पुस ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ हुँदै, विभिन्न देशका १५० स्टल राखिने
काठमाडौं । डेलीरोलिङ मिडिया एण्डइभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटिमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ । नेपालमा निर्मित तथा अयातित वस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तीय लेनदेनलाई अझ फाईदाजनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ । लत्ता कपडा, खाद्यान्न, घरायसी सरसमानदेखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुनेछन् । क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्यामा उल्लेखनीय वृद्धि गर्ने उद्देश्यले मेलालाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजेसम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ । मेलापुर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्यका एक धिरज ढकालले जानकारी दिएका छन् पर्यटन प्रवद्र्धनकालागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्री गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृति र मौलिक सर सामानको प्रदर्शनीपनि यस मेलामा समावेश हुनेछन् । काठमाडौं र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहन अनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइकल्चर’को ढाँचामा आयोजना गर्न लागिएको अर्का आयोजक रोसन अधिकारीले बताए । यस मेला रोलिङ मिडिया एण्ड इभेन्टले आयोजना गरेको छ भने डीएन/इभेन्टस् इन्टर्डक्सन ट्रेड स्वोनले सह आयोजना गरेका छन् । साथै, अधिकारी क्रिएटिभ कन्सर्न, भिलेज क्याफे, अल्ट्रा सोलार, सभा नेपाल, गोफी, भिरजेन्स/ट्रिकोटले सहयोेग गरेका छन्।
ग्रील तथा स्टील व्यवसायी संघकाे साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेसन पुस ५ गते शनिबार बुटवलमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै अबैध ग्रील उद्योगलाई कानुनी दायरामा ल्याई व्यवस्थित र मर्यादित बनाइ व्यवसायिकता तर्फ अगाडि बढाउने कार्यमा महासंघ लागेको बताएका छन् । साथै, उनले व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी उपकरणको प्रयोग गरि बढ्दो दुर्घटना कम गर्न निर्देशन दिएका छन्। कार्यक्रमका साभापति नारायण पाठकले व्यापक जनचेतना पुर्याएर मात्र सामाजिक सुरक्षाकोषमा सहभागिता जनाउन सकिने बताएका छन् । रुपन्देहीका संस्थापक अध्यक्ष अशोक बर्माले ग्रील ग्रामको व्यवस्था गरि सबै ग्रील उद्योगलाई ग्रील ग्राममा राख्ने ब्यवस्था मिलाउन आग्रह गरे। उक्त अधिवेसनले तुलबहादुर सारुको नेतृत्वमा नयाँ कार्यसमिती समेत चयन गरेको छ। जसकाे-वरिष्ठ तुल्सी खनाल, प्रथम उपाध्यक्ष मोहन भट्टराई , द्वितिय उपाध्याक्ष प्रितम भण्डारी, महासचिव राम प्रसाद पाण्डे, कोषाध्यक्ष दिल बहादुर सुनार, सचिव धुर्बमणी ज्ञवाली, सह-कोषाध्यक्ष टोप बहादुर पन्थी, सदस्यहरु बिनय खनाल, कृष्ण पोखरेल, करुणा सागर पाण्डे, बुद्धि गुरुङ, सन्दिप सापकोटा, लेखा समिति संयोजक बिक्रम बिश्वकर्मा, सदस्यहरु रामचन्द्र गौतम र सुर्य ढुंगाना रहेका छन् । देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रील तथा स्टील उद्योग व्यवसायले १ लाख ६० हजारले रोजगारी दिँदै आएको छ।
१० हजार मानिसलाई रोजगारी दिने लक्ष्य लिएको छु- उद्योगपति राजेश अग्रवाल
भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा बिताउनु भएका अग्रवाल पछिल्लो ७ वर्षदेखि ठूला उद्योग निर्माण र विस्तरमा जुट्नु भएको छ । यस अवधि अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रेटो जस्ता निर्माण सामाग्री उत्पादन गर्ने ठूला उद्योगमा लगानी गरिरहनु भएको छ । उद्योग, व्यापार र सेवा क्षेत्रमध्ये सबै भन्दा कठिन व्यवसायको रुपमा उद्योगलाई लिइन्छ नेपालमा । राजेश अग्रवाल यस्ता व्यवसायी हुनुहुन्छ, जसको लगानी उद्योगमा मात्र छ । व्यापारमा शुन्य छ भने सेवा क्षेत्रमा नगन्य छ । ‘वेल्थ फर्मेशन एण्ड इम्प्लोइमेन्ट क्रियशन’ बाट मात्र देशको विकास हुन्छ भन्ने सोचका साथ कम्तिमा १० हजार मानिसलाई रोजगारी दिने लक्ष्यका साथ अगाडि बढिरहनु भएका अग्रवालसँग गरिएको विकास वहस पस्केका छौं यस पटक । तपाई उद्योगमा सफल देखिनुहुन्छ तर व्यवसायिक संघ संस्थामा देखिनुहुन्न, किन ? पहिला म भैरहवा उद्योग संघमा सदस्य थिए । अहिले छैन । म काममा खुशी हुने मान्छे । म धेरै समय उद्योगमा हुन्छ । म काठमाडौंमा बेलाबखत मात्र पुग्छु । तपाईको व्यवसायिक यात्रा कहाँबाट शुरु भएको हो ? एसएलसी नेपालबाट पास गरे । ग्राजुएशनसम्मको शिक्षा भारतबाट लिएँ । २०४९ सालमा बुबाले गर्दै आएको व्यवसायमा प्रवेश गरेँ । त्यतिबेला हाम्रोमा दाल मिल, राईस मिल थिए । हाम्रा उत्पादन नेपालमा मात्र बिक्री हुने गरेको थियो । जब म व्यवसायमा प्रवेश गरे, तब मुसुरोको दाल श्रीलंका, बंगलादेश निर्यात गर्न थालेँ । त्यसपछि तेल मिल राख्यौ । त्यसपछि सोयविनको मस्यौरा बनाउने मिल राखेँ । त्यसपछि मैदा मिल राखे । त्यसपछि आयल रिफाइनर मिल राख्यौ । एउटा फुटवेयर इन्डष्ट्रिज छ एक्सन पोलिमर, जसले मिलानो ब्राण्डको जुत्ता, चप्पल उत्पादन गर्छ । इटाली प्रविधिमा आधारित यो उद्योगमा ४० करोडभन्दा बढी लगानी भएको छ । साढे तीन सय मानिसले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट भन्ने उद्योग छ जसले विभिन्न किसिमका बोटल तथा पानीको जार उत्पादन गर्छ । जापानिज प्रविधिमा आधारित यो उद्योगमा करिव २२ करोड लगानी भएको छ । १५ वर्षअघि मलाई लाग्यो यो देशको विकासले गति लिन्छ । विकास निर्माणका काम शुरु हुन्छ । सडक, पुल, एयरपोर्ट, नहर, जलविद्युत, शुरुङ मार्ग, ठूला भवन जस्ता निर्माण क्षेत्रले गति लिन्छ । त्यसैले निर्माण सामाग्रीहरु सिमेन्ट, स्टिल, कंक्रीट, जस्तापाता लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्ने लाग्यो । आय स्रोत बढेपछि मानिसले एक किलोको सट्टा दुई किलो खाँदैन । खाद्यन्यको बजार विस्तार सीमित मात्रामा हुन्छ तर निर्माण सामाग्रीको माग उच्च हुन्छ भनेर मैले निर्माण सामाग्रीको उद्योग खोल्ने निर्णय गरँे । २००४ मा पहिलो पटक सिद्धार्थ सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । त्यो ग्राण्डिक उद्योग थियो । त्यसपछि म साझेदारीमा ठूला उद्योगहरु निर्माणमा लागे । साझेदारीमा सञ्चालित ठूला उद्योगहरु कुन कुन हुन् ? सन् २००८ मा म