विकासन्युज

केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त, बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

वासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ । बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् । आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषणबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ । “पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए । विमान उडानका बखत इथियोपियाली राजधानीको मौसम राम्रो थियो । टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने, “दुबै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन् । लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुबै विमान दुर्घटनाग्रस्त भएका छन् । दुबैमा एकै प्रकृतिको समस्या देखियो ।” चिनियाँ नागरिक उड्डयन अधिकारीहरुले पनि दुबै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन् । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए । बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनीया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ । लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो । यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एयिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो । जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् । “अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो । सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,” बजार विश्लेषक मिसेल मार्लुजीले बताए । “विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो ।” बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ । अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाई छ । विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन् । तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ । बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ । इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए । बोइङ ७३७ म्याक्स तत्काल नउडाउनु-चिनियाँ अधिकारी चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो । दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ । प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ । बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ । यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ । इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरु विमान तत्काल नउडाउने निर्णय गरेको छ । “इटी ३०२ को दुखदायी दुर्घटनासँगै इथियोपियन एयरलाइन्सका सबै बी-७३७-८ म्याक्स विमानहरुको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ,” एयरलाइन्सका तर्फबाट जारी ट्वीटमा भनिएको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो । रासस/एएफपी

सिद्धार्थ र सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, बजारमा कारोबार गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् । साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो ।

भाटभटेनीदेखि नाङ्लो पसलको अध्ययन गर्दै सरकार, ९ हजार फर्ममा एकै पटक पुग्ने

काठमाडौं । सरकारले व्यापारिक फर्महरुको अध्ययन गर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनी सुपरस्टोरदेखि नाङलो पसलहरुको एकै पटक अध्ययन गर्न लागेको हो । अध्ययनबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको हिस्सा एकिन गर्न सहज हुने र त्यसमा सुधारका क्षेत्र समेत पहिचान हुने सरकारी दावी छ । अध्ययनका लागि केन्द्रिय तथ्यांक विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ । विभाग मार्फत हुने अध्ययनमा ९ हजार साना तथा ठूला व्यापारिक फर्महरु समेटिनेछन् । ‘अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनीदेखि नाङलो पसलसम्मको अध्ययन गर्ने तयारीमा जुटेका छौं ९ हजार फर्महरुमा एकै पटक अध्ययन गर्छाै’, तथ्यांक विभागका निर्देशक जिष्णु मोहन भट्टराईले विकासन्युजसँग भने । अध्ययनबाट अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान पत्ता लाग्ने तथा त्यसमा आवश्यक सुधारका पक्षहरु समेत पहिचान हुने विभागको दावी छ । विभागले ३ करोड ५० लाख खर्चेेर प्रदेश तहसम्म पुगेर अध्ययन गर्न लागेको हो । ‘वितरणात्मक व्यापार सर्भे २०७६’ नाम दिईएको अध्ययनले अर्थतन्त्रमा व्यापारको योगदान पत्ता लगाउनेछ । आन्तरिक बजारमा बिक्रि वितरण हुने वस्तुहरुमा स्वदेशी उत्पादन र आयातित वस्तुहरुको हिस्सा पत्ता लगाउन समेत अध्ययन फलदायी हुने निर्देशक भट्टराईले जानकारी दिए । त्यसका अलवा सरकारले व्यापारिक क्षेत्रमा आवश्यक सुधार, आन्तरिक उत्पादनमा बढावा दिनुपर्ने क्षेत्र, आयात रोक्नुपर्ने क्षेत्र लगायतको समेत पहिचान खुल्नेछ । व्यापारिक क्षेत्रको उचित व्यवस्थापन र कर आधारहरुको खोजीका लागि पनि अध्ययन फलदायी हुने प्रक्षेपण गरिएको छ ।

रवीन्द्र अधिकारी पत्नी विद्याले ‘शुभयात्रा नभनेको त्यो दिन’

चिप्लेढुङ्गा । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन् । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उहाँलाई आत्मग्लानि छ । उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको स्पष्ट गरिन् । राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उनले समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्, “एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्यौँ । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।” जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरैपछि आफूले सो विषयमा सोध्दा उहाँले भन्नुभएको थियो, “सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।” आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । “राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।” त्यो कविता र स्वर मेरो होइन सामाजिक सञ्जालभरि घटना भएको केही घण्टाभित्रै अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भनेर सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाएकी छिन् । “घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ”, उनले भनिन् ।

भरतपुर विमानस्थलमा लगेज स्क्यान गर्ने ९० लाखको मेशिन जडान गरिंदै, अब यात्रुले झोला खोलेर देखाउनु पर्दैन

चितवन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरिद गरी पठाएको छ । सो उपकरणलाई ९० लाख पर्ने गौतमले बताए । एक साताभित्रमा उपकरण जडान भई सक्ने उनले बताए । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुले झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन । यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदै छ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको छ । एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उनले बताए । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ ।

स्व. रवीन्द्र अधिकारीको सम्झनामा विमानस्थल परिसरमा सररफाइ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोपेका थिए । सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गरौँ भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए । ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो ।

काठमाडौँबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल आरोहणको तयारी

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ ।काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक टाकुराको सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो । आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने गुरुङले बताए । पर्यटन विभागका अनुसार लाङटाङ र जुगल हिमशृङ्खलामा २६ टाकुरा रहेका छन् । जुगल हिमशृङ्खलामा मात्र ११ टाकुरा रहेको र सबैभन्दा अग्लो छ हजार ९७९ मिटर उचाइको ल्याङ्पो ग्याङ पिक (टाकुरा) पर्दछ । गुरुङ र सहयात्री दुवैजना जिल्लाबासी हुन् । गुरुङले २०६५ सालमा १० सदस्यीय समावेसी महिला टोलीबाट सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । त्यसैगरी सातै महादेशको सबैभन्दा अग्ला हिमालको समेत उहाँले आरोहण गर्नुभएको छ । साविक गुम्बा र हाल जुगल गाउँपालिका–३ मा पर्ने उक्त हिमशृङ्खला आरोहण गर्न काठमाडौँदेखि गुम्बाको पाउलाडाँडासम्म यातायातको सुविधा छ । त्यहाँबाट ने–पेमासाल हुँदै प्रथम आधार शिविर पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्ने वडा सदस्य हिमाल तामाङले जानकारी दिए । व्यावसायिक प्याराग्लाइडिङ शुभारम्भ जिल्लाको सागाचोकगढी नगरपालिका–९ कदमवासको लामाचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ भएको छ । नेपाल सरकारको मान्यताप्राप्त नेपाल प्याराग्लाइडिङ तथा हयाण्डग्लाइडिङ सङ्घद्वारा आयोजित व्यावसायिक उडानको नगरप्रमुख अमानसिं तामाङबाट शनिवार शुभारम्भ भएको हो । उडानबाट प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त ठहरिएको थियो । नगरपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको र सोही परिप्रेक्षमा स्थानीय समिति र नगरपालिकाको साझेदारीमा प्याराग्लाइडिङको उडान शुरु गरिएको हो । शुभारम्भको दिन एकजनाले मात्र उडान गर्ने ‘सोलो’ र यात्रु बोक्ने ‘टेण्डम’ गरी दुइवटा उडान गरिएको थियो । लामाचौरबाट उडान गरी सुनकोशी गौरशङ्कर र जुगल हिमशृङ्खलाको दृश्यावलोकन पछि पुनः सोही वडाको सिनानचौरमा अवतरण गरिएको वडाध्यक्ष विष्णु लामाले बताए । स्थानीय तहको सिफारिसमा कम्पनी दर्ता गर्नुपर्ने र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि मात्र नियमित उडान गर्न सकिने प्रावधान रहेको छ । यसअघि काठमाडौँसँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको भोटेचौरमा पनि प्याराग्लाइडिङको उडान हुँदै आएको छ । आफ्नो वडाभित्रका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका साथै चालू आर्थिक वर्षमा पाचँवटा ग्रामीण सडकको स्तरोन्नति गरी कालो पत्र गरिने र दुइवटा सडकको स्तरोन्नति गर्ने नगरपालिकाको कार्यक्रम छ । त्यसका लागि बोलपत्रसमेत आह्वान गरिएको छ । ऐतिहासिक सागाचोकगढीको पुनःनिर्माण एवं संरक्षणका लागि सङ्घीय सरकारबाट २० लाख र प्रदेश ३ बाट एक करोड ५० लाख सहित एक करोड ७० लाख निकासा भएको छ । गढी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । त्यसैगरी प्रसिद्ध गौराती भीमेश्वर मन्दिरको पर्खाल घेर्ने लगायतका पूवाधारका लागि २० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख तामाङले जानकारी दिए ।

कतार एयरवेजले माग्यो १६७ जना कर्मचारी, तलब ४५ हजारदेखि १.३० लाख सम्म

काठमाडौं । एसियाको चर्चित विमानसेवा प्रदायक कम्पनी कतार एयरवेजले १६७ जना नेपाली कामदारको माग गरेको छ । न्युनतम ४५ हजार रुपैयाँ देखि १ लाख ३० हजार रुपैयाँ सम्म मासिक तलब प्रस्ताव गर्दै कतारले स्टेवार्ड देखि सहायक प्रशासक सम्मको पदमा सो संख्यामा कर्मचारी माग गरेको हो । रियल रेडियन्टल इनटरनेशलन प्रा.लि. मार्फत लगिने कामदारको भिसा शुल्क हवाई टिकट शुल्क लगायत सम्पूर्ण शुल्कहरु कम्पनीले नै व्यहोर्ने र निःशुल्क खाना सुविधा उपलब्ध गराउने भएको छ ।