विकासन्युज

मुक्तिनाथ रेमिट्यान्स अभियानका विजेताले पाए स्कुटरदेखि स्पिकरसम्म

काठमाडौं । मुक्तिनाथ रेमिटले रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण गरेको छ ।  भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको उक्त अभियानकाे  भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसिर १५ गते आईतबार यस विकास बैंकको फेसबुक पेजमार्फत लाइभ गरिएको थियो । यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहक मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारमध्ये  २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल, ७ जनालाई टिभी ३२ स्मार्ट एचडी, ५ जनालाई फ्रिज २००लि., ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिएको छ ।

सीएको कार्यक्रममा अर्थमन्त्रीदेखि अख्तियारका प्रमुखसम्मको गुनासो लेखापरीक्षकसँग नै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याउनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपराधको दायर बढिरहेको भन्दै नियन्त्रणको चुनौती रहेको बताए । अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे  । ‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ, कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन,’ मन्त्री खतिवडाले भने । प्रविधिको उपलब्धता तथा नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि डा. खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने धारणा राखे । ‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्, भ्रष्टचार नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री खतिवडाले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट् संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने प्रमुख आयुक्त घिमिरेको भनाइ छ । लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए।‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने । महालेखापरीक्षक टंकमणि शर्माले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए । अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने घिमिरेको भनाइ छ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यवसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता पनि औंल्याए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रबर्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए । ‘व्यावसायिक नैतिकता प्रबर्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ, त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ,’ अध्यक्ष आचार्यले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भैसकेको कागजात पनि भेटिएको उल्लेख गरे । लेखापरीक्षकले लेखापरीक्षणका क्रममा त्रुटी भेटिए पनि त्यसलाई विस्तृत अनुसन्धानका लागि सुझावका रुपमा प्रस्तुत नगर्ने प्रवृत्ति रहेको पनि जानकारी दिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नामको कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।