क्लिङकर उद्योग खोल्ने निर्णयमा पुगेँ । पहिला २०० टन क्षमताको भीएसके प्रविधिको उद्योग खोल्ने तयारी गरेँ । त्यतिबेला व्रिज सिमेन्टको तर्फबाट मनोज केडियाले पनि २०० टनको र सुप्रिम सिमेन्टको तर्फबाट पशुपति मुरारकाले पनि २०० टनको क्लिङकर उद्योग लगाउने योजना बनाउनु भएको रहेछ । हामीलाई के लाग्यो भने भीएसके प्रविधि पुरानो हो, केही वर्षभित्र काम लाग्दैन । रोटरी क्लिंक प्लान्ट लगाउनुपर्छ । हामी तिनै जना मिलेर ७०० टन क्षमताको क्लिाङकर उद्योग लगाउने निर्णयमा पुग्यौ । ७०० टन क्षमताको उद्योगलाई विस्तार गर्दै अहिले ३००० टन क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छौं । हाल स्थापित कम्पनीहरु मध्ये अर्घाखाँची सिमेन्ट नेपालको दोस्रो ठूलो कम्पनी रहेको छ । यो उद्योगमा शुरुदेखि लगभग १० अर्ब लगानी भईसकेको छ । तीन वर्षअघि निर्माण सामाग्रीको माग वार्षिक १५/२० प्रतिशतले बढ्दै गएको थियो । त्यतिबेला त १०/१० महिनामा सरकार परिवर्तन हुन्थ्यो । जब बहुमतको सरकार बन्यो तब हामीलाई लाग्यो कि अब निर्माण सामाग्रीको माग वार्षिक ३० प्रतिशतभन्दा उच्च दरमा वृद्धि हुन्छ । अबको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै माथि पुग्छ भन्ने मेरो आकलन थियो । त्यही आकलनमा हामीले निर्माण सामाग्री उत्पादनमा जोड दियौ । यहि क्रममा नेपालकै सबैभन्दा ठूलो स्टील उद्योग ‘श्री स्टील’ उद्योग लगाएका छौं । यसको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजार टन छ । यसमा करिव २ अर्ब लगानी छ । सिमेन्ट, डण्डी उद्योग लगाएपछि हामीले एशियन कंक्रिटो उद्योग लगायौं । पेभर, व्लक, स्लाव, कर्व स्टोन, इटा, होलोब्लक लगायत निर्माण सामाग्री उत्पादन गर्ने यस उद्योगमा पनि करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसको उत्पादन क्षमता दैनिक ५०० टन छ । सडक, सडक पेटी, पुल, नहर बनाउनदेखि घर बनाउनसमेत उपयोगि उत्पादनहरु हामीले शुरु गरेका छौं । व्यापार र सेवाको क्षेत्रमा लगानी कति छ ? व्यापार र सेवाको क्षेत्रमा मेरो लगानी छैन । पढेर आएपछि मेरो मनमा के आयो भने यो देशमा जन्मिएपछि मैले केही काम गर्नुपर्छ । मरेर लाने केही होइन । हामीले कमाएको सम्पत्ति पनि यहि देशमा छोडेर जाने हो । अहिले मसँग जति पैसा हुन्छ, मेरो बुबा, बाजेसँग त्यति पैसा थिएन । तर उहाँहरुको नाम थियो, इज्जत थियो । बुबा, बाजेको नाम लिएर बजारमा जाँदा आज भन्दा २५ वर्ष अघि पनि २५/३० करोड पैसा पत्याउथे मान्छेले । बुबा बाजेले आर्जन गरेको त्यो ख्यातिमा मैले केही थप योगदान गर्नुपर्छ, गुणस्तरीय सामान उत्पादन गरेर नाम राख्नुपर्छ भन्ने थियो । त्यहि भएर मैले जापानी प्रविधिमा पेट उद्योग, इटाली प्रविधिमा मिलानो, जर्मन प्रविधिमा कंक्रिटो उद्योग लगाएको छु । रोजगारी सिर्जनाले नै देशको गरिबी निवारण हुन्छ । १० हजार मान्छेलाई रोजगारी सिर्जना गर्ने मेरो चाहाना छ । तर अहिले कठिन परिस्थित छ । तपाइको लगानी रहेका उद्योगमा कति जनाले रोजगारी पाएका छन् ? १० हजार मानिसको लागि रोजगारी सिर्जना गर्ने तपाईको लक्ष्यबाट तपाई डगमगाउनु भएको हो ? अर्घाखाँची सिमेन्टमा प्रत्यक्ष रुपमा ५०० जनाले रोजगारी पाएका