प्रवेश पत्र जलाउँदै मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिष्कार
काठमाडौं। आजदेखि सुरु हुने भनिएको एमबिबिएस, बिडिएस, नर्सिङलगायत आठ संकायका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन्। आन्दोलनरत विद्यार्थीहरुले परीक्षाको शुल्क समायोजनको विषयलाई लिएर परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेजका विद्यार्थीले त प्रवेश पत्र नै च्यातेका छन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागी नहुने बताएका छन्। शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो। तर, विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको सहमति मान्य नहुने भन्दै विरोध गरिरहेका छन्।
मालपोतका नायब सुब्बा मिश्र र कार्यालय सहयोगी गौतम घुस रकमसहित नियन्त्रणमा
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नाराणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले मिश्रले सेवाग्राहीबाट सो रकमको घुस लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिएको हो । मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि कार्यरत कार्यालय सहयोगी(करार) भाईकाजी गौतमलाई उक्त रकम दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा आयोगले बुधबार उक्त टोली खटाएको थियो ।
यामाहा महाएक्सचेन्ज मेला शुरु, पुरानो मोटरसाइकल तथा स्कुटर साट्न सकिने
काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम.ए.डब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला शुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा यहि १८ गतेदेखि २२ मंसिर ५ दिनका लागि संचालन हुनेछ । यामाहा महा एक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउने छन् । साथै, ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सहि मूल्याङकन पाउने कम्पनीले जनाएको छ । ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने छन् । “यस महाएक्सचेन्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भब्य हुने कुरामा हामी विश्वत छौं । यामाहा वाइकहरु, हाम्रा उपभोक्ताहरु माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा कुनै दुइ मत छैन । यस यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरु हाम्रा उपभोक्ता माझ पुर्याउन हामी प्रतिवद्ध छौ” भनि यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।
अब बैंकमा गएर पैसा डिपोजिट गर्ने दिन सकिए, स्मार्टकार्ड नेपालले ल्याउँदैछ दुई स्मार्ट प्रडक्ट
रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको साहरामा भर्चुलअ सर्भिसको विजनेसमा लागेका छन् । स्मार्ट कार्ड नेपालमार्फत अब केही सातामै उनी स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट बजारमा ल्याउँदैछन् । संखुवासभा खाँदबारी घर भएका उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र दुबईबाट आईटी विषयमा प्रोफेसनल कोर्ष अध्ययन गरे । सानैदेखि सुचना प्रविधिमा रुचि भएका उनै दियालीसँग अब बजारमा आउन लागेको प्रडक्ट ‘स्मार्ट कार्ड र स्मार्ट वालेट’मा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बिकास बहस गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएकाे बिकास बहस : नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित र सहज बनाउन सुचना प्रविधीको अवस्था कस्तो छ ? वित्तीय क्षेत्रलाई अगाडि बढाउनका लागि सुचना प्रविधिको भूमिका एकदमै महत्वपूर्ण छ । पछिल्लो समय सुचना प्रविधिबिना वित्तीय क्षेत्र अगाडि बढाउन सम्भव नहुने अवस्था आइसकेको छ । सबैको पहुँचमा सुचना प्रविधि पुग्नु जरुरी पनि छ । सबै ठाउँमा आईटी मात्र पुगेर हुँदैन आम जनमानसमा वित्तीय चेतना हुन पनि आवश्यक छ । जब मानिसमा आइटीको चेतना हुन्छ तव उसले प्रबिधियुक्त वित्तीय कारोबार गर्न थाल्छ । उसले आफ्नो आर्थिक कारोबारलाई सहज ढंगले अघि बढाउन सक्छ । मैले स्मार्ट कार्ड नेपाल स्थापना गर्नुपर्छ, वित्तीय र आइटी सेक्टरलाई मध्यस्त गर्ने प्रणालीका रुपमा स्मार्ट कार्ड नेपाललाई विकास गर्नुपर्छ भन्ने यो मानसिकता र अवधारणा कसरी बनाउनु भयो ? हामीले आजभन्दा पाँच वर्ष अगाडि स्मार्ट कार्ड नेपालको स्थापना गरेका हौं । अब केही हप्तामा नै हाम्रो प्रडक्ट बजारमा लिएर आउँदैछौं । यो प्रडक्ट नेपालमा मात्र नभएर विश्वमा नै नयाँ प्रडक्डका रुपमा लिएर आउँदैछौं । स्मार्ट कार्ड नेपाल एउटा कम्पनी हो । हामीले ल्याउने प्रडक्ट प्रिपेड स्क्य्राच कार्ड हो । त्यो एनसेल र एनटीसीको रिचार्ज कार्ड जस्तै हुन्छ । उक्त कार्ड हामीले विभिन्न फाइनानसियल ट्रान्जेक्सनका लागि प्रयोग गर्छौं । म वाणिज्य क्षेत्रको मान्छे नभएपनि आइटी क्षेत्रको मान्छे हुँ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सिमित मानिसहरुको पहुँचमा मात्र वित्तीय क्षेत्रको पहुँच छ । बैंकिङ कारोबार गर्ने मान्छेहरुको संख्या अत्यन्तै कम छ । यो आर्थिक स्थिती र जनचेतनाको कमिले हो । अर्को के छ भने मान्छेहरु सँग पैसा भएपनि उनीहरुले बैकिङ कारोबार नगरेको अवस्था छ । यसको मुख्य समस्या बैकिङ पहुँच नपुग्नु हो । उनीहरुमा कारोबारको चेतना नहुनु पनि अर्को समस्या हो । त्यसले गर्दा मैले के सोचे भने कसरी सवै सर्वसाधारण सम्म वित्तीय पहुँच पु¥याउन सकिन्छ भनेर अनुसन्धान गरेँ । त्यस्तो खालको काम सिर्जना गरें । त्यहि अवधारणालाई खेलाउँदै यो खालको प्रडक्ट बनायो भने नेपालमा राम्रो हुन्छ भन्ने सोचेँ । सबै मानिसहरु वित्तीय पहुँचमा आउन सक्छन् भन्ने सोचेँ । यो कन्सेप्ट मैले २०७० सालमा बनाएँ । कन्सेप्ट बनाएसँगै यसलाई कसरी बजारमा जाने कुन निकायले यसलाई मनिटरीङ गर्छ भन्ने कुनै थाहा थिएन । त्यसपछि हामी नेपाल राष्ट्र बैंक समक्ष गयौं । अहिले हामीले राष्ट्र बैंकबाट लाइसेन्स पनि लिइसकेका छौं । मैले यो स्मार्ट कार्ड कन्सेप्ट ल्याउनुको मुख्य कारण भनेको मान्छेले बैंक खातामा भएको पैसा जसरी पनि मोविलाइज गर्छ । खातामा पैसा जम्मा गरेपछि र एटिएमबाट पैसा झिक्छ । अहिले विश्वमा धेरै खर्च गर्ने विकल्पहरु मात्र छन् । अहिले जन्मेका सबै सेवाहरुले खर्च गर्ने बाटो मात्र देखाइरहेका छन् । तर हामी त्यो भन्दा फरक किसिमका छौं । हामी डिपोजिट गर भनेर उत्प्रेरणा जगाउँछौं । हाम्रो स्क्य्राच कार्ड भन्ने वित्तिकै डिपोजिट गर्ने हो । हाम्रो कम्पनीले कार्ड प्रडक्ट गर्छ । बैंकले त्यसलाई भेरिफाई गर्छ । हामी विभिन्न नेटवर्क द्वारा मार्केटमा पठाउँछौं । बजारमा ग्राहकले त्यो कार्ड खरिद गर्छ र नेपाल