सिभिल बैंकको साढे ६ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रस्तावित ६.५७ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार डिल्लीबजारको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै सभाले आ.व. २०७६/०७७को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसियटस्लाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साथै, सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । बैंकले नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।
गरिमा विकास बैंककाे नयाँ शाखा धादिङमा
काठमाडौं । गरिमा विकास बैंकले आईतबार धादिङको धादिङ्गवेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
१५ वर्षको अनुभव संगालेर ५ करोडमा पशु फर्म स्थापना, अनुसन्धान केन्द्र बनाउने योजना
काठमाडौं । विदेश गएर रूखमै पैसा फल्छ भन्ने गलत मानसिकता धेरैकाे हुन्छ । स्वदेशमै साहु वा बैंकसँग ऋण निकालेर पनि विदेश जाने युवाहरूकाे संख्या कम छैन । तर विदेश गएर धेरै पैसा कमाउने र विदेशमा रूखमै पैसा फल्छ भन्ने मानसिकता रूपन्देहीका शौरभ शेरचनलाई कहिल्यै लागेन । बरू उनमा स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने साेच सानैदेखि पलायाे । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवा घर भएका शेरचनले अहिले आफ्नै जग्गामा पशु फर्म स्थापना गरेका छन् । उनले २३ कठ्ठा क्षेत्रफलमा नमुना भैंसी, गाई र बधिया कुखुरा पालन गर्ने फर्म स्थापना गरेका हुन् । उनले पाँच कराेडकाे लगानीमा कामधेनु क्याटल व्रिड एण्ड रिसर्च सेन्टर प्रालि (फार्म) दर्ता गरी फर्म सुरुवात गरेका हुन । सानैदेखि केही फरक किसिमले काम गर्न चाहने उनकाे पशुपालन क्षेत्रमै १५ वर्षको अनुभव भएकाे बताउँछन्। १५ वर्ष अगाडि कास्कीकाे विभिन्न स्थानमा पशुपालन व्यवसाय गर्दै अाएका शेरचनले त्यहाँकाे वातावरण र माैसम पशुअनुकुल नभएपछि त्यसलाई रूपन्देहीमा ल्याएकाे बताए । नेपालका विभिन्न ठाउँबाट मात्र हाेइन उनले अहिले भारतबाट पनि हरियाणा जातका भैसी ल्याएर फर्ममा राखेका छन् । पहिलो चरणमा ५० वटा भैंसीबाट व्यवसाय सुरु गरेका उनले अब छिट्टै ३ सय भैंसी, २ सय गाई र एक हजार बधिय जातका लोकल कुखुरा पालन गर्ने योजना बनाएकाे विकासन्युजसँग सुनाए । हाल उनले पाँचदेखि १० लिटर दुध दिने भैंसी र ६ देखि १२ लिटर दुध दिने गाई पालन गरेका छन् । अझ बढी पशु राख्नका लागि उनी फर्मकाे स्तरोन्नति तथा निर्माणको काम खटिरहेका छन् । गाई र भैंसीलाई बाँध्ने उनीहरूकाे पालन गर्ने साेचमा शेरचन छन् । हाल निर्माण भइरहेकाे फर्ममा आधुनिक ढंगबाट करिव ३ सय भैंसी, ४ सय गाई र ३ हजार कुखुरा पालन गर्न सकिने गरी निर्माण भइरहेकाे उनकाे भनाइ छ । हाल उनीक दैनि २ सय लिटर दूध डेरीमा पठाउने गरेका छन् । गाई भैंसीका लागि आवश्यक पर्ने घाँस खेती प्राविधिकहरूको सल्लाह अनुसार काम गरिरहेको उनले बताए । उनले गाई भैंसी लागि करिब सात बिघा क्षेत्रफलमा घाँस खेती समेत सुरुवात गरेका छन् । हरियो घाँसमा आधारित पशुपालनबाट उत्पादन समेत वृद्धि हुने भएको कारण घाँस खेतीलाई बढी जोड दिएको भनाइ छ । कम्पाेष्ट मल उत्पादन गरेर पाेकामा बेच्ने कृषक शेरचन केही फरक काम गर्ने मानसिकता बाेकेका व्यवसायी हुन्र । उनले दुध मात्र हाेइन गाई भैंसीकाे गाेबरलाई पनि पाेका बनाएर बेच्ने साेच बनाएकाे बताए । उनले गाई भैंसीकाे मल बालीनाली उब्जनीका लागि महत्वपूर्ण भएका कारण त्यसलाई बेच्ने साेच बनाएकाे सुनाए । कम्पाेष्ट मल उत्पादन गरेर पाेका बनाएर बिक्री गर्ने उनकाे भनाइ छ। एउटा आधुनिक फर्म मात्र हाेइन नेपालमै सबैभन्दा धेरै भैंसी पालन गर्ने गरी अनुसन्धान र नमुना फर्म स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । ‘आधुनिक फर्म निर्माणका लागि धेरै सामानकाे आवश्यकता पर्नेछ, जुन सामान विदेशबाट पनि आयात गर्नुपर्ने हुन्छ । यसलाई आधुनिक फर्म बनाएर अनुसन्धान केन्द्र बनाउने योजनामा छु ।’ उनले भने ।
