नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकतामा
काठमाडौं । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् । ११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधबार नेपालसंगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो । महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु पनि सहभागी छन् । राराहिल कीर्तिपुरकै विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ । नाटकमा विभिन्न पात्रहरु मार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ । साथै, नाटकले अर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ । रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार देश आइपुग्दैछन् । रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । अरु देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति वेवास्ता छ । बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिबद्ध छ ।
मंसिरमा ७ अर्बमात्रै कर्जा प्रवाह, ७७ प्रतिशतले घट्यो कर्जा, किन हुन सकेन लगानी ?
काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका थिए । यस आवको मंसिरको तुलनामा चालु आवको मंसिरमा ७७ प्रतिशतले कर्जा प्रवाह घटेको छ । चालु आवको साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौमा सो लगानी बढेर ५५ अर्ब पुग्यो । असोजमा अझ लगानी वृद्धि भएर ६८ अर्ब पुगेपछि बैंकर्सहरूले फेरि लगानी योग्य पुँजी अभाव हुने भन्दै चिन्तित देखिएका थिए । तर, त्यसो भएन मंसिरमा कर्जाको माग एक्कासी घट्यो । चालु आवमा निर्माण सम्बन्धि कार्य धेरै नहुँदा बैंकको कर्जा घट्न गएको हो । पछिल्लो समय कर्जा प्रवाह त्यति बढ्न सकेको छैन,’ नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले भने ‘निर्माण व्यवसायले गति नलिदा यसको असर कर्जा प्रवाहमा देखिएको हो ।’ निर्माणमा मात्रै होइन समग्र कर्जा प्रवाहमानै सुस्तता आएको छ । एसोसिएशनका अनुसार निर्माण सामग्री समेत बिक्री नभएर थन्किएकोे अवस्था भएकोले पनि कर्जामा उत्सुकता नदेखिएको हो । राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय निर्माण क्षेत्रमा लगानी घट्दै गएको देखाएको छ । कार्तिक महिनामा वाणिज्य बैंकहरूबाट २ अर्ब १२ करोडमात्रै लगानी भएको छ । यो अवधिमा कर्जा प्रवाहकमा विकास बैंक र फाइनान्स कम्पनीको हिस्सा बढी रहेको छ । सात अर्बको कर्जा लगानीमा वाँकी कर्जाको हिस्सा भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको रहेकोे छ । चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूले २ खर्ब ६८ अर्ब ४७ करोड कर्जा प्रवाह गरेका छन् । असोजसम्म निर्माण क्षेत्रमा २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरिएको थियो । चालु आवको कार्तिकसम्म २७ वटा वाणिज्य बैंकले कुल १८ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले साढे ३० खर्ब कर्जा प्रवाह गरेका छन् । सो कर्जामध्ये निर्माण क्षेत्रमा साढे १० प्रतिशत अर्थात तीन खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन् ।
पुस ४ र ५ गते काठमाडाैंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन आयोजना हुँदै
काठमाडौं । लिभिङ विथ आइसिटीले आउदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गर्दैछ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवर्द्धन, प्रचार र रिकग्नाइज गर्ने उदेश्य सहित आयोजना हुने कार्यक्रममा ५० बढी स्टलहरु रहनेछन । विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक भने काठमाण्डौमा आयोजना गरिएको आयोजकले बताएको छ । यसअघि गत बैशाख र जेष्ठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ । आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्पर्धा समेत हुनेछ । नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडाैंको थापागाँउस्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ । कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ । दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्पर्धा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ । यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ । स्टार्टअप मेलाको शीर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनी ’फयुज मेसिंस’ ले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएशन, साइन्स टिचर्स एसोसिएशन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।
माेटर साइकल बजारमा पकड जमाउदै सिएफ मोटो, २ लाखदेखि १६ लाख मूल्यका ७ माेडल
काठमाडौं । चाइनिज मोटरसाइकल ‘सिएफ मोटो’ सन् २०१७ को अगस्त महिनामा नेपाल भित्रिएको थियो । यो दुई वर्षको छोटो अवधिमै यस ब्राण्डका बाइकहरुले नेपाली बजारमा राम्रो पकड जमाउन सफल पनि भएका छन् । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले हाल यस ब्राण्डका ७ ओटा मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त ब्राण्डका मिनि, नेकेड र टुरिङ्गमा गरी १२५ सीसीदेखि लिएर ६५० सीसीसम्मका बाइकहरु उपलब्ध भइरहेका छन् । बाइकले साेचेभन्दा राम्राे बजार लिएकाे कम्पनीका मार्केटिङ चिफ लेक्स शाक्यले बताए । सिएफ मोटोका ७ मोडेलहरुका विशेषा के छन् ? मुल्य कति पर्छ ? धेरैको चासोको विषय हुनसक्छ । एसटि पापिओ यो एउटा मिनि बाइक हो जसमा १२४.५ सीसीको सिङ्गल सिलिण्डर ४–स्ट्रोक ईएफआई इञ्जिन समावेस गरिएको छ । उक्त इञ्जिनले ९.३९ बीएचपीको पावर र ८.३ एनएमको टर्क उत्पादन गर्दछ । ६ गियर दिइएको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी ७७५ मिलिमिटर सिट हाइट रहेको यस बाइकको फ्युल ट्याङ्क क्यापासिटी ७ लिटरको रहेको छ भने कर्ब वेट चाहिँ ११४ केजीको रहेको छ । नेपाली बजारमा एसटि पापिओको मूल्य दुई लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । १५० एनके एनके फेमिलीकै सवैभन्दा सानो सदस्य १५० एनकेमा १४९.४ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड ईएफआई इञ्जिन समावेश गरिएको छ । यस इञ्जिनले १४.३५ बीएचपीको पावर र १२.२ एनएमको टर्क उत्पादन गर्दछ भने बाइकमा ६–स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी १० लिटर ट्याङ्क क्यापासिटी रहेको यस बाइकको सिट हाइट ७७५ मिलिमिटर, कर्व वेट १३५ केजी र ग्राउण्ड क्लियरेन्स चाहिँ १५० मिलिमिटरको रहेको छ । कम्पनीले १५० एनकेको बजार मूल्य तीन लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । २५० एनके एग्रेशिभ लुकिङ्ग यस बाइकमा टिएफटि डिस्प्ले, स्टिल ब्रेडेड ब्रेकलाइन्स, यूएसडी फर्क लगायतका प्रिमियम पाटर््सहरुको प्रयोग गरिएको छ । यसमा २४९.२ सीसीको सिङ्गल सिलिण्डर ओयल कुल्ड ईएफआई इञ्जिन समावेस गरिएको छ जसले २६.१५ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । ६ स्पिड गियरबक्स दिइएको उक्त बाइकमा डुअल–च्यानल एबीएस र दुई अलग राइडिङ्ग मोड पनि समावेस गरिएको छ । कम्पनीले नेपालमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । याे माेडल बजारमा सबैभन्दा पपुलर रहेकाे सेल्सम्यान नितु पाैडेलले बताइन् । ४०० एनके यस बाइकमा ४००.४ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ । यो सिएफ मोटोको एक पावरफुल इञ्जिन हो जसले ४२.२४ बीएचपीको पावर र ३५.४ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क र पछाडि चाहिँ सिङ्गल डिस्क जडान गरिएको छ । कन्टिनेन्टल एबीएस सिस्टम दिइएको यस बाइकको सिट हाइट ७९५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १५० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १७ लिटर र कर्ब वेट १९३ केजी रहेको छ । ४०० एनकेको नेपाली बजार मूल्य भने सात लाख ९० हजार रुपैयाँ रहेको छ । ४०० जिटि यो सिएफ मोटोको टुरिङ्ग बाइक हो जसमा एडजस्टेवल विङ्गशिल्ड, टिएफटि डिस्प्ले, स्पोटर््स र टुरिङ्ग गरी दुई ओटा राइडिङ्ग मोड लगायतका विशेषताहरु समावेश छन् । यस बाइकमा ४०० सीसी डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले ४२.