छन् । श्री स्टील उद्योगमा २४० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । एशियन कंक्रिटोमा १०० जनाले रोजगारी पाएका छन् । एक्सन पोलिमरमा साढे तीन सय जनाले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ सिमेन्ट, अरु रिफाइनरी उद्योग लगायत सबैमा गरि करिब १५ सय मानिस पेरोलमा छन् । करारमा काम गर्नेको संख्या पनि जोड्ने हो भने ३००० भन्दा बढीले जागिर पाएका छन् । अहिले नै १० हजार जनाको लागि रोजगारी सिर्जना गर्न सकिएको छैन । तर मेरो जीवनको लक्ष्य १० हजार मानिसलाई रोजगारी सिर्जना गर्नु हो । प्रविधिको प्रयोगसँग जनशक्तिको प्रयोग कम हुँदैछ । १० हजारलाई रोजगारी सिर्जना सम्भव छ अब ? पुरानो प्रविधि प्रयोग गरी वार्षिक ५० हजार टन स्टील उत्पादन गर्ने कम्पनीमा ३०० जना कर्मचारी छन् भने हामीले नयाँ प्रविधिको प्रयोग गर्यौं, वार्षिक २ लाख ५० हजार टन स्टील उत्पादन गर्छौ तर २५० जनाले मात्र रोजगारी सिर्जना गरेको छ । यसको अर्थ हामीले जनशक्तिको अप्टिमम प्रयोग गरेका छौं । प्रविधिको प्रयोग नगरी एक जनाले दिनमा ५० वटा इँटा बनायो र एउटा इँटाको २ रुपैयाँ पायो भने १०० रुपैयाँ मात्र कमाउँछ । तर प्रविधिको प्रयोग गर्यो उसले दिनमा २००० इँटा बनायो भने प्रति इँटा ५० पैसा पाउँदा पनि १००० रुपैयाँ कमाउँछ । हामीले श्रमिकको आय वृद्धिमा पनि ध्यान दिनुपर्छ । यूरोपमा श्रमिकले प्रतिघण्टा १० डलर कमाउँ छ भने हामीले दिनभर काम गरेको ५०० रुपैयाँ दिएर उनीहरुको जीवनस्तर उकास्न सकिदैन । त्यसैले प्रविधिमा आधारित उद्योगको विकल्प छैन । धेरै रोजगारी सिर्जना गर्न हामीले उद्योगको संख्या वृद्धि गर्दै जानुपर्छ । निर्माण सामाग्रीको बजारमा मन्दी आएको छ । यो बेलामा कम्पनीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? निर्माण सामाग्रीमा मात्र होइन, अरु क्षेत्रमा पनि मन्दी आएको छ । मैले हालै नेपालको ठूलो मदिरा उद्योग चलाईरहेका उद्यमीसँग भेटेको थिए । उहाँले भन्नु भयो कि मदिरा उपभोग ५० प्रतिशतले घटेको छ । यसको अर्थ हो उपभोक्तासँग खर्च गर्ने पैसा कम भईरहेको छ । हिजो हप्तामा दुई पटक रेस्टुरेन्ट जाने मान्छे अब हप्तामा १ पटक मात्र जान थाले । यस्तो बेलामा हामीले पनि खर्च कम गर्ने हो । जसको उत्पादन लागत कम हुन्छ उ नै हो मन्दीको बेलामा टिक्ने उद्योग । हामी धैर्यपूवक आफूलाई समालेका छौं । हुनसक्छ सरकारको अहिलेको नीतिले ५÷६ महिनापछि राम्रो नतिजा दिनसक्छ । सरकारले केही कुरा व्यवस्थित गर्न खोजेको छ जुन बजारमा एडजस्ट नभएको पनि हुनसक्छ । उद्योग विस्तारमा नयाँ योजना के छ ? तपाईसँग तीन वटा बच्चा छन् । उनीहरुलाई आवश्यक पोषण नै खुवाउन सक्नु भएन, उनीहरु कुपोषणबाट ग्रसित छन् भने के तपाई चौथो बच्चा जन्माउनु चाहानुहुन्छ ? के तपाईका उद्योगहरुमा कुपोषणको खतरा छ ? एस । आजको दिनमा खतरा छ । हामीले बजारमा माग वृद्धि गर्न सकेनौं भने धेरै उद्योग सखाप भएर जाने खतरा छ । हामीले कसरी आर्थिक गतिविधिलाई बढाउने भनेर सबैले सोच्ने बेला भएको छ । तपाईलाई हामीले एक सफल उद्यमीको रुपमा लिन सक्छौं । तपाईको व्यक्तिगत चाहाना र अभिलाशाहरु के के छन् ? उद्योग चलाउनु मेरो नशा हो । कसरी रोजगारी