एक हजार ५४८ सवारीकाे पाङ्गामा ट्राफिककाे ताल्चा, जरिवाना १००० रूपैयाँ
काठमाडौं ।ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा ताल्चा) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उनले भने । मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ ।
१२८ करोड लागतमा पोखरामा ‘फ्रान्सेली फुटबल प्याराफिट’, १८५०० दर्शक अट्ने
कास्की । पोखरामा १८५०० जना दर्शक क्षमता भएको अन्तराष्ट्रिय स्तरकाे फुटबल प्याराफिट (रंगशाला) को निर्माण शुरु भएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त रंगशालाको आइतबार शिलान्यास गरेका हुन् । १ अर्ब २८ करोड २२ लाख रुपैंया लागत अनुमान गरिएकाे उक्त प्याराफिटको निर्माण एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) ले गर्न लागेका हुन् । उक्त प्याराफिट फ्रान्सेली गुणस्तर र सामाग्रीको प्रयोग गरेर निर्माण हुने बताइएको छ । प्याराफिटको शिलान्यास गर्दै खेलकुदमन्त्री विश्वकर्माले यो प्याराफिट निर्माणपछि पोखरामा खेल पर्यटनको विकास हुने र यसमार्फत आर्थिक समृद्धि हासिल गर्न योगदान हुने बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उहाँले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइने उनले स्पष्ठ पारे । मन्त्री विश्वकर्ताले संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताए । प्रदेशसभा सदस्य राजीव पहारीले नेपालमा पूर्वाधार निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै फुटबल स्टेडियम तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले गुणस्तरीय निर्माणसहित नमूना हुने गरी निर्धारित समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्टेडियमको काम सकिएपछि पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने बताए । रासस
शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने, स्वाप रेसियोबारे यस्तो भयो सहमति
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो । बुटवलमा मुख्य कार्यालय भएको १० जिल्लामा कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरको विकास बैंक शाइन रेसुङ्गा र भैरहवामा मुख्य कार्यालय रहेको ३ जिल्ला कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरकै पूर्णिमा विकास बैंक एक आपसमा गाभिन लागेका हुन् । दुई बैंकको शेयरको स्वाप रेसियो भने डीडीए गरेपछि मात्रै निश्चित हुने शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । याे सम्झाैतालाई बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्ने आधारको रुपमा लिएको छ । दुई बैंकबीचको व्यवस्थापकीय व्यवस्थापनबारे समेत सहमति भएको छ जसअनुसार शाइनका हालका सीईओ एक्विजिसनपछि पनि प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने पूर्णिमा विकास बैंकका हालका प्रमुख कार्यकारी अधिकृत एक्विजिसनपछि शाइन रेसुङ्गाको डेपुटी सीईओ बन्नेछन् । मर्जर प्रक्रिया दुई महिनाभित्र टुङ्गोमा पुग्ने बताइएको छ । शाइनको हाल ३९ ओटा शाखा छन् भने पूर्णिमाको १२ शाखा कार्यालय सञ्चालनमा छन् । शाइनको हालको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैंया छ भने पूर्णिमाको हालको चुक्ता पुँजी ५५ करोड छ । शाइनको दोस्रो बजारको मूल्य २४० रुपैंया छ भने पूर्णिमाको १८८ रुपैंया छ । दुबै बैंककाे जाेड्दा निक्षेप करिब २० अर्ब रूपैयाँ हुने छ भने कर्जा लगानी करिब १८ अर्ब रूपैयाँ हुनेछ । एक्विजिसनपछि बैंक प्रदेश ५ मा थप सशक्त बैंक बन्ने विश्वास शाइनका सीईओ पौडेलले व्यक्त गरे ।
बीमाको प्रिमियम अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइन मार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभस सापकोटाले भने ‘ हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । ’ यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने , ‘हामी हाम्रा ग्राहक महानुभावलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इसेवा संगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, हामी सधैं हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेका छौं र हामी थप डिजिटाइजिङ तिर जाँदैछौं साथै हाम्रो ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।
जोन्टा क्लब अफ काठमाडौँद्वारा विभिन्न विधाका दर्जनभन्दा बढी महिलाहरु सम्मानित
काठमाडौं । जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ । जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ । कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित महिलाहरु दमशना शाक्यलाई “द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । उनलाई सम्मान स्वरुप रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, बसन्ति प्रधानलाई “अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । बसन्ति प्रदानलाई रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, “ज्योति स्कलरसिप अवार्ड २०१९ फर म. क्लावस्म्यान उमन इन बिज्नेश स्कोलरसिप” अन्तर्गत श्रेया पोखरेललाई रु २५ हजार रुपैया प्रदान गरिएको छ । “ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियरस्” मा प्रतिक्षा गुरुङलाई रु २५ हजार प्रदान गरिएको छ । साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पुर्याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई रु २५ हजार प्रदान गरेको छ । कार्यक्रममा लगातार २० वर्षदेखि हेभ्भी मेसिन इक्यूप्मेन्ट (डोजर) चलाईरहेकी मुना घिमिरे, नेपालकी पहिलो महिला बडि बिल्डर निर्मला महर्जन, निरन्तर महिला मेसनको रुपमा कार्यरत राम माया तामाङ, महिला मोटरसाईकल रेसर र स्टन्ट राइडर बन्ने सपना पूरा गर्न सफल भइसकेकी दिक्षा श्रेष्ठलाई सम्मानित गरिएको छ ।
