विकासन्युज

सगरमाथा र ईस्ट्रनबीच संझौता, दुर्घटनामा परेको गाडी बनाउँदा नगद तिर्नु नपर्ने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दाअधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।

धादिङ्गबेसीमा नेपाल बैङ्कको नयाँ शाखा

काठमाडौं । नेपाल बैङ्क लिमिटेडले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बजार विस्तारको क्रमलाई निरन्तरता दिँदै उक्त स्थानमा नयाँ शाखा खोलेको हो । हाल बैंकले ६१ जिल्लामा १५९ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटेलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा दिईरहेको छ ।

चन्द्रगिरि रिसोर्ट चैत्र १ देखि सञ्चालनमा आउने, केबुलकार र हेलिकप्टर यातायातकाे सुविधा

काठमाडौं । धुलाम्मे काठमाडौं खाल्डोको व्यस्तताबाट ३० मिनेटको यात्रापछि पुगिन्छ थानकोट प्रहरी चौकी । त्यो चौकीबाट ३ सय मिटर बायाँ लागेपछि आउँछ चन्द्रगिरि केबलकारको बटम स्टेशन । समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ, चन्द्रागीरी डाँडो जहाँ छ भालेश्वर मन्दिर । यो त्यहि ठाउँ हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए । पृथ्वीनारायण शाहले सपना देखेको त्यहि चन्द्रगिरि डाँडोमा बसेर यतिबेला बर्षेनी लाखौं आगन्तुकले सपना देखिरहेका छन् । अब त्यहिँ थपिँदैछ बुटिक रिसोर्ट । र, त्यो बुटिक रिसोर्टको ‘सफ्ट ओपनिङ’ चैत्र १ गते गर्ने तयारीमा चन्द्रागिरि व्यवस्थापन लागेको छ । ‘एउटा रेष्टुरेन्ट, एउटा बार र केहि फुड आईटमसहित रिसोर्टको सफ्ट ओपनिङ गर्दैछौं’, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेश प्रताप शाहले भने । त्यसका लागि हाल २ वटा ब्लकमा ४८ वटा रुम पूर्णत तयार भएका छन भने एउटा रेष्टुरेन्ट पनि । स्वीट रुम र अर्काे रेष्टुरेन्ट भने केहि समयपछि मात्रै खुला हुनेछ । रिसोर्ट सञ्चालनका लागि केहि समय ढिला भैसकेको निष्कर्षसहित चैत १ गतेलाई पहिलो चरणको सेवा आरम्भ गर्ने साइतका रुपमा अघि सारेको पनि शाह बताउँछन् । त्यसको ठिक ३ महिनापछि चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण रुपले सञ्चालनमा आउनेछ । चैत, बैशाख र जेठ महिनाको पर्यटकीय सिजनलाई मध्यनजर गरेर ‘ट्रायल ओपनिङ’ पछि सेवामा विस्तार र मूल्य निर्धारण हुनेछ । ‘बुटिक रिसोर्ट’का रुपमा पाँच तारे होटलको सुविधासहित सञ्चालनमा आउने रिसोर्टले ‘सर्भिसमा कम्प्रोमाइज’ नगर्ने अठोट कसेको छ । शाह भन्छन–‘पछिल्लो समय फाइभ स्टार होटलहरुको सेवा र गुणस्तरमा प्रश्नहरु उठ्ने गरेका छन्, हामी यी दुबै पक्षमा कुनै सम्झौता गर्दैनौं ।’ गत वर्ष ७ लाख स्वदेशी तथा विदेशी पर्यटक केबलकार चढेर चन्द्रागिरि हिल्सको टुप्पोमा पुगेका थिए । त्यसरी केबलकार चढेर चन्द्रागिरि पुग्नेहरुलाई त्यहि बास बसेर प्रकृतिसँग स्पर्श गराउने अवसर दिन भन्दै रिसोर्ट निर्माण गरिएको हो । २, ५५१ मिटर उचाईमा रहेको रिसोर्टमा मौसम चिसो र हल्का पानी वर्षासँगै हिउँ पनि पर्छ । यस वर्षको हिउँदमा मात्र छ पटक चन्द्रागिरिमा हिमपात भयो भने निर्माणाधिन रिसाेर्ट घरीघरी हिउँले ढपक्क ढाक्यो । उच्च हिमश्रृंखला, घना वनको आनन्दका साथमा शान्त काठमाडौं उपत्यकाको दृश्यावलोकन समेत रिसोर्टबाट गर्न पाइन्छ । हिउँले ढपक्क भएकाे चन्द्रागिरि रिर्साेट जसरी पोखरा, चितवन, अत्रपूर्ण राउण्ड जस्ता पर्यटनका प्याकेज बनिरहेका छन्, त्यसरी नै चन्द्रागि रिलाई पूर्णतः नयाँ गन्तव्यका स्थापित गराउने सोँच बनेको छ । वैवाहिक समारोह, हनीमुन र कर्पारेट ईभेन्ट हब पछिल्लो समय नेपालमा विवाह, पार्टी, कर्पाेरेट इभेन्ट, मिटिङहरुका उपयुक्त गन्तव्य खोज्ने क्रम बढेको छ । त्यति मात्रै होइन, हनिमुन र सप्ताहन्त (विकेन्ड) मनाउने चलन पनि बढिरहेको छ । यसैलाई आफ्नो उपयुक्त बजारका रुपमा विस्तार गर्ने योजना रिसोर्टले बनाएको छ । ‘भारतमा विवाहका लागि राज भिल्ला, ओमर भिल्ला जस्ता ठाउँहरु रोजिन्छन, हामीले पनि चन्द्रागिरि हिल्स रिसोर्टलाई त्यस्तै गन्तव्यका रुपमा स्थापित गराउन चाहेका हौं’, शाहले सुनाए । कस्तो हुनेछ रिसोर्ट ? रिसोर्ट कुल १ सय रुम क्षमताको हुनेछ । जसमा स्वीट रुम, डिलसक्स रुम, एक्युटिभ रुम रहनेछन् । त्यसका अलवा नेपाली पन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफि शप र फुड कोर्ट हुनेछ । नेपाली फुड आइटमहरुलाई बिशेष प्राथमिकतामा राखिनेछन् । रिसोर्टमा एउटा बार, एउटा बोर्ड रुम र ३ वटा कन्फ्रेन्स हल हुनेछन् । त्यस बाहेक स्वीमिङ पुल, स्पा र हेल्थ क्लब पनि हुनेछन् । त्यस्तै, भिआईपी गेष्टहरुका लागि २ वटा हेलिप्याडको व्यवस्था पनि गरिएको छ । विदेशबाट आउने पर्यटकहरुलाई विमानस्थलबाट सिधै चन्द्रागिरि लैजाने सुविधा समेत प्रदान गरिनेछ । साथै विवाह समारोहमा बेहुला बेहुलीलाई हेलिकप्टरबाट आवतजावतको सुविधा प्रधान गर्ने कम्पनीको योजना छ । अधिकांश मानिस केबुलबार चढेर पुग्नेछन् । साथै, रिसोर्टका सबै संरचनाहरु ह्विलचेयरमैत्री छन् । अपाङ्गता भएका यात्रुहरुलाई चन्द्रागिरी केबुलकारदेखि मन्दिरसम्म सबै स्थानमा भ्रमण सक्ने गरि पूर्वाधार निर्माण गरेकोले नेपाल अपांगता महासंघले चन्द्रागिरीलाई अपांग मैत्री भनेर प्रमाणित गरिदिएको छ । सर्भिस स्ट्याण्डर्ड चन्द्रागिरिले हाललाई विदेशी चेन होटलसँग साझेदारी गर्ने योजना बनाएको छैन । विदेशी होटल तथा रिसोर्टको चेन लिँदा पनि सर्भिस दिने नेपाली नै भएकाले अब आफ्नै ब्राण्ड स्थापित गर्ने अठोट देखिन्छ । ‘नेपालीपन झल्कने मौलिक रिसोर्ट बनाउन खोजेका छौं । हामीमा अतिथि देवो भवःको संस्कृति नै छ । आत्मियतासहितको नेपाली स्ट्याण्डर्डको सर्भिस दिन्छौं । बेलायत वा अमेरिकाको जस्तो होइन, नेपाली मोडलको चन्द्रागिरिको जस्तो सर्भिस होस भन्ने हाम्रो चाहना हो । त्यसैले हाललाई चेनमा जाने सोच छैन’–शाहले भने । नेपाली फुड, आत्मिय सेवा नेपाली फुडलाई वेष्टर्न स्टाइलमा शोकेस गर्ने प्रयास