‘नव उद्यमी सम्मेलन’ मङ्सिर २९ गते काठमाडौँमा हुँदै, करिब ८०० उद्यमी सहभागी
काठमाडौं । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रबर्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करिब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए । सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्नबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको जनाइएको छ । मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।
इन्जिनियर भट्टराईको स्मरणमा ‘दीपक मार्ग’ नामाकरण
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा इन्जिनियर दीपक भट्टराईको स्मरणमा कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको छ । स्वर्गीय प्राडा भटराईको नाम चीर कालसम्म स्मरणीय बनाउन कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको हो । नामाकरण गरिएको उक्त सडकको बुधबार एक कार्यक्रमको आयोजना गरी कलेज रहेको उक्त वडा चाँंगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले उद्घाटन गरे । कार्यक्रममा संघीय सांसद महेश वस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाललगायतले स्वर्गीय भटराईको योगदानबारे चर्चा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष स्वर्गीय भटराईले कलेजको उन्नतिको लागि पुयाएको योगदानको कदर गर्दै दीपक मार्ग घोषणा गरिएको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्वर्गीय भटराईको ४५ औं दिनको पुन्य तिथिमा सडकको नामाकरण गरी उदघाटन गरिएको प्राडा श्रेष्ठले जानकारी दिए । सामाजिक संस्थाका रुपमा नाफा नलिने उद्देश्यका साथ स्थापित कलेजलाई पछिल्लो समयमा त्यही रुपमा अगाडि वढाउन स्वर्गीय भटराईले पुर्याएको योगदान चीरकालसम्म पनि स्मरणीय होस् भनेर सडकको नामाकरण गरी उद्घाटन गरिएको उनले बनाए ।
मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ । मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् । भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको छ । उनले भने “त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए । कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी छ ।
विश्व बैंकले प्रक्षेपण आर्थिक वृद्धि ७.५ प्रतिशत, अर्थमन्त्रीले भने तथ्यांक अझै अनुमानको भरमा
काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । सेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सन् २०२० मा नेपालमा भने आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा अझै पनि कतिपय तथ्यांक अनुमानको भरमा आउने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । विश्व बैंकको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले तथ्यांकको बढी विश्वासनिय बनाउन आधार वर्ष परिवर्तन गर्न लागेको उनले बताए । विश्व बैंकले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्व बैंकले उल्लेख गरेको छ । पछिल्लो समय पर्यटन आगमन बढेको तथा त्यसले सेवा क्षेत्रको विस्तारमा योगदान दिएकाले समग्र आर्थिक विकासमा सुधार आएको विश्व बैंकले जनाएको छ । देशमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देखि ठूला ठूला होटल निर्माण हुनुका साथै अन्य देशसँग पनि हवाइ कनेक्टिभिटी जोडिदै जाँदा यसको सुधार आएको छ । गरिबी न्यूनीकरण तथा साझा समृद्धिमा भएको प्रगतिका कारण नेपालको आधारभूत आर्थिक सूचकहरू समग्रमा राम्रो भएको विश्व बैंकले जनाएको छ । विश्व बैंक बिहीबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार बढ्दो व्यापारीकण, मल तथा बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रमा सुधार आएको हो । यति हुँदा हुँदै पनि व्यापार घाटा कम गर्न भने नेपाललाई चुनौती देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।
राष्ट्रिय औद्योगिक व्यापार मेला पुस १८ गते देखि पोखरामा, आम्दानीबाट उद्योमशीलता प्रबर्द्धन गरिने
काठमाडौं । पोखरामा आगामी पुस १८ देखि २८ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत प्रदर्शनी हुने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ पोखरा आयोजना हुने भएको हो । स्थानीय उत्पादन र पर्यटक प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखी मेला सञ्चालनको तयारी गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधि लगायत गरी करिब ३५० वटा स्टल रहनेछन् । सो मेलाका अवसरमा करिब १ करोड बराबरको आर्थिक कारोबार हुने र मेलाबाट भएको आम्दानीले उद्यमशीलता प्रबर्द्धन गरिने समेत बताए । मेलाको टाइटल स्पोन्सर समृद्धि स्टिल्स भएकाले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला पनि भनिएको मेलाका संयोजक दिलसुन्दर श्रेष्ठले जानकारी दिए । उनले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन,स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्धनका लागि मेला आयोजना गरिएको बताए । मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी र उद्देश्यमा केन्द्रित रहेको छ । मेलाको आकर्षण नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने रहेको छ । हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषि बजारीकरण लगायतका कुराहरुलाई समेत सघाउने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । पोखराले नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा शुरु गरेको थियो । मेलामा ४०,६० र १०० रुपैयाँ दरका टिकट रहेको आयाेजकले जानकारी दिएका छन् ।
