विकासन्युज

अमेरिका-चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी, ट्रम्प-सीबीचको शिखर बैठक कहिले ?

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाब जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनाबले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनीया राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ । तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताए । “मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,” सराहले ह्वाइट हाउसमा भने । “वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।” सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले संयुक्तराज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । रासस/एएफपी

ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

झापाको बिर्तामोडमा खुल्यो कामना सेवाकोे ७० औँ शाखा

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकामा मंगलबार शाखा बिस्तार गरेको छ । बिर्तामोडमा ७० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखाभएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए ।

१५ औं घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार, ४ लाख ७५ हजारले गरे अवलोकन

काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन समारोहमा सो कुराको जानकारी गराइएको हो । मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तराष्ट्रिय बजारमा पनि पु¥याउन के के गर्नुपर्छ सरकार तयार रहेको उनले बताए । पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै उनले भने–‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस् । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’ उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए । मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको उनले बताए । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेका थिए । महोत्सवको सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको थियो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको थियो । पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तराष्ट्रिय स्टल रहेका थिए । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको थियो । समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न माग, ‘५ लाख किसान बिस्थापित हुने’

काठमाडौँ । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ । संघका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । उनले भने,‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’ दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए । उनले भने,‘सहकारीमा आवद्ध ५ लाख र त्यो भन्दा बाहिर रहेका ६ लाख गरि ११ लाख किसानहरु विस्थापित हुने अवस्था छ । उनीहरु अब विदेश पलायन हुने खतरा आईसकेको छ । त्यसैले राज्यले यसमा अहिले नै विशेष ध्यान पुर्याउनुपर्छ । म यही मञ्चबाट अपिल गर्न चाहन्छु ।’ अधिकारीले अहिलेपनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । उनले थपे,‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’ नेपालका उन्नत नश्लका बाछीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भैरहेको पनि अधिकारीले सुनाए । उनले भने,‘यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हालै मन्त्रीपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चिनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश नं. २, ३ र गण्डकी सरकारले चिनबाट गाई ल्याउन गरेको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ नेपालमा पशुजन्य उत्पादनको आपुर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ । संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरीएको छ । त्यसैगरी दुधालु भैंसीको संख्या १० लाख रहेको संघले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यिनै गाईभैसींबाट वार्षिक २० लाख मेट्रीकटन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रीकटन औपचारीक बजारमा आउने गरेको छ । ८ लाख मेट्रीकटन दूध खुला बजारमा किसानले उपभोक्ताहरुको घरघरमै गएर बिक्रि गर्ने गरेको र ७ लाख मेट्रीकटन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ । यसो हुनुमा भौतिक पूर्वाधार अभाव प्रमुख कारण हो । ग्रामिण तहमा पूर्वाधारको विकास गर्ने हो भने बजार पहुँचभन्दा बाहिरको ७ लाख मेट्रीक टन दूधलाई बजारसँग जोड्न सकिन्छ र यसको परिणामस्वरुप ग्रामीण अर्थतन्त्रको विकास निश्चित छ ।’ चिनियाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघ सरकारसँग जोडदार माग गर्दछ ।

मकवानपुरको थाहा नगरपालिकामा आँखा अस्पताल सञ्चालन

हेटौडा।  उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ। सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो । केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ । नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमीन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए। नगरपालिकाको रु ४० लाख लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ ।

सर्पोट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, चैत ७ गतेदेखि बुक क्लोज

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको सभा सो दिन बिहान ११ बजे सुनसरीको आइतबारेस्थित माँ कामख्या होटल त्रियुगामा बस्दै छ । सभाले संचालक समितिको सेयरधनीलाई ३ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नाघ्ने छ ।

२८ करोड लगानीमा बन्दीपुरमा केबलकार निर्माण शुरु

दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् । केबलकारको समग्र वृहत् परियोजनामा कम्पनीले रु एक अर्ब २८ करोड लगानी गर्ने योजना बनाएको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। उनका अनुसार केबलकारको टावरका लागि पिल्लर खन्ने काम चलिरहेको छ भने ल्याण्डविण्डिङ र बाटो विस्तारको काम सकिएको छ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको उहाँले जानकारी दिए। कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न नौतले सुविधासम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, नवौँ तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौँ, सातौँ, छैटौँ, पाँचौँ र चौथो तलामा सुविधासम्पन्न ८० कोठाको स्तरीय होटल निर्माण गरिनेछ । शर्माका अनुसार तेस्रो तलामा रेष्ट्रोजोन, दोस्रो तलामा सपिङमल र पहिलो तलामा केबलकारको स्टेशन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि रु ४५ करोड लाग्ने अनुमान गरिएको छ । बन्दीपुरको पर्यटनलाई प्रवद्र्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाइएको शर्माले जानकारी दिए। उनले भने, “बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्नका लागि गाउँपालिकासँग सहकार्यको प्रस्ताव गरेको छ ।” साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए। यसलाई लागू गर्नका लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यसमार्फत शेयर दिने कम्पनीले जनाएको छ । केबलकार निर्माणको कामलाई २०७६ चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने र बाँकी पूर्वाधार साढे दुई वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले परियोजनामा साझेदारी गर्नका लागि सम्पूर्ण तनहुँवासीलाई अनुरोध गरेको छ । रासस