाएका हुन् । अर्को कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले जेठ १० नै अवकाश पाएका थिए । जेठदेखि माघसम्मको यो नौ महिनाको अवधिमा राष्ट्र बैंकबाट नौ जना कार्यकारी निर्देशक बाहिरिने भएका छन् । कार्यकारी निर्देशकहरु घरबिदामा बस्ने भएसँगै नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरूलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । वरिष्ठ निर्देशकले नै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यकारी निर्देशकहरु बिदामा हुँदा वा अनुपस्थित हुँदा सोही विभागका वरिष्ठ निर्देशकहरुले कामुको जिम्मेवारी स्वतः पाउने राष्ट्र बैंककाे अभ्यास छ । त्यसैअनुसार जिम्मेवारी दिने तयारी राष्ट्र बैंकले गरेको छ । तर, बढुवाका लागि भने आन्तरिक रुपमा कार्यसम्पादन मूल्याङ्कन समिति बन्ने र त्यसको सिफारिस अनुसार हुने छ ।

करातेमा नेपालले जित्यो १० स्वर्ण पदक

काठमाडौं । काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । सोही प्रतिस्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन । रासस

मार्सको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । विज्ञापन एजेन्सी मार्स  प्रा.लिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।  पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा सफलता हासिल गरेको छ । यस १६ वर्षे समयावधिमा मार्सले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको र सम्पूर्ण टिममा उत्साह थपेको यसै कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले बताए । २००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टी दिएर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् । ‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिले यहाँ कार्यरत जनशक्तिलाई तालिम दिइरहेको उनले बताएका छन् । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ । उनले भने, “तालिम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।” चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको सङ्ख्या झण्डै आठ लाख पुगेको हो । यो सङ्ख्या अघिल्लो तीन चार वर्षदेखि नै महिनापिच्छे बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो । रासस

उसु खेलमा नेपालका दीपक हमालले जिते स्वर्ण पदक

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगनखेलस्थित आर्मीको कर्भडहलमा बुधबार भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए । त्यस्तै, यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही प्रतिस्पर्धामा भारतका साजन लामाले रजत जिते भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारेका हुन् । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस प्रतिस्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे । रासस