विकासन्युज

सेञ्चुरी बैंकद्वारा गढीमाई मन्दिरलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक वीरगञ्ज शाखाद्वारा गढीमाई मन्दिरलाई सहयोग गरेको छ । महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की प्रदान गरिएका हुन् । बैकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद शाह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरिएका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

एनआरएनको ४० करोड सहयोगमा पर्वतको पञ्चासे केबलकार निर्माण हुँदै,१० हजारलाई रोजगारी सिर्जना

काठमाडौं । गैरआवासीय नेपालको लगानीमा पर्वतमा पञ्चासे केबलकार निर्माण हुने भएको छ। पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायत लगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले भने । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शर्माले बताए । रु ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ । रु चार अर्ब ५५ करोड शेयरमध्ये रु दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । रु एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ । विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ । परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ ।  रासस

ऋण लिने संगठित संस्थाका लगानीकर्ता बैंककाे सञ्चालक बन्न नपाउने; यसरी हुँदैछ बाफियामा संशाेधन

काठमाडौं । औद्योगिक प्रतिष्ठानका ऋणी समुदाय र बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई अलग गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंक प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि नेपाल राष्ट्र बैंकले हालसम्म हुँदै नभएको व्यवस्था थप गर्दै कुनै पनि इजाजतप्राप्त संस्थाबाट कर्जा/सुविधा लिएको फर्म वा कम्पनीमा वित्तीय स्वार्थ भएको व्यक्ति सञ्चालक बन्न अयोग्य हुने प्रावधान राखेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १८ मा रहेको ‘सञ्चालकको अयोग्यता’का सम्बन्धमा हाल रहेको व्यवस्था परिमार्जन गर्दै उपदफा ‘त’ र ‘थ’ थप गरेको छ । उपदफा ‘त’ ले सञ्चालकको उमेरहद तोकेको छ भने उपदफा ‘थ’ ले वित्तीय स्वार्थ भएको व्यक्तिलाई सञ्चालक बन्न अयोग्य रहने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थामा ७४ बर्ष भन्दा बढी उमेरको व्यक्ति सञ्चालक बन्न नसक्ने अवस्था देखाएको छ । प्रस्तावित व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक नियुक्त हुँदा सञ्चालक हुने व्यक्ति ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्ष हुँदा उक्त उमेर ७४ बर्ष भन्दा बढी हुन नसक्ने भएको हो । यद्यपि हाल सञ्चालक रहेका व्यक्तिलाई कार्यकाल रहुञ्जेल सञ्चालक बन्न यो प्रावधानले बाधा नगर्ने देखिएको छ । त्यस्तै, कुनै पनि इजाजतप्राप्त संस्थाबाट कर्जा सुविधा लिएको फर्ममा १० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको व्यक्ति समेत सञ्चालक बन्न अयोग्य रहने व्यवस्था गरिएको छ । कुनै ऋणी कम्पनीमा १० प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिलाई राष्ट्र बैंकले वित्तीय स्वार्थ भएको व्यक्तिको रुपमा परिभाषित गरेको हो । त्यस्तो शेयर स्वामित्व सो व्यक्तिको मात्रै नभएर ऐनको दफा २ को उपदफा ब ले व्यवस्था गरेअनुसार पति/पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले लालनपालन गर्नुपर्ने दाजु भाउजु, भाइ बुहारी र दिदीबहिनी र महिलाको हकमा सासु ससुरालाई समेत परिवारभित्र समावेश गरेको छ, यद्यपि अंशबण्डा गरी, मानो छुट्टिई आआफ्नो पेशा व्यवसाय गरी बसेका परिवारको सदस्यहरुलाई भने एउटै परिवारमा समावेश नगरिने प्रस्तावित व्यवस्थामा उल्लेख छ । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १८ (थ) थप गर्दै त्यस्ता व्यवस्था गर्न प्रस्ताव गरेको हो । बैंकिङ क्षेत्र सुधारको कोशेढुङ्गा नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको उक्त व्यवस्था बैंकिङ क्षेत्रको सुधारको कोशेढुङ्गा सावित हुने देखिएको छ । खासगरी ऋणी समुदाय र बैंकरहरु एउटै हुँदा नेपाली वित्तीय क्षेत्र प्रतिस्पर्धात्मक बन्न नसकेको मात्रै होइन, नेपाल राष्ट्र बैंकले लिएका नीतिहरु समेत असफल हुने गरेका छन् । यसले मौद्रिक अर्थशास्त्रको सामान्य नियमहरु लागु हुन नसक्ने तथा मुद्रास्फीति, ब्याजदर निर्धारणजस्ता सवालमा दुष्चक्र सिर्जना गर्ने काम गर्दै आएको छ । हाल बजारमा लगानीयोग्य पुँजीको अभाव छ । यसको प्रत्यक्ष असर ब्याजदर निर्धारणमा परिरहेको छ । ब्याजदर १३ प्रतिशत पुग्दा पनि वृद्धि हुने क्रम नरोकिएपछि त्यसमा खुला बजार अर्थतन्त्रको विरुद्ध हुनेगरी सरकारी हस्तक्षेप हुनु तथा बैंकरहरुमै पनि ब्याजदर तथा अन्य वित्तीय सूचकहरुमा कार्टेलिङ गर्नुपर्ने अवस्था सिर्जना हुनुको प्रमुख कारण समेत यही प्रावधानलाई मानिएको छ । हाल सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु व्यवसायिक पृष्ठभूमिका छन् । यस्तो अवस्थाको प्रत्यक्ष असर उनीहरुलाई पर्ने हुँदा सो व्यवस्था कायमै राखेर ऐन परिमार्जन गर्नु राष्ट्र बैंकलाई चुनौतीपूर्ण भने देखिन्छ ।