कर्णाली प्रदेशमा २७.२९ प्रतिशत विद्युतीकरण

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लामा नेपाल विद्युत प्राधिकरणमार्फत २७.२९ प्रतिशत विद्युतीकरण भएको छ । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको विद्युतीकरणको तथ्याङ समेटिएको छैन । कर्णाली प्रदेशमा प्राधिकरणका ग्राहकका संख्या ८५ हजार छ । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा यस प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको प्राधिकरणको भनाइ छ । चालु आर्थिक वर्ष (आव) मा यस प्रदेशमा विद्युतीकरणका लागि १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र ११ केभीका १२ वटा आयोजना संचालित छन् भने ७ वटा ३३/११ केभीका सबस्टेसन निर्माणका लागि ठेक्का आव्हान गर्ने प्रक्रियामा छन् । प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोटमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र कालिकोट, हुम्ला, मुगु, डोल्पा र जुम्लामा लघु जलविद्युत् (माइक्रो हाइड्रो)मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । लामो ३३ र ११ केभी प्रसारण लाइनमार्फत विद्युत आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने समस्या पनि छ । बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कोहलपुर–सुर्खेत १३२ प्रसारण लाइन र सुर्खेतमा १३२/३३/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढेको छ । कर्णाली प्रादेशिक कार्यालय र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्न प्रदेश राजधानी वीरेन्द्रनगर (सुर्खेत) मा शनिबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रदेशमा तीन वर्षभित्रमा शतप्रतिशत विद्युतीकरण गर्नु पहिलो प्राथमिकता रहेको बताए । ‘यस प्रदेशमा विद्युतीकरण गर्न अझै करिब ७३ प्रतिशत बाँकी छ, विद्युतीकरण पहिलो प्राथमिकता भएकाले आफ्नो क्षेत्रमा जतिसक्दो छिट्टो विद्युतीकरण गर्न लाग्नुहोस्, यसका लागि बजेट अभाव हुन दिंदैनौं,’ वितरण केन्द्र प्रमुखहरुलाई निर्देशक दिंदै घिसिङले भने । लामो प्रसारण लाइन भएकाले पटक पटक ट्रिपिङ हुने र लाइन गएपछि आउन धेरै समय लाग्ने समस्या रहेको बताउँदै उनले लाइनलाई छिट्टो चलाउने गरी काम गर्न निर्देशन पनि दिए । युरोपेली लगानी बैक र एशियाली पूर्वाधार लगानी बैकले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को विद्युतीकरणका लागि करिब २२ अर्ब रुपैयाँ सहुलितपूर्ण ऋण दिएको उल्लेख गर्दै घिसिङले तीन वर्षभित्रमा सबैको घरमा स्वच्छ ऊर्जा पुर्याउने सरकारको घोषणा कार्यान्वयन गर्न बजेट अभाव नहुने बताए । सरकारले तीन वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा गरेको छ । ‘माइक्रो हाइड्रो नचलाएको धेरै गुनासो आउने गरेका छन्, पावर हाउसलाई पूर्ण क्षमतामा चलाउन आवश्यक बजेट व्यवस्था गर्छौंं तर बजेट अभावमा चलाउन सकिएन भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन’ घिसिङले भने । प्राधिकरणभित्र शुद्धीकरण अभियान शुरु गरिएको भन्दै उनले वित्तीय अनुशासन र नैतिकतामा रहेर प्राधिकरणलाई स्वच्छ र सर्वसुलभ सेवा प्रवाह गर्ने संस्थाको रुपमा अगाडि बढाउने गरी क्रियाशील रहन सबैलाई निर्देशन पनि दिए । कर्णाली प्रदेशमा माग अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले विद्युत गृहहरुलाई पूर्ण क्षमतामा चलाउन पहल गर्न निर्देशन दिए । अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले खरिद योजना बनाएर प्रतिस्पर्धा माध्यमबाट मात्रै सामग्रीहरुको खरिद गर्न र बजेट कार्यान्वयनमा वित्तीय अनुशासनमा रहन निर्देशन दिए । प्रादेशिक कार्यालय र वितरण केन्द्र प्रमुखहरुले विद्युतीकरणको अवस्था, समस्या लगायतका विषयमा प्राधिकरण व्यवस्थापनलाई जानकारी गराएका थिए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले कार्यसम्पादन सम्झौता गरे । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरे । कर्णाली प्रदेशमा १० वितरण केन्द्रहरु रहेका छन् । प्राधिकरणले प्रादेशिक कार्यालय सुर्खेतलाई गत आवमा १९.९० प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा १४.५७ प्रतिशतमा झार्ने लक्ष्य दिएको थियो । चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १३.०९ प्रतिशत छ । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारलाई मुख्य रुपमा जोड दिइएको छ । प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १,२, ३ र गण्डकी प्रादेशिक र प्रदेश ३ को डिभिजन कार्यालय हेटौंडाका कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ ।

चितवनकाे सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन

काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् । साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए ।