भरि रहेका बैंक तथा वित्तीय संस्थाको खातामा त्यो कार्ड मार्फत डिपोजिट गर्न सक्छ । उसले आफ्नो क्यास बराबरको कार्ड किन्छ । त्यो कार्डलाई स्क्य्राच गरेर मोबाइल एप्लिकेसन मार्फत आफ्नो कुन बैंक हो, बैंक छनोट गर्छ । आफ्नो खाता नम्बर र नाम र त्यो रिचार्ज कार्डमा भएको पिन नम्बर राख्छ । त्यो प्रक्रियाबाट उसले आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सक्छ । गाउँघरमा सानो सानो आर्थिक कारोबारका पैसाहरु धेरै हुन्छन । खल्तीमा पाँच सय, हजार भएपनि त्यो हराउँन वा खर्चहुन सक्छ । तर यो कार्ड भयो भने सानो अमाउन्ट पनि बैकिङ च्यानलमा आउने भयो । त्यो सहज हुन्छ । मान्छेहरुले चाहेको रकम जम्मा गर्न सक्ने भए । यो २४ सै घण्टा सुचारु हुन्छ । यसको लागि शनिबार भएपनि फरक पर्दैन । अझ शहर क्षेत्रमा पनि मानिसहरुले हिडेर बैंकसम्म पुग्नु प¥यो । गाडीमा जानु प¥यो जाम हुन्छ । बैंकमा गएर पनि भौचर भर्नु प¥यो । धेरै समय लगाएर मान्छेले पैसा जम्मा गर्ने पालो पाउँछ । यो सबै झमेलाबाट मुक्त गराउन अब स्मार्ट कार्डको आवश्यकता हामीले महसुस ग¥यौं । अब प्रयोगकर्ताले बैंक सम्म पुग्नु पर्दैन । आफ्नो खाता वा साथीको खातामा उक्त कार्ड मार्फत तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । विश्व एक ‘ग्लोवल भिलेज’का रुपमा विकास भइसकेको अवस्था छ । आमसर्वसाधारण पनि सुचना प्रविधिमा रम्न थालि सकेका छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने अझैं धेरै मानिस आईटीको पहुँचमा छैनन् । नेपाल जस्तो पुरै आइटीमा विकास नभएको देशमा तपाईले ल्याएको अवधारणा कतिको सम्भव छ जस्तो लाग्छ ? यो सम्भव छ । विश्वको ट्रेण्ड हेर्ने हो नेपालका मानिसहरु मनोरञ्जन र सुचना प्रविधि ग्रहण गर्ने कुरामा अगाडि नै छन् । पछिल्लो समय नेपालीहरु आइटीमा छिट्टै नै अगाडि बढेको अवस्था छ । नेपालमा उत्पादन नभएपनि उपभोगका रुपमा अगाडि छन् । त्यसले गर्दा यो समय भनेको एकदम राम्रो हो । नेपालमा सत–प्रतिशत आइटी विकास गर्न पाँच दश वर्ष लाग्छ त्यसका लागि ग्रामिण क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नु प¥यो । सरकारी र प्राइभेट क्षेत्रबाट पहल गर्नु प¥यो । त्यसले गर्दा अझै समय लाग्छ । अहिले सुरु ग¥यो भने त्यो समयसम्मका लागि एकदमै राम्रो हुन्छ । ग्रामिण तथा बिकट क्षेत्रमा आइटीको पहुँच पनि हुँदैन त्यसैले विशेषगरि त्यस्ता ठाउँका लागि हामीले यो स्मार्ट कार्ड प्रविधि फोकस गरेका छौं । अहिले हामी आन्तरिक अभ्यासमा छाैं । तपाईले अब केही हप्तामै स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट लन्च गर्दैछौं भन्नुभयो । यो स्मार्ट कार्ड र स्मार्ट वालेट भनेको के हो ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ? स्मार्ट कार्ड र स्मार्ट वालेट हाम्रा दुईटा प्रडक्ट हुन् । स्मार्ट कार्ड भनेको प्रि–पेड स्क्य्राच कार्ड हो जुन मोबाइलको रिचार्ज कार्ड जस्तै हो । हामी त्यो रिचार्ज कार्डबाट बैंक खातामा पैसा जम्मा गर्न सक्छौं । मोबाइलको रिचार्ज कार्ड झैं हुने स्मार्ट रिचार्ज पेपरबेसमा रहेको छ । एउटै कार्डबाट विविध वित्तीय कारोबार गर्न मिल्ने रिचार्ज कार्ड बनाइएको छ । रिचार्ज कार्ड १ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार मूल्यमा रहेका छन् । स्मार्ट रिचार्ज कार्डहरु कम्पनीका डिस्ट्रिब्युटरमार्फत सहजै पाउने व्यवस्था रहेको छ । अब स्मार्ट वालेट भनेको डिजिटल पेमेण्ट गेटवे हो । हाम्रो आफ्नै स्मार्ट कार्डबाट फण्ड लोड गर्ने र स्मार्ट वालेट मार्फत मल्टिपल पेमेन्ट गर्न सकिन्छ । वालेटमा पैसा राख्ने हाम्रो आफ्नै रिचार्ज कार्ड हुन्छ । त्यसले गर्दा यो पनि एउटा सहज माध्यम बन्न सक्छ । स्मार्ट कार्डबाटै डोमिस्टिक रेमिटेन्स गर्न सकिन्छ । जस्तै काठमाडौंबाट पोखराको मान्छेलाई दश हजार पैसा पठाउनु प¥यो भने हामी रेमिटेन्स एजेन्सी कहाँ गइरहनु पर्दैन । पसलबाट १० हजार बराबरको रिचार्ज कार्ड किनेर त्यही रिचार्ज कार्डको पिन हामी पोखराको साथीलाई पठाउन सक्छौं । अनि उसले त्यो नम्बर लगेर स्मार्ट कार्डको डिलर वा कार्डसँग सम्बन्धित बैंकहरुको मा गएर पैसा झिक्न सक्छ । आईटीमा पूर्ण कन्भर्ट नभइसकेको नेपाल जस्तो देशमा तपाईले ल्याएका सेवा विस्तार गर्न के कतिको चुनौती देख्नुहुन्छ ? चुनौती त धेरै छन् । सर्वप्रथम त मानिसहरुलाई यो सम्बिन्ध बुझाउन गाह्रो छ । कसैले पनि झट्टै विश्वास गर्दैनन् । मैले यो कम्पनी स्थापना गर्ने समयमा पनि त्यस्ता समस्याहरु झेलि सकेका छु । सुरुमा त स्मार्ट कार्डबाट बैंकमा पैसा जम्मा गर्न सकिन्छ र भन्ने कसैले पनि विश्वास गरेनन् । जब मैले काम गर्दै गएँ । सिस्टमहरु बनाएँ । टेस्ट गरेर देखाएँ । बल्ल उनीहरुले विश्वास गरेर यो लेवल सम्म पुगेका छौं । अब अहिलेको समयमा त्यस्तो गाह्रो छैन । हामी सजिलै सँग काम गर्न सक्छौं । तपाई सोसाइटी डेभलपमेण्ट फाउण्डेसनको पनि संस्थापक हुनुहुन्छ । त्यो किन स्थापना गरियो ? त्यसको कार्यहरु के-के हुन् ? यो पनि नेपालको फरक किसिमको र एक नयाँ संस्था हो । यो एउटा गैर नाफामुलक कम्पनी हो । हामी कम्पनी रजिष्ट्रारमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध छौं त्यासैगरी आन्तरकि राजश्व कार्यालयमा पनि आवद्ध छौं । यो एउटा अनलाईन क्राउड फण्डिङ कम्पनी हो । मान्छेहरुलाई विभिन्न कार्यका लागि फण्डको आवश्यक हुन्छ । त्यो फण्ड मान्छेले कसरी जुटाउँछ त्यो एकदमै गाह्रो छ । विश्वमा क्राउडफण्डिङको अभ्यास धेरै पहिले देखिको हो । नेपालमा अहिले सम्म एक पनि क्राउडफण्डिङ प्लटफर्म छैन । यसको जरुरत नेपालमा पनि छ । त्यही भएर नेपालमा पनि हामीले यसको आवश्यकता महशुस गरेर गत साल स्थापना ग¥यौं । यसले मान्छेहरुलाई के समस्या छ । के कामका लागि पैसा चाहिएको हो । त्यसको बारेमा विस्तृत प्रजेक्ट प्रपोजल चाहिन्छ । त्यसको समाधानको बाटो के हुन्छ भनेर फोकस गरेर एउटा मुख्य प्रपोजल तयार बनाउनु पर्ने हुन्छ । त्यो प्रपोजल उनीहरुले हाम्रो अनलाइन प्लाटफर्ममा सबमिट गर्नुपर्ने हुन्छ । त्यो भइसकेपछि त्यो प्रोजेक्ट कतिको उचित छ भनेर हामीले भेरिफाई गर्छौं । त्यसपछि हामी त्यसलाई अनलाईन प्लेटफर्ममा लाइभ गर्छौं । त्यसपछि विश्वभरि रहेको डोनरहरुले उक्त प्रोजेक्टमा डोनेसन गर्छन् । त्यो सबै रकम पार्दर्शि हुन्छ । अहिले हामी त्यसको क्षेत्रमा काम गर्दै आएको छौं । तपाई जस्ता धेरै युवाहरू स्वदेशमै केही गर्न चाहन्छन् । त्यस्ता युवाहरुलाई तपाई कस्तो सल्लाह सुझाव दिनुहुन्छ । युवाहरु कसरी आत्मनिर्भर बन्न सक्छन् ? मेरो पनि आफ्नै संघर्षका पाटाहरु छन् । म आफैले पनि विदेशमा धेरै कुराहरु भोगेको छु । हामी नेपालीहरु जति विदेश गएर दु.