गर्ने शाह बताउँछन् । खाना र सर्भिसलाई फिडब्याक अनुसार थप परिस्कृत गर्दै जाने उनी बताउँछन् । पूर्वाधारमा सम्झौता नगरेकाले सर्भिसमा पनि सम्झौता नगर्ने उनको भनाई छ । त्यसकारण यतिबेला उनको टिम ‘सिग्नेचर डिस’बारे केही अध्ययन गरिरहेको छ । नेपालको हस्पिटालिटी विश्व बजारमा राम्रो मानिन्छ । त्यसैलाई आत्मसाथ गर्दै रिसोर्टले शतप्रतिशत जनशक्ति नेपाली नै परिचालन गर्दैछ । केबलकारमा ८० स्थानीयले नै रोजगारी पाएका छन् । नेपालीपनको प्रवद्र्धन गर्ने भनेपछि स्थानीयलाई बिशेष ग्राह्यता दिएको उनले बताए । हाल केबल कारमा २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रिसोर्टले अझै थप रोजगारीको अवसर ल्याउँछ । ‘वातावरण, पूर्वाधार, सुविधालाई मिल्ने गरि मूल्य निर्धारण हुनेछ । सेवा सुविधामा सम्झौता नगरेपछि मूल्यले खासै अर्थ राख्दैन् । फेरी पनि यसलाई न्यायसंगत नै बनाउने छौं, मूल्यमा गुनासो आउँदैन’–शाहले भने । ४ अर्ब लगानी २ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीले हालसम्म ४ अर्ब लगानी गरेको छ । कम्पनीले बार्षिक साधारण सभाबाट १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने निर्णय गरिसकेको छ । साधारण सेयर निष्काशन गर्ने सम्बन्धमा नियमित प्रक्रियागत काम भईरहेको छ । ‘सम्बन्धीत निकायहरुबाट अनुमति जति चाँडो आउँछ त्यति चाँडो नै सार्वजनिक सेयर निष्काशन हुन्छ’ उनले भने । पाराग्लाईडिङसहितका थप योजना चन्द्रागिरिमा ७ सय मिटर लामो जिप लाइन निर्माण हुँदैछ । त्यो भन्दा पहिले मिनी जिप लाइन र बालबालिकाका लागि केन्द्रित गरेर छुट्टै परियोजना पनि आउँदैछ । त्यति मात्रै होइन, क्लाम्बिङ बनाउने योजना पनि तय भएको छ । पाराग्लाईडिङ पनि विकास हुँदैछ । चन्द्रागिरिबाट उडेको पारागलाईडिङलाई चित्लाङ लैजाने योजना छ । हावाको चाप र भूगोलको बनोटबारे विस्तृत अध्ययन गर्ने, परीक्षण उडान भर्ने तयारी भईरहेको छ । स्थानीय विकासमा प्रभाव गत वर्ष ७ लाख भन्दा बढीले चन्द्रागिरी केबलकारको यात्रा गरेका थिए । यसपाली दैनिक २ हजारको हाराहारीमा आगन्तुकहरुको संख्या पुगिरहेको छ । मानिसहरुको आवागमन वृद्धिसँगै स्थानीय तहमा नयाँ बजारको विकास भएको छ । केबलकारको तल्लो स्टेशनमा ९० वटा भन्दा बढी क्याफे, होटल र रेष्टुरेन्ट खुलेका छन् । त्यहाँ सैयौंले रोजगारी पाएका छन् । चन्द्रागिरि नगरपालिका, इन्द्रसरोबार गाउँपालिका र थाहा नगरपालिकालाई छोएको चन्द्रागिरि हिल्सले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि नयाँ उत्साह थपिएको छ । चित्लाङलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन चन्द्रागिरि हिल्सले ठूलो योगदान पुर्याएको छ । २ वर्ष भन्दा बढी समय भयो केबलकार सञ्चालनमा आएको । ‘३ वटै सरकारसँग राम्रो सम्बन्ध छ । ३ वटा स्थानीय तहसँग हामीले निरन्तर सहकार्य भैरहेको छ । सबैको सहयोगबाट नै यस परियोजनाले सफलता पाईरहेको छ’ शाहले भने ।

जलविद्युत उत्पादन क्षमतामा सुदूरपश्चिम सबैभन्दा अघि, प्रदेश २ कमजोर

काठमाडौँ । विकासका दृष्टिले पछि परेको सुदूरपश्चिम प्रदेशमा जलविद्युुत उत्पादन हुन सक्ने क्षमतामा भने सबैभन्दा धेरै देखिएको छ । प्रदेश ७ अर्थात सुदूरपश्चिम प्रदेशमा १८ हजार १ सय ४९ मेघावाट विद्युत उत्पादन क्षमता रहेको छ । समृद्ध नेपालका लागि जलविद्युत सम्बन्धी सोमबार आयोजित विचार गोष्ठीमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) का अध्यक्ष शैलेन्द्र गरागाईँले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । विद्युत उत्पादन हुन सक्ने क्षमताका आधारमा प्रदेश नम्बर २ सबैभन्दा कमजोर पाइएको छ । प्रदेश नम्बर २ मा २ सय मेघावाट मात्रै बिजुली उत्पादन क्षमता रहेको छ । प्रदेश नम्बर ५ मा १४ हजार ३०, प्रदेश १ मा १२ हजार ९ सय ५३, प्रदेश ३ मा १२ हजार ६ सय ३१, प्रदेश ६ मा ११ हजार ८ सय ३ र प्रदेश ४ मा १० हजार २ सय २८ मेघावाट बिजुली उत्पादन हुन सक्ने क्षमता रहेको छ । औद्योगिक क्षेत्रमा खपत कम विश्वको उर्जा खपतको अवस्थालाई हेर्दा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ५१ प्रतिशत उर्जा खपत भएको देखिन्छ । तर, नेपालमा भने सबैभन्दा बढी आवासीय प्रयोजनमा ८० प्रतिशत विद्युत खपत हुने गरेको छ । विश्वको अवस्था हेर्दा औद्योगिक प्रयोजनमा ५१ प्रतिशत, यातायातमा २६.६ प्रतिशत, आवासीय प्रयोजनमा १३.९ प्रतिशत र व्यवसायिक प्रयोजनमा ७.८ प्रतिशत विद्युत खपत भएको तथ्याङ्कले देखाउँछ । कार्यक्रममा अध्यक्ष गुरागाईँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालमा आवासीय प्रयोजनका लागि ८० प्रतिशत, औद्योगिकमा ८ प्रतिशत, यातायातमा ७ प्रतिशत, व्यवसायिकमा ४ प्रतिशत र कृषिमा १ प्रतिशत मात्र विद्युत खपत हुने गरेको छ । पेट्रोलिम पदार्थको भण्डारण क्षमतामा नेपाल कमजोर इजरायलमा २७० दिनका लागि पेट्रोलियम पदार्थ भण्डारण क्षमता हुँदा दक्षिण कोरियामा २४०, जापानमा १३७, चीनमा १३५, अमेरिकामा १२०, स्वीडजरल्याण्डमा ९०, थाइल्याण्डमा ७०, फ्रान्समा ५५, भारतमा ५० र नेपालमा भने १७ दिनको मात्र भण्डारण क्षमता रहेको छ ।जसका कारण विगतमा भारतले गरेको नाकाबन्दीका बेला मुलुकमा खाना पकाउने एलपीजी ग्यासको हाहाकार भएको थियो । २० प्रतिशत मात्र सवारीका साधान सडकमा गुड्न सकेका थिए भने अस्पतालमा अक्सिजन र औषधीको हाराकार भएको थियो । आयोजना निर्माण स्वीकृतिमा झण्झटिलो प्रक्रिया कुनै आयोजना निर्माणका लागि स्वीकृति लिन खोज्यो भने हरेक कार्यालयमा कम्पनीमा पनि १० दिनदेखि बढीमा ६ महिनासम्म फाइल अड्कने गरेको कार्याक्रममा सहभागीले गुनासो गरेका थिए । ६-७ वटा मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानूनी धाराहरु टेकेर एउटा आयोजना निर्माण गर्नु पर्ने अवस्था रहेको कार्यक्रममा बताइयो ।

फागुन सकिन लाग्दा पनि कम्पनीमा दर्ता हुन गएनन् यातायात व्यवसायी, मन्त्रीकाे नियतमा नै आशंका

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच गत मंसिर २९ गते सहमति गरियो र भनियो फागुन मसान्तसम्म कम्पनी ऐन, २०६३ लाई संशोधन गर्ने र सबै यातायाता व्यवसायीलाई कम्पनीमा दर्ता हुन समय दिने । सो अवधिसम्म सबै प्रकारका कानूनी तथा नीतिगत व्यवस्था गर्ने । तर फागुन मसान्त आउन केही दिन बाँकी रहँदासमेत विगतको सहमतिअनुसार कम्पनी ऐन, २०६३ लाई संशोधनको प्रक्रिया सुरु भएको छैन । केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयक संघीय संसदमा पेश भयो र पारित पनि भइसकेको छ । तर सरकार र व्यवसायीबीच भएको सहमतिको मूल्य र मान्यतामा भन्दा पनि पुनः यातायात क्षेत्रमा सिण्डिकेट नै रहने अवस्था सिर्जना भएको छ । देशभरका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन फागुन मसान्तसम्मको समय दिइएको थियो । तर यस अवधिसम्म विगतमा दर्ता भएका भन्दा एकाध मात्रै व्यवसायी कम्पनीमा दर्ता हुन आएका छन् । विशेष गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सरकारको नीति तथा निर्देशनलाई कार्यान्यन गर्न खेलाची गरेका कारण व्यवहारिक रुपमा सिण्डिकेट कायम हुने अवस्था सिर्जना भएको छ । सो मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको पक्षमा निर्णय गराउनका लागि समय गुजार्ने र अन्तिम समयामा आएर वार्ता र छलफल गरे जस्तो गर्ने गरेका छन् । गत मंसिर २९ गते भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको समेत सहभागितामा यातायात सेवा सञ्चालन, दर्ता तथा पञ्जीकरण सम्बन्धमा एक निर्णय गरेको थियो । बैठकले साविकमा यातायात समिति अन्तर्गत सञ्चालित विभिन्न यातायात सेवालाई प्रालि अर्थात् कम्पनीमा दर्ता गर्न कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र सो संशोधन गर्न केही समय लाग्ने भएकाले साविकका समिति अन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्य रुपमा कम्पनी, उद्योग, सहकारीमा दर्ता गरी आ–आफ्नो यातायात सेवा पञ्जीकरण गरिसक्नुपर्ने म्याद २०७५ फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायको हस्ताक्षरमा जारी भएको विज्ञप्ति विभागको बेबसाइटमा हाल पनि उपलब्ध छ । समय बित्यो, रात रह््यो अग्राख पलायो भने जस्तै सरकार र व्यवसायीबीच भएको सहमतिलाई कार्यान्वयन गराउने प्रमुख निकायको रुपमा रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सिण्डकेट पूर्ण रुपमा खारेज गराउनेतर्फ पहल गरेन । काठमाडौँ उपत्यकालगायतका शहरी तथा ग्रामीण क्षेत्रमा रुपमा सिण्डिकेट हटेपनि व्यवहारिक रुपमा अझै पनि हट्न सकेको छैन । यातायात मन्त्री महासेठकै कारण सिण्डिकेट हट्न नसकेको गुनासो यातायात व्यवसायीले गर्दै आएका छन् । मन्त्री महासेठले आफै समेत सहभागी भएको बैठकले गरेको निर्णय कार्यान्वयन गराउने तर्फ कुनै पहल गरेका छैनन् । जसका कारण सरकारले यातायात क्षेत्रमा हटाएको भनिएको सिण्डिकेट पुनः जवरजस्त रुपमा प्रस्तुत भएको छ ।

सोमबार नेप्से र कारोबार रकम दुबैमा वृद्धि, अधिकांश बैंकको बढी किनबेच

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार प्राविधिक समस्याका कारणले बजार खुलेकाे डेढ घण्टा मात्रै कारोबार भएको बजारमा सोमबार भने पुरा समय कारोबार भएको छ । सो दिन नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि सुधार देखिएको छ । केहि समययता १५ देखि ३० करोडको हाराहारीमा कारोबार भइरहेको बजारमा सोमबार भने ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कुल १७१ कम्पनीको कारोबार भएको बजारमा १३ लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । जसमध्ये ६ वटा वाणिज्य बैंकहरु सबैभन्दा बढी कारोबार गर्नेको सूचिमा परेका छन् ।  रकमका अधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशियाको २ करोड २१ लाख, प्रभु बैंकको २ करोड १७ लाख, एनसीसी बैंकको एक करोड ८२ लाख, नबिल बैंकको एक करोड ११ लाख, एनएमबि बैंकको ९८ लाख र जनता बैंक नेपालको ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

सप्तरीको फत्तेपुरमा एनआईसी एशियाले खोल्यो नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंक लिले को सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले फागुन २७ गते एक समारोहबीच उद्घाटन गरे । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरेका थिए । बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

मिथिला लघुवित्तको साधारणसभा चैत २३ गते, के के छन् विशेष एजेण्डा ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था आगामी चैत २३ गते १०औं वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी चैत ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १०.४५ प्रतिशत बोनस सेयर स्वीकृत गर्दै छ । सो अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । साथै, संस्थाले गत नवौं वार्षिक साधारणसभाबाट पारित ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । उक्त हकप्रद पश्चात संस्थाको चुक्ता पुँजीको ९ करोड ८९ लाख रुपैयाँ हुने छ । त्यस्तै, प्रस्तावित बोनस सेयरपछि संस्थाको कूल जारी पुँजी र चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । साथै, सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि संस्थाले ०.५४९ अर्थात ३ लाख ६२ हजार ८७८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गदैं छ । त्यस्तै, संस्थाको हाल कायम रहेको अधिकृत पुँजी १० करोडमा १० करोड थपेर जम्मा २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ । संचालक समितिको उक्त प्रस्तावलाई साभाले पारित गर्ने भएको छ ।