विकासन्युज

सरकारद्वारा आठ योजनालाई  १८ करोड बजेट थप

दमौली । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी आयोगले उक्त बजेट थप गरेको हो । आयोगले स्थानीय तह र प्रदेश तहबाट कार्यान्वयन हुने गरी विभिन्न योजनालाई बजेट थप गरेको जनाएको छ । जसअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ र २ मा चार÷चार आयोजनालाई बजेट थप भएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यास नगरपालिका–११ स्थित खड्ककाली मोटरमार्गका लागि रु दुई करोड, भानु नगरपालिकास्थित भानु बहुउद्देश्यीय भवनका लागि रु एक करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश तहबाट कार्यान्वयन हुने गरी आबुखैरेनी छिम्केश्वरी सडकका लागि रु छ करोड ९८ लाख र शालिग्राम करिडोर (बैडी, घिरिङ, देवघाट खण्ड) का लागि रु पाँच करोड ५२ लाख बजेट विनियोजन गरिएको आयोगले जनाएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको शालिग्राम करिडोरको देवघाट खण्डमा हालै मात्र ट्रयाक खुलिसकेको छ । करिडोरको देवघाट गाउँपालिका अन्तर्गत बञ्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले रु दुई करोड, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सांसदले रु ७० लाख बजेट विनियोजन गरेका थिए । देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बञ्चरेभिरमा ट्र्याक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्डसडक सञ्जालसँग जोडिएको छ । तनहुँ निर्वाचन क्षेत्र नं २ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी कृषि, भूमिसुधार तथा वन क्षेत्रअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन तथा वितरण केन्द्र निर्माणका लागि रु ८३ लाख, पूर्वाधार क्षेत्रअन्तर्गत भिमाद नगरपालिकास्थित भिसी नेत्रबहादुर मोटरमार्गका लागि रु ४० लाख, म्याग्दे गाउँपालिकास्थित बडहरे माछापुच्छे भैंसीखर्क चार हजार बाँध मोटरमार्गका लागि रु ४० लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रअन्तर्गत घिरिङ गाउँपालिकास्थित वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले योजना आयोगले जिल्लाका महत्वपूर्ण योजनालाई बजेट थप गरेकामा खुशी व्यक्त गरेका छन् । रासस

इञ्जिनीयरिङ कलेजका विद्यार्थीले पाए ६८ लाखको छात्रवृत्ति

भक्तपुर । भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई रु ६८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई रु ४१ लाख दुई हजार ७९५ तथा ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई रु २७ लाख २५ हजार २८३ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रहरीकाे सेट बाेकेर धम्क्याउदै हिड्ने युवक पक्राउ

काठमाडौं । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुर्व्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ । अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

माइती नेपालद्वारा २३९ महिला तथा बालबालिकाको उद्धार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताएका छन् । “बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।” भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उनले सुनाए । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ । “पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भनिन्, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।” माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् । “भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भनिन्, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।” कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिइन् । “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्”, उनले भनिन्, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।” सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ । “बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भनिन्, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।” त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ । उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताएकी छन् । “मानव बेचबिखनमा दलालहरु सक्रिय भइरहँदा हामीसित उद्धारमा खटिने एउटा सरकारी संयन्त्र गठन हुनसकेको छैन”, उनले भनिन्, “यहाँ जोखिम रहेको बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुनु जरुरी छ ।” रासस

काठमाडौंमा ‘टीभीएस बाइक रेसिङ’ हुँदै

काठमाडौं । शनिबार काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ । मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको सो रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हुने छन् । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइने छ । सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिने छ । च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन् । लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए । मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको छ ।

सुजुकी कारको ‘सुपर स्याटरडे’ पुस १२ गते, नयाँ ग्राहकलाई विशेष अफर

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्ड गाडीको आधिकारीक बिक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् साथै, ग्राहकहरुले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क विमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् । यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुनेछ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको बिक्री गर्दै आएको छ ।  

सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयर किन्ने बेला आएको हो ?

काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा दिदै आएको छ । बजार प्रतिस्पर्धाको आधारमा हेर्दा मोबाइल सेवा (जीएसएम) मा टेलिकम अग्रस्थानमा छ । दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलको जीएसएम प्रयोगकर्ता १ करोड ६८ लाख छ भने एनटीसीको २ करोड ९ लाख छ । तर, अहिलेको पछिल्लो प्रविधि फोरजीमा भने नेपाल टेलिकमको तुलनामा एनसेल अगाडी छ । एनसेलबाट ३४ लाख ९० हजारले यो सेवा लिदा टेलिकमबाट ८ लाख ३८ हजारले लिएका छन् । फोरजी सेवा विस्तारको लागि महंगो प्रस्ताव (१९ अर्ब रुपैयाँ) स्वीकर गरेकोले कम्पनीको दायित्व बढ्ने चर्चा पनि हुँदै आएको छ । इन्टरनेट सेवामा समेत टेलिकम दोस्रो स्थानमा छ । वल्र्डलिंकबाट ३ लाख ३४ हजारले सेवा लिदा टेलिकमबाट २ लाख ३५ हजारले सेवा लिइरहेका छन् । टेलिकमले बजार प्रतिस्पर्धाबाट सिर्जित चुनौंति कम गर्न पछिल्लो प्रविधिलाई सर्वसुलभ बनाउने लगायतका काम गर्ने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ । कम्पनी बजार पुँजीकरणको आधारमा सेयर बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी हो । १५ करोड सेयर सूचीकृत भएको कम्पनीको हाल मूल्य ६ सय ५७ छ । यसको आधारमा बजार पूँजीकरण ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सेयर बजारमा कम्पनीको हिस्सा आधारमा ६.५ प्रतिशतभन्दा धेरै छ । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत सेयर लगानी छ । बन्द बोलपत्र आवहानबाट ९ माघ २०६४ मा कम्पनीको सेयर विक्री गरिएको थियो । प्रिमियम मूल्य सहित ६ सय रुपैयाँमा कम्पनीको सेयर बिक्री भएको थियो । हाल कम्पनीमा दिपक सुवेदी अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी छन् । कम्पनीले ५ वर्षयता बार्षिक औसत ५१.२ प्रतिशत लाभांश दिएको छ । नगद लाभांश वितरणमा जोड दिदै आएको कम्पनीको चुक्ता पुँजी स्थिर छ । गत आवको नाफापछि पनि बैंकले ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १४ पुससम्म लगानी गर्नेले यस्तो लाभांश पाउने छन् । पहिलो त्रैमाशमा नाफा सुस्तियो कम्पनीले पहिलो त्रैमाशमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ६.१ प्रतिशतले कमी आएको हो । सञ्चितीमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ छ । कम्पनीले २३ पुसमा हुने साधारणसभामा सञ्चितीमा रहेको रकम बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीको सेयरमा लगानी गर्ने प्रस्तावसमेत लैजादैछ । रणनीतिक तरिकाले लगानी गर्न सकेमा यसले कम्पनीको नाफामा वृद्धि समेत गराउन सक्नेछ । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४ करोड र अन्य आम्दानी १ अर्ब ५६ करोड छ । प्रशासनिक खर्च १० प्रतिशतले बढेको कम्पनीको कुल खर्च ४ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड छ । कम्पनीमा उत्पादनको लागि र तयारी अवस्थामा रहेको सामग्री (इन्भेन्ट्रिज) २८ करोड बराबर छ । इन्भेन्ट्रिजमा ५० प्रतिशतको वृद्धि छ । उत्पादन बढाउने उदेश्यले समेत यो बढेको हुनसक्छ । यसको बिक्री पछि कम्पनीको नाफा थप बढ्न सक्छ । कम्पनीले व्यापार लगायतबाट २ अर्ब ६४ करोड उठाउन बाँकी छ । ग्राहकबाट उठाएको अग्रिम निक्षेप २ अर्ब दायित्वको रुपमा छ । कम्पनीको कुल सम्पत्ती र कुल दायित्व सन्तुलित छ । कम्पनीको १२ अर्ब बराबरको काम सञ्चालन (वर्क इन प्रोग्रस) को अवस्थामा रहेको उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ६ सय ९६ रुपैयाँ छ । सेयर विश्लेषण कम्पनीको मूल्य वर्षकै न्यून बिन्दु (६ सय ६ रुपैयाँ) बाट केही माथि लागेको छ । यद्यपि ६ सय ७० को आसपासमा मूल्यले प्रतिरोध पाइरहेको रेखा चित्रले देखाउँछ । लाभांश प्रस्ताव र नजिकिदो बुक क्लोजले मूल्यमा सानो तिनो सुधारसहित सामान्य उतारचढाव देखिएको छ । कम्पनीको आरएसआई सूचक ५५.९ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर यी दुई रेखा नजिकिएका छन् । यो समय थप ध्यान दिनुपर्ने देखिन्छ । २१ दिने रेखा माथि लागेमा मूल्य वियरिश प्रवृत्तिमा आउने सम्भावना छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ सय ७७ मा पहिलो प्रतिरोध र ६ सय २९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले पछिल्लो तीन दिनमा पहिलो दुई दिन डार्क क्लाउड कभर आकृति बनाएको छ । जसमा सेतो लामो मैनवत्तिपछि बनेको कालो मैनवत्तिको आकार माथिसम्म गएको छ । यसले मूल्य घट्ने संकेत गर्छ । तर अन्तिम दिन डोजी स्टार बनेको छ । यसले भने लगानी गर्नुअघि विचार पु¥याउनु पर्ने देखाइरहेको छ । लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको यसले संकेत गर्छ । नजिकिदो मुभिङ एभरेज रेखालेपनि तत्काल लगानी गर्नुभन्दा आगामी दिनको गतिलाई याद गर्न सुझाव दिइरहेकोछ ।

