विकासन्युज

प्रचण्डले भने-‘नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ छैन’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नु नपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताए । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उनले बताए । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उनले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताए । राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उनले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उनले बताए । सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उहाँले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरे । नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताए । पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुङ्ग्याउने क्रममा रहेको बताउँदै उनले सरकार पनि आफ्नो गतिमा अघि बढिरहेको बताए । थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको बताए । सामाजिक सुरक्षा, बेरोजगारी अन्त्यलगायतका क्षेत्रमा काम भइरहेको उनको भनाइ छ । जनताले नेकपाप्रति आशा एवं विश्वास गरेको बताउँदै उहाँले हालै रौतहटमा भएको कार्यक्रममा देखिएको जनताको उपस्थितिले उक्त कुरा पुष्टि गरेको धारणा राखे । रासस

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले शङ्का लागि जाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो । प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो । प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारीसाधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको यो पहिलो पटक हो । सुन र चाँदीसहित भारतीय पक्राउ जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् । बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको जनाइएको छ । यस कारोवारमा अन्य को को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाएको छ । रासस

६ वटा सम्पदा/बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन, अध्ययन गर्न १ करोड, पुनर्निर्माणका लागि कति ?

काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल १ करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो । काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए । आयोजना निर्देशक प्याकुरेलका अनुसार उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन् । ‘यी सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनर्निर्माणमा बजेट खर्च हुनेछ । यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ’, प्याकुरलेले भने । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरुको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र ५ करोड बजेट परिचालन हुनेछ । यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चांगुनारायण मन्दिर क्षेत्र, स्वयम्भुनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ । त्यसैगरी, उपत्यकाका तीन जिल्लाहरु भक्तपुर, ललितपुर र काठमाडौंका दरबार स्क्वायरहरुको संरक्षण र संबद्र्धन गरिनेछ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले अध्ययन कार्य तुरुन्तै प्रारम्भ हुने र अध्ययनको प्रतिवेदनलगत्तै निर्माण कार्य सुरु हुने जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले वीरगञ्जमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागुन २७ गते “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूलआशय सहित वीरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकले जनाएको छ । कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रार्चाय विनोदकुमार गुप्ता रहेका थिए ।

सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको हो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ६० जना भए । साथै उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघाट भएमा अपनाउनु पर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार दियो भट्टले जानकारी गराए । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।

इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्झौता सम्बन्धी दुई संस्थाबीच आइतबार मात्रै प्रारम्भिक सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेप्सेमा जेबिल्स फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । राष्ट्रियस्तरको जेबिल्स फाइनान्सको हाल चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जेबिल्स फाइनान्सलाई प्राप्ति गरेसँगै इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १३ करोड रुपैयाँ नाघ्ने छ ।

धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटिएम सेवा

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । यो बैंकको ९४औं एटिएम हो । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरेका हुन् । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ ।

विद्युत् चुहावट गर्नेबाट ४ करोड असुली, ४५ ठूला ग्राहकलाई कारवाही

पर्सा । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत चुहावट गर्ने ठूला ग्राहकबाट चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज-पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महिनामा रु चार कारोड १३ लाख ९४ हजार असुल गरेको हो । ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई कारवाही गर्न फाइल अनुमतिका लागि विभागमा पठाएको र विभागले फाइल सदर गरेपछि थप दुई करोडभन्दा बढी रकम असुली हुने बताए । विद्युत चुहावटलाई नियन्त्रण गर्न प्रधिकरणले पर्सामा अभियान चलाएपछि गत वर्षको तुलनामा चालू आवमा पहिलो सात महिनामा करीब आठ प्रतिशत चुहावट नियन्त्रण भएको छ । गत आर्थिक वर्षमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालू आवको पहिलो सात महिनामा दुई दशमलव ८४ प्रतिशत मात्र विद्युत् चुहावट भएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए । उनले गत आवमा राष्ट्रिय प्रसारण लाइनबाट ३६ करोड ११ लाख ७३ हजार ११६ युनिट विद्युत् प्राप्त गरेकामा ३२ करोड २४ लाख आठ हजार २२ युनिट बिक्री भई तीन करोड ८७ लाख ७५ हजार ९४ युनिट चुहावट भएको थियो । चालू आवमा मुख्य प्रसारण लाइनबाट २१ करोड ८२ लाख ४१ हजार ८०७ युनिट प्राप्त गरेकामा २१ करोड २० लाख ४७ हजार ४०३ युनिट बिक्री भई ६१ लाख ९४ हजार ४०४ युनिट चुहावट भएको उनले बताए । अनुगमनलाई तीव्र बनाएकै कारण चालू आवमा तीन करोड २५ लाख ७० हजार ६९० युनिट विद्युत् चुहावट हुनबाट रोकिएको केन्द्र प्रमुख ठाकुरको भनाइ छ । वीरगञ्ज वितरण केन्द्रबाट विद्युत् लिएका ४४ हजार ९५४ जना ग्राहकबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा दुई अर्ब दुई करोड विद्युत् महसुस सङ्कलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८० करोड महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ । रासस