साग विजेता आयशा शाक्य र आशिष बस्नेत सम्मानित
काठमाडौँ महानगरपालिका वडा नं ३१ ले स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई सम्मान गरेको छ । कामपा वडा नं ३१ ले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेतालाई सम्मान गरेको हो । शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासील गरेका थिए भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गर्नुभएको थियो । कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । महानगरको सम्मानबाट आफूहरुलाई खेलमा लाग्न थप हौसला मिलेको सम्मानित खेलाडीहरु शाक्य र बस्नेतले धारणा राखेका थिए ।
दर्ता नभई प्रदेश नं ३ सरकारले गर्यो अस्पताल घोषणा, यन्त्र छ तर सुविधा छैन
काठमाडौं। प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर नजिकै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १५ शय्यासहितको प्राथमिक अस्पताल घोषणा गरेका थिए। हाल नगरपालिकाअन्तर्गत सञ्चालन भएको अस्पताल भनेर बोर्ड राखिएको छ तर सेवा भने दिन सकेको छैन । अस्पतालमा पाइने सेवा पाउन नसकिएको नगरपालिकाकै दुर्गमस्थल तारेभीरबाट स्वास्थ्य सेवा लिन आउनुभएका सेवाग्राही सोमबहादुर तामाङले गुनासो गरे । तारेभीरमै नगरपालिकाको पहलमा निर्माण भएको सहरी स्वास्थ्य सेवा केन्द्र भएकाले सेवा लिन आएको तर सेवा पाउन नसकिएको उनको दुःखेसो थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जग्गा भवन नभई रु ५० लाख बजेट दिएर अस्पताल घोषणा गरिए पनि सेवा दिन नसकिएको स्वीकार छन् । अस्पताल दर्तासमेत हुन नसकेको उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलगायत निकायमा अस्पताल दर्ताका लागि पहल गरिएको नगरपालिकाले जनाएको छ । विसं २०२८ मा स्थापना भएको स्वास्थ्य भवनमा सबै सेवा सञ्चालन हुन सक्ने अवस्था छैन । भवन बनाउन जग्गाको खोजी भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै चलाउन पनि भवनका कारण समस्या रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । प्रदेश सरकारले गत असारमै अस्पताल घोषणा गरेपछि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य केन्द्रलाई प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख गरेको थियो । जसअनुसार २०७६ मङ्सिर २ गतेको नगर कार्यपालिकाको बैठकले १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । स्थानीय तह सञ्चालन ऐन २०७४ मा एउटा स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरिने उल्लेख छ । केन्द्रका लागि विसं २०७४ भदौ २३ गते स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखाले किनिदिएको एक्सरेयन्त्र राख्ने ठाउँ र चलाउने जनशक्ति नभएका कारण थन्क्याएर राखिएको छ । “यो एक्सरे यन्त्र पुरानो प्रविधि हो, हाल सबै स्वास्थ्य संस्थाले डिजिटल एक्सरे चलाउन थालिसके, अब यसलाई जडान गर्ने कि नगर्ने प्राविधिकसँग सल्लाह गर्छौँ, त्यसपछि मात्र के गर्ने भन्न सकिन्छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने । नगरपालिकाको ४ नं वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजकत्वमा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले भने हाल एक्सरेयन्त्र राख्ने कोठा बनाउने काम भइरहेको जनाएको छ । केन्द्र व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले निर्माण छिट्टै सम्पन्न गर्नेगरी काम भइरहेको राससलाई जानकारी दिए । हाल केन्द्रमा निःशुल्क पाइने सबै औषधी भने पर्याप्त मात्रा रहेको जनाइएको छ । नगर क्षेत्रका एक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्रमा औषधी भने नियमित रुपमा पठाइएको शाखाले जनाएको छ । नगरपालिकाले नगर क्षेत्रमा स्वास्थ्य एवं सफाइलाई व्यवस्थित गर्न ‘स्थानीय आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा कार्यविधि २०७६’ मस्यौदा जारी भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । रासस
सिद्धार्थ बैंककाे ‘महिला उद्यमशील कर्जा’: ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने
काठमाडौं। सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागी पन्ध्रलाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म), वार्षिक ६।०२५ सम्मको आकर्षक ब्याजदर , प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने यस कर्जा योजनाका प्रमुख आकर्षणहरू हुन्। यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एिटिएम र १,६०० भन्दा बढी पिवोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ शनिबार हुँदै
काठमाडौं। नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले शनिबार आयोजना गर्न लागेको स्टार्टअप प्रदर्शनी जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २०० भन्दा धेरै स्टार्टअपहरुको प्रदर्शनी रहने भएको छ । जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा स्टार्टअप प्रदर्शनीसँगै विशेष वर्कशप कार्यशालाहरु पनि संचालन गरिनेछ जहाँ नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् । कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल भन्छन्, “जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा यस कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न उत्साहित छौँ । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । हाल हामीले स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो । ” मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्दै छन् । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणको कार्यक्रममा देशका विभिन्न ठाउँबाट उदाउँदै गरेका १२०ंं स्टार्टअप र ५ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको थियो । साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ । यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ । धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।
सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय उद्घाटन
काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्सको गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन गरिएको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईद्वारा समुद्घाटन गरिएको हो । सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रिले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनु भयो । सो समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, खुद मुनाफा करिब १३ कराेड
काठमाडौं। इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) रु. १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए । कम्पनीको चुक्ता पूँजी रु.८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पूजिँका १३ प्रतिशतको लाभाँश बितरण (बोनश शेयर २.३५५ तथा नगद लाभाँश १०.६५५) सम्बन्धी प्रस्तालाई २५ औं साधारणसभाबाट अनुमोदन गरियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले बिषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्रहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताउनु भयो । कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए। छलफलको क्रममा शेयरधनीहरुबाट उठाईएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षज्यूको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो।
गरिमा विकास बैंकको जोरपाटीमा शाखा कार्यालयको उद्घाटन
काठमाडाैं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेज्यूले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालज्यूले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।
लिवर्टी इनर्जीको दशौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका संचालक अध्यक्ष कुश कुमार जोशीको सभापतित्वमा साधारणसभा सम्पन्न भएका हो। उक्त साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु परित गरेको छ । कम्पनीले कुल जारी पूँजी १ अर्ब ५० करोड मध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक शेयर चुक्ता भईसकेको छ र बाँकी ३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएलले क्यापिटलसँग सम्झौता भई धितोपत्र बोर्डबाट अन्तिम स्विकृतीको लागि सम्पूर्ण कागजातहरु पेश गरेको जानकारी दिएको छ । हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु लमजुङ जिल्लामा माथिल्लो दोर्दी “ए” र लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ । उक्त आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको हालसम्म करिब ९५% निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति गत २०७६ भाद्र १४ रहेतापनि गत २०७६ श्रावण ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले गर्दा आयोजनामा क्षति पु¥याई निर्माण कार्यमा केही ढिला हुने भएकोले आरसिवोडि मिति गत २०७६ चैत्र ३० गते रहने गरी संशोधन गरिएको र उक्त मिति अगाडी नै आयोजना सम्पन्न गर्ने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको जानकारी प्रवन्ध संचालक डा. आत्माराम घिमिरेले साधारण सभामा गराए । साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइई को टिओर समेत स्विकृत भई अन्तिम स्विकृतीको प्रक्रियामा रहेको र १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइई रिपोर्ट पेश भएको र नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट सम्पन्न भई पिपिए हुने चरणमा रहेका छन् । कम्पनीका शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभा सम्पूर्ण शेयर धनीहरुको जिज्ञासाको जवाफ दिँदै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको थियो ।