नेपालकाे माटो धेरै मलिलो छ, उद्यमी बन्न विदेश जानु पर्दैन : चन्द्रप्रसाद ढकाल

काठमाडाैं । बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ । उनी नजिकका भन्छन्, ‘समय उनलाई चिन्ने मापनजस्तै हो । समयसँग उनको कुनै सम्झौता हुँदैन ।’ उनको टिमका कर्मचारीले अहिलेसम्म उनीसँग समय छल्न सकेका छैनन् । बैठक होस् या काम, उनको उपस्थिति सके अगावै नत्र समयमै हुने गर्दछ । त्यसैले नेपालका उदीयमान व्यावसायी चन्द्रप्रसाद ढकालले अहिले हरेक गोष्ठी, बैठक हुन् या मिडियासँगको कुराकानीमा भन्ने गर्छन, नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौँ । उनको यो दावीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको ‘बिग मर्जर’को नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमई बैंक नै हो । जनता बैँकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान एउटा सफल व्यवसायी हो । तर उनको उद्यमशीलताको यात्रा धेरै पुरानो भने छैन । करीब साढे दुई दशकको मात्र हो । यति छोटो समयमै यतिका सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरु यो प्रश्नको वरिपरि अहिले पनि घोत्लिन्छन् । उत्तर स्वाभाविकै आउँछ– लगाव, इमान्दारी र परिश्रम । ढकाल पनि यही स्वीकार गर्नुहुन्छ । “हो मेरो सफलताको सबैभन्दा दरिलो टेको चाहिँ लगाव र परिश्रम नै हो”, उनको पनि अनुभव छ । अहिले उनीआइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष छन्। उनले अध्यक्षता गरेका अरु सामाजिक सङ्घसंस्था कैयौँ छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ । नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउछन्। भन्छन्, “संसारका अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ । म त भन्छु, हामी माटो रोपेर सुन फलाउन सक्छौँ, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन ।” अनौपचारिक कुराकानीकै क्रममा हामीले जिज्ञासा राख्यौँ– नेपालका सबै उद्यमी, व्यवसायी तपाईँजस्तै सफल छन् र ? उनले लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताबाट दुई लाइन सुनाए ।  “‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ यो कविता त तपाईँले पढ्नु भएकै होला । तर धेरैले अर्ति उपदेश दिँदा यो तल्लो हरफ मात्र भन्छन् । सबैले चन्द्रमा नै छुने उद्देश्य लिनु भन्छन् । तर पनि त्यसको माथिल्लो हरफ प्रायःले उच्चारण नै गर्दैनन् । चन्द्रमा छुन सिकाउने अथवा सम्भव बनाउने चाहिँ माथिल्लो लाइन पसिना र विवेक हो । पसिना, परिश्रम या मेहनत हो, विवेक बुद्धि या ज्ञान हो । पसिना र विवेकबिना नै चन्द्रमा छुन खोजेर सम्भव छैन, सकिँदैन । हाम्रो पसिना र मेहेनतको मूल्याङ्कन गर्दा उत्तर  आफैँ पाइन्छ ।” अनि ढकालले भने, “हो, मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरु पनि हुन सक्छन् । तर पनि ती सबै नराम्रा पनि त हुँदैनन् ! जे हुन्छ राम्रै हुन्छ ।” तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । उनले एउटा बालकका रूपमा आफ्नो बुबाको माया र सुखद् भविष्यको सपनाचाहिँ देख्न पाएनन किनभने उनको बुबाले सानैमा छाडेर गए । सोह्र वर्षको एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । भन्छन्, “त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना आएको हो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ ।” तर उपाय के होला ? त्यो बालमष्तिष्कले सोच्नसक्ने कुरा पनि भएन । तर अहिले उनको आत्मबल र परिश्रमले यहाँसम्म ल्याइपुर्याएको छ । यसरी १६ वर्षे उमेरमै खुशीमा ग्रहण लागेको महसुस गरेको व्यक्तिलाई जिन्दगीको पूर्णमास पाउन कसरी सहज भयो होला ? हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, “जीवन त सबैको हुन्छ, मेरो मनभित्र पनि झिनो आशाको दियो धिपधिपाएको मेरो हृदयले देखेको थियो । मेरो आत्मबलले त्यो दियो चम्काउने प्रण गर्यो ।” आज त्यो दियोले उनको व्यक्तिगत जीवनमा मात्र होइन, दशौँ हजार मानिसको सपनामा उज्यालो भरेको छ । अहिले उनको नेतृत्व र संलग्नताका व्यवसायमा दशौँ हजार व्यक्ति प्रत्यक्ष/अप्रत्यक्ष रोजगार छन् । त्यसैले उनले सधैँ भन्ने गर्छन्, “औँसीको रातमा आइपर्ने अप्ठ्यारोसँग भिड्ने साहस राख्नेहरुले मात्रै पूर्णिमाको रातको मज्जा लिन पाउँछन् ।” हाल नेपालको उद्यमशीलताका क्षेत्रमा ‘सफल व्यवसायी’ उपमा लिन सफल ढकालको जीवनका यी कठिन कथाका पानाहरु पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्ष पनि यही नै हो । जागिर छाडेर व्यावसायिक यात्रा उनको जागिरे जीवन करीब चार वर्ष जति रह्यो राष्ट्रिय वाणिज्य बैंकमा । त्यही समयमा व्यवसायको सोच र आँट पलायो र विसं २०४८ तिर सानो कोल्डस्टोर खाेले । त्यसपछिको उनको व्यवसाय हो– कार्गो । त्यतिबेलासम्म भाइ रामु (हेमराज ढकाल, हाल आइएमई ग्रुुपका प्रबन्ध निर्देशक) पनि उनलाई साथदिन आइसकेका थिए।  