आलु खेती गर्दै हुनुहुन्छ ? यस्ता जातका लगाउनुस्, धेरै फल्छ

<p>काठमाडौं । यो समय आलु बाली लगाउने समय हो । आलु खेती गर्दा भौगोलिक अवस्था, मौसम, माटो जस्ता विषयलाई ध्यान दिएर सोहीअनुसारको विउ लगाउँदा बढी फल्ने गर्छ । कुन क्षेत्रमा कस्तो जातको आलु खेती गर्दा बढी उत्पादन हुन्छ भनेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिचान गरेको छ । यस्तो पहिचानपछि कुन क्षेत्रमा जुन जातको [&hellip;]</p>


काठमाडौं । यो समय आलु बाली लगाउने समय हो । आलु खेती गर्दा भौगोलिक अवस्था, मौसम, माटो जस्ता विषयलाई ध्यान दिएर सोहीअनुसारको विउ लगाउँदा बढी फल्ने गर्छ ।

कुन क्षेत्रमा कस्तो जातको आलु खेती गर्दा बढी उत्पादन हुन्छ भनेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिचान गरेको छ । यस्तो पहिचानपछि कुन क्षेत्रमा जुन जातको आलु लगाउने भनेर नार्कले सिफारिस नै गर्ने गरेको छ ।

तरकारीमा सबैभन्दा बढी प्रयोग हुने आलु नै हो । नार्कले नेपालका विभिन्न क्षेत्रमा उपयुक्त हुने भन्दै अहिलेसम्म १३ वटा जातका सिफारिस गरेको छ ।

नार्कको सिफारिस अनुसार आलु रोप्ने हो भने प्रतिहेक्टर ४० टनसम्म उत्पादन हुने नार्कका प्रवक्ता हरिकृष्ण उप्रेती वताउँछन् । नार्कले नेपालको भौगोलिक अवस्थाअनुसार हिमाल, पहाड र तराई क्षेत्रमा बढी उत्पादन हुने आलु सिफारिस गर्ने गरेको हो ।

नार्कले सिफारिस गरेका आलुका जात यस्ता छन्ः

कुफ्री ज्योतिः यो जातको आलुको विउलाई नार्कले २०४९ सालमा नै स्वीकृति दिएको हो । कुफ्री ज्योति जातको आलु बाली लगाएको १ सय १० दिनमा उत्पादन हुन्छ । यो जातको आलु प्रतिहेक्टर २३ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ ।

यो जातको आलु पहाडी क्षेत्रमा उपयुक्त हन्छ । माघ, फागुन र चैत महिना तथा असोज र कात्तिक महिनामा पनि यो आलु बाली लगाउन सकिने नार्कको भनाई छ । नार्कले कम वर्षा हुने पश्चिम नेपालका उच्च पहाडी क्षेत्रका लागि यो आलू असार र साउन महिनामा पनि लगाउन सकिने सिफारिस गरेको छ ।

कुफ्री सिन्दुरीः यो जातको आलुको विउलाई पनि नार्कले २०४९ सालमा नै स्वीकृति दिएको हो । यो जातको आलु १ सय १० दिनदेखि १ सय २० दिनसम्ममा उत्पादन भइसक्छ ।

कुफ्री सिन्दुरी जानको आलु प्रतिहेक्टर २३ टनसम्म उतपादन हुने नार्कको भनाइ छ । यो जातको आलु विशेष गरी तराई क्षेत्रमा हिउँदे बालीको रुपमा असोजदेखि मंसिरसम्म र तल्लो पहाडी भेगमा कात्तिकदेखि पुससम्म लगाउन नार्कले सिफारिस गरेको छ ।

डेजिरेः यो जातको आलुको विउ नार्कले २०४९ सालमा स्वीकृत गरेको छ । डेजिरे जातको आलु तराई क्षेत्रमा हिउँदेबालीको रुपमा असोज र कात्तिक महिनामा लगाउनु उपयुक्त हुन्छ । यस्तै मध्यपहाड र तल्लोपहाडमा भदौं र असोज महिनामा यो जातको आलु लगाउनु उपयुक्त हुन्छ ।

नार्कका अनुसार डेजिरे जातको आलु मध्यपहाडमा माघ र फागुन लगाउनु पनि उपयुक्त हुन्छ । यो जातको आलु रोपेको ९० देखि १ सय २० दिनसम्ममा उत्पादन भइसक्छ । यो जातको आलु प्रतिहेक्टर १८ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ ।

जनकदेवः यो जातको आलुले २०५६ सालमा स्वीकृति पाएको विउ हो । यो आलु मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी मौसममा उत्पादन हुन्छ । उपत्यका तथा तराई क्षेत्रमा शरद ऋतु र कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा वर्षा ऋतुमा गर्न उपयुक्त हुने नार्कले जनाएको छ ।

खुमल सेतो १ः यो जातको आलुको विउलाई नार्कले २०५६ सालमा स्वीकृत गरेको हो । मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी मौसम, कम पानी पर्ने उच्च पहाडी क्षेत्र तथा मध्यपहाडी क्षेत्रमा शरद ऋतुमा यो जातको आलु उपयुक्त हुने नार्कको भनाइ छ । यो जातको आलु १ दिन १० दिनमा उत्पादन भइसक्छ । यो जातको आलु प्रतिहेक्टर ३८.७ टनसम्म उत्पादन हुन्छ ।

खुमल रातो २ः यो जातको आलु प्रतिहेक्टर ३६.२ टनसम्म उत्पादन हुन्छ । यो आलु ९५ दिनमा उत्पादन हुन्छ । विशेष गरी तराई, भित्रीमधेश तथा खोंचहरुमा शरद ऋतु यो आलुबाली उपयुक्त हुन्छ ।

खुमल लक्ष्मीः यो जातको आलु २०६५ सालमा नार्कले स्वीकृत गरेको हो । यो आलु बर्षे बालीको रुपमा मध्य तथा उच्च पहाडी भेगमा, तराई तथा भित्री मधेशमा शरद तथा हिउँदे बालीको रुपमा लगाउनु उपयुक्त हुन्छ ।

यो आलु १सय २० दिनदेखि १ दिन ४० दिनसम्मको अवधिमा पाक्छ । यो आलु प्रतिहेक्टर २४ देखि २८ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ ।

आईपीवाई ८ः यो जातको आलु तराई तथा भित्री मधेशमा उत्पादन गर्नु उपयुक्त हुन्छ । नार्कले यो जातको आलुको विउ २०६५ सालमा स्वीकृति दिएको थियो ।

यो जातको आलु १ सय १० दिनदेखि १ सय २० सम्ममा पाक्छ । आईपीवाई ८ जातको आलु प्रतिहेक्टर २५ देखि २७ टनसम्म उत्पादन हुेन नार्कले जानकारी दिएको छ ।

खुमल उज्वलः यो जातको आलु २०७१ सालमा नार्कले मध्यपहाडीदेखि उच्चपहाडी क्षेत्रमा उत्पादन हुने भनेर सिफारिस दिएको छ । यो आलु १ सयदेखि १ सय २० दिनसम्म पाक्छ । यो आलु प्रतिहेक्टर २५ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ ।

खुमल उपहारः यो जातको आलुको विउ नार्कले २०७१ सालमा तराई र मध्यपहाडको १२ सय मिटर उचाइसम्म खेती गर्न उपयुक्त हुने भन्दै स्वीकृत दिएको छ । यो जातको १ सयदेखि १ सय २० दिनसम्ममा पाक्छ भने प्रतिहेक्टर २४ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ ।

टीपीएस–१ः यो जातको आलुको विउलाई २०७१ सालमा नार्कले स्वीकृति दिएको हो । तराई र मध्यपहाडको सिचाइँ हुने क्षेत्रमा प्रतिहेक्टर ३५ देखि ४० टन उत्पादन हुने गर्छ । यो आलु १ सय १० देखि १ सय २० दिनसम्म उत्पादन हुने गर्छ ।

टीपीएस–२ः यो जातको आलु तराई र मध्य पहाडको सिंचाइँ हुने क्षेत्रमा प्रतिहेक्टर ३० देखि ३५ टनसम्म उत्पादन हुन्छ । नार्कले २०७१ सालमा यो जातको आलुको सिफारिस दिएको हो ।

खुमल विकासः यो जातको आलु २०७५ सालमा नार्कले मध्यपहाडदेखि उच्चपहाडी क्षेत्रको १२ सय मिटरदेखि ३ हजार मिटरसम्म उत्पादन हुन्छ भनेर स्वीकृति दिएको हो । यो जातको आलु १ सय दिनदेखि १ सय १० दिनसम्ममा पाक्छ । यो आलु प्रतिहेक्टर २६ टन उत्पादन हुने गर्छ ।

Share News