विकासन्युज

२५ रुपैंयाको भाडा १८ रुपैंया बनाउने इलेक्ट्रिक बस सञ्चालककाे प्रस्ताव, ‘तर महासेठले दर्तै दिएनन्’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठका कारण आफूहरुले विद्युतीय गाडी सञ्चालन गर्न नपाएको गुनासो यातायात व्यवसायीले गरेका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चार्जिङ स्टेशन निर्माणका लागि सहयोग गर्न र चार्जिङ स्टेशनको नमुना देखाउन आएका एक इलेक्ट्रोनिक यातायात व्यवसायीले आफूहरुले २ करोड भन्दा बढी खर्चेर चार्जिङ स्टेशन र गाडी नेपालमा भित्र्याए पनि सरकारी नीतिका कारण सञ्चालन गर्न नपाएको गुनासो गरे । हामीले सुकेधारामा डेढ रोपनी जग्गामा चार्जिङ स्टेशन बनाउन तयारी गरेका छौं, विद्युत् प्राधिकरणले मिटर स्टेशन उपलब्ध गराएपछि त्यसको सञ्चालन गर्ने तयारीमा छौं तर जताततै समस्या आयो । चार्जिङ स्टेशन बनाउन विद्युत प्राधिकरणले सहयोग गरेको छ तर त्यसको मूल्य कति हुने भन्ने थाहा छैन । चार्जिङ स्टेशन निर्माण र त्यसको लागि प्रतियुनिट दररेट नहुँदा समस्या भइरहेको छ । उर्जा मन्त्रालयले त्यसबारे नीतिगत निर्णय गरेपछि चार्जिङ स्टेशन स्थापना गर्ने सुन्दर यातायात प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाले बताए । उक्त चार्जिङ स्टेशनको अवलोकन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बन्धित शाखाबाट किटर लिएर चार्जिङ स्टेशन निर्माण गरिहाल्न सुझाव दिए । ‘अहिले सामान्य मूल्यदर अनुसार सञ्चालन गर्नुस् । उर्जा मन्त्रालयमा मूल्य नीतिगत व्यवस्था गर्न समिति बनेको छ, त्यसले सुझाव दिएपछि फिक्स गरौंला ।’ विद्युतीय बस सञ्चालनमा समस्यै समस्या सरकारले बजेटमार्फत् ५ वर्षभित्र बजारमा रहेका कुल सवारीमध्ये २० प्रतिशत सवारी विद्युतीय रहने व्यवस्था गरे पनि सवारी सञ्चालनमा समस्यै समस्या देखिएका छन् । सवारी दर्ता, पञ्जीकरण, विद्युतीय सवारीको भाडादर निर्धारण, चार्जिङ स्टेशन निर्माण, विद्युतीय सवारी चार्जको दररेट निर्धारण, बीमाशुल्क निर्धारण लगायतका विषयमा अन्यौलता कायम रहेको पाइएको हो । हालसम्म यातायात मन्त्रालयले विद्युतीय सवारी दर्ताको लागि नीतिगत व्यवस्था नै नगरेको आरोप व्यवसायीहरुले लगाएका छन् । ‘हामीले बारम्बार यातायात मन्त्रालयमा भन्यौं, कर्मचारीहरु सकारात्मक देखिएका छन् तर यातायातमन्त्री काम गर्नुस् मात्रै भन्नुहुन्छ, नीतिगत व्यवस्था गर्न आलटाल गर्नुहुन्छ, उहाँले किन त्यसो गरिरहनुभएको छ हामीले बुझेनौं । हामीले नम्बर प्लेट नलिई बस चलायौं भने ट्राफिकले अहिलै समात्छ, गाडी दर्ता नहुँदा बीमा पनि हुँदैन, दुर्घटना भइहाल्यो भने के गर्ने, अन्यौल भयो ।’ – अध्यक्ष थापाले भने । उर्जा मन्त्रालयले गर्ने काम भने अघि बढेको र त्यसमा उर्जामन्त्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पनि सक्दो सहयोग गरेको उनले बताए । ‘भाडा ३० प्रतिशत कम गर्न सक्छौं’ अध्यक्ष थापाले विद्युतीय गाडी सञ्चालन गर्न दिए प्रचलित भाडादरमा ३० प्रतिशतसम्म कम भाडादर कायम गरेर बस सञ्चालन गर्ने क्षमता आफूहरुको हुने दाबी गरे । ‘हामीले भौतिक मन्त्रालयमा गएर २० रुपैंया भाडा भएको ठाउँमा १४ रुपैंया र २५ रुपैंया भाडा भएको ठाउँमा १८ रुपैंयामै सेवा सञ्चालन गर्ने प्रस्ताव लिएर यातायात मन्त्रालयमा गयौं, भाडा घटाउने भनेपछि मन्त्रीज्यू हामीप्रति झन् नकारात्मक हुनुभयो, उहाँले किन त्यसो गर्नुभयो हामीले बुझ्न सकेनौं ।’ सुन्दर यातायातका अध्यक्ष थापाले भने । भाडा घट्ने डरले यातायात व्यवसायीहरुले मिलेमतोमा विद्युतीय सवारी सञ्चालन गर्न नदिन मिलेमतो गरेको उनीहरुको आशंका छ । तर भाडादर कति कायम गर्ने भन्ने विषय सरकारकै भएकाेले आफुहरुले प्रस्ताव मात्रै गरेकाे उनले स्पष्ठ पारे । साझाभन्दा ठूलो विद्युतीय बस, जीपीएस र एसी सुन्दर यातायातले २ ओटा विद्युतीय बस चीनबाट काठमाडौं ल्याइसकेको छ । १ करोड ८७ लाख रुपैंया एउटा गाडीको मूल्य पर्ने उक्त गाडी अन्य ११ ओटा चीनबाट ल्याउने प्रक्रिया पूरा भएको भन्दै थापाले ल्याएका दुई गाडीले सञ्चालन अनुमती पाउने बित्तिकै ती गाडीहरु नेपाल ल्याइहाल्ने बताए । त्यस्तै प्रतिगोटा १३ लाख पर्ने ४ ओटा चार्जिङ मेसिन उनीहरुले नेपाल ल्याइसकेको बताइएको छ । हाल २ ओटा मेसिन सुकेधारा र २ ओटा सीतापाइलाको स्टेशनमा स्थापना गर्ने उनीहरुको योजना छ । उक्त विद्युतीय बसमा जीपीएस रहने र एयर कन्डिसन समेत अटोमेटेड रुपमा चल्ने बताइएको छ । उक्त गाडी सुविधासम्पन्न र प्रविधिमैत्री रहेको भन्दै यात्रुहरुले भाडा समेत मोबाईल वालेटबाट तिर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