भाइ रामु उनको हरेक व्यावसायिक जीवनको साथमा रहँदै आएका छन् । व्यवसायका लागि उनीहरुलाई रु १२/१३ लाख चाहियो । आफूले काम गर्ने बैंकमै ऋण मागे तर कर्मचारीले ऋण नपाउने भनियो । उनले त्यसै दिन राजीनामा दिएर भने, “अब त दिन मिल्छ नि ?” यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिनुभएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बनेका छन् । त्यस दिनका बारेमा उनी सम्झदै भन्छन् , “त्यो दिन सही निर्णय गरेँछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्ने बारेमा अहिले पनि म बेला–बेलामा सोच्ने गर्छु । त्यस समय बैंकको जागिर सबैलाई प्यारो थियो । तर, मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैँ पनि छक्क पर्छु ।” त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरु बनाएको छ । व्यवसाय थालेका उनले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन चाहान्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे, भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र त्यही काम थाले ।  “त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । पछि अमेरिका गइनँ ।” त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई । त्यसपछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । ढकाल दाजुभाइको त्यही अनुभवको उपजले जन्माएको हो आइएमई । आइएमईको शुरुआत कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ । उनीहरुको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ । अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उनीहरुको कडा परिश्रमको टेको लागेको छ । ‘आइएमई’ सँग सायदै कोही नेपाली अपरिचित होलान् । यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ । नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो । नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजश्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरु कम्पनीबाट जारी नै छ । तर पनि त्यस समय हुण्डीमार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलोपटक यो नीतिगत व्यवस्थाको विकल्प उनीहरुले नै दिए ।  यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ । किनभने हुण्डीको रकम हिनामिनाका घटनाले हुने गरेका आपराधिक घटनाका समाचार त हामीले विगतका वर्षहरुमा सुन्ने गरेकै हौँ । सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला गर्यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो । “यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौ, जुन सफल पनि भयो । त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ । यो हाम्रा लागि ठूलो खुशी हो ।” “आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहिँ लागेको थिएन”, उनको अनुभव छ, “हामीले एक खालको जोखिम नै मोलेका थियौँ भन्ने लागेको हो । तर जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ । शुरुआती दिनहरुमा हामीले आइएमई खोलेका छौँ, तपाईँहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पुर्याइदिन्छौँ भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन् । तर हाम्रो इमान्दारीले विस्तारै हामीलाई यहाँसम्म ल्यायो ।” हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप’ पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो भन्दा फरक पर्दैन । व्यावसायिक फड्को र केबलकार आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न छन् । उनले आफ्नो निजी व्यापार मात्र गर्दैनन् । उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन् । रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताहरुको हकहितको स्थापनामा पनि धेरै मिहेनत गरिरहेका छन् । ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् । ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ । ढकाल भन्छन्, “चन्द्रागिरि आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको हो र यसले मलाई लाग्छ नेपालको त्यस समयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको छ ।” हुन पनि हो, भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको अवस्था थियो । तर राजधानीमै यो केबलकारका खम्बाहरु चन्द्रागिरिको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तङ्ग्रिएको महसुस गरेको थियो । यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो । हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरु बनेका छन् । हालै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँको औपचारिक कार्यक्रम सकेपछि चन्द्रागिरि पुगे । उनले त्यहाँबाट केही घण्टाको हाइकिङ पनि गरे र उनी निकै रमाए । उनको भ्रमणपछि अहिले त्यहाँ चिनियाँ पर्यटक बढेका छन् । ढकाल भन्छन्, “यहाँ आएका केही चिनियाँ पर्यटकसँग कहिलेकाहीँ कुराकानी गर्छु उनीहरुले चीनमा त यसको नाम ‘मुन माउण्टेन’ दिएका छन् रे ।” हाल ढकाल व्यावसायिक रूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिएका छन् । नेपालका सातै प्रदेशमा केबलकार पुर्याउने योजना छ उनकाे । भन्छन्, “केही स्थानमा सम्भाव्यता अध्ययन गरेका छौँ र कतिपयमा काम धेरै अघि बढेको पनि छ ।” व्यवसायमा इमान्दारीको ठूलो महत्व छ । इमानबिना व्यावसाय टिक्दैन, सफल हुँदैन । अनि मेहेनत र धैर्य चाहिन्छ । ढकाल दाजुभाइमा यही गुण भेटिन्छ । उनीहरुलाई सफलता दिलाएको यसैले हो भन्न सकिन्छ । नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएई बैंक नै शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरेँ । सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर गत मङ्सिर २० बाट एकीकृत कारोबार नै शुरु भयो । मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ । बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा रु एक खर्ब ९४ अर्ब छ । त्यस्तै देशका सातै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दा बढी शाखा र तीन हजार २५० भन्दा बढी कर्मचारी छन् । राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएका छन्। मङ्सिर २० गते संयुक्त कारोवार शुभारम्भका लागि ग्लोबल आइएमई बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सो कारोवार शुभारम्भको उद्घाटन गरेका थिए । त्यस कार्यक्रममा उनलाई मन्त्री एवं उपस्थित सबैले सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएकामा बधाई दिँदै देशकै ठूलो बैंक भएकाले सबैको आँखा लाग्ने भन्दै चुनौती थपिएको पनि सुझाएका थिए । नेपालमा लगानीको वातावरण छ ? यो प्रश्नमा ढकाल भन्छन् “बलियो सरकार छ, लगानीकर्ताहरुले अरु केही वातावरणका अतिरिक्त स्थायी सरकार हेर्छन् नै । अहिले लगानीको वातावरण छैन भन्न मिल्दैन । तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको छ भन्दा हुन्छ ।” ढकाललाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगतरूपमा भेटेर या फोन गरेर आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्ने गरेको सुनाए ।  “तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ”, ढकालले भने । जन्मस्थलको माया जन्मिएको माटोको औधी माया छ ढकाललाई । आफ्नो जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरु खाली हात फर्किँदैनन् । “यो जन्मभूमिप्रतिको माया नै हो”, उनी भन्छन् । उनी समय पाएसम्म आफ्नो जन्मघर पुग्ने गर्छन् । भन्छन्, “सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ । कहिलेकाहीँ पुग्छु, बडो आनन्द लाग्छ ।” कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरि चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ ? हाम्रो जिज्ञासामा निकै भावुक बनेका ढकाल गम्भीर हुँदै भन्छन्, “जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पार्यो । तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ । अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु’ ।” सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा रु छ करोडभन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेको छ । सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए । उनका स्व पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ । “विभिन्न कार्यक्रममा होस् या मिडियाले समाचार लेख्दा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ । यो देशका सबै नेपाली सफल छन् । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ”, उनको भनाइ छ ।   रासस

