अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रासायनिक मल नेपाल भित्रिँदै, किसानकाे मागअनुसार सजिलै आपूर्ति हुने
वीरगञ्ज । गहुँ खेतीलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहको नाकाबाट हालसम्म ४२ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सङ्घीय सरकारबाट ठेक्का लिएका चारवटा आयातकर्ताले तेस्रो मुलुकबाट कोलकता बन्दरगाहबाट रेल मार्ग हुँदै पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा हालसम्म ४२ हजार मेट्रिक टन युरिया र डिएपी मल भित्र्याएपछि पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानका लागि पर्याप्त मात्रामा सो रासायनिक मल पुग्ने विश्वास प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए सङ्घीय सरकारबाट अन्तरराष्ट्रिय बोलपत्रमार्फत मल आपूर्तिको ठेक्का पाएका सिङ्गापुरस्थित विल्सन इन्टरनेशनल कम्पनी र संयुक्त अरब इमिरेट्सको मल्टी कमोडेटिज कम्पनीले युरिया मलको आपूर्ति गर्ने ठेक्का पाएको छ । साठी हजार मेट्रिक टन युरिया मलको ठेक्का पाएका आपूर्तिकर्ताहरुले हालसम्म २५ हजार मेट्रिक टन मल ढुवानी गरिसकेको छ भने आपूर्तिकर्ताले ४५ हजार मेट्रिक टन डिएपी मल ढुवानी गर्ने सम्झौताअनुसार हालसम्म १७ हजार पाँच सय मेट्रिक टन मल नेपाल भित्रिसकेको छ । अन्तरराष्ट्रिय बोलपत्रमार्फत डिएपी मल आपूर्ति गर्ने ठेक्का पाएका स्विस सिङ्गापुर कम्पनी र भारतको इन्डियन पोटास कम्पनी लिमिटेड कम्पनीले पनि सुख्खा बन्दरगाहमा मल ल्याउने गरेको बताइएको छ । आपूर्तिकर्ताहरुले भारतको कोलकतास्थित बन्दरगाहमा मल ल्याइसकिएको छ भने त्यहाँबाट रेलमार्ग हुँदै वीरगञ्जको सुख्खा बन्दरगाहमा एक महिनाभित्रै सबै मल आइसक्ने सो कार्यालयले जनाएको छ । नेपाल सरकारको पुनः स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले आपूर्तिकर्ता यिल्सन इन्टरनेशनल कम्पनीले ल्याउने ३० हजार मेट्रिक टन युरियामध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १० हजार मेट्रिक टन र विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन रासायनिक मल रहेको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको स्विस सिङ्गापुर कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल ल्याउनेछ । जसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १२ हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल आइसकेको बताइएको छ । यसैगरी भारतको इन्डियन पोटास लिमिटेडले २० हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएकामा वीरगञ्जका लागि सात हजार पाँच सय मेट्रिक टन भैरहवाका लागि सात हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल रहेको छ । मल आयातको ठेक्का पाएका आपूर्तिकर्ताले नेपालभरिका लागि युरिया मल ६० हजार मेट्रिक टन र डिएपी ४५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएको छ । त्यसमध्ये २५ हजार मेट्रिक टन युरिया र १७ हजार ५०० मेट्रिक टन डिएपी मल वीरगञ्जस्थित क्षेत्रीय कार्यालयमा आउनेछन् । पर्याप्त मात्रामा रासायनिक मल आउने