२४ बीएचपीको पावर र ३६.५ एनएमको टर्क उत्पादन गर्दछ । नेपाली बजारमा ४०० जिटिको मूल्य नौ लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । ६५० एनके यस बाइकमा ६४९.३ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ जसले ५५.६५ बीएचपीको पावर र ६२ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा कन्टिनेन्टल एबीएस सिस्टम दिइएको छ । ६५० एनकेको नेपाली बजार मूल्य भने १५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ६५० एमटि यो सिएफ मोटोको अर्को टुरिङ्ग बाइक हो जसमा ६४९.३ सीसीको पावरफुल इञ्जिन जडान गरिएको छ । यस डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिनले ६९.७३ बीएचपीको पावर र ६२.० एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स रहेको यस बाइकमा मेट्जिलर टायरहरु समावेश गरिएका छन् । त्यसैगरी यस बाइकको सिट हाइट ८४० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १८ लिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटरको रहेको छ । कम्पनीले ६५० एमटि लाई १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
४० हजार घुस रकमसहित प्रहरी निरीक्षक अख्तियारकाे नियन्त्रणमा
काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । थापाले सेवाग्राहीको महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानुन बमोजिम पक्राउ गर्नु पर्नेमा सो नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाएका थिए । यसरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक जय नेपाल थापालाई घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो । थापालाई ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध शाकाहारी खाजाघरबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
हेरचार डटकम तथा छिन्नमस्ता बहुउद्देश्यीय सहकारीबीच सम्झौता
काठमाडौं । हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारीबीच सम्झौता भएको छ । यस समझौतामा हेरचारको तर्फबाट हेरचार प्रमुख उत्सब भट्टराई र छिन्नमस्ताको तर्फबाट उपादक्ष कमल प्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन् । विगत ८ वर्षदेखि संचालित छिन्नमस्ता सहकारीले आफ्ना ग्राहकहरुलाई न्यूनतम ब्याजमा ऋण प्रभाव गरी बचतमा उच्च ब्याज दिदै आएको सहकारीका उपाध्यक्ष कमलप्रसाद ढुंगेलले बताए । सहकारीका ५ हजार भन्दा बढी ग्राहकलाई दैनिक रुपमा आइपर्ने विभिन्न घरायसी समस्याहरू जस्तै धारा पानी मर्मत, बिज़ुली मर्मत तथा अरु धेरै मर्मत तथा संभार सम्बन्धी समस्याहरुको सुपथ मूल्यमा मर्मत गर्ने ज़िम्मा हेरचारले लिएको हेरचार प्रमुख उत्सब भट्टराईले बताएका छन् ।
हुम्लामा हिमपातका कारण हवाई सेवा अवरुद्ध
सिमकाेट । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइयन्सकाे उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । हिमपातका कारण चिसो अत्याधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए । दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताएका छन् । हिमपातका कारण एक गाउँबाट अर्काे गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ । रासस
ट्याक्सीमा नयाँ मापदण्ड : व्यवसायी भन्छन्– ‘१२ सय सीसीका गाडी चल्ने काठमाडौंमा सडक छैन’