आलु खेती गर्दै हुनुहुन्छ ? यस्ता जातका लगाउनुस्, धेरै फल्छ

काठमाडौं । यो समय आलु बाली लगाउने समय हो । आलु खेती गर्दा भौगोलिक अवस्था, मौसम, माटो जस्ता विषयलाई ध्यान दिएर सोहीअनुसारको विउ लगाउँदा बढी फल्ने गर्छ । कुन क्षेत्रमा कस्तो जातको आलु खेती गर्दा बढी उत्पादन हुन्छ भनेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिचान गरेको छ । यस्तो पहिचानपछि कुन क्षेत्रमा जुन जातको आलु लगाउने भनेर नार्कले सिफारिस नै गर्ने गरेको छ । तरकारीमा सबैभन्दा बढी प्रयोग हुने आलु नै हो । नार्कले नेपालका विभिन्न क्षेत्रमा उपयुक्त हुने भन्दै अहिलेसम्म १३ वटा जातका सिफारिस गरेको छ । नार्कको सिफारिस अनुसार आलु रोप्ने हो भने प्रतिहेक्टर ४० टनसम्म उत्पादन हुने नार्कका प्रवक्ता हरिकृष्ण उप्रेती वताउँछन् । नार्कले नेपालको भौगोलिक अवस्थाअनुसार हिमाल, पहाड र तराई क्षेत्रमा बढी उत्पादन हुने आलु सिफारिस गर्ने गरेको हो । नार्कले सिफारिस गरेका आलुका जात यस्ता छन्ः कुफ्री ज्योतिः यो जातको आलुको विउलाई नार्कले २०४९ सालमा नै स्वीकृति दिएको हो । कुफ्री ज्योति जातको आलु बाली लगाएको १ सय १० दिनमा उत्पादन हुन्छ । यो जातको आलु प्रतिहेक्टर २३ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ । यो जातको आलु पहाडी क्षेत्रमा उपयुक्त हन्छ । माघ, फागुन र चैत महिना तथा असोज र कात्तिक महिनामा पनि यो आलु बाली लगाउन सकिने नार्कको भनाई छ । नार्कले कम वर्षा हुने पश्चिम नेपालका उच्च पहाडी क्षेत्रका लागि यो आलू असार र साउन महिनामा पनि लगाउन सकिने सिफारिस गरेको छ । कुफ्री सिन्दुरीः यो जातको आलुको विउलाई पनि नार्कले २०४९ सालमा नै स्वीकृति दिएको हो । यो जातको आलु १ सय १० दिनदेखि १ सय २० दिनसम्ममा उत्पादन भइसक्छ । कुफ्री सिन्दुरी जानको आलु प्रतिहेक्टर २३ टनसम्म उतपादन हुने नार्कको भनाइ छ । यो जातको आलु विशेष गरी तराई क्षेत्रमा हिउँदे बालीको रुपमा असोजदेखि मंसिरसम्म र तल्लो पहाडी भेगमा कात्तिकदेखि पुससम्म लगाउन नार्कले सिफारिस गरेको छ । डेजिरेः यो जातको आलुको विउ नार्कले २०४९ सालमा स्वीकृत गरेको छ । डेजिरे जातको आलु तराई क्षेत्रमा हिउँदेबालीको रुपमा असोज र कात्तिक महिनामा लगाउनु उपयुक्त हुन्छ । यस्तै मध्यपहाड र तल्लोपहाडमा भदौं र असोज महिनामा यो जातको आलु लगाउनु उपयुक्त हुन्छ । नार्कका अनुसार डेजिरे जातको आलु मध्यपहाडमा माघ र फागुन लगाउनु पनि उपयुक्त हुन्छ । यो जातको आलु रोपेको ९० देखि १ सय २० दिनसम्ममा उत्पादन भइसक्छ । यो जातको आलु प्रतिहेक्टर १८ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ । जनकदेवः यो जातको आलुले २०५६ सालमा स्वीकृति पाएको विउ हो । यो आलु मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी मौसममा उत्पादन हुन्छ । उपत्यका तथा