समस्याग्रस्त सहकारी ओरेण्टलले १६ अर्ब तिर्नुपर्ने, बैंकमा मौज्दात मात्रै १९ लाख
काठमाडौं । ओरेण्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा याे कुरा सार्वजनिक भएकाे हाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको छ । समितिका अध्यक्ष युवराज सुवेदीका अनुसार बस्नेत तथा उनका आफन्तको नाममा बैंक तथा वित्तीय संस्थामा मात्रै रु १९ लाख ११ हजार मौज्दात रहेको छ । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका सदस्य, वचतकर्ता, तथा अन्य व्यवसायीले पाउनुपर्ने रकमको दाबी पेश गर्न दिइएको समय सीमाभित्र प्राप्त सूचनाका आधारमा भुक्तानी गर्नुपर्ने रकम र मौज्दात रहेको चल अचल सम्पत्ति के कति रहेको पत्ता लागेको हो । सहकारी संस्थाका बचतकर्ताको निक्षेप मात्रै साँवा रु चार अर्ब २१ करोड र व्याज रु चार अर्ब १७ करोड गरी कूल रु आठ अर्ब ३८ करोड रहेको छ । यस्तै अपार्टमेन्ट बुकिङ रकम रु तीन अर्ब १० करोड ४८ लाख साँवा रहेको छ भने रु एक अर्ब ८२ करोड गरी कूल रु चार अर्ब ९२ करोड ४८ लाख छ । यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जातर्फ साँवा रु एक अर्ब सात करोड ८४ लाख, व्याज रकम रु ९० करोड ३१ लाख गरी कूल रु एक अर्ब ९८ करोड १५ लाख रहेको छ । नेपाल सरकारको कर दायित्व रु ५३ करोड १० लाख, अन्य व्यवसायीलाई तिर्नुपर्ने रु १९ करोड ७० लाख रहेको छ । कूल साँवा रु नौ अर्ब १२ करोड १४ लाख र व्याज रकम रु छ अर्ब ८९ करोड ३१ लाख गरी रु १६ अर्ब एक करोड ४५ लाख बराबर रहेको छ । सहकारी संस्थाका तत्कालीन अध्यक्ष बस्नेत एवम् सञ्चालकको नाममा एक सञ्चालक रहेको कोहिनुर हिल हाउजिङको नाममा दर्ता स्रेस्ता कायम रहेको ललितपुरको इमाडोलमा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषबाट धितो बन्धक राखिएको ४० रोपनी दुई आना तीन पैसा जग्गा रहेको छ । भेगास सिटी अर्पाटमेन्ट निर्माणका लागि नबिल बैंकबाट साँवा र व्याज गरी कूल रु ३१ करोड नौ लाख ९२ हजार ६६२, राष्ट्रिय वाणिज्य बैंकबाट रु ६० करोड चार लाख २४ हजार, कर्मचारी सञ्चय कोषबाट रु ५७ करोड ५७ लाख ३४ हजार ७१९ गरी कूल रु एक अर्ब ४८ करोड ७१ लाख ५१ हजार ४०२ ऋण लिएको देखिने समितिले जनाएको छ । भेगास सिटी अपार्टमेण्टका लागि २७८ जना बुकिङकर्ताबाट करार सम्झौता गरी रु ७० करोड ८२ लाख ७६ हजार ७१५ र सो को व्याज रु ६६ करोड २७ लाख ९४ हजार ६० गरी कूल रु एक अर्ब ३७ करोड १० लाख ७० हजार ७७५ दायित्व सिर्जना भएको समितिको अध्ययनबाट देखिएको छ । पीडितलाई डुबेको रकम उठाउन समितिले प्रयास गरिरहेको भए पनि सरकारी निकायबीच नै समन्वय हुन नसक्दा थप समस्या देखिएको पाइएको छ । समितिले सबैको सहयोग एवम् समन्वयको अपेक्षा गरेको अध्यक्ष सुवेदीले बताए । रासस
भ्रमण वर्ष २०२० सफल बनाउन पूर्वाधार निर्माणमा जोड
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफलबनाउनकालागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले बताएका छन् । सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औंल्याएका हुन् । पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलनिर्माणमा तिब्रतादिनु पर्नेमाजोड दिए । साथै सरकारले आयोजनागर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासकालागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बीच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो । यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालिन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए । कार्यक्रम नेपालका लागि भारतीय राजदुतमञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तिब्रतालाई रातदूत सिंहले जोड दिए । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्व व्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्युन भएको उजागर गरे । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा मुलुकले ठूला पूर्वाधारको विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे । कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपालका लागि बंगलादेश, अष्ट्रेलिया, इजरायल लगायत मुलुकका राजदुतहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो ।
आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग
काठमाडौं । ललितपुरको भट्टेडाँडामा आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहतस्वरुप ५० हजार सहयोग गरेको छ । शनिबार ललितपुर–१ प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नवराज सन्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत ज्योति विकास बैंकले सहयोग गरेको रु ५० हजार समेत गरी रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ । ज्योति विकास बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाँउस्थित शाखा कार्यलयमा खाता खोल्ने व्यवस्था गरेको हो । देश भरि ८५ वटा शाखाकार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले १ लाख ८२ हजारभन्दा बढि खाताबाट रु. २४.१२ अर्बभन्दा बढि निक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत रु. २१.३६अर्वभन्दा बढि लगानी गर्न सफलभएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।