विकासन्युज

विनिमयदरको अनिश्चितता हटाउन हेजिङ नियमावली, पूर्वाधार क्षेत्रमा मात्रै लागु हुने

काठमाडौं । विनिमयमा हुने उतारचढावका कारण विदेशी लगानीकर्ताहरुमा हुने अनिश्चितता हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावली कार्यान्वयनमा ल्याउँदै ठूला परियोजनाहरु आउने विदेशी लगानीकर्ताको लागि त्यस्तो सुविधा दिने व्यवस्था गरेको हो । त्यस्तो सुविधा १०० मेगावाटभन्दा ठूला जलविद्युत् परियोजना, २२० केभीएका ३० किलोमिटरभन्दा बढी प्रसारण लाइन, दश किलोमिटरभन्दा लामो रेल, मेट्रोरेल र मोनोरेल निर्माण, ५० किलोमिटरभन्दा लामो द्रुतमार्गको लागि मात्र त्यस्तो सुविधा उपलब्ध हुनेछ । तर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेका अन्य आयोजनाका हकमा समेत त्यस्तो सुविधा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्था लागु भएसँगै विदेशी लगानीकर्ताले परिवत्र्य विदेशी मुद्रामा भित्र्याएको रकम नेपाल भित्रिएको दिनको विनिमय दरमा गणना हुने र रकम फिर्ता लैजादा सोही दरको विनिमयमा लैजान सक्ने व्यवस्था हुनेछ । हेजिङ सुविधाका लागि लाग्ने स्वपुँजी, ऋणको अंश, भुक्तानी अवधि र परियोजनाको प्रकृतिका आधारमा सम्बन्धित मन्त्रालय, नेपाल राष्ट्र बैंक र लगानीकर्ताबीचको सहमतिका आधारमा हुने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले हेजिङको अधिकतम अवधि बढीमा १० बर्ष तोकेको छ । राष्ट्र बैंकले हेजिङसम्बन्धी जोखिमको बहन गर्न हेजिङ कोष स्थापना गर्ने व्यवस्था नियमावलीले गरेको छ । नेपालमा विदेशी लगानी भित्रने अवरोधको एउटा मुख्य तत्वको रुपमा हेजिङलाई लिने गरिन्छ । नेपाली मुद्राको अवमूल्यन हुँदा विदेशी लगानीकर्ताले विनिमय दरकै कारण ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले उनीहरु नेपालमा लगानी गर्न आकर्षित नभएको तर्क गरिरहँदा यो व्यवस्थाले ठूला परियोजनाका हुने लगानीको हदसम्म त्यस्तो जोखिम बहन गर्ने व्यवस्था गरिदिएको हो । यो व्यवस्थालाई पनि लगानी सम्मेलनको तयारीका रुपमा अर्थ्याइएको छ ।

क्योदाइ रेमिट्यान्सबाट आइएमईले गर्दा ५ लाखकाे दुर्घटना जीवनवीमा

काठमाडौं । जापानको क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ । योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस  दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दाबढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिने मध्यबाट २ हजार १३७ जनाको प्रतिव्यक्ति रु. ५ लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाएको छ ।

४ अर्ब २१ करोड खर्चेर पोखरेली नागरिकलाई दैनिक ४ करोड १० लाख लिटर शुद्ध खानेपानी

काठमाडौं । ४ अर्ब २१ करोड रुपैंयाँ खर्चेर पोखरेली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना अघि बढेको छ । जापान सरकारको सहयोगमा पोखराको मर्दीखोलाको पानी प्रसोधन गरेर पोखरेली नागरिकका धारामा उपलब्ध गराउन नेपाल खानेपानी संस्थान र हाजमा एन्डो कर्पोरेसनबीच सहमति भएको हो । संस्थान र हाजमा कम्पनी बीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे । यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गरे । खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । यति धेरै रकम १३ वर्षको प्रयास पछि पहिलो पटक नेपालले प्राप्त गरेको महाप्रबन्धक प्रसादले बताए । सम्झौता अनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

बीमाको प्रिमियम अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ’ बताए । यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले, ‘ग्राहकलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इसेवा संगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, थप डिजिटाइजिङ तिर जाँदैछौं साथै ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं ’ भने । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् ।