काठमाडौं । हालै यातायात व्यवस्था विभागले ट्याक्सीमा नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्ड अनुसार अब ट्याक्सी सञ्चालन गर्न कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । ट्याक्सी व्यवसायीहरु भने विभागले लागु गरेको मापदण्ड हाँस्यास्पद भएको बताउँछन् । सुविधा सम्पन्न ट्याक्सी सञ्चालन गर्न पूर्वाधार पनि साेही अनुरुप हुनपर्नेे पर्ने माग उनीहरुले गरेका छन् । सडकहरु पनि सुविधा सम्पन्न र फराकिला हुने विगत तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका आकाश मगरले सरकारले ल्याएको मापदण्ड अनुसार काठमाडौंका सडकहरु पनि फराकिला हुनु पर्ने बताए ‘हामीले यात्रुहरुलाई पुर्याउन गल्ली–गल्लीमा पुग्नुपर्छ’, उनले भने, ८ सय सीसीको ट्याक्सी भित्र गल्लीमा छिराउन त समस्या हुन्छ, १२ सय सीसीको कसरी जान्छ । गल्लीहरु फराकिलो बनाए मात्र यो मापदण्ड सफल र कार्यान्वय हुन्छ ।’ यस्तै अर्का ट्याक्सी चालक हरिमोहन मगरले भने, ‘हामीले यात्रुहरुले भने अनुसारको ठाउँमा जानुपर्ने हुन्छ ,त्यहाँ गाडी छिर्दैन, नगए पैसा दिन्न भनेर निहुँ खोज्छन्, हामीले छिर्दै नछिर्ने ठाउँमा कसरी जाने ? ’ ‘अब भ्रमण वर्ष सुरु हुँदैछ’ मगरले भने, पर्यटकहरुलाई सम्बन्धित होटलहरुमा पुर्याउनु नै पर्ने हुन्छ, उनीहरुलाई बिच सडकमा छोड्नु पनि भएन । होटलमा पुर्याउन सडक साँघरा छन् । उनले भने ‘अब काठमाडौँका गल्ली गल्लीमा कसरी गाडी चल्लान् ? ’ यी त केहि उदाहरण मात्र हुन् । विभागले ल्याएको मापदण्ड अनुसार नै राजधानीका सडक पनि बन्नुपर्ने उनीहरुले आवाज उठाउँदै आएका छन् । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् । ८ सय सीसीका ट्याक्सीहरु २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ । उपभोक्ता मारमा अहिले उपत्यकाका सडकहरुमा ८ सय सीसीका पुराना ट्याक्सीहरुको बाहुल्यता छ । ८ सय सिसीका ट्याक्सीहरु कम इन्धनमा लामो दुरी पार गर्न सक्छन्। तर, तिनीहरुले मनोमानी ढंगले यात्रुहरुबाट भाडा उठाउँदै आएको पनि आरोप लाग्ने गरको छ । यिनै ट्याक्सीमा भइरहेको मनोमानी भाडा असुल्नो र मिटर सञ्चालन नगर्नाले यात्रुहरुले हैरानी खेप्नु परेकाे छ । १२ सय सीसीका ट्याक्सी खरिद गर्दा खरिद दर महँगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकोले सर्वसाधारण र न्यून आय भएका जनताले खरिद गरेर सञ्चालन गर्न नसक्ने देखिएको छ । त्यसैगरी, मूल्यमा पनि ठूलो अन्तर छ । नयाँ ट्याक्सीको मूल्य करिब ३० लाखसम्म पर्छ भने पुरानाको जम्मा लगभग १८ लाख मै पाउन सकिन्छ । ट्याक्सीमा एकैपटक थोपरिएको यस नियमले व्यवसायीलाई पनि ठूलो झट्का दिने देखिएको छ । नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले १२ सय सीसीको ट्याक्सीले केही सेवाहरु दिएपनि ट्याक्सी व्यवसायीलाई ठूलै मार पार्ने बताए । उनले यो मापदण्डबाट धेरै ट्याक्सी व्यवसायीहरु विस्थापित हुन सक्ने अवस्था आउने बताए । १२ सय सीसीका ट्याक्सी सञ्चालन मापदण्ड ल्यायर उक्त मापदण्डमा सेडनको विषय हटाउनुपर्ने र सबै कम्पनीका ट्याक्सी सञ्चालनमा ल्याउन सक्नेगरी खुला मापदण्ड तोकिनुपर्ने व्यवसायीहरु बताउँछन् । नयाँ मापदण्डका के छन् विशेषता विभागले तोकेको नयाँ मापदण्ड अनुसार १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ । त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ । पुराना व्यवसायीले एउटा ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा अर्को किनेर चलाउन सरकारले अनुमति दिने गरेको छ । तर, नयाँ नम्बरको ट्याक्सी चलाउन पाइँदैन । एउटा ट्याक्सीको नम्बर प्लेटका लागि १० लाखसम्म तिर्नुपर्ने बाध्यता छ । सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा रहेका छन् । जबकि १५ वर्षअघि नै ११ हजार ट्याक्सी थिए । ट्याक्सी चल्ने सम्भावना रहेका धेरै शहरमा अहिले पनि दर्ता खोलिएको छैन । नयाँ ल्याउन नदिँदा काठमाडौं उपत्यका लगायत देशभर थोत्रा ट्याक्सीको बाहुल्य छ । नयाँ नम्बर प्लेट खोल्ने सम्बन्धी कुनै निर्णय नगरेको महानिर्देशक गोगन बहादुर हमालले बताए । उनले यो मापदण्डले उपभोक्ताहरुले राम्रो सुविधा पाउने बताए । सुविधा सम्पन्न र आरामदायी यात्रा गर्न पाएपछि मान्छेहरु जति पनि पैसा तिर्न तयार हुने उनले बताए । विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएको थियो।