विद्युत प्राधिकरणले पहिलो चौमासमा गर्यो १३ अर्ब ३१ करोड खर्च, लक्ष्यभन्दा २ प्रतिशत बढी
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पहिलो चौमासमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले गरेको याे अवधिमा खर्च लक्ष्यभन्दा २ प्रतिशतले बढी हो । प्राधिकरणले चालु आवको यो समयसम्म १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको जनाएको हाे । प्राधिकरणका अनुसार प्राधिकरण द्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको जनाएको छ । यसरी हेर्दा लक्ष्य राखेभन्दा २० कराेड खर्च भएकाे छ । ती आयोजनाहरुको भौतिक प्रगति भने ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने बताए । प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ । समीक्षा अवधिमा प्रसारण लाइनतर्फ ६ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सात वटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने आठ वटाको स्तरोन्नति गरिएको छ । सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।
एमजीको नयाँ विद्युतीय गाडी सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार रुपैयाँ
काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नक्साल शोरुमबाट सार्वजनिक गरेको उक्त गाडीको शुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, “हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।” एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ ।
आकर्ष ग्रुपद्धारा तिब्बतको छ्याङ्ग नेपाली बजारमा, प्रमुख शहरमा यही महिनादेखि बिक्री शुरू
काठमाडौं । छ्याङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्ष ग्रुपले तारागोब तिबेत छ्याङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छ्याङ्ग उपभोक्तामाझँ बजारमा ल्याएको छ । बार्ली छ्याङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एमएलको क्यानमा पाईने यो १.५ प्रतिशत अल्कोहल रहेको छ्याङ्गको १२५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् । अन्तर्राष्ट्रियस्तरको छ्याङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न आकर्ष ग्रुपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्री वितरण शुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै शुरु हुने छ ग्रुपले जनाएको छ ।
धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त
काठमाडौं । बाग्लुङस्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले मंसिर २५ गतेबाट लागु हुने गरि जोशीलाई सो पदमा नियुक्त गरेको हो । २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बालुवाटारको टेस्ला डायग्नोस्टिक क्लिनिकको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाताभएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।
ब्राजिलद्वारा ब्याजदर कटौती, अहिलेसम्मकै न्युन
रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो । सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौँथोपटक हो । ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अङ्कको कमी आएको छ । पछिल्लो आर्थिक तथ्याङ्कले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको सङ्केत गरेको कोपोमले जनाएको छ । बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन् । कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फिति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ । मौद्रिक समितिको सन् २०१९ को अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ । रासस
बंगलादेशको प्लास्टिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु
ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुइँ तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भने, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।”उनले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताए । चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिएका छन् । अधिकांशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ । रासस
एक दर्जन वाणिज्य बैंकका सीईओको सघन अनुसन्धान गर्दै सम्पत्ति शुद्धीकरण विभाग
काठमाडौं । कर्जा अनियमितता बढ्दै गएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वाणिज्य बैंकका एक दर्जन प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि सघन अनुसन्धान अघि बढाएको छ । विभागले सबै वाणिज्य बैंकका सीईओ छानविन गरी करिब एक दर्जन सीईओको भने सघन अनुसन्धान शुरु गरेको हो । कर्जा अनियमितता गर्नेमा नाम चलेका सीईओ समेत रहेको विभागले जानकारी दिएको छ । विभागले पहिलादेखि नै बैकिङ क्षेत्रमा काम गर्दै आएका सीईओदेखि नयाँसम्म रहेको जनाएको छ । बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतसम्मको विवरण संकलन गरेर विभागले अनुसन्धान कार्य अघि बढाएको हो । सीईओहरूले पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा माथिनै फाइल तानेर ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने तथा कर्जा दुरुपयोगसमेत गरेको अनुसन्धानको क्रममा पाइएको विभाग स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंकामा विभागले गरेको छ । यसैको आधारमा अनुसन्धान कार्य अघि बढाइएको हो । बैंकहरुले ऋण दिएका ठूला फाइलको अनुसन्धान भने विभागले अनुसन्धान गरिसकेको छ । यो पुष्टि हुने वित्तिकै हामी पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिन्छौ,’ विभाग उच्च स्रोतले भन्यो ‘जति सक्दो छिटो सत्य तथ्यलाई बाहिर ल्याउने तयारीमा हामी लागि परेका छौं ।’ सम्पत्ति शुद्धीकरणको विषय भनेको अन्य निकायले अनुसन्धान गरेको जस्तो विषय होइन । कहाँ कहाँबाट सूचना आउँछ, सबैको सुक्ष्म अध्ययन तथा अनुसन्धान गरेर तेस्रो पक्षसम्म पनि पुग्नुपर्ने हुन्छ । त्यसैले समय लाग्छ ।’ बैंकका सीईओहरू अनुसन्धानमा परेका छन्, हामी हेर्दै छौं,’ यति मात्रै भन्न सकिन्छ,’ ती अधिकारीले भने ।