गरेकाले पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानलाई आफ्ना डिलरमार्फत सयदेखि १२५ बोरासम्म मल उपलब्ध गराउँदै आएको छ । यसैगरी प्राप्त भएको मल कृषि सामग्री कम्पनी लिमिटेडले मागअनुसार प्रदेश नं १, २, र ३ को जिल्लाहरुमा आपूर्ति गर्दै आएका छन् । गहुँ बालीमा युरिया मल छर्ने सिजन शुरु भएको र त्यसका लागि हालसम्म मल पर्याप्त मात्रामा रहेको बताउँदै सो कार्यालयका प्रदेश प्रबन्धक पराजुलीले भने, “सधैँभरि आइरहेको मललाई बिक्री प्रवद्र्धनमा जोड दिएकाले मल गोदाममा थन्किने अवस्था आउनेछैन । गहुँको याम शुरु भएसँगै पर्साका किसानले डिएपी मलको माग बढी गरेकाले आउँदो केही दिनमै मलको माग ठप्प भए पनि मल आउने क्रम भने रोकिनेछैन । रासस
बजार मूल्यभन्दा सस्तो ७ प्रकारका औषधि उत्पादन गर्दै सरकार, उपभोक्तालाई राहत
काठमाडौं । नेपाल औषधि लिमिटेडले ७ प्रकारका नयाँ औषधि उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ । औषधि उत्पादनका लागि नेपाल औषधि लिमिटेडले औषधि व्यवस्थापन विभागमा औषधिको नाम प्रस्ताव गरेको हो । औषधि व्यवस्था विभागले स्वीकृति दिएपछि नेपाल औषधि लिमिटेडले औषधि उत्पादन शुरु गर्ने छ । नेपाल औषधि लिमिटेडका निमित्त कार्यकारी निर्देशक विजय श्रीरत्न बज्राचार्यले झाडापखाला, जुका, सुगर, दम र भिटामिन बी कम्प्लेक्स लगायतका औषधि नयाँ फरमुलेसनमा उत्पादन गर्न लागिएको बताए । प्रेसरको औषधि लिमिटेडले पहिलो पटक उत्पादन गर्न लागेको हो । यसबाट आम उपभोक्तालाई राहत मिल्ने विश्वास गरिएकाे छ । उनले भने नयाँ औषधि उत्पादनको लागि रिसर्च एण्ड डेभलपमेन्टकाे काम सुरु भएको छ । नयाँ औषधि बजार मूल्यभन्दा केही सस्तो हुने पनि उनले बताए । सिटा प्लस औषधि लिमिटेडले करिब १ वर्ष अगाडि उत्पादन गरेर बजारमा ल्याएको थियो । यो औषधि पनि अन्य कम्पनीले उत्पादन गरेको भन्दा प्रति टयाबलेट ५० पैसा सस्तो रहेको छ । नेपालमा औषधि उत्पादन वृद्धि हुँदै गए पनि आत्मनिर्भर हुन सकेको छैन । मागको ४५ प्रतिशत मात्रै नेपाली उत्पादनले धानेको छ । ५५ प्रतिशत औषधि विदेशबाट नै आयात भइरहेको छ । सरकारले पनि औषधि उत्पादनको काम गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड ७ बर्ष बन्द भएर फेरि औषधि उत्पादनको काम आएको झण्डै डेड वर्ष भएको छ । ४७ वर्ष पहिले स्थापना भएको नेपाल औषधि लिमिटेड सरकारको एक मात्र औषधि उत्पादन गर्ने उद्योग हो । नेपाल औषधि लिमिटेडले भएको क्षमतालाई प्रयोग गर्ने र क्षमता विस्तार सँगसगै औषधि उत्पादन पनि वृद्धि गर्न सके अर्बौं रुपैयाँ बाहिरिनबाट जाेगिन सक्ने सम्बन्धित क्षेत्रकाे भनाइ छ । लिमिटेडका प्रवक्ता टिकाराम अर्यालले सिटामोल, सिटामोल प्लस, जीवन जल प्लेन र जीवन जल ओरेन्ज उत्पादन गर्दै आएको जानकारी दिए । यहि उत्पादन हुँदै आएका औषधिहरु नयाँ फर्मुलेसन र केही नयाँ उत्पादनको लागि काम भइरहेको जानकारी दिए । २ सय प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड २०६७ सालमा पूर्ण रुपले बन्द भयो । सरकारले लिमिटेडलाई पुनः सञ्चालमा ल्याउने भन्दै मन्त्रिपरिषदबाट निर्णय गराएर २०७३ सालमा परीक्षणको रुपमा सञ्चालनमा ल्याइयो । तर क्षमता अनुसारको उत्पादनमा भने अझै जान सकेकाे छैन ।