राजश्व संकलनमा काठमाडौंको हाराहारीमा पोखरा महानगर, ललितपुर र विराटनगर कमजोर

देशभरका ६ महानगरपालिकाहरूले पाएकाे रकम( स्राेत : महालेखा नियन्त्रकको कार्यालय) काठमाडौं । ६ महानगरपालिकाले भ्याट र अन्तशुल्कबापत ७ महिनामा साढे ७ अर्ब रुपैंया राजश्व प्राप्त गरेका छन् । अन्तरसरकारी वित्त ऐनको प्रावधान बमोजिम केन्द्र सरकारले ७ महिनामा उठाएको आन्तरिक अन्तशुल्क र भ्याटबापतको रकममध्ये १५/१५ प्रतिशत रकम प्रदेश र स्थानीय तहमा पठाएकोमा महानगरहरुले उक्त परिमाणमा रकम प्राप्त गरेका हुन् । त्यसरी प्राप्त गरेको रकममध्ये काठमाडौं महानगरले सबैभन्दा बढी राजश्व प्राप्त गर्दा विराटनगर महानगरपालिकाले सबैभन्दा कम रकम राजश्ववापत प्राप्त गरेको छ । काठमाडौं महानगरले ७ महिनाको अवधिमा १ अर्ब ७२ करोड ३८ लाख रुपैंया प्राप्त गरेको छ भने विराटनगरले भने ८१ करोड ७४ लाख रुपैंया मात्र पाउन सफल भएको छ । त्यस्तै, दोस्रो सर्वाधिक रकम प्राप्त गर्ने महानगरमा पोखरा परेको छ । उक्त अवधिमा पोखराले १ अर्ब ६७ करोड रुपैंया पाएको छ । त्यस्तै भरतपुरले उक्त अवधिमा १ अर्ब ३२ करोड, वीरगञ्जले १ अर्ब ६ करोड र ललितपुरले ८९ करोड १२ लाख रुपैंया प्राप्त गरेका छन् । नेपाल सरकारले स्थानीय तहहरुको सिञ्चित कोषमा साउन–भदौ महिनामा ७ अर्ब ५ करोड, असोजमा ४ अर्ब ५२ करोड, कार्तिकमा ३ अर्ब ८१ करोड, मंसिर महिनामा ३ अर्ब ५३ करोड, पुस महिनामा ३ अर्ब ६३ करोड र माघ महिनामा ५ अर्ब ६ करोड रुपैंया जम्मा गरेको थियो । त्यति नै रकम प्रदेश सिञ्चित कोषमा पनि जम्मा गरेको थियो ।  जम्मा भएको उक्त रकम अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार बाँडफाँड गर्दा त्यस्तो अवस्था देखिएको हो ।

नेशनल लाईफ र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । बैंक देशभरि ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाई व्याकिङ्ग, सी एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

आशा लघुवित्तकाे २०.७४ लाख कित्ता शेयर सूचिकृत, ओपन रेन्च १ सयदेखि ३ सय रुपयौंसम्म

काठमाडौं । आशा लघुवित्तिय संस्थाको २० लाख ७४ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जबीच खुल्ला बिक्री सम्झौता भएको छ । आइतबार भएको शेयर सूचीकरण सम्झौतामा स्टक एक्सचेन्नजका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्त कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका हुन् । सूचीकृत भएको खुल्ला शेयर कारोबार सोमबारदेखि दास्रो बजारमा कारोबार हुने भएको छ । शुरुको कारोबार मूल्य (ओपन रेन्च) शेयरको रेन्च १ सय रुपैयाँ ५ पैसा देखि ३ सय रुपयौं १५ पैसा सम्ममा काराेबार हुने नेपाल स्टक एक्सचेन्नले जानकारी दिएकाे छ  । शेयर सूचीकरणबाट लघुबित्त समुह अन्तर्गत सूचीकृत कम्पनीहरुको संख्या ४१ र कुल कम्पनी संख्या २०५ हुनेछ ।

इथियोपियन एयरकाे विमान दुर्घटना, १५७ जना हराए

काठमाडौं । एयर इथियोपियाको विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान ८ः४४ को समयमा उक्त विमान दुर्घटना भएको पुष्टि भएको छ । उक्त विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यसहित १५७ जना सवार रहेको बताइएको छ । घटनाको पुष्टि भएसँगै इथियोपियाका प्रधानमन्त्रीले विमान दुर्घटनामा परेका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको थियो ।