सहयोगी विकास बैंकले शुरु गर्यो एटीएम सेवा
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको शुरुवात गरेको छ । उक्त एटीएम सेवाको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका हुन् । बैंकको केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिए । बैंकको केन्द्रीय कार्यालय लगायत महोत्तरीको बर्दिवास शाखा, गौशाला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ । यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलेहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् । जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ ।
कोरियन भाषा (ईपिएस) को परिक्षा जेठ २६ र २७ गते हुने
काठमाडौं। ईपिएस भाषा परिक्षाको मिती आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने तय भएको छ। २०१९ मा कोरिया जानका लागि नेपालीले दिनुपर्ने भाषा परिक्षाको मिती मंगलाबर तय भएको हो। परिक्षामा संलग्न हुनलाई परिक्षार्थिले चैत ८ देखि १७ सम्म फारम भर्न सक्नेछन्। कोरियाले यो बर्ष १० हजार ५० जना लैजाने भएको छ। यसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ३ हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो।
४ हजार युवालाई रोजगार बनाइँदै, सरकारले दिंदैछ निःशुल्क तालिम
काठमाडौँ । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए । उनले छोटो अवधिका तीन महीने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् । तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिइने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएकाले सहभागी हुन सक्नेछन् । तीन महिनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ । यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनले बताए । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ । छोटो अवधिको तालीमको लागि इभेन्टले १८ हजार २२० हजार २०० र २२ हजार २०० उपलब्ध गराउँदै आएको छ । इभेन्टले यसवर्ष करीब १७ हजार बेरोजगार युवालाई रोजगार बनाउन छोटो अवधिको तालीम सञ्चालन गरेको छ । तालीमले मुलुकमा देखिएको बेरोजगारको समस्यालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने शाखा अधिकृत पौडेलले जानकारी गराए ।
सिके राउत समूहसँग गरेको ११ बुँदे सहमति खारेज गर्न विवेकशील साझा पार्टीकाे माग
काठमाडाैं । नेपाल सरकारले गत फागुन २४ गते सिके राउत समूहसँग गरेको ११ बुँदे सहमति खारेज गर्न विवेकशील साझा पार्टीले माग गरेकाे छ । विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा लेराउने सरकारको प्रयासको राम्राे भए पनि राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय भएकाे साे पार्टीले जनाएकाे छ । सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ। त्यसको विवकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानूनी कारवाहीको माग गरिएकाे छ । साथसाथै, ११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको छ। यस्ता विषयहरूमा भविष्यमा गम्भिरता प्रदर्शन गर्न पनि विवेकशील साझा सरकारसँग आग्रह गरेकाे छ । विवेकशील साझा पार्टीले यसै हप्ता तराई-मधेसका विभिन्न स्थानमा ‘मधेस मन्थन’ का श्रृङ्खला सम्पन्न गरेको छ। सो सिलसिलामा तराई-मधेसका राजनीतिक अभियन्ता, वुद्धिजिवी, युवा, महिला, नागरिक समाजका अगुवा र सामाजिक कार्यकर्ताहरुले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति देखाएको अविचलित प्रतिवद्धताले सिके राउत समुहले तराई-मधेसको आम भावनालाई विल्कुलै प्रतिनिधित्व नगर्ने विवेकशील साझा पार्टीकाे ठहर छ।
अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले भने-‘नयाँ विधेयक लगानी बोर्डको दायरा थप फराकिलो बनाउन’