चन्द्रागिरिमा हिउँ पर्यो (फोटोफिचर सहित)
काठमाडौं। चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौंमा चिसो बढेको छ। हाल काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। मौसम पुर्व अनुगमन महाशाखाको अनुसार आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना छ। यस्तै राती देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ। (तस्विरः भिजिट नेपालकाे फेसबुक पेजबाट)
बेलायतमा ५० लाख पर्ने शिक्षा नेपालमा साढे ७ लाख रूपैयाँमा दिएका छौंः पंकज जलान
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समस्याहरु धेरै छन् । विद्यार्थीहरु नियमित रुपमा विदेशिने क्रम बढ्दो छ । करिब ८० लाख नेपालीले विदेशमा आर्जन गरि पठाएको रेमिट्यान्सको ठूलो हिस्सा नेपाली विद्यार्थीले विदेश जाँदा लगिरहेका छन् । सरकारी स्कूल कलेजले दिने शिक्षाको गुणस्तरमा धेरै प्रश्न छन् भने नीजि क्षेत्रले दिँदै आएको शिक्षा महंगो भनिन्छ । नेपालको शिक्षा क्षेत्रमा नीजिको लगानी भएको पनि दुई दशक बितिसकेको छ । नीजि कलेजहरुले आफूहरुले राम्रो शिक्षा दिईरहेका छौं भन्दै आईरहेका छन् । तर विद्यार्थी र अभिभावकहरु नेपालको स्कूल कलेजहरुप्रति अझै शंका र प्रश्न गर्छन् । अर्कोतिर, सरकारको नीतिगत अस्थिरताले पनि नीजि क्षेत्रका शैक्षिक संस्थाहरु शिकार भएका छन् । प्रस्तुत छः यसै क्षेत्रमा करिब दुई दशकदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका लर्ड बुद्ध एजुकेन फाउन्डेसन (एलबीईएफ)का अध्यक्ष पंकज जलानसँग गरिएको विकास बहस । तपाईहरुले विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नको लागि ठूलो लगानी गर्नु भएको छ । के तपाईहरुको प्रयास सार्थक छ ? पक्कै पनि सार्थक छ किनभने हामी नेपालको पहिलो सूचना प्रविधि व्यवस्थापन विषयमा अध्ययन गराउने कलेज हौं । नेपालमा पहिलो पल्ट आईटी एजुकेशनको सुरुवात पनि हामीले गरेका हौं । अहिलेसम्म हाम्रो कलेजबाट ८ हजार विद्यार्थी दिक्षित भईसकेका छन् । ती विद्यार्थीहरु संसारभर फैलिएका छन् । हाम्रो कलेजबाट पास आउट भएका करिब १३० जना त नेपाली र विदेशी कम्पनीहरुका सीईओ भईसकेका छन् । विदेशकै कुरा गर्नु पर्दा अष्ट्रेलिया, अमेरिका, जापन, कोरिया र माईक्रोसफ्टमा पनि हाम्रो विद्यार्थी काम गरिरहेका छन् । त्यस्तै अधिकांश बैंकहरुमा आईटी प्रमुख हाम्रोबाट मास्टर्स गरेका विद्यार्थीहरु छन् । साथै विभिन्न विद्यालयहरुमा एलबीईएफबाट अध्ययन गरेका शिक्षकहरुले पढाईरहेका छन् । त्यसैले हाम्रो प्रयास सार्थक छ । नेपालका कलेजहरुले राम्रो जनशक्ति उत्पादन गर्दै गर्दा अझै पनि नेपाली विद्याथीहरु बाहिर जान नै रुचाउने गरेको देखिन्छ । के विद्यार्थीले नेपालमा राम्रो जबको अवसर नपाएकाले विदेश गएका हुन् भन्न मिल्छ ? अँह यो कदापी पनि भन्न मिल्दैन । नेपालमा पनि धेरै अवसरहरु छन् । अहिलेको विद्यार्थी भिषामा विदेश जाने जुन ट्रेन्ड छ, त्यसमा थोरै प्रतिशत