इलेक्ट्रिक सेल्टोस एसयुभिको उत्पादन शुरु गर्दै किया, फुल चार्जमा दिनसक्छ ४०० किलोमिटरको रेन्ज

काठमाडौं । किया मोटर्सले ‘अल–इलेक्ट्रिक सेल्टोस एसयुभि’ को उत्पादन शुरु गर्नेभएको छ । सेल्टोस एसयुभि इभि को निर्माण कार्य अघि बढिसकेको र अब केही महिना भित्रमै यो मोडेललाई अनावरण गर्ने तयारी चलिरहेको कम्पनीले जनाएको छ । सेल्टोस इभिमा स्ट्याण्डर्ड सेल्टोसमा प्रयोग भएकै सस्पेन्सन, ब्रेक, बडि प्यानल्स, इन्टेरिअर लगायतहरु प्रयोग गरिनेछन् । तर स्ट्याण्डर्ड सेल्टोस भन्दा केही फरक देखाउन निरो इभि र सोल इभिमा जस्तै गरी यसको स्टाइलिङ्गमा थोरै परिमार्जन भने गरिनेछ । सेल्टोस इभिमा किया सोल इभि र हुण्डाई कोना इभिमा भएकै पावरट्रेन समावेश हुनेछ । भारतीय अटो मिडियाहरुले लगाएको अनुमान अनुसार यस कारमा २०४ एचपी इलेक्ट्रिक मोटर र ६४ केडब्लूएचको ब्याट्री जडित हुनसक्छ । पावर उस्तै प्रदान गर्ने भएतापनि सेल्टोस इभिले सोल र कोनाको तुलनामा केही थोरै रेन्ज प्रदान गर्नेछ, कारण हो यसको ठूलो डाइमेन्सन र बढी तौल । फुल चार्जमा सेल्टोस इभिले ४०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ भनेर समेत अनुमान गरिएको छ । कियाले उक्त मोडेलको डेलिभरी पहिले कोरियन मार्केटमा गर्नेछ र केही पछि मात्र यसलाई भारत लगायतका देशहरुमा पठाउने छ । कियाको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले केही दिन अघिमात्र शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोक्दै सेल्टोस एसयुभि (स्ट्याण्डर्ड) लाई नेपाली बजारमा भित्र्याएको थियो । स्मरण रहोस्, किया मोटर्स कोरियाको दोस्रो ठूलो अटोमोवाइल उत्पादन कम्पनी हो जसले सन् २०१५ मा मात्रै आफ्नो ३३ लाख उत्पादनको बिक्री गरेको थियो ।