काठमाडौं । पोखरामा आगामी पुस १८ देखि २८ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत प्रदर्शनी हुने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ पोखरा आयोजना हुने भएको हो ।
स्थानीय उत्पादन र पर्यटक प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखी मेला सञ्चालनको तयारी गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधि लगायत गरी करिब ३५० वटा स्टल रहनेछन् । सो मेलाका अवसरमा करिब १ करोड बराबरको आर्थिक कारोबार हुने र मेलाबाट भएको आम्दानीले उद्यमशीलता प्रबर्द्धन गरिने समेत बताए ।
मेलाको टाइटल स्पोन्सर समृद्धि स्टिल्स भएकाले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला पनि भनिएको मेलाका संयोजक दिलसुन्दर श्रेष्ठले जानकारी दिए । उनले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन,स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्धनका लागि मेला आयोजना गरिएको बताए । मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी र उद्देश्यमा केन्द्रित रहेको छ । मेलाको आकर्षण नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने रहेको छ ।
हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषि बजारीकरण लगायतका कुराहरुलाई समेत सघाउने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।
पोखराले नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा शुरु गरेको थियो । मेलामा ४०,६० र १०० रुपैयाँ दरका टिकट रहेको आयाेजकले जानकारी दिएका छन् ।