काठमाडौँ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३ सांसदले संशोधन दर्ता गराएका थिए । लगानी बोर्डमार्फत् पूर्वाधार विकासमा ठूला लगानी भित्र्यार्इ द्रुत विकास तथा आर्थिक समृद्धि हासिल गर्न सरकारले सो विधेयक ल्याएको थियो । सो विधेयकमा विशेष गरी लगानी बोर्डको दायरा, कार्य क्षेत्र फराकिलो बनाउने प्रस्ताव गरिएको छ । लगानी बोर्ड ऐन २०६८ व्यावहारिक रुपमा कार्यान्वयन आउन नसकेपछि सो नयाँ विधेयक आएको बताइन्छ । नयाँ विधेयकले छ अर्ब माथिका पूँजी सार्वजनिक निजी अवधारणाले परिचालन गरी आर्थिक वृद्धि ल्याउने ध्येय राखेको छ । अर्थ मन्त्रालयका अनुसार नौ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न १५ खर्ब पूँजी परिचालन आवश्यक पर्दछ । पछिल्लो समय निजी क्षेत्रसित १० खर्ब पूँजी परिचालन गर्ने क्षमता रहेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले लगानी बोर्डको दायरा, कार्यक्षेत्र थप फराकिलो बनाउँदै पूर्वाधार विकासमार्फत् आर्थिक समृद्धि हासिल गर्न नयाँ विधेयक आएको जानकारी दिँदै निजी क्षेत्रको पूँजी पूर्वाधार विकासमा लगानी गर्न विधेयकले थप बाटो खुला गर्ने छ भने । उनले उच्च आर्थिक वृद्धिदर हासिल गर्न ठूला आयोजनामा लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै विदेशी लगानीले आकर्षित गर्दा निजी क्षेत्रलाई असर नपर्ने बताए । अर्थमन्त्री डा खतिवडाले भने, “लगानी बोर्ड राजनीतिक निकाय होइन, समानान्तर सरकारका रुपमा विकास पनि गर्न खोजिएको होइन ।” बैठकमा सांसद जनार्दन शर्माले सरकारले ठूला योजना पहिचना गरी लगानी बोर्डमार्फत् लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै बोर्डले सम्पादन गर्ने काम अन्तर मन्त्रालय समन्वयमा हुनुपर्छ भने । सांसद यशोदा गुरुङले लगानी बोर्डले सेवामूलक क्षेत्र र व्यावसायिक क्षेत्र स्पष्ट गरेर मात्र लगानी गर्नुपर्छ भनिन् । सांसद दीव्यमणि राजभण्डारी र गगनकुमार थापाले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्डमा प्रतिपक्षी दलका नेतालाई सहभागी गराउन माग गरे । सांसद भरतकुमार शाह, रेखा शर्मा, सन्तकुमार थारू, चूडामणि खड्का, खेम लोहनी वीनाकुमारी श्रेष्ठ र प्रेम सुवालले लगानी बोर्डको दायरा बढाउन माग गरेका थिए ।
अर्थमन्त्रीलाई बर्खास्त गर्ने मूख्य मागसहित लगानीकर्ताले चैत ९ गतेदेखि आन्दोलन गर्ने
काठमाडौं । पुँजी बजारका सेयर लगानीकर्ता दबाब समूहले आगामी चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उक्त समूहले अर्थमन्त्रीलाई पुँजीबजार विरोधी भन्दै बर्खास्त गर्ने मूख्य मागसहित सो दिनदेखि चैत १६ गतेसम्म ८ दिने आन्दोलन गर्ने निर्णय गरेका हुन् । यस समूहले पुँजीबजार सुधार र विस्तारका साथै लगानीकर्ताको लगानी सुरक्षाको गर्न दिएको दबाबलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै एक विज्ञप्तिमार्फत आन्दोलनमा जाने तयारी गरेको जानकारी गराएका छन् । सरकारले गठन गरेको अध्ययन समतिले दिएको ५८ बुँदे सुझाव मध्ये अधिकांश बुँदाहरु नियमनकारी निकायले वेवास्ता गरेकोले सम्पत्तिको सुरक्षा गर्नको लागि आन्दोलनमा उत्रिने निर्णय गरिएको दबाब समूहका महासचिव नयन बास्ताेलाले विज्ञप्तिमार्फत बताएका छन् । त्यसमध्ये पनि सरकारको निर्णय अनुसार वैशाख १ गतेदेखि बजारमा प्यान अनिवार्य नभई स्वेच्छिक हुनुपर्ने र साथै, सेयर बजारमा खरिद बिक्री गर्दा लिने क्यापिटल गेन ट्याक्स अन्तिम हो भन्ने प्रष्ट बनाउन लगानीकर्ताको माग रहेको अध्यक्ष हरि ढकालले विज्ञप्तिमा भनेका छन् । साथै, धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीले लगानीकर्ताको मागलाई चासो नदिएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको लगानीकर्ता दबाब समूहको गुनासो छ ।
अमेरिका-चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी, ट्रम्प-सीबीचको शिखर बैठक कहिले ?
बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाब जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनाबले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनीया राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ । तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताए । “मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,” सराहले ह्वाइट हाउसमा भने । “वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।” सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले संयुक्तराज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । रासस/एएफपी
ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।