ख गर्छौं । विदेश गएपछि मान्छेले दायाँबायाँ गर्नै पाउँदैन । ऊ काम गर्नै मात्र व्यस्त हुन्छ । नेपालमा पनि त्यसरी काम गर्नु प¥यो । कसैले पनि उसलाई अनुशासन सिकाउने हईन । उसले आफैले त्यो किसिमको वातावरण सिर्जना गर्न सक्नु प¥यो । अठोट लिएर काम गर्नु पर्छ । दोधारे भयो भने कहिल्यै पनि काम हुँदैन । एउटै लक्ष्य लिएर काम गर्नु प¥यो । निरन्तर काममा लागि रहनु प¥यो । तब मात्र मान्छेले लक्ष्य भेटाउन सक्छ । गरे नेपालमै प्रसस्त सम्भावनाहरु छन । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दो छ । यता सरकारले युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेको छ । युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न के गर्नु पर्ला जस्तो लाग्छ ? व्यक्तिले आफुले मात्र केही गर्छु भनेर हुँदैन । त्यसका लागि काम गर्ने वातावरण सिर्जना हुनु प¥यो । सरकारी क्षेत्रबाट पनि एक किसिमको सहानुभुति हुनु प¥यो । सरकारी क्षेत्रबाट प्रदान हुने विभिन्न सेवाहरु सरकारले दिलाउनु पर्ने हुन्छ । कतिपय अवस्थामा सरकारी निकायबाटै पाउनु पर्ने अनुदान, सहुलियतपूर्ण कर्जाका कुराहरुमा वास्तविक पाउनु पर्ने युवाहरुले पाएका हुँदैनन् । योजना आउँछ तर त्यो योजना युवाहरु सम्म आइपुग्दा तुही सकेको हुन्छ । त्यसले गर्दा पनि यो समस्या परिरहेको अवस्था छ । नपाउने मान्छेले पाएर अपचलन पनि भएको अवस्था छ । आगामी योजनाहरु के–के छन् ? सर्वप्रथम त मैले यि दुई ड्रिम प्रोजेक्ट सफल पार्नु पर्नेछ । यो राम्रो सँग चलाउनु छ । यो सफल भएपछि वित्तीय क्षेत्रमा नै एउटा ड्रिम प्रोजेक्ट छ । त्यसपछि म त्यसको काम गर्न थाल्छु ।
मेलम्चीको पानीभन्दा भारतीय पाइपलाइनको तेल छिटो, अब चीनबाट पनि तेल आउने
काठमाडौं । नेपाल विकासको गतिमा लम्किरहेको छ । तर, ३ दशक अगाडि शुरु भएको राष्ट्रिय गौरबको योजना मेलम्चीको पानी भने अझै काठमाडौं आइपुगेको छैन् । मेलम्चीभन्दा पछि सुरु भएको नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको ३ महिनाभन्दा बढि भइसक्याे । ३० महिना लाग्ने अनुमान गरिएको पाइपलाइन निर्माण १५ महिनामै पूरा भयाे । त्यतिबेला ताेकिएकाे समयभन्दा पहिले नै आयाेजना सम्पन्न भएको भन्दै धेरैले खुशी व्यक्त पनि गरे । भूकम्पसँगै भारतको नाकाबन्दीका बेला भारतको विकल्पमा करिब ३३ प्रतिशत इन्धन अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय सरकारले गरेको थियो । त्यसै अनुसार नेपालमा चीनको केरुङदेखि रसुवागढी, नुवाकोट हुँदै काठमाडौँसम्म पाइपलाइन विस्तारको योजना निगमले अघि बढाएकाे छ । उद्योग मन्त्रालय स्रोतका अनुसार केहि समय पछि पेट्रोलियम पाइपलाइनका विषयमा अध्ययन गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणको क्रममा समेत पेट्रोलियम आपूर्तिबारे छलफल र सहमति भएको थियो । चीनबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि थप अध्ययन गर्ने विषयमा समेत दुई मुलुकका प्रधानमन्त्रीबीच सहमति नै भएको थियो । नेपाल आयल निगम र चीन सरकारले तोकेको चिनियाँ पेट्रोलियम कम्पनीबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षरसमेत भइसकेको छ । यस्तो छ नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको इतिहास भारतबाट पेट्रोलिय पाइपलाइनमार्फत डिजेल, पेटोल र मट्टितेल ल्याउने चर्चा १९९५ तिरबाटै सुरु भएको हो । याे याेजनाले यसले २००४ मा प्राथामिक्ता पायो । नेपाल आयल निगम र भारतीय आयल कर्पाेरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्न २००४ मा एमओयूमा हस्ताक्षर भएको थियो । उक्त एमओयू अनुसार दुई देश मिलेर एउटा कम्पनी खडा गरी परियोजना निर्माण गर्ने भनिएको थियो । एमओयू भए पनि यो विषयले पनि लामो समय त्यसै ओझेलमा पर्यो । निगमले २००७ मा अमेरिकी सहयोगमा अनुभवी विज्ञसँग परामर्श लिएपछि जी टू जी मोडलमा परियोजना अघि बढाइयाे । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नाकाबन्दी खुले लगत्तै ओली भारत भ्रमणमा गए । सो भ्रमणका क्रममा २०७३ मा ओली र भारतीय समकक्षी मोदीले दिल्लीमा पाइपलाइनको सिलान्यास गरे । पेट्रोलियम पाइपलाइन निर्माण र अमलेखगन्ज डिपो स्तरीकरणको सम्पूर्ण खर्च भारतीय आयल कर्पाेरेशनले ब्यहोरेर सञ्चालनमा आएको हो । काठमाडौं उपत्यकाकाको लागि दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान गर्न वि.सं. २०३०/३१ देखि नै पानीको स्रोतहरू अध्ययन गरी उपत्यकामा खानेपानी आपूर्तिलाई सहज बनाउने प्रयास भएको थियो । काठमाडौं उपत्यकामा खानेपानीको मागभन्दा आपूर्ति कम भएकोले पानीको मागलाई पुरा गर्ने विकल्पको रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा शुरु भएको थियो । मेलम्ची खानेपानी आयोजना नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो । मेलम्चीको प्रथम चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, पानी अझै आएको छैन । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनाव प्रचारको क्रममा मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु भनेका थिए । त्यस पछि राजधानीबासीको सपना मेलम्चीमा जोडियो । २०४८ सालदेखि हालसम्म आउँदा अर्थात् यो २७ बर्से अवधिमा नेपालमा १८ जना व्यक्तिहरु प्रधानमन्त्री भए । नयाँ बनेका सरकारहरुले मेलम्ची खानेपानी आयोजनालाई प्राथमिकता दिए तर व्यवहारमा यो आयोजना त्यति धेरै तीव्र गतिमा अघि बढ्न सकेन ।
नेपाल पर्यटन बोर्डका सीईओको कार्यकाल सकिँदै, नयाँ सीईओका लागि आवेदन खुल्ला
काठमाडाैं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डले बुधबार एक सुचना जारी गर्दै सीईओको लागि आवेदन खुलाएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगामी पुस ७ गते सकिँदैछ । उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो । बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्तिर्ण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ । इच्छुक व्यक्तिले नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल पर्यटन बोर्डको खाता नम्बर ००१०१०१००३०२१८ मा पाँच हजार रुपैयाँ जम्मा गरेर आवेदन गर्ने सक्नेछन् । इच्छुकले २१ दिनभित्र बुझाइसक्नु पर्ने आवेदनमा उल्लेख गरेकाे छ । जाेशी वि.स २०७२ पुस २ गते सीईओमा नियुक्त भएका थिए । जाेशी अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधारसमेत चयन भएका थिए । तर, जोशी तुलाधर र महतोलाई पछि पारेर सीइओमा नियुक्त भएका थिए । उनले प्रतिस्पर्धामा ६९ दशमलव ५ अंक ल्याएका थिए ।
राजश्व सङ्कलनमा गिरावट, लक्ष्यभन्दा ७६ कराेडले कम
काठमाडौं । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ९८ करोड १९ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो । उक्त अवधिका लागि कार्यालयलाई रु दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिएका छन् । उनले अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको बताए । यसैगरी अन्तःशुल्कतर्फ रु एक अर्ब ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा रु ६१ करोड ४८ लाख ७४ हजार मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ । विकास निर्माणको काम ढिलो गतिले हुनु, जग्गाको कारोबार नहुनु र मादकपदार्थको बिक्रीमा पनि कमी आउनुजस्ता कारणले राजस्व असुली कम भएको प्रमुख सापकोटाको भनाइ छ । उक्त अवधिमा आयकरतर्फ रु ७५ करोड ८४ लाख २८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६० करोड ८३ लाख ८८ हजार, अन्तःशुल्कतर्फ रु ६१ करोड ४८ लाख ७४ हजार, स्वास्थ्यसेवा करतर्फ रु ५२ हजार तथा शिक्षा करतर्फ रु दुई लाख १४ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । लक्ष्यको तुलनामा आयकरतर्फ १०६ दशमलव ४१ प्रतिशत र मूल्यअभिवृद्धि करतर्फ १०३ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको तर अन्तःशुल्कतर्फ लक्ष्यको तुलनामा ४२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन हुनुले समग्र राजस्व सङ्कलनमा कमी आएको प्रमुख सापकोटाले बताए । उनका अनुसार कार्यालयसँग आबद्ध भएका एक लाख ४३ हजार करदातामध्ये व्यापारिक उद्देश्यका करदाता ६१ हजार रहेका छन् । रासस
कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारीमा, नौ आकाशे पुल हुनेगरी डिजाइन शुरू
काठमाडौं । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताएका छन् । कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो । उनले भने, “विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।” सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको छ । झण्डै ४०० पोल सारिएका प्रमुख थापाले बताए । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । उनले भने, “खानेपानीका पाइप सार्नका लागि हामीले रकम दिइसकेका छौँ, केयुकेएल ठेक्का सम्झौतामा गएको छ ।” सडकको अधिकार क्षेत्रमा रहेका घर हटाउन बाँकी छन् । विभिन्न स्थानमा गरी २२ घर सडक निर्माण गर्ने स्थानमा रहेका प्रमुख थापाले बताए । सो घरको अधिग्रहणका लागि मूल्याङ्कनको काम भइरहेको छ । उनले भने, “जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण भएपछि नै हामीले सो स्थानमा काम गर्न पाउनेछौँ ।” सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायतका संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ । सो सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइटर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतसम्ममा सडक हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको हो । पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताए । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । रासस