चर्को ब्याजदर तत्काल हटाउनु पर्ने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको माग
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनु पर्ने माग गरेको छ ।महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भने । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सातै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्दै चीनसँग जोडिएका तातोपानीलगायत सबै नाका यथाशीघ्र सञ्चालनका लागि पहल गर्नुपर्ने माग गर्दछौँ ।” नेपाल भारत खुला सिमाना रहेका कारण दिनप्रतिदिन चोरीपैठारी बढ्दै गइरहेको हुँदा त्यसलाई रोक्न तत्काल सम्बन्धित निकायले पहल गर्नुपर्ने अध्यक्ष कटुवालको भनाइ छ ।
टोयोटाले पूरा गर्यो ६ दिने ‘रस टु मुस्ताङ’ यात्रा
काठमाडौँ । टोयोटाले ७ वटा रस एसयुभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ्ग यात्रा पूरा भएको छ । फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पूरा गरिएको कम्पनीले जनाएको छ । फागुन २० देखि काठमाडौँबाट शुरु भएको यात्रा फागुण २६ गते पोखरामा आएर सकिएको हो । टोयोटाको नयाँ एसयुभी रसले खराव पहाडी सडक कुनै समस्या र रोकावट बिना आफ्नो यात्रा पूरा गरेको कम्पनीले जनाएको छ । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । रस टु मुस्ताङ्गमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुम बाट पुन र्यालीको आयोजना गरेका थियो । उक्त र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त र्याली आयोजनापछि १५ टोयोटा रश गाडीको शोरुम बुकिङ भएको छ ।
अन्ततः मिले उद्योगी र बैंकर, ब्याजदरको व्यवस्थापन आफैं गर्ने
काठमाडौं । ब्याजदर उचारचढावको श्रृंखलामा दुई कित्तामा उभिएका उद्योगी र बैंकर अन्ततः मिलेका छन् । सोमबार नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधी सम्मिलित छलफलले मिलेर अघि बढ्ने निष्कर्ष निकालेको हो । ‘हामीले सौहार्दपूर्ण वातावरणमा छलफल गरेका छौं, मिलेर अघि बढ्ने निष्कर्ष निकालेका छौं’, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विकासन्युजसँग भने । बैंकर र उद्योगीहरुले मिलेर अघि नबढ्दा दुबै पक्षलाई नोक्सानी हुने निष्कर्षसहित समेत निकालेका छन् । ‘उद्योगी र बैंकर भनेका सहयात्री हुन्, मिलेर अघि बढ्दा मात्रै दुबैको हित हुन्छ, हाम्राबीचमा थोरै असमझदारी आएको थियो, आजको बैठकले सबै मिलायो’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने । बैंठकले महासंघका प्रतिनिधी र बैंकरका प्रतिनिधी सम्मिलित कार्यदल समेत गठन गरेको छ । सो कार्यदलले एक हप्ताभित्र छलफल गरेर ब्याजदर सम्बन्धी किचलो अन्त्य गर्ने प्रस्ताव तयार पारेर नेपाल राष्ट्र बैंकलाई पेश गर्नेछ । सोही आधारमा राष्ट्र बैंकले ब्याजदर आन्दोलनलाई सम्बोधन गर्नेछ । चैत मसान्तभित्र ब्याजदरको विवाद पूर्णत समाधान हुने पनि श्रेष्ठले दावी गरे । सोमबारको बैठकमा महासंघ अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । बैठकले सबै बैंक तथा वित्तिय संस्थाहरुमा उद्योगीहरुले बुझाउनुपर्ने विवरणमा एक रुपता ल्याउने सहमति पनि गरेको छ । उनीहरुले प्रत्येक ३ महिनामा आफैं छलफल गरेर बजारको अवस्था बुझ्ने र सम्भावित जोखिमबाट जोगिने उपायको खोजी गर्ने निर्णय पनि गरेका छन् ।
झापाको दमकमा कामना सेवाको ६९ औँ शाखा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले सोमबार ६९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंक संचालक समितिका सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए ।
केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर, नवजात शिशुको खातामा ५ सय र केक उपहार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज(केएमसी)का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।
नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब नाघ्यो
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष(आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आव २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ । हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालकाे नेतृत्वमा यस बैंकको “नेटवर्थ” २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
निगमले लुफ्तान्जालाई दिएको टेन्डर स्वीकृति नियमसंगत छ : लेखा समिति
काठमाडौं । लेखा समितिले नेपाल वायुसेवा निगमले ए३३० विमान मर्मतका लागि छनोट गरेको जर्मन कम्पनी लुफ्तान्जालाई छनोट गरेको प्रक्रिया नियमसंगत रहेको जनाएको छ । लेखा समितिको सोमबार बसको बैठकले उक्त विमानको पिबिएच कम्पोनेन्ट सप्लाईका लागि गरेको आह्वान गरेको टेन्डरमा उक्त कम्पनीको प्रस्ताव प्रभावग्राही हुनुका साथै निगमले पत्राचार मार्फत प्रतिक्रिया मागेकोमा प्राप्त थप प्रस्ताव मितव्ययी समेत रहेको भन्दै सो कम्पनिको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेको देखिएकोले सो प्रस्ताव समेत मूल्यांकनमा समावेश गरी टेन्डर प्रक्रियालाई निरन्तरता दिन निगमलाई निर्देशन दिएको हो । त्यस्तै उल्लिखित टेन्डरका सम्बन्धमा भविष्यमा यस्ता समस्याहरु पुनरावृत्ति हुन नदिन थप आवश्यक कारबाहीका लागि लेखा समितिले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
चितवन र नवलपरासीमा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा सञ्चालन
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकामा कावासोतीशाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकामा टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।