पोखरा विमानस्थल ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न पोखराका पर्यटन व्यवसायीकाे माग रहेकाे छन् । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकाे सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आग्रह गरेका छन् । अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएर पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएका थिए । रासस

‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ’ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए। एक्स्पोमा मन्त्री यादवले भने ‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।’ सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै मन्त्री यादवले नेपाल सरकारले अब चाँडै नै नेपालमा पर्यापता मात्रामा उत्पादन हुने औषधीको आयतमा पनि रोक लगाउने बताएका छन्। नेपाल औषधी उत्पादक संघद्वारा आयोजित नेपाल फार्मा तथा हेल्थ एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ । नेपालमा हाल ४० प्रतिसत औषधी उत्पादन हुन्छ भने बाकीँ ६० प्रतिसत भने आयत गरिन्छ। नेपालमा उत्पादन गरिएको औषधीहरु अन्तर्राष्ट्रिय स्तरको रहेको छ। काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएका छन्।

एकैदिन ५ सयले घट्यो सुन

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६१ हजार ५ सयमा कारोबार भईरहेको छ । शुक्रबार सुन ६२ हजारमा बिक्री भएको सुन आइतबार ५सय रुपैयाँ घटेर ६१ हजार ५ सयमा कारोबार भईरहेको हो । शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा  बिक्री भएको थियाे भने आइतबार ६१ हजार २ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला शुक्रबारको ७७० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ७६० रुपैयाँ कारोबार भैरहेको छ ।

भरतमोहन अधिकारीः विकास र सामाजिक सुरक्षाका ‘कोरियोग्राफर’