विद्यार्थीहरु मात्र अध्ययनको लागि जाने गरेका छन् । ८० देखि ९० प्रतिशत विद्यार्थीहरु कामको खोजीमा विदेश जाने गरेका छन् । तपाईको नजरमा नेपाली विद्यार्थीहरु विदेश रहरले गईरहेका छन् कि कहरले कि फेसन हो ? उनीहरु नेपालमा काम गर्न सक्दैनन् । १५/२० लाख लगानी गरेर विदेश जान सकिन्छ । विदेशको वातावरण पनि बुझिन्छ । पढ्दै जान्छु । पैसा पनि कमाउँदै जान्छु भन्ने सोचले उनीहरु विदेश जान्छन् । तर त्यो गलत हो । पढ्नको लागि विदेश जाने ८० देखि ९० प्रतिशत विद्यार्थी पढाईमा असफल हुन्छन् । त्यसमा अष्ट्रलियामा पढ्न गएका धेरै विद्यार्थीहरुले आफू पढ्न गएको कोर्षहरु पुरा गर्न सकेका छैनन् । उनीहरु हरेक वर्ष कलेज चेन्ज गर्दै काम गरिरहेका हुन्छन् । उनीहरुको मनसाय काम गर्ने मात्र हुन्छ । उनीहरुको समस्या के छ भन्दा न त उनीहरु घर फर्कन सक्दैनन् । किनभने उनीहरु ऋण लिएर गएका हुन्छन् । यदि बेलामौकामा नेपाल आउँदा आफूले गर्दै आएका साना तिना कामको कुरा गर्दैनन् । अब हाम्रो यहाँ चलन के छ भन्दा मानिसहरु सफलताको कथा मात्र सुन्न चाहन्छन् । सबैलाई लाग्छ कि म अष्ट्रेलिया पुगेर शेष घले भईहाल्छु तर उनले मास्टर्स त नेपालमै पढेर गएका थिए । उनी त्यहाँ व्यवसाय गर्न गएका हुन् र उनी सफल भए भन्ने कुरा धेरैलाई थाहा छैन । धेरै मानिसहरु गलत धारणा पालेर विदेश गईरहेका छन् । विदेश अध्यन गर्न जाने वा जान चाहाने विद्यार्थीहरुमा यस्तो धारणा पाइन्छ कि विदेशमा पढाईसँगै कमाई पनि राम्रो हुन्छ । तर नेपालमा त्यस्तो अवसर छैन । सहि हो ? एकदम गलत धारणा हो । किनभने गर्नेले यहाँ धेरै गरेका छन् । अष्ट्रेलियामा शेष घले सफल भएको उदाहरण छ भने नेपालमा चन्द्रप्रसाद ढकाल सफल भएको उदाहरण छ । मिहेनत गर्नेले नेपालमा पनि राम्रो गर्न सक्छन् । नेपालका कलेजमा पढ्ने विद्यार्थीहरु फुडमाण्डूमा गएर काम गर्न गाह्रो मान्छन् । विदेशमा गएपछि उनीहरु खाना पकाउने वा भाडा माझ्ने वा अरु कुनै पनि काम गर्न तयार हुन्छन् । तर उनीहरु नेपालमा त्यहि काम गर्न लाज मान्छन् । अर्को भ्रम के छ भन्दा विदेश गयो भने टन्नै पैसा कमाईन्छ । तर त्यहाँ पुगेपछि त्यस्तो छैन । यसमा शिक्षा प्रणालीको पनि गल्ती छ । हामीले विद्यार्थीहरुलाई देशप्रति जिम्मेवारीको भावना जगाउन नै सकेनौं । राष्ट्र र राष्ट्रियताप्रति मायाको भावना विकास हुन सकेन । यो देश हाम्रो हो । यसको लागि केही गर्नुपर्छ भन्ने भावना यहाँको युवाहरुसँग छैन । तपाईले भनेको जस्तै भावना जगाउने काम तपाईहरु जस्तो शिक्षा क्षेत्रमा लागेका मानिसकाे होईन र ? यो प्रश्न तपाईले अरुलाई गर्ने ठाउँ छ र ? राष्ट्रियताको विषयमा विद्यालय तहदेखि नै सिकाईनु पर्ने कुरा हो । मेरो आफ्नै पनि जनकपुरमा विद्यालय छ, अक्षर विद्या मन्दिर । हाम्रो विद्यालय प्रदेश नम्बर २ कै उत्कृष्ट विद्यालय भनेर चिनिन्छ । हाम्रो विद्यालय सूचना प्रविधिमैत्री रहेको छ । तपाईलाई अनौठो लाग्ला, अन्य विद्यालयमा जहिले पनि अंग्रेजी बोल्न लगाउँछन् तर हाम्रो विद्यालयमा हरेक शुक्रबार नेपाली भाषा बोल्न लगाईन्छ । त्यहाँ तराई भएकोले नेपाली बोल्न समस्या