भारतीय राजदूतावास र इन्टेकबीच साँस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सम्झौता
काठमाडौं । नेपालमा भुकम्प प्रभावित ११ सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज(इन्टेक) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्टेकका सदस्य सचिव श्रीमती डा. सि.टी मिश्राले हस्ताक्षर गरेका हुन् । साथै, कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीको उपस्थिति थियो । सम्झौताअनुसार इन्टेकले काठमाडाैं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ । साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि इन्टेकले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ । भारत भर १९० भन्दा बढी शाखाहरु रहेको यस इन्टेक विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि इन्टेकलाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो ।
टाटा मोटर्सले ‘विन्टर ब्लेसिगं’ आयोजना गर्दै
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा शुक्रबारदेखि शुरु भई आइतबार सम्म संचालन हुनेछ । उक्त कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ । साथै, कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन ।
महाकाली सिँचाइ आयोजनाः ठेक्का सम्झौता भएको २२ महिना बितिसक्दा पनि अल्झियो मुआब्जामा
मदत्तनगर । तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण गर्ने गरी सम्झौता गरिएको नहर खन्ने काम अझै शुरु हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयले ठेक्का सम्झौता भएको २२ महिना बितिसक्दा पनि मुआब्जाको विषय टुङ्गो लगाउन नसक्दा नहर निर्माणमा अन्यौलता देखिएको छ । नहर निर्माणका क्रममा बन्ने पुल, साइफन, कल्भर्ट लगायतका अन्य संरचना निर्माण कम्पनीले बनाए पनि जग्गाको मुआब्जा सुल्झाउन नसक्दा नहर खन्ने काम भने हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले पूर्जा भएको जमिनको मुआब्जा वितरण भइसकेको दाबी गर्दै ऐलानी जग्गाका कारण ढिलाइ भएको बताएका छन् । “१८ हेक्टर जति नहरमा भोगचलन हुँदै आएको तर पूर्जा नभएको जग्गा पर्छ”, निर्देशक थापाले भने, “अब चाँडै किसानलाई समेत राखेर मूल्य निर्धारण समितिमा छलफल गर्छौँ ।” गत आवमा रु २० करोड रकम मुआब्जाका लागि आएकोमा रु पाँच करोड भन्दाबढी रकम ‘फ्रिज’ गएको थियो । नहर निर्माणस्थल बेदकोट नगरपालिका क्षेत्रका स्थानीयले पूर्जा भएको जमिन सरह नै ऐलानी जग्गा भोगचलन गर्दै आएकालाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । स्थानीयवासीले नहर निर्माण आयोजनाको ढिलासुस्तीकै कारण नहर निर्माणमा ढिलाइ भइरहेको आरोप लगाउछन् । “बैठक छलफल र अनेकन बाहना गरेर तोकिएको समयको ६५ प्रतिशत समय बितिसक्यो”, एक निर्माण व्यवसायीले भने, “कामका लागि ठेकेदार कम्पनी तत्पर रहेपनि आयोजनाले मुआब्जामा ढिलाइ गर्दा अहिलेसम्म २० प्रतिशतसमेत काम हुन सकेको छैन, काम गर्नलाई सिँचाइले मुआब्जा विवाद टुङ्गो लगाएको भए अहिलेसम्म ७० प्रतिशत काम सकिन्थ्यो ।” त्यसैगरी मूल नहर निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रको करिब २७ हेक्टर वन क्षेत्र कटानी गर्न अख्तियार पनि ढिलो गरी आएको छ । महाकाली नदीबाट सिँचाइका लागि कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि एक दशकदेखि मूल नहर निर्माण थालिएको थियो । बजेट अभाव र सिँचाइ आयोजनाको ढिलासुस्तीका कारण अहिलेसम्म तेस्रो चरणअन्तर्गत हालसम्म १३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निमार्णाधीन १५ किलोमिटर मूल नहर निर्माणका लागि तीन वर्षको समय तोकिएकोमा करिब दुई वर्ष बितिसकेको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजनाले बजेट अभाव झेल्दै आएको छ । नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्र गरी ३३ हजार ५२० हेक्टर सिँचाइ सुविधा पुग्ने भनिएको छ । निर्देशक थापाले विगत वर्षको भन्दा चालू आवमा बजेटसमेत कम आएको बताए । “यस वर्ष रु ४१ करोड मात्रै बजेट आएको थियो”, उनले भने, “त्यो बजेट सकिँदैछ, त्यसपछि काम कसरी अघि बढाउने भन्ने चिन्ता छ ।” उनले १५ किलोमिटर नहर निर्माण कार्यलाई तीन वटा प्याकेजमा विभाजन गरिएको बताएका छन् । रासस