तराई क्षेत्रमा शरद ऋतु र कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा वर्षा ऋतुमा गर्न उपयुक्त हुने नार्कले जनाएको छ । खुमल सेतो १ः यो जातको आलुको विउलाई नार्कले २०५६ सालमा स्वीकृत गरेको हो । मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी मौसम, कम पानी पर्ने उच्च पहाडी क्षेत्र तथा मध्यपहाडी क्षेत्रमा शरद ऋतुमा यो जातको आलु उपयुक्त हुने नार्कको भनाइ छ । यो जातको आलु १ दिन १० दिनमा उत्पादन भइसक्छ । यो जातको आलु प्रतिहेक्टर ३८.७ टनसम्म उत्पादन हुन्छ । खुमल रातो २ः यो जातको आलु प्रतिहेक्टर ३६.२ टनसम्म उत्पादन हुन्छ । यो आलु ९५ दिनमा उत्पादन हुन्छ । विशेष गरी तराई, भित्रीमधेश तथा खोंचहरुमा शरद ऋतु यो आलुबाली उपयुक्त हुन्छ । खुमल लक्ष्मीः यो जातको आलु २०६५ सालमा नार्कले स्वीकृत गरेको हो । यो आलु बर्षे बालीको रुपमा मध्य तथा उच्च पहाडी भेगमा, तराई तथा भित्री मधेशमा शरद तथा हिउँदे बालीको रुपमा लगाउनु उपयुक्त हुन्छ । यो आलु १सय २० दिनदेखि १ दिन ४० दिनसम्मको अवधिमा पाक्छ । यो आलु प्रतिहेक्टर २४ देखि २८ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ । आईपीवाई ८ः यो जातको आलु तराई तथा भित्री मधेशमा उत्पादन गर्नु उपयुक्त हुन्छ । नार्कले यो जातको आलुको विउ २०६५ सालमा स्वीकृति दिएको थियो । यो जातको आलु १ सय १० दिनदेखि १ सय २० सम्ममा पाक्छ । आईपीवाई ८ जातको आलु प्रतिहेक्टर २५ देखि २७ टनसम्म उत्पादन हुेन नार्कले जानकारी दिएको छ । खुमल उज्वलः यो जातको आलु २०७१ सालमा नार्कले मध्यपहाडीदेखि उच्चपहाडी क्षेत्रमा उत्पादन हुने भनेर सिफारिस दिएको छ । यो आलु १ सयदेखि १ सय २० दिनसम्म पाक्छ । यो आलु प्रतिहेक्टर २५ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ । खुमल उपहारः यो जातको आलुको विउ नार्कले २०७१ सालमा तराई र मध्यपहाडको १२ सय मिटर उचाइसम्म खेती गर्न उपयुक्त हुने भन्दै स्वीकृत दिएको छ । यो जातको १ सयदेखि १ सय २० दिनसम्ममा पाक्छ भने प्रतिहेक्टर २४ टनसम्म उत्पादन हुने नार्कको भनाइ छ । टीपीएस–१ः यो जातको आलुको विउलाई २०७१ सालमा नार्कले स्वीकृति दिएको हो । तराई र मध्यपहाडको सिचाइँ हुने क्षेत्रमा प्रतिहेक्टर ३५ देखि ४० टन उत्पादन हुने गर्छ । यो आलु १ सय १० देखि १ सय २० दिनसम्म उत्पादन हुने गर्छ । टीपीएस–२ः यो जातको आलु तराई र मध्य पहाडको सिंचाइँ हुने क्षेत्रमा प्रतिहेक्टर ३० देखि ३५ टनसम्म उत्पादन हुन्छ । नार्कले २०७१ सालमा यो जातको आलुको सिफारिस दिएको हो । खुमल विकासः यो जातको आलु २०७५ सालमा नार्कले मध्यपहाडदेखि उच्चपहाडी क्षेत्रको १२ सय मिटरदेखि ३ हजार मिटरसम्म उत्पादन हुन्छ भनेर स्वीकृति दिएको हो । यो जातको आलु १ सय दिनदेखि १ सय १० दिनसम्ममा पाक्छ । यो आलु प्रतिहेक्टर २६ टन उत्पादन हुने गर्छ ।

रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम सम्पन्न

काठमाडौं । रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम चितवनमा सम्पन्न भएको छ । पौष २ गते देखि सञ्चालित ४ दिने कार्यक्रममा चितवन रेडक्रस शाखा र उपशाखाका नेतृत्वमा  आगामी ५ वर्षका लागि जिल्ला स्तरीय सेवा योजना र रेडक्रसको संस्थागत क्षमता वृद्धिको लागि योजना तयार भएका छन् । रेडक्रसका मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउन, योजना र प्रतिवेदनलाई संस्थागत गर्न दोस्रो चरणको समुदाय सहयोग (कोर्ड) अन्तर्गत कार्यक्रमआयोजना गरिएको हो । कार्यक्रममा बाढी, आगलागी, वन्यजन्तुको आक्रमण, पहिरो, सडक दुर्घटना, शीतलहर जस्ता समस्या र प्रकोपहरुमा प्रभावितलाइ योजनाबद्ध सहयोग गर्ने तथा रक्तसञ्चार सेवालाइ थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।  

महिला फुटबलको उपाधी जित्न सफल दुर्गा मावि

काठमाडौं । महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा माविले हात पारेको छ । रुपन्देहीको आयोजनामा पुस १ गतेबाट शुरु भएको उक्त खेलको फाइनल राउण्डमा पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडि पार्दै खेलको उपाधी हात पार्न सफल भएको हो । सोही दिनको दोश्रो खेल पर्ल मावि तिनपा कोटिहवा र पशुपति मावि तिनपा कोटिहवा बीच भएको थियो । पर्ल मावि र पशुपति मावि बीच भएको खेलमा पशुपति माविलाई पर्ल माविले ५–० गोलले हराएको थियो । पशुपतिलाई ५ गोलले हराएपनि पर्ल माविको चलाखीपूर्ण घुषपैठको कारणले पशुपतिले खेलमा पुन प्रवेश पाएको थियो । पर्ल माविको चलाखीपूर्ण कामले खेललाई दुई दिन सम्म प्रभावित बनायो । पूर्व निर्धारित समय अनुसार ३ गते हुने फाईनल खेल सरेर ५ गते पुग्यो । ४ गते भएको दोश्रो चरणको खेलमा खेलको सुरु मै बाई पाएको टिकुलीगढ मावि तिनपा टिकुलीगढ र पर्ल मावि सँग पराजित भएको पशुपति मावि खेलको मैदानमा उत्रिएका थिए । पशुपति मावि र टिकुलीगढ मावि बीच भएको खेलमा पशुपति माविले टिकुलीगढ माविलाई १–० गोलले पराजित गर्दै फाईनल राउण्डमा प्रवेश गरेको थियो । फाईनल राउण्डको लागि शनिबार भएको दुर्गा मावि र पशुपति मावि बीचको खेलमा दुर्गा माविले पशुपति माविलाई १–० गोलले पराजित गरेसँगै प्रथम पुरस्कारको विजेता बन्न सफल भयो । दुर्गा माविको जित सँगै खेलमा पशुपति मावि तिनपा कोटिहवा दोश्रो, टिकुलीगढ मावि तिनपा टिकुलीगढ तेश्रो र ठुटिपिपल मावि सियारी गापा चौथो भएका छन् । बनको खेल मैदानमा भएको खेलमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ, सान्तवनालाई दश हजार रुपैयाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित बनका अध्यक्ष तथा प्रमुख अतिथी भोला प्रसाद यादब, खेल संयोगक मिना पाण्डेले लगायतले सम्मान गरेका थिए । साथै खेलमा उत्कृष्ट गोल किपरमा दुर्गा माविकी ईशा थापा र उत्कृष्ट खेलाडीमा पशुपति माविकी विन्दु चौधरी पनि पुन सम्मानमा परेका थिए ।