विकासन्युज

टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा कल गर्नु नपर्ने, अब वेबसाइटबाटै थाहा पाइने

काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो । नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (पीइसटीएन इन्क्वाइरी सिस्टम) सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ । विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो ।

गोरखा चाइनिज इँटाको स्ट्रेन्थ १० एमपीए भन्दा माथि, माग बढेपछि मुख्य शहरमा डिलरमार्फत बिक्री वितरण

काठमाडौं । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन शुरु भएको गोर्खा चाइनिज इँटाको स्ट्रेन्थ १० एमपीए भन्दा माथि रहेको पाइएको छ । ख्वप कलेज अफ इन्जिनियरिङ्गमा गरेको कम्प्रेसिभ स्ट्रेन्थ टेष्टमा कम्पनीका इँटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको हो । गुणस्तरीय इँटा हुनका लागि कम्प्रेसिभ स्ट्रेन्थ न्युनतम पनि ३.५ एमपीए हुनुपर्छ । कलेजले इँटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए । टनेल क्लिन प्रविधिमा इँटा पोली चाइनिज इटाको उत्पादन शुरु गरेको यो उद्योगको इँटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इँटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सिधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इँटा बनाउँंदा काँंचो इँटालाई घाममा नसुकाई ड्राई टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा नौ सयदेखि हजार डिग्रीसम्मको तापक्रममा राखेर इँटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई ड्राई टनेलमा लगी काँंचो इँटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्मोमिटर) पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इँटा पोल्ने गरिन्छ । यसले गर्दा इँटा एकनासले पाकेर निस्किन्छ । इँटाको माग देशैभर बनेपाको बासडोलमा कारखाना राखी उत्पादित यस इँटाको माग देशैभर हुन थालेको छ । उत्पादन शुरु भएको केही समयमै देशैभरबाट इँटाको माग शुरु हुन थालेको कम्पनीले जनाएको छ । टनेल क्लिन प्रविधिमा इँटा पोली चाइनिज इटाको उत्पादन शुरु गरेको यो उद्योगको इटा हालसम्म प्रदेश २ को वर्दिवास र मुडे, प्रदेश ३ को चरिकोट, प्रदेश ४ को पोखरालगायतका ठाउँंहरुमा आपूर्ति भइसकेको कम्पनीले जनाएको छ । इँटाको माग देशभर हुन थालेपछि कम्पनीले मुख्यमुख्य सहरहरुमा डिलरमार्फत इँटाको विक्रीवितरण गर्ने योजना बनाएको जनाएको छ । कम्पनीका सीईओ देउपालाले इटाको आपूर्ति देशभर गर्नका लागि डिलरहरु आह्वान गर्न लागेको जानकारी दिए । हाल सिधै कारखानाबाटै देशैभर आपूर्ति भइरहेको कम्पनीले जनाएको छ । बनेपाको बासडोलबाट इँटाको आपूर्ति काठमाडौ उपत्यकाभित्र र उपत्यका बाहिर गर्दा भाडादरमा तात्विक भिन्नता नआउने कम्पनीले जनाएको छ । साधारणतया काठमाडौं उपत्यकाभित्र सानो गाडीमा इँटा आपूर्ति गर्दा प्रतिगोटा दुई रुपैयाँं भाडा लाग्छ भने काठमाडौं बाहिरका सहरहरु पोखरा तथा वर्दिवासमा प्रतिगोटा तीन रुपैयाँं ५० पैसा मात्रै भाडा लाग्ने जनाइएको छ । यो भनेको काठमाडौंमा भन्दा प्रतिगोटा एक रुैपैयाँं ५० पैसा मात्रै महँंगो हो । काठमाडौं उपत्यकामा इँटाको आपूर्ति सानो गाडीले गर्ने गर्दछ भने उपत्यकाबाहिर आपूर्ति गर्दा काठमाडौंमा सामान लिएर आएका खाली जानुपर्ने ठूला आठ हजार वटा इटा बोक्ने ट्रकहरुबाट हुने गर्दछ । यसो हुँंदा उपत्यकाबाहिर पनि कम भाडामा इँटा पुग्न सकेको हो । कम्पनीले प्रतिगोटा करबाहेक १४ रुपैयाँंमा इँटा बेचिराखेको जनाएको छ । यो इँटाको आकारप्रकार चिटिक्क मिलेर आकर्षक भई फेसवालको रुपमा लगाउन मिल्ने भएकाले यसको माग देशभरिबाट हुन थालेको कम्पनीको दावी छ । टनेल क्लिनबाट बन्ने इँटामा इन्धनको रुपमा कोइलाको धुलो पहिला नै माटोमा मिसाइने भएकोले यो इटा पाकेर निस्कँंदा खरानीको धर्का रहने गर्दछ । विश्वव्यापी रुपमा नै टनेल क्लिनबाट उत्पादित खरानीको धर्साँयुक्त इटालाई डेकोरेटिभ वालको रुपमा प्रयोग हुँदै आएको छ । यो इँटाको साइज साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इँटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सिधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ । यसको कम्प्रेसिभ स्टेन्थ १० मेगा पास्कल भन्दा माथि रहेको टेष्टको क्रममा देखिएको थियो । यो इँटाको साइज ठूलो भएको कारणले गर्दा एक घनमिटर वाल लाउँंदा चार सय ८५ वटा मात्रै इँटा लाग्ने कुरा कम्पनीले जनाए । जवकी साधारण इँटाबाट एक घनमिटर वाल लगाउँंदा पाँच सय ५० वटा इँटा लाग्ने गर्दछ । वाल लगाउँंदा सर्फेस प्लेन हुनाले सिमेन्ट मोर्टारको मात्रा ३० देखि ४० प्रतिशतले कम मात्रै भए पुग्ने गर्दछ । यो इँटा एकैनासको हुन कारणले गर्दा प्लाष्टर गर्नुपर्दा २० देखि ३० प्रतिशत सिमेन्ट मोर्टार बच्दछ ।

याे वर्ष ५० प्रतिशतले धान उत्पादन घट्याे

बारा । बारामा  किसानले लगाएको धान उत्पादनमा   ५० प्रतिशतले  कमी आएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले यस वर्ष धान उत्पादनमा कमी भएकाे  कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले जानकारी दिएका छन् । यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब दुई करोड ७७ लाख ७९ हजारको धान उत्पादन भएको कृषि प्राविधिक गेनालाल मण्डलले बताए । गत आर्थिक वर्ष चैते धान १२ हजार २२५, भदैया धान ११ हजार ९२५ र अगहनी धान ३८ हजार ५५० समेत गरी कूल ६२ हजार ७०० क्षेत्रफलमा लगाएको हुँदा रु पाँच अर्ब ८८ करोड ५० लाख १९ हजार १४० बराबरको २२ लाख ६७ हजार ५०० दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ । नगदे बालीका रूपमा उखु खेती र माछा पालनतिर किसान बढी केन्द्रित भएको हुँदा धान उत्पादनमा कमी आउने गरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

‘डिजिटल इन्डिया’लाई इन्टरनेट बन्दले जिस्क्याएको भन्दै मोदीको आलोचना

काठमाडौं । भारत सरकारले ल्याएको नयाँ नागरिकता कानुनको अहिले भारतभर विरोध भइरहेको छ । भारतको दुवै सदनले ‘मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि भारतमा नागरिकता कानुन र मोदी सरकारविरूद्ध प्रदर्शन भइरहेको छ । यही विरोधलाई शान्त पार्न भन्दै भारतले विभिन्न क्षेत्रमा ईन्टरनेट सेवा नै बन्द गरिदिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन विधेयक पारित भएकोमा आसामका मानिसलाई केही चिन्ता नलिन १२ डिसेम्बरमा ट्विटर मार्फत आश्वासन दिँएका थिए । तर, आसाममा त्यो दिन ईन्टरनेट नै थिएन । प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत दिएको सन्देश कति प्रदर्शनकारीले प्राप्त गरे भन्ने यकिन हुन सकेन । ईन्टरनेट सटडाउन ह्याकरका अनुसार यो वर्ष मात्र भारतमा ९५ पटक ईन्टरनेट सेवा बन्द गरिएको छ । यस्तो बन्दमध्ये अन्तिम पटकको बन्द नै यस वर्षको सबैभन्दा लामो समयको ईन्टरनेट सटडाउन हो । सरकारी अधिकारीहरूले सामान्यतः सार्वजनिक आदेशका कारण सेवाहरू बन्द गर्न इन्टरनेट प्रदायकहरूलाई आदेश दिने गरेका छन् । यद्यपि भारतीय कानून बमोजिम सरकारले टेलिकम कम्पनीहरूलाई सेवाहरू सिधै बन्द गर्न वा साइटहरू डाउन गर्न निर्देशन दिन सक्छ । नयाँ नागरिकता कानुनको विरोधको कारण आसाममा मात्र नभएर पश्चिम बंगाल राज्यका केही जिल्लाहरु र उत्तरी शहर अलिगरमा ईन्टरनेट सेवा केही हप्तासम्म अवरुद्ध भएको थियो । गत बिहीबार दिल्लीको केही क्षेत्रमा पनि सेवा अवरुद्ध भएको थियो । एउटा बलियो लोकतान्त्रिक मन्चको रुपमा लिईएको ईन्टरनेट सेवा अवरुद्ध गरिदा भारत सरकारको आलोचना भएको छ । यस्तै, काश्मिरमा ब्रोडब्यान्ड र मोबाइल डाटा सेवाहरू चार महिनाभन्दा बढी समयदेखि बन्द छ । बन्द भएको सेवा कहिले सुचारु हुन्छ भन्नेमा अझै यकिन छैन । चीन, म्यानमार जस्ता नागरिकलाई कम राजनीतिक अधिकार दिइएका देशहरुमा भने ईन्टरनेट सेवा बेलाबेलामा रोकिने गरेको छ । तर, भारत जस्तो लोकतान्त्रिक देशमा यसरी ईन्टरनेट बन्द गरिनु असामान्य हो भन्नेहरु पनि छन् । भारत सरकारले ईन्टरनेट पहुँचलाई रोकेको यो पहिलो पटक भने होइन । सन् २०१८ मा विश्वभर सबैभन्दा बढी समय ईन्टरनेट सटडाउन भएका थिए । सो समय सबैभन्दा धेरै पटक इन्टरनेट बन्द गर्ने देशको दोस्रो सुचीमा रहेको पाकिस्तानमा पनि १२ पटक मात्रै इन्टरनेट बन्द गरिएको थियो । विश्वमा दुत गतिमा बृद्धि भईरहेको ईन्टरनेट सेवा बन्द गर्ने सरकारको कार्यप्रति धेरै भारतीयले आलोचना गरेका छन् । यस्तो आलोचना हुनुको मुख्य कारण भनेको प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बन्नुभन्दा पहिला ईन्टरनेट जडानलाई आफ्नो मुख्य चुनाबी मुद्दाका रुपमा प्रस्तुत गरेका थिए । यस्तै, उनले प्रविधिको विकासका लागि डिजिटल इन्डिया अभियान नै सुरु गरेका थिए । मोदीले १ अर्ब भन्दा बढी भारतीयलाई अनलाईन देख्न चाहको र ग्रामीण क्षेत्रमा सस्तो र उच्च गतिको ब्रोडब्याण्ड ईन्टरनेट पुराउने बताएका थिए । भारतको सबैभन्दा लामो ईन्टरनेट बन्द १. १ सय ४१ दिन (अगस्ट ४ देखि अहिलेसम्म जम्मु र कस्मिरमा) २. १ सय ३३ दिन (कश्मिरमा ८ जुलाईदेखि १९ नोभेम्बरसम्म) ३. ९९ दिन (२०१७ मा, भारतको पश्चिम बंगालममा १ जुनदेखि २२ सेप्टेम्बरसम्म)

सन नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा पुस ५ गते सम्पन्न भएको छ । काठमाडौंको नक्साल स्थित मेरियट होटलमा सम्पन्न भएको उक्त सभा संचालक समितिका अध्यक्ष अनुजक्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ । अध्यक्ष अनुजक्यालले सभामा आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५ हजार अभिकर्ता संरचना तयार गरेको छ । साथै, इन्स्योरेन्सले छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी देशभर आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

माथिल्लो भोटेकोशी जलविद्युतकाे व्यापारिक उत्पादन आजदेखि शुरु

चौतारा । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आइतबारदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन शुरु भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताएका छन् । विसं २०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ सालमा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई रु सात अर्बमा ठेक्का दिइएको थियो ।

हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गरौंः काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाली नागरिकका लागि हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ग्यापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । ठूलो संख्यामा नेपाली कामदार मकाउमा कार्यरत रहेको तर हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नहुँदा समस्या भएकोले यस्तो व्यवस्था गर्नुपर्ने प्रमुख सचेतक खाँडले वताए । ‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान छैन । मकाउमा रोजगारीका लागि पुग्ने र आउने नेपालीले कठिनाई भोग्नु परेकोले हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्नुपर्ने काँग्रसको माग छ । काठमाडौं–हङकङ–मकाउ वा मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नभएकोले हङकङको ट्रान्जिट भीसा व्यवस्था गर्न माग गरिएको हो । परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भीसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाए । प्रतिनिधिमण्डलमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाँडासहित तरुण दलका पूर्वसचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ र रामकृष्ण श्रेष्ठ थिए ।

नुवाकोटको विदुरमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन् । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो । रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए । घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाउँका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।