हुन्छ । त्यसैले हामीले हरेक १५ दिनमा नेपाली नाटक गराउँछौं । हाम्रो वार्षिक कार्यक्रममा पनि हामी विभिन्न सांस्कृतिक कार्यक्रमहरु गराउँछौं । देश के हो भन्ने नबुझ्दा धेरै कुराहरु बिग्रिएर गएका छन् । यसमा सरकार पनि दोषी छ । पाठ्यक्रम बनाउँदा देशको राष्ट्रियता झल्काउने विषय नराख्नु ठूलो कमजोरी हो । नेपालको सबैभन्दा ठूलो ताल कुन हो, हाम्रा विद्यार्थीलाई थाहा छैन । सिंगापुर जानेहरु त्यहाँको ताल देखेर दङ्ग हुन्छन् । तर नेपालको रारा ताल त्यो भन्दा कम छैन नि । यो कुरा हामीले हाम्रा विद्यार्थीलाई सिकाएनौ । नेपाली भाषा, राष्ट्रियता, संस्कृति झल्काउने विषय विद्यालय तहमा मात्रै नभएर कलेजहरुमा पनि हुन सक्दैनन् र ? कलेजमा पनि छ । हामीले यहाँ अनिवार्य नेपाली विषय राखेका छौं । त्यस विषयको माध्यमबाट उनीहरु नेपालको परिचय, नेपालको संविधान, नेपालको कला संस्कृति बारेमा जानकार हुन्छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको २१ वर्षको यात्रा कस्तो रह्यो? अहिले सम्मको यात्रा निकै राम्रो छ । म र मेरो संस्थाका हामी सबै खुशी छौं किनभने हामीले जुन उद्देश्य लिएर यस संस्थालाई स्थापना गरेका हौं, त्यो पुरा गर्न हामी सफल भएका छौं । ८ हजार विद्यार्थी यहाँबाट पास भएर गईसकेका छन् । उनीहरु संसारभर फैलिएर बसेका छन् । उनीहरुले आफ्नो र यस कलेजको नाम पनि राखेका छन् । नेपालको सूचना प्रविधिमा हामीले पनि केही योगदान गर्न पाएकोमा हामीलाई गर्व महसुस हुन्छ । हामी सबैलाई थाहा छ कि सूचना प्रविधिको विकासले देशमा ठूलो फरक परिवर्तन ल्याउन सक्छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा कुन कुन विषय पढाई हुन्छन् ? अहिले हामीले फोकस गरेको विषय भनेको सूचना प्रविधि र व्यवस्थापन हो । यहाँ बिएससी आईटी, एमएससी आईटी, बीबीए र एमबीए कोर्ष रहेको छ । यी चार वटै विषयहरु एसिया प्यासिफिक यूनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त हाे । त्यो विश्वविद्यालय त्यहाँको सूचना प्रविधि अध्ययनको लागि प्रख्यात छ । त्यहाँ १२ हजार विद्यार्थीहरु पढ्छन् जसमा ६ हजार विद्यार्थीहरु विभिन्न देशबाट आएका छन् । उनीहरुले आफूलाई मल्टिकल्चरल विश्वविद्यालयको रुपमा स्थापना गरेका छन् । यस्तै हाम्रै छाता अन्तर्गत पाटन कलेज अफ प्रोफेसनल स्टडिज रहेको छ जुन युनिभर्सिटी अफ बेडफोर्डसाईन, लण्डन युकेबाट सम्बन्धन प्राप्त गरेको छ । त्यहाँ बीएससी इन कम्प्युटर साइन्स एन्ड सफ्ट्वेयर ईन्जिनियरिङ्ग पढाईन्छ । मलाई लाग्छ सफ्टवेयर ईन्जिनियरिङ्गमै मात्रा फोकस गराएर पढाउने कलेज हामी मात्र होला । जसलाई प्रोग्रामिङतर्फ जान मन छ उसको लागि त्यो एकदमै उपयुक्त बिषय हो । त्यहाँ हामीले बीबीए पनि संचालन गर्दै आएका छौं । आईटी र बिजनेस म्यानेजमेन्ट बिषय मध्ये कुन बिषयमा विद्यार्थीहरु बढी आकर्षित छन् ? हामी सूचना प्रविधिको कलेजको रुपमा स्थापना भएका हौं र पहिचान पनि यहि बनिसकेको छ । त्यसैले पनि सूचना प्रविधिको विद्यार्थीहरु पनि धेरै छन् । तर हामीले एमबीएहरुलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । अफिसमा