हिमालयन डिष्टिलरीको १७१ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको १७१.०५ प्रतिशत लाभांश पारित भएको छ । पुस १ गते सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले बोनस र नगद गरी १०२.६३ प्रतिशत र अन्तरिम लाभांश ६८.४२ प्रतिशत गरी सो मात्राको लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत वोनस शेयर प्रस्ताव पारित गरेको हो । यसैगरी कम्पनीले आ.व.२०७५।०७६ मा संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा प्रतिशेयर अर्थात ६८.४२ प्रतिशत (६८.४२ रुपैयाँ) गरी कूल १७१.०५ प्रतिशत वितरण गरेको थियो । यसका साथै, बढी लाभांश घोषणा गर्ने नेपालका सुचीकृत कम्पनी मध्ये उत्कृष्ट भएको कम्पनीले जनाएको छ । १९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको छ । यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको छ । हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ । कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली(इफ्ल्युएन्ट ट्रिटमेन्ट प्लान्ट)समेत जडान गरिएको छ । हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा२३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाख रुपैयाँको संचालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ । विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको कम्पनीले जनाएको छ । यस कम्पनी सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योग मध्ये एक भएको जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.का गु्रप कार्यकारी निर्देशक शसिन जोशीले बताएका छन् । जस अनुसार यस उद्योगले गत आर्थिक वर्षमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख रुपैयाँ राजश्व दाखेला गरेको कम्पनीले जनाएको छ ।
प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् । शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ । नयाँ शाखा सहित प्रभु बैंकको कूल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम संख्या १ सय ५२ पुगेको छ ।
किष्ट अस्पतालले शुरु गर्यो ‘इआरसिपि’ सेवा
काठमाडौं । किष्ट शिक्षण अस्पतालले इन्डोस्कोपी रेट्रोग्रेड कोलाङगियो प्यानक्रियटोग्राफी (इआरसिपि) सेवा शुरु गरेको छ । डा. कमल राज सुवेदीको टोलीले पौष १ गते पहिलो पटक सफलतापूर्वक इआरसिपि गरेको थियो । पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको ढुङ्गा नलिमा जाने र पित्तनली साँघुरिने एवं च्यापिने समस्याले जन्डिस भएका बिरामीलाई यस प्रविधि इआरसिपि बाट उपचार गरिन्छ । यस प्रविधिअनुसार मुखबाट ईन्डोस्कोपी मेसिन छिराएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (अम्पुला) मा पुग्छ । विभिन्न उपकरणहरुको प्रयोग गरेर नलीको मुखलाई ठुलो बनाईन्छ र पित्तनलीको ढुङ्गा निकालिन्छ । नली साँघुरो भएको माथि स्टेन्ट राखिन्छ । यो प्रविधि प्रयोग गर्दा पेट चिर्नु वा पेटमा प्वाल पार्नुपर्दैन । धेरै दिन अस्पताल भर्ना हुन नपर्ने र बिरामीलाई पनि धेरै पिडा सहन नपर्ने हुनाले अहिले यो प्रविधि विश्वभर प्रचलित बन्दै आएकोछ ।
एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो ‘आईभीआर’ सेवा, के हो र कसरी प्रयोग गर्ने ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आईभीआर (इन्टरर्याक्टिभ भ्वाइस रेसपोन्स सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ । ग्राहकले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् । आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सक्नेछन् । ग्राहकहरुले एसएमएसद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१-५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नेछन् । ग्राहकहरुले फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । आईभीआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१-५९७०१०० मा डायल गरिसकेपछि ग्राहकको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन् । आईभीआर सेवाको प्रयोगबाट ग्राहकले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ । हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा कल गर्नु नपर्ने, अब वेबसाइटबाटै थाहा पाइने
काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो । नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (पीइसटीएन इन्क्वाइरी सिस्टम) सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ । विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो ।