निजी क्षेत्रसँग हातेमालो हुन्छः मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन् । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकाले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य सङ्घलाई सुझाव दिए । उनले हेटौँडालाई ढिलो भए पनि हेटौँडालाई नै स्थायी राजधानी बनाउनेसमेत उद्योगी व्यवसायीलाई आश्वासन दिनुभयो । मेलामा निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवा राखिएको उद्योग वाणिज्य सङ्घ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताए । मेलामा ४४० वटा कक्ष रहेको आयोजकले जनाएको छ । मेलास्थलमा लोपोन्मुख चेपाङ जातिको घर, परम्परागत काठको रोटे पिङलगायतका निर्माण भइरहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका कक्ष, मञ्च र बाल उद्यान राखिएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव आनन्दराज कठायत, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षलगायतका वक्ताले औद्योगिक वातावरण बनाउन र रोजगार बढाउने कृषि तथा उद्योगमैत्री नीति ल्याउन अनुरोध गरेका थिए ।
विधेयक संशोधन गर्न माग, व्यवसायीलाई २० अर्ब लगानी डुब्ने चिन्ता
काठमाडौँ । अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो । गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सैद्धान्तिक छलफलकै क्रममा सरोकारवाला निकायले विरोध गर्न थालेका हुन् । काठमाडौँमा आज आयोजना गरिएको सरोकारवालाको छलफलमा सरकारी तथा निजी क्षेत्रका सङ्घसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने धारणा राखेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना छ । हाल अण्डाबाहेक माछा र दूधमा नेपाल परनिर्भर छ । हाल पाँच लाख मेट्रिक टन दूध अपुग छ भने झन्डै वार्षिक जिउँदो र मरेको माछाको आयात एक अर्ब छ । निजी क्षेत्रको डेरी उद्योग एशोसिएशन तथा सरकारी क्षेत्रको दुग्ध विकास संस्थानले पशुपालन, माछा र माहुरीपालनमा वैदेशिक लगानी आवश्यक नरहेकाले विधेयक संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन् । दुग्ध विकास संस्थानका कामु महाप्रबन्धक ईश्वरी न्यौपानेले सरोकारवाला निकायबाट पेश भएको मस्यौदा विधेयकलाई व्यापक तोडमोड गरी घुमाउरो तरिकाले सदनमा पेश भएको बताए । उनले स्वदेशी लगानीलाई धरासायी पार्ने गरी सदनमा पेस भएको सो विधेयक कानून बनेमा साना किसान, दुग्ध व्यवसायी, दुग्ध सहकारी संस्था र सिङ्गो दुग्ध विकास संस्थान धरापमा पर्ने जानकारी दिए । नेपालमा साना किसानको सङ्ख्या झन्डै ३० लाख र दुई हजार दुग्ध सहकारी संस्था छन् । छलफलमा डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले कृषि मन्त्रालयको सुझावलाई समेत बेवास्ता गरी सदनमा पेश भएको सो विधेयक बदनियतपूर्ण ढङ्गले अघि बढेको बताए । पछिल्लो तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलब शून्य पाँच प्रतिशत छ भने दूध व्यवसायको करीब नौ प्रतिशत छ । दूध बिक्रीबाट दैनिक रु तीन करोड ५० लाख गाउँमा पुग्छ । ग्रामीण जनताको दैनिक जीवन गुजाराको मेरुदण्ड पशुपालन हो । दुग्ध विकास संस्थानका सदस्य सीताकाजी श्रेष्ठले विधेयक संशोधन हुनुपर्ने माग गर्दै विधेयक पास भएमा बहुराष्ट्रिय कम्पनीसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकी पेशाबाट पलायन हुनुपर्ने अवस्था आउँछ भने । नेपाल डेरी सङ्घका अध्यक्ष राधाकृष्ण सापकोटाले एकातिर सरकार विदेशमा गएकालाई स्वदेशमा पशुपालन गर्न आउ पनि भन्ने अर्कातिरबाट स्वदेशी लगानीलाई निरुत्साहित गर्न विधेयक ल्याउन खोज्नु आश्चर्य भएको बताए । नेपालमा चार लाख ५० हजार व्यक्तिले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । उनीहरुले दैनिक ४९ लाख लिटर दूध उत्पादन गर्छन् । विधेयक पास भएमा ‘अमुल’ जस्ता बहुराष्ट्रिय कम्पनीसँग नेपाली उद्योगीले प्रतिस्पर्धा गर्न नसकी बजारमा लगानी भएको २० अर्ब डुब्ने अनुमान गरिएको छ ।
पशुपति क्षेत्रमा छ हजार साधुसन्त, सुरक्षाका लागि छ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए । फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।
हाते ऊनका उत्पादनको निर्यात ११ % वृद्धि, एक तिहाइ अमेरिकामा खपत हुने