सिर्जना गर्ने र गरिबी घटाउन सहयोग गर्ने भन्ने मेरो चाहाना हो । त्यसबाहेक मेरो व्यक्तिगत चाहाना केही पनि छैनन् । म पारिवारिक मान्छे हु । मलाई हरेक दिन कुनै पनि हालतमा १० बजे सुत्नुपर्छ । विहान ५ बजे उठ्छु । दुई घण्टा मर्निङ वाक गर्छु । १०० प्रतिशत शाकाहारी हुँ । मलाई हरियो तरकारी अनिवार्य चाहिन्छ । घरमा दुई थरीभन्दा बढी तरकारी बनाउन दिन्न । मेरो जीवन सामान्य छ । तपाईसँग उद्योग चलाउने तिब्र इच्छाशक्ति देखिन्छ । यसलाई कुन तत्वले ड्राइभ गर्दोरहेछ ? त्यो तत्व भनेको मेरो ब्लड (रगत) नै हो । मेरो बाजे, बुबा सबैले उद्यमशिलता नै गर्नुभयो । बाजेको भन्दा बुबाले ठूलो विजनेश बनाउनु भयो । बुबाको भन्दा मैले ठूलो बनाए । मलाई विश्वास छ छोराले अझ ठूलो बनाउने छ । ऊ पनि लण्डनबाट एमबीए सकेर नेपाल आएको छ । श्री स्टीलको सबै काम उसले हेरिरहेको छ । यो उद्योग बनाउदा देखिन नै उ यसमा सक्रिय छ ।
टीसीएलको एण्ड्रोइड स्मार्ट टिभी नेपाली बजारमा
काठमाडौं । टिभी ब्राण्ड कम्पनी टिसीएलले नयाँ उत्पादन एण्ड्रोइड स्मार्ट टिभी नेपाली बजारमा भित्र्याएको छ । टिसीएलले ६५ इन्चमा पी८एम र पी८एस गरी दुई मोडल नेपाली बजारमा भित्राएको हो । आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टिसिएलले पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टिभीका मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टिभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै ४के यूएचडी अन्तर्गत रहेका छन् । एनरोइड(पी९.०), भ्वाइस सर्च, गुगल असिस्ट्यान्ट, गुगल प्ले स्टोर, नेटफिल्क्स, युट्युब र टी जोन जस्ता विशेषता यस एनरोइड टिभीमा पाईन्छ । डीटीएस, प्रिमियम साउन्ड, डोलबाई अडियो, ब्ल्यिुटुथ अडियो जस्ता यसका साउण्ड क्वालिटी रहेको छ । स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टिभी के हो यकिनन व्याख्या भने कसैले गरेको देखिदैन । टिभीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जतीजतीनयाँ स्मार्ट टिभीहरु उत्पादन हुन्छन् त्यतिनै नयाँ टिभीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टिभीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।
सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य, सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने
काठमाडौं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना एटीएम र पोइन्ट अफ सेल(पीओएस) मार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ । नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरु नेपालमा न्यून रहेका छन् । सनराइज बैंकको यस सेवाले पर्यटकहरुलाई एटीएम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ । अत्याधुनिक पेमेन्ट सिस्टमसहित नविनतम् सेवादिने उद्देश्यका साथबैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथापोइन्ट अफ सेल(पीओएस)मार्फत समेत मास्टर कार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ । हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालनगर्ने योजना रहेको जनाएको छ ।
राजनीतिक भ्रष्टाचार नै विकासको बाधक, पाँच महिनामा ८ हजार उजुरी