काम गर्नेहरुको लागि हामीले हप्ताको २ पटक शुक्रबार र शनिबार कक्षा संचालन गर्दै आएका छौं । शुक्रबार दिउँसो ४ देखि साँझ ८ बजेसम्म र शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म पढाई हुन्छ । शनिबार लञ्च पनि कलेजमा नै व्यवस्था गरिएको छ । बैंकिङ र बीमा क्षेत्रमा काम गर्नेको लागि यो विकइन्ड पढाई बरदान नै सावित भएको छ । उनीहरुलाई काम गर्दै पढ्न सजिलो भएको छ । यसबाट धेरै विद्यार्थीहरु खुशी छन् । सामान्य मानिसहरुले नीजि कलेजमा पढ्न महँगो भएको बताउँछन् । तपाईको कलेजमा कति छ शुल्क ? हामीले मैतिदेवीमा साढे ७ लाखमा ब्याचलरमा आईटी पढाउँदै आएका छौं । नेपालको सन्दर्भमा यो शुल्क भनेको निकै नै सस्तो हो । यही विषय यूकेमा पढ्नुपर्दा कम्तिमा ५० लाख खर्च हुन्छ भने मलेसियामा हामीलाई सम्बन्धन दिने विश्वविद्यालयमा पढ्ने हो भने ४० देखि ४५ लाख रुपैयाँ खर्च हुने गर्दछ । म्यानेजमेण्टतर्फ ब्याचलर कोर्ष हामीले साढे ६ लाखमा पढाईरहेका छौं र मास्टर्सको कोष साढे ४ लाखको हाराहारीमा पढाईरहेको छौं । किन तपाईहरुले नेपाली विश्वविद्यालयबाट सम्बन्ध लिनु भएन ? हामीले जुन बेलामा सूचना प्रविधिका कलेज यहाँ खोल्न खोजेका थियौं त्यो बेलामा हामी त्रिभुवन विश्वविद्यालयमा गयौं तर उहाँहरुले हाम्रो सिस्टममा त्यस्तो छैन भन्दै अनेक समस्याहरु देखाएको कारण हामीले बाहिरको विश्वविद्यालयबाट सम्बन्धन लिएका हौं । त्यतिबेला नेपालमा त्यो कार्यक्रम थिएन । विदेशबाट सम्बन्धन लिएर हामीले सुरुवात गर्यौ । अर्को राम्रो कुरा नेपालमा कोर्षहरु अपडेट हुन ४ वर्ष लाग्छ तर हाम्रो विश्वविद्यालयमा हरेक ६ महिनामा नयाँ नयाँ अपडेट भईरहन्छ । अर्को भनेको मूल्याङ्कन विधि । यहाँ हाम्रो वार्षिक परीक्षाको आधारमा विद्यार्थीलाई अंक दिईन्छ तर विदेशी विश्वविद्यालयमा भने विद्यार्थीले हरेक दिन गरेका कृयाकलापका आधारमा विद्यार्थीहरुलाई मूल्यांकन गरिरहेका हुन्छन् । पछिल्लो समय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका कलेजहरुले नेपालको नियम पालना गरेनन्, नियम पालना नगर्ने कलेजहरुलाई कारवाही गर्नुपर्छ भन्नु भएको छ । मन्त्रीको उक्त भनाई कसकसलाई लक्षित छ ? हामी विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि संचालित पहिलो कलेज हौं । विदेशबाट सम्बन्धन लिएका कलेजहरुको नियमन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले जारी गरेको निर्देशन सबैले पालना गर्नुपर्छ । त्यो निर्देशन बनाउने क्रममा म पनि समितिमा थिएँ । पछिल्लो समयमा केही साथीभाईहरुले कलेज समयमा नविकरण गर्नुभएको छैन । मन्त्रीको भनाई उहाँहरुलाई लक्षित हो । जसले नियम पालन गर्दैनन् उसलाई त अवश्य पनि कारबाही हुनैपर्छ । लर्ड बुद्ध एकेडेमीले सञ्चालन गरेका ४ वटा कोर्षमध्ये एउटा कोर्सले त्रिभुवन विश्वविद्यालय स्थाई रुपमा समकक्षता पाएको छ तर बाँकी ३ वटा कोर्सले भने अस्थाई समकक्षता मात्र प्राप्त गरेको छ । किन यस्तो भएको ? यो हामीलाई मात्र नभएर सबैलाई यस्तै नियम रहेको छ । त्रिभुवन विश्वविद्यालयले पहिला स्थाई समकक्षता भन्ने