आन्तरिक पर्यटक भएर मेलम्ची पुगेका पूर्णवहादुर,‘जो इञ्जिनियर बन्ने सपना त्यागेर शिक्षक बने’

काठमाडौँ । काभ्रेपलाञ्चोक कोशीपारी घर भएका पूर्णबहादुर गौतम २०४१ सालमा साथीहरुसँग घुम्ने शिलशिलामा सिन्धुपाल्चोकको मेलम्ची ध्याङ पुगेका थिए । त्यहाँ विद्यालय थिएन, बालबालिका शिक्षाबाट बञ्चित रहँदै आएका थिए, यो अवस्था देखेपछि उनले एउटा अठोट गरे,  गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षाको ज्योति फैलाउन सोच बनाए । घुम्न गएको भएपनि उनी त्यहाँको प्राकृतिक सुन्दरता हेरेर मात्र फर्किएनन्, उनले एउटा अठोट पनि लिए । घुम्न गएको केही दिन पनि उनी पुनः मेलम्ची ध्याङ गए, उनले स्थानीय गाउँलेसँग सल्लाह गरे । २०४१ सालमा विद्यालय स्थापना गरे र सो सामुदायिक विद्यालयको प्रधानाध्यापक भएर उनका ३४ वर्षदेखि सेवा गरिरहेका छन् । २०६३ सालबाट १० कक्षाको पढाई शुरु भएको र अहिलेसम्म शत प्रतिशत नतिजा दिन सफल भएको उनी बताउँछन् । उनले भने–विगतको एसएलसी र अहिलेको एसइईमा राम्रो नतिजा आइरहेको छ । उनी भन्छन् ‘सफलता हात पार्नको लागि इच्छाशक्ति मुख्य हुँदो रहेछ । हाम्रो विद्यालयलाई हेरेर निजी वद्यालय मात्रै राम्रो हुन्छ भन्नेहरु पनि दंग परेका छन् ।’ आफ्नो कामप्रति जिम्मेवार भएर लागेँ–देखेको सपना पूरा भयो–उनले भने ।  अहिले सो विद्यायलमा १८ जना शिक्षकमध्ये ५ स्थानीय र १३ बाहिरका छन् । १० जना शिक्षकलाई सरकारी तलब दिएका छौं भने बाँकी ८ लाई निजी स्रोतबाट तलब खुवाएका छौँ–उनले बताए । पर्यटकले गर्छन् विद्यालयलाई सहयोग मेलम्ची घ्याङ्ग घुम्न आएका पर्यटहरलाई एकपटक विद्यालयमा ल्याएर पनि घुमाउने गरेका छौं । प्रधानाध्यापक गौतम भन्छन्– ‘पर्यटकहरुले विद्यालयको बारेमा जानकारी पाएपछि सहयोग गरिरहेका छन् । विदेशी पर्यटकबाट सहयोग लिएर नै विद्यालय सञ्चालन गरेको भइरहेको छ ।’ २०७२ सालको भूकम्पले क्षति पुर्याएको सो विद्यालयको पुनर्निमाणका लागि विदेशी संस्थाले सहयोग गरेका छन् । अहिले विद्यालयको पुनर्निमाणको काम भैरहेको छ । बैशाखसम्म केही बनिसक्छ, केही बनाउन बाँकी नै छ । विद्यालयमा विभिन्न जिल्लाका विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्ने सुविधा रहेको प्रधानाध्यापक गौतमले सुनाए । उनका अनुसार २५२ विद्यार्थीलाई होस्टेलमा राखिएको छ । विद्यालयमा बाहिरी जिल्लाका १२ विद्यार्थी छन् । सो विद्यालयमा पढ्न आउने अरु विद्यालयका विधार्थीले प्रवेश परीक्षा दिनु पर्छ । विद्यालय राम्रो बनाउन के के गरे हिमालको काखमा र कच्ची बाटो भएर सिन्धुपाल्चोक जिल्लाको अन्तिम बस्ती, मेलम्ची घ्याङ्गमा रहेको मेलम्ची घ्याङ्ग माध्यमिक विद्यालय सानो कोठा शुरु भएको उनी स्मारण गर्छन् । उनी इञ्जिनियर बन्न चाहन्थे तर परिस्थितिले उनलाई शिक्षक बनायो । उनले भने–देशका लागि केही गर्छु भन्ने थियो, शिक्षा क्षेत्रबाट योगदान गर्न पाएकोमा खुशी छु । विद्यालय खोल्न कसकसको सहयोग रह्यो ? विद्यालय स्थापना गर्ने क्रममा दोर्जे शेर्पा र लाकु दोर्जे शेर्पा संस्थापक रहेका थिए । उनले भने–‘मैले हेलम्बुवासीसँग विद्यालय खोल्छु, खान–बस्न दिनुस् भनेपछि उहाँहरूले विद्यालय नभएको ठाउँमा विद्यालय खोल्छु भन्दा खुशी भएर हुन्छ भनेको उनी सम्झन्छन् ।’ विद्यालय शुरु गर्दा १९ विद्यार्थी थिए । मेलम्ची घ्याङ्ग रहेको सो विद्यालयउमा अंग्रेजी माध्यममा पढाई हुन्छ । मेलम्ची घ्याङ्ग रहेको सो विद्यालयमा अंगे्रजी मात्र नभएर कक्षा १ देखि ५ सम्म तिब्बतीयन भाषाको पनि पढाई हुने गरेको उनी बताउँछन् ।