काठमाडौँ । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन)का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ दशमलव दुई प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए । गएको वर्ष एक अर्ब ५९ करोडको सामान निर्यात भएको जानकारी दिँदै उनले कूल निकासीमध्ये ऊनी फेष्टका सामग्रीको हिस्सा भने एक दशमलव नौ प्रतिशत मात्रै रहेको बताए । तर, २०७० सालदेखि भने क्रमशः निर्यातमा वृद्धि भइरहेको कार्यकारी निर्देशक राणाको भनाइ थियो । मुख्यगरी यस्ता सामग्री अमेरिका, जर्मनी, क्यानडा, स्वीडेन, नेदरल्याण्ड, जापान र फ्रान्समा पुग्ने गरेको छ । निर्यात भएकामध्ये एक तिहाइ अमेरिकामा खपत हुने गरेको उक्त केन्द्रले जनाएको छ । विश्वबजारमा यस्ता सामग्रीको माग राम्रो भएको व्यवसायीले बताएका छन् तर सरकारको नीति नियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या आइरहेको व्यवसायीले बताएका छन् । विश्व बजारमा शून्य दशमलव ०१ प्रतिशत ऊनी फेष्टको आयात हुने गरेकामा यसलाई १०० प्रतिशत मान्दा अमेरिकाले मात्रै सात दशमलव नौ प्रतिशत आयात गर्ने गरेको छ । आयात गर्ने दोस्रोमा मेक्सिको र तेस्रोमा जर्मनी रहेको कार्यकारी निर्देशक राणाले बताउ । विश्वको मागमा नेपालले एक दशमलव दुई प्रतिशत निर्यात गरिरहेको र निर्यातका हिसाबले नेपाल १८औँ स्थानमा रहेको उक्त केन्द्रले जनाएको छ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठले ठमेललगायत बजार क्षेत्रमा खुलारुपमा खरीद–बिक्रीसमेतलाई जोड्ने हो भने यसको निर्यात वार्षिक रु दुई अर्बको रहेको जिकिर गरे । “हाम्रो व्यवसाय ओझेलमा परेको र बीसौँ वर्षसम्म व्यवसाय चलिसक्दा पनि सरकारी निकाय फेल्ट भनेको के हो भनेर सोध्छन्, यसले हामीलाई दुःख लाग्छ ।” श्रेष्ठले भने । उनले थपे, “फेल्टिङ प्रविधिबाट हरेक चीज बन्छ, काँचो माटोजस्तै हो, कलात्मक आर्ट हो, जुत्ता, कार्पेट, झोला, खेलौना, क्रिसमस सामग्रीलगायत हरेक चिज बन्छ तर पनि सरकारको ध्यान यसतर्फ पुगेको छैन ।” विगतमा रु एक लाखबाट निर्यात शुरु गरिएको यो व्यवसाय अहिले अर्बौंको पुग्नु आफैँमा सफलता भएकाले सरकारले प्रोत्साहन गर्ने हो भने अझै निर्यात बढाउन सकिने बताए । बीस हजार महिलाले रोजगार पाएको यो व्यवसायमा दक्ष कामदारको भने अभाव रहेको व्यवसायीहरू बताउँछन् । अर्का व्यवसायी महेश्वर श्रेष्ठले निर्यातका लागि आवश्यक पूर्वाधार र उत्पादन बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि स्पष्ट नीतिको खाँचो रहेको औँल्याए । “भियतनाम, श्रीलङ्का, कम्बोडियाले निर्यात बढाइरहेका छन्, उनीहरुकोमा स्पष्ट नीति नियम छ र सम्भव भएको हो, यसतर्फ नेपालले ध्यान दिनुपर्छ ।” नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेशभाइ शाक्यले निर्यातको नगद प्रोत्साहन बढाउनुपर्नेमा जोड दिँदै दक्ष जनशक्तिको समेत आवश्यकता रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले साना उद्यमीले नसोचेको प्रगति गरिरहेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहनको खाँचो रहेको औँल्याए । अर्थमन्त्री युवराज खतिवडाले उद्योग व्यवसायको विकास गरी निर्यात बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै आएका छन् । जनशक्ति उत्पादनका लागि तालीम दिन सरकार तयार रहेको उनको भनाइ थियो । रासस
ह्याम्स अस्पतालले भन्यो-पूर्वअर्थमन्त्री अधिकारीको अवस्था गम्भीर
काठमाडौँ । नेकपाका नेता, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था निकै गम्भीर रहेको छ । ह्याम्स अस्पतालले आज पत्रकार सम्मेलन मार्फत अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाएको हो । महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताए, स्वास्थ्य अवस्था खस्कदै गएको पत्रकार सम्मेलनमा बताइयो । सो अस्पतालमा नेता अधिकारीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते ८४ वर्षिय अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ ।
३ सय ६० जनाले पूरा गरे इञ्जिनियरिङको पढाई, कलेजले गर्यो बिदाई