शब्द दिनुहुन्थ्याे तर पछिल्लो २ वर्षयता अस्थाई समकक्षता भनेर दिने गरेको छ । यो कुरा हामीले पनि बुझ्न सकेका छैनौं । तर यसको मतलब हाम्रो कोर्सले मान्यता नपाएको भन्ने चाँही पक्कै पनि होईन । विश्वविद्यालयले कलेजहरुमा हरेक २ वर्षमा अनुगमन गर्दै आएका छन् । अनुगमनको लागि हामीले आँफै नै निवेदन दिनुपर्छ । अझै रमाईलो कुरा के छ भने हामीले उहाँहरुलाई अनुगमनको पैसा बुझाउनुपर्छ । अनुगमनमा आउनेला अनुगमनकर्तालाई हामीले नै भत्ता दिनुपर्छ । तपाई आँफै पनि सोच्नुहोस् जो तपाईकै भत्ता खाएर अनुगमन गरिरहेको छ के त्यसले तपाईको बारेमा नराम्रो लेख्ला त ? नियममा नै लेखिएको छ । हामीलाई पनि समकक्षता लिनुपर्ने बाध्यता छ । अर्को ठूलो समस्या के छ भने सरकारी मान्छेहरु नै शिक्षा क्षेत्रमा काम गर्नेलाई सरकारले नै चोर, डाका, फटाहा भन्छन् । सरकारी मान्छेले, सर्वसाधारणले शिक्षा क्षेत्रका लगानीकर्ताहरुलाई मानिसहरुले चोर, डाका, फटाहा भन्दै गर्दा तपाईलाई कस्तो लाग्छ ? हरेक मानिसको फरक फरक धारणा र दृष्टिकोण रहेको छ । कुनै साथी नाफाको लागि मात्र काम गर्दै आएका छन् भने कोही सेवामुलक रुपमा मात्र लागेका हुन्छन् । उदाहरणको लागि मेरो यो व्यवसाय बाहेक अन्य कुनै पनि व्यवसाय छैन । अब मैले पनि त आफ्नो छोरा छोरी पाल्नुपर्छ । अब सरकारले छोराछोरी पढाईदिन्छु, तँलाई चोटपटक लाग्यो, कुनै समस्या आयो भने हामी हेरिदिन्छु भने त कुनै पनि फाईदा बिना काम गर्नु हुन्थ्याे । त्यो अवस्था छैन । मेरै कुरा गर्नुहुन्छ भने शुरुको ८ वर्ष लर्ड बुद्ध एकेडेमी घाटामा नै चलाए । पछि विस्तारै नाफामा गयो । फेरी अहिले घाटामा जाला जस्तो भएको छ । तपाईहरुले शिक्षा क्षेत्रमा आफ्नो लगानीलाई कत्तिको सुरक्षित महसुस गर्नुभएको छ ? जसले लामो समयदेखि लगानी गरिसकेको छ उनीहरुको भने सबै लगानी उठेर राम्रो भईरहेको अवस्था छ तर अबको अवस्थामा शिक्षा क्षेत्रमा ठूलो लगानी आउने सम्भावना एकदमै कम देखिएको छ । सरकारले नीजि संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने अवस्थामा उहाँहरु उल्टो कुरा गर्दै आउनु भएको छ । सरकारले जग्गा दिन्छ । भवन बनाउँछ । शिक्षकलाई तलब दिन्छ । भत्ता दिन्छ । पेन्सन दिन्छ । विद्यार्थीलाई खाजा दिएको छ । अन्य खर्च दिन्छ । त्यसको साटो, जग्गा, भवन नीजि क्षेत्रलाई दिएर नीजि क्षेत्रसँग साझेदारी गर्ने हो भने धेरै राम्रो हुन्छ । बरु सरकारले २५/३० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।
एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत दुई ग्राहकले पाए नगद पुरस्कार
काठमाडौं । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मभ्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकहरु मध्येका एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् । राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिएकी थिइन् । तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरु मध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ । यस योजना अन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहक मध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने छ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।