काठमाडाैं । आइतबार काठमाडौंमा आयोजित प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा धेरै वक्ताहरुले राजनीतिक भ्रष्टाचार नै विकासको बाधक भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा धेरै वक्ताहरुले भ्रष्टाचारको मूख्य जरा राजनीति भएको औंल्याएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सामाजिक, आर्थिक, कानुनी र प्रशासनिक क्षेत्रहरु भ्रष्टाचारका कारण भएपनि राजनीतिक मुख्य कारण भएको बताए । भ्रष्टाचार विषयमा प्रस्तुती दिँदै उनले कर्मचारीहरुलाई कम तलब हुनु, कर्मचारीहरु राजनीतिक दलहरुको संरक्षणमा हुनु, कमजोर कानुनी व्यवस्था लगायत कारणले पनि नेपालमा भ्रष्टाचार मौलाएको उल्लेख गरे । पछिल्लो समय राजनीतिक दल, सरकारी कर्मचारीहरु नै बढी भ्रष्टाचारमा संलग्न देखिएका छन् । ‘सुब्बा तहका कर्मचारीले मात्र ठूलो मात्रामा अकुत आर्जन गर्न सक्दैनन् राजनीतिक आडविना यो हदको भ्रष्टाचार सम्भव हुँदैन। राजनीतिक नेताहरू, कर्मचारीतन्त्र र व्यापारी/व्यवसायी समुदायको ठूलो नेक्ससले भ्रष्टाचारको माहोल सिर्जना गरेको हुन्छ। त्यसैले नै भ्रष्टाचारलाई संगठित अपराधसरह मानिन्छ ।’ उनले भने । उनले भ्रष्टाचारको कारण पहिचान, राजनीतिक प्रतिवद्धता, विश्वसनिय प्रशासनिक निकाय र पेशेवर एकता उजागर गरी भ्रष्टाचार न्युनिकरण गर्न सकिने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले किर्ते, गैर कानुनी अभ्यास, अधिकारको दुरुपयोग, घुस, स्वार्थकाे द्धन्द्ध लगायत भ्रष्टाचारका स्वरुप भएको बताए । उनले आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार ८५ उजुरी, त्यसमध्ये ६५ प्रतिशत फछ्र्यौट, विस्तृत अनुसन्धानमा ८ सय ८१, ३ सय ५१ मुद्धा दर्ता र त्यसको ८५ प्रतिशत फैसला भइसकेको बताए । चालु आर्थिक वर्षको पाँच महिनामा ८ हजार ३ सय उजुरी आएको उनको भनाइ छ । त्यसमा १ सय ४१ रङ्गेहात पक्राउ परेका छन् भने त्यसको ४ सय ४७ मुद्धाको फैसला भइसकेको उनले बताए । सार्क राष्ट्रकाे भ्रष्टाचार अनुभूति सुचकाङ्कमा नेपाल १२४ औं स्थानमा छ । कार्यक्रममा वक्ताहरुले जबसम्म राजनीतिक तहबाटै भ्रष्टाचार नियन्त्रण गरिँदैन तबसम्म भ्रष्टाचार न्यूनीकरणको प्रतिबद्धता केवल बोलीमा मात्र सिमित हुने बताएका छन् । त्यसको न्युनिकरण तथा अन्त्यका लागि राजनीतिक दल तथा व्यक्तिको संरक्षण गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।
सिद्धार्थ बैंकको मुर्लीचौक शाखा उद्घाटन
काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका थिए । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । बैंकले हाल १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ८१ करोड नाघ्यो
काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(पुस ६ गते) सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । आ.व. २०७५/७६मा ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ७७ अर्ब ८४ करोड कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १०६ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । साथै, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।