काठमाडौँमा बर्डफ्लु देखियो, २८ हजार कुखुरा नष्ट, उपभोक्ता होशियार !

काठमाडौँ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए । बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ । यस अघि मकवानपुरको हेटौंडामा समेत वर्ड देखिएको थियो । रासस

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो । उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

भूकम्पबाट क्षति भएको सशस्त्र प्रहरीका संरचना, २८ मध्ये २६ वटाको पुनर्निर्माण सम्पन्न

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ । बाँकी अन्तिम चरणमा छन् । आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५/०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएका संरचनाहरुमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् । थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुन आँटेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल यु।एन। शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंं.४ मुक्तिनाथा बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भैरहेको छ । यी संरचनाको आगामी बैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले जानकारी दिए । बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नं. १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नं १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताए । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्दार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासंभव सहयोग गर्ने बताए । सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।

नेपाल मेडिसिटीको हटलाईन ११३४, भेन्टिलेटर सहितको एम्बुलेन्स र स्वास्थ्यकर्मी बोलाउन सकिने

काठमाडौँ । सबै प्रकारको टेलिफोनबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीकालागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको विश्वस्तरिय एसिएलएस एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तुरुन्तै बोलाउन सकिने छ । नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिने अस्पतालले जनएको छ । काठमाडौं उपत्यकामा एम्बुलेन्स र देशका अन्य भागका लागि भए हेलिकोप्टरबाट तत्काल घाइतेको उद्धार गरिने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । दूुर्घटना वा भवितब्यका बेला उचित प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसकालागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको चौरपाटीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री फपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिती थियो ।

व्यवसायिक प्रतिनिधि र प्रचण्डबीच भेटवार्ता, सुरक्षाबारे गराए ध्यानाकर्षण

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधि मण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेट गरेको छ । महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहेको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र त्यसपछि उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको थियो । प्रतिनिधि मण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भैरहेको बताए । लगानी सम्मेलन नजिकिदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उनले जानकारी गराए । महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराए । सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनु हुदै व्यवसाय संचालनमा समस्या भैरहेको बताए । भेटका अवसरमा प्रतिनिधि मण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राखेका थिए । सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भैरहेको जानकारी गराए । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउनु हुदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउनका लागि पनि सरकारस“ग छलफल गर्ने आश्वासन दिएका थिए ।