काठमाडौं । कम्युनिष्टले चुनाव जिते ६० वर्ष उमेर कटेकाहरुलाई मार्छन् भन्ने व्यापक हल्लाका बिच तत्कालिन एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा पहिलो दलको हैसियत प्राप्त गर्यो । अर्थमन्त्री कसलाई बनाउने भन्नेबारे पार्टीमा उपयुक्त पात्रको खोजी सुरु भयो । त्यतिबेला फेला परे भरत मोहन अधिकारी । अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै निजी सम्पति हडप्ने, ६० वर्ष माथीका जेष्ठ नागरिकलाई मार्ने जस्ता कु प्रचारलाई चिर्ने उपायको खोजी सुरु गरे अधिकारीले । व्यापक छलफलपछि फेला पारे कु प्रचार छिचाल्ने उपाय अनि आयो बजेटमा वृद्धि भत्ताको कार्यक्रम । उनै अधिकारीको कोरियोग्राफीमा सुरु भएको वृद्ध भत्ता कार्यक्रम आज पर्यन्त कम्युनिष्ट पार्टीका लागि जनमत बटुल्ने अस्त्र बनिरहेको छ । त्यसपछिका हरेक निर्वाचनमा तत्कालिन एमालेले वृद्ध भत्ताको कार्यक्रमलाई प्रमुख एजेण्डाका रुपमा अघि सार्दै आएको छ भने अहिलेको नेकपाले पनि २०७४ सालको निर्वाचनमा वृद्ध भत्तालाई प्रमुखताका साथ उठाएको थियो । आगामी पाँच बर्षभित्र वृद्ध भत्ता मासिक ५ हजार पुर्याउने घोषणा नेकपाले गरेको छ । अधिकारीलाई अमर बनाउने ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम पनि हो । देश अविकाशको भूमरीमा थियो, श्रोत साधन केन्द्रिकृत थियो, धारा, पानी, बाटो माग्न पनि सिंहदरबारमै आउनुपर्ने बाध्यता थियो । उनै अधिकारीले ल्याई दिए आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम । यहि कार्यक्रमले तत्कालिन गाउँ विकास समितिहरुले निश्चित रकम पाए र गाउँ गाउँमा सडक निर्माण आरम्भ गरेका थिए । त्यति मात्रै होइन, भरत मोहनकै कोरियाग्राफीमा गाउँ गाउँमा शहकारी, घर घरमा रोजगारी कार्यक्रम आएको थियो । तिनै शहकारीहरु आज ग्रामिण वस्तीमा आर्थिक उपार्जनका लागि वरदान सावित भैरहेका छन् । कम्युनिष्ट पार्टीका नेता  भएर उनले सममालिन विश्वमा विकास भैरहेको अकाट्य आर्थिक उदारिकरण र समाजवादी कार्यक्रमको उपयुक्त संयोजन गराएका थिए । पुँजी बजारमा लाग्दै आएको संस्थागत तर्फको १५ प्रतिशत पुँजीगत लाभकरलाई १० प्रतिशत र व्यक्तिगत तर्फ १० प्रतिशत रहेको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा झार्ने काम पनि उनैले गरेका थिए । अर्थशास्त्रमा एमए गरेका अधिकारीले संसारभर उभार ल्याईरहेको उदारीकरणको छालबाट जोगिँदै देशमा समाजवादका आधारभूत पक्ष समेटिएका कार्यक्रम ल्याएका थिए । उनको बजेटसँग पुँजीवादी पश्चिमा पनि सन्तुष्ठ थिए भने बामपन्थी मतदाता पनि कन्भिन्स थिए । गरिब र पुँजीवादीहरुलाई एकै पटक सम्बोधन गर्न सक्ने क्षमता अधिकारीमा थियो । उनलाई उद्योगी व्यवसायीका प्रिय मन्त्री मानिन्छ । अधिकारीलाई औद्योगीक घरानाहरुले पनि सम्झिरन्छ भने गरिबका झुपडीहरुमा पनि उनको नाम चिरस्थायी रहनेछ । ४ पटक अर्थमन्त्री र १ पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका अधिकारीले २ पटक उप प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

पूर्व अर्थमन्त्री भरतमाेहन अधिकारीकाे निधन, वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔँ कार्यक्रम स्मरणीय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको शनिवार राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिवार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए । नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि नेताहरुले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन धुम्बाराही पुगेका थिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिएका हुन्। मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको थियाे । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उनको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न थिए । रासस