काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २० दिन नाघिसकेको छ । गत २० मंसिरमा एकीकृत कारोबार सुरु भएको थियो ।
मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै राखिएको छ । तर, एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दा पनि सेयर खरिद विक्री भने शुरु भएको छैन । पुँजी बजारको नियामक निकायले जारी गरेको निर्देशिका अनुसार भने सेयर कारोबार शुरु भइसक्नुपर्ने थियो ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले १२ साउन २०७४ देखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ अनुसार ग्लोबल आईएