ब्राजिलद्वारा ब्याजदर कटौती, अहिलेसम्मकै न्युन
रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो । सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौँथोपटक हो । ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अङ्कको कमी आएको छ । पछिल्लो आर्थिक तथ्याङ्कले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको सङ्केत गरेको कोपोमले जनाएको छ । बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन् । कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फिति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ । मौद्रिक समितिको सन् २०१९ को अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ । रासस
बंगलादेशको प्लास्टिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु
ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुइँ तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भने, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।”उनले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताए । चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिएका छन् । अधिकांशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ । रासस
एक दर्जन वाणिज्य बैंकका सीईओको सघन अनुसन्धान गर्दै सम्पत्ति शुद्धीकरण विभाग
काठमाडौं । कर्जा अनियमितता बढ्दै गएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वाणिज्य बैंकका एक दर्जन प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि सघन अनुसन्धान अघि बढाएको छ । विभागले सबै वाणिज्य बैंकका सीईओ छानविन गरी करिब एक दर्जन सीईओको भने सघन अनुसन्धान शुरु गरेको हो । कर्जा अनियमितता गर्नेमा नाम चलेका सीईओ समेत रहेको विभागले जानकारी दिएको छ । विभागले पहिलादेखि नै बैकिङ क्षेत्रमा काम गर्दै आएका सीईओदेखि नयाँसम्म रहेको जनाएको छ । बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतसम्मको विवरण संकलन गरेर विभागले अनुसन्धान कार्य अघि बढाएको हो । सीईओहरूले पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा माथिनै फाइल तानेर ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने तथा कर्जा दुरुपयोगसमेत गरेको अनुसन्धानको क्रममा पाइएको विभाग स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंकामा विभागले गरेको छ । यसैको आधारमा अनुसन्धान कार्य अघि बढाइएको हो । बैंकहरुले ऋण दिएका ठूला फाइलको अनुसन्धान भने विभागले अनुसन्धान गरिसकेको छ । यो पुष्टि हुने वित्तिकै हामी पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिन्छौ,’ विभाग उच्च स्रोतले भन्यो ‘जति सक्दो छिटो सत्य तथ्यलाई बाहिर ल्याउने तयारीमा हामी लागि परेका छौं ।’ सम्पत्ति शुद्धीकरणको विषय भनेको अन्य निकायले अनुसन्धान गरेको जस्तो विषय होइन । कहाँ कहाँबाट सूचना आउँछ, सबैको सुक्ष्म अध्ययन तथा अनुसन्धान गरेर तेस्रो पक्षसम्म पनि पुग्नुपर्ने हुन्छ । त्यसैले समय लाग्छ ।’ बैंकका सीईओहरू अनुसन्धानमा परेका छन्, हामी हेर्दै छौं,’ यति मात्रै भन्न सकिन्छ,’ ती अधिकारीले भने ।
‘नव उद्यमी सम्मेलन’ मङ्सिर २९ गते काठमाडौँमा हुँदै, करिब ८०० उद्यमी सहभागी
काठमाडौं । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रबर्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करिब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए । सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्नबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको जनाइएको छ । मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।
इन्जिनियर भट्टराईको स्मरणमा ‘दीपक मार्ग’ नामाकरण
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा इन्जिनियर दीपक भट्टराईको स्मरणमा कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको छ । स्वर्गीय प्राडा भटराईको नाम चीर कालसम्म स्मरणीय बनाउन कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको हो । नामाकरण गरिएको उक्त सडकको बुधबार एक कार्यक्रमको आयोजना गरी कलेज रहेको उक्त वडा चाँंगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले उद्घाटन गरे । कार्यक्रममा संघीय सांसद महेश वस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाललगायतले स्वर्गीय भटराईको योगदानबारे चर्चा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष स्वर्गीय भटराईले कलेजको उन्नतिको लागि पुयाएको योगदानको कदर गर्दै दीपक मार्ग घोषणा गरिएको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्वर्गीय भटराईको ४५ औं दिनको पुन्य तिथिमा सडकको नामाकरण गरी उदघाटन गरिएको प्राडा श्रेष्ठले जानकारी दिए । सामाजिक संस्थाका रुपमा नाफा नलिने उद्देश्यका साथ स्थापित कलेजलाई पछिल्लो समयमा त्यही रुपमा अगाडि वढाउन स्वर्गीय भटराईले पुर्याएको योगदान चीरकालसम्म पनि स्मरणीय होस् भनेर सडकको नामाकरण गरी उद्घाटन गरिएको उनले बनाए ।
मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ । मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् । भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको छ । उनले भने “त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए । कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी छ ।
विश्व बैंकले प्रक्षेपण आर्थिक वृद्धि ७.५ प्रतिशत, अर्थमन्त्रीले भने तथ्यांक अझै अनुमानको भरमा
काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । सेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सन् २०२० मा नेपालमा भने आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा अझै पनि कतिपय तथ्यांक अनुमानको भरमा आउने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । विश्व बैंकको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले तथ्यांकको बढी विश्वासनिय बनाउन आधार वर्ष परिवर्तन गर्न लागेको उनले बताए । विश्व बैंकले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्व बैंकले उल्लेख गरेको छ । पछिल्लो समय पर्यटन आगमन बढेको तथा त्यसले सेवा क्षेत्रको विस्तारमा योगदान दिएकाले समग्र आर्थिक विकासमा सुधार आएको विश्व बैंकले जनाएको छ । देशमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देखि ठूला ठूला होटल निर्माण हुनुका साथै अन्य देशसँग पनि हवाइ कनेक्टिभिटी जोडिदै जाँदा यसको सुधार आएको छ । गरिबी न्यूनीकरण तथा साझा समृद्धिमा भएको प्रगतिका कारण नेपालको आधारभूत आर्थिक सूचकहरू समग्रमा राम्रो भएको विश्व बैंकले जनाएको छ । विश्व बैंक बिहीबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार बढ्दो व्यापारीकण, मल तथा बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रमा सुधार आएको हो । यति हुँदा हुँदै पनि व्यापार घाटा कम गर्न भने नेपाललाई चुनौती देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।
राष्ट्रिय औद्योगिक व्यापार मेला पुस १८ गते देखि पोखरामा, आम्दानीबाट उद्योमशीलता प्रबर्द्धन गरिने
काठमाडौं । पोखरामा आगामी पुस १८ देखि २८ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत प्रदर्शनी हुने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ पोखरा आयोजना हुने भएको हो । स्थानीय उत्पादन र पर्यटक प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखी मेला सञ्चालनको तयारी गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधि लगायत गरी करिब ३५० वटा स्टल रहनेछन् । सो मेलाका अवसरमा करिब १ करोड बराबरको आर्थिक कारोबार हुने र मेलाबाट भएको आम्दानीले उद्यमशीलता प्रबर्द्धन गरिने समेत बताए । मेलाको टाइटल स्पोन्सर समृद्धि स्टिल्स भएकाले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला पनि भनिएको मेलाका संयोजक दिलसुन्दर श्रेष्ठले जानकारी दिए । उनले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन,स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्धनका लागि मेला आयोजना गरिएको बताए । मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी र उद्देश्यमा केन्द्रित रहेको छ । मेलाको आकर्षण नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने रहेको छ । हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषि बजारीकरण लगायतका कुराहरुलाई समेत सघाउने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । पोखराले नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा शुरु गरेको थियो । मेलामा ४०,६० र १०० रुपैयाँ दरका टिकट रहेको आयाेजकले जानकारी दिएका छन् ।