सीईओ पुनः नियुक्ति गर्दा कार्य सम्पादन मूल्यांकन रिपाेर्ट बीमा समितिमा पेस गर्नु पर्ने
काठमाडौं । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूको पुनःनियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन बीमा समितिमा पेस गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ । केही बीमा कम्पनीले कमजाेर पर्फमेन्स भएकाे सीईओ पुनः नियुक्ति गरेपछि बीमा समितिले यस्ताे व्यवस्था गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ । पहिलाे कार्यकालका लागि नियुक्त हुँदा भएकाे कार्यसम्पादन करार सम्भाैता अनुसार काम भएकाे छ छैन, उसले लिएकाे लक्ष्यमा कति प्रतिशत काम भएकाे छ, त्याे हेर्नु पर्ने अवस्था अाएकाे बीमा समितिकाे भनाइ छ । बीमा समिति स्राेत भन्छ ‘अघिल्लो कार्यकालमै आफूले बनाएको बिजनेश प्लानअनुसार काम गर्न नसक्ने सीईओलाई पुनः नियुक्ति दिन भनेकाे कम्पनीलाइ कमजाेर अवस्थामा राखिराख्नु हाे । बजारलाइ यसरी छाेड्दा समस्या देखियाे।’ नयाँ सीईओले भने कम्पनीका प्रवेश गर्नु अघि आफ्ना केही योजनाहरु प्रस्तुत गर्नुपर्ने छ । बीमा समितिले दिएको जानकारी अनुसार हाल (सिईओ) चयनको प्रकृयामा कम्पनीहरु आफैले योग्य व्यक्ति खोज्ने गर्छन् । कम्पनीहरूले नयाँ सीईओ नियुक्ति गर्दा बीमा समितिसँग परामर्श लिएर नियुक्ती गर्छन् र बीमा समितिबाट स्वीकृत गराउनछन् । पुराना सीईओ पुनः नियुक्ति गर्दा कम्पनीहरूले साेझै निर्णय गरी बीमा समितिमा स्वीकृतिकाे लागि पठाउने गरेका छन् । बीमा समितिले कुनै पनि व्यक्तिलाइ दुइ कार्यकाल मात्र सीईओ बन्न पाउने नियम बनाएर लागू गरेकाे छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
भरतपुर । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताएका छन् । “पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौँ”, उनले भने, “यो अवधिमा धमाधम काम हुन्छ ।” ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताएका छन् । रु १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन हस्तान्तण
काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स ग्रुपसँग मिलेर स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको हो। कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा गु्रपका कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो। नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स गु्रपले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुको बीचमा पुर्याउने अभियानको थालनीसँगै सो कार्यलाई आवश्यक वासिङ मेसिन ज्योति विकास बैंकद्वारा प्रदान गरिएको हो। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। नवजीवन परोपकार समाज तथा गु्रपले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान गरेको छ । हाल ज्योति विकास बैंकले १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।