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले कलेजमा इन्जिनियरिङ अध्ययन पूरा गरेका तीन सय ६० जना विद्यार्थीलाई राजधानीमा एक कार्यक्रम गरी विदाई गरेको छ । कलेजमा सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्समा पढाई पूरा गरेका विद्यार्थीको विदाई गरेको हो । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष प्रा. दीपक भटराईले कलेजका अध्ययन पूरा गरेर कलेजले विदाई गर्नु भनेको समुद्रमा पौडन सक्ने गरी छोडनु जस्तै भएको बताए । विशाल समुद्रमा अव तपाईँहरुले समुद्रका अन्य जीवजन्तुसँंग संघर्ष गरेर अगाडि वढ्नुपर्छ, उनले भने, जुन संघर्ष कक्षाकोठाको संघर्ष भन्दा अझ वढी चुनौतीपूर्ण हुन्छ । कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पढाईका साथै व्यवहार पनि उतिकै राम्रो हुनुपर्ने खाँंचो औंल्याए । नलेज इज समथिंग, आटिट्युट इज मोर थिंग (ज्ञान केही हो, व्यवहार धेरै ठूलो कुरा हों) उनले भने । कलेजका उपप्राचार्य दीपक धामीले एसईई, प्लस टु, स्नातक, स्नातकोतर तह जति चुनौतीपूर्ण छ त्यो भन्दा वढी चुनौतीपूर्ण जीवन संघर्ष भएको बताए । सम्वन्धित विभाग (सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्स)को संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै विषयगत रुपमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । नदी किनारको ललितपुरतिरको भागमा म्याद सकिएका औषधि ल्याएर गाडी फोहर बनाउँदै आएको इञ्जेक्सन नेपाललाई महानगरपालिकाले २० हजार जरिवाना गराएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २६५ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप गौरीघाटबाट गुह्येश्वरी मन्दिर अघिको नदी किनारसम्म सफाइ गरियो । यसैगरी वाग्मती सफाइ अभियानका अभियानकर्मीले दुई वर्षपछि मकर मेला लाग्ने पनौतीको त्रिवेणीधाममा सफाइ गरेका छन् । पुण्यवती, लीलावती र रुद्रवती गरी तीन नदीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सक्रिय सहभागिता थियो । दुवै सफाइ अभियानबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । रुद्रमती सफाइ अभियानको २५८ हप्तामा रातोपुल–सेतोपुल–मैतीदेवी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका–३० सहितका २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइको २३० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सफाइमा वडाध्यक्ष अमृत थापा, स्थानीय महिला समूह, तीनवटै सुरक्षा निकाय, तारकेश्वर र विनायक सफाइ कम्पनी प्रालिको पनि सक्रियता थियो । तिलगङ्गा क्षेत्रको वाग्मती सफाइको २०४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहलगायत संस्थाको सक्रियतामा सफाइ अभियान भइरहेको छ । चक्रपथ सफाइको ९९ औँ हप्तामा नारायणगोपाल चोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । २८० अभियानकर्मीको सक्रियतामा भएको सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको सफाइ अभियान यही फागुन २५ गते शनिबार १०० हप्ता पूरा गर्दैछ । १०० हप्ता पूरा गरेको अवसरमा अर्को शनिबार विशेष कार्यक्रमको तयारी गरिएको चक्रपथ सफाइ अभियानकर्मी तिलक बस्नेतले बताए । आलोकनगर सफाइको ९९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले बताइन् । सडक एवम् नदी किनारमा रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने सम्बन्धमा टोलवासीबीच छलफल पनि भएको उनले बताए । चक्रपथ बाफल खण्ड सफाइको ८१ औँ हप्तामा कलङ्कीचोकबाट स्युचाटार पुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए । आइतबारदेखि वीरगञ्जमा शुरु हुने नेपालकै पहिलो अश्वमेध महायज्ञको पूर्वसन्ध्यामा आज त्यहाँ पनि वाग्मती सफाइ महाअभियानका अभियानकर्मीले सफाइ गरेको गोविन्द काफ्लेले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानका प्रभावले हालसम्म देशका १०३ स्थानमा साप्ताहिक रुपमा सफाइ जागरण भइरहेको छ । रासस
विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच हानाथाप, गरियो गोलाप्रथा
बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए । “जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ”, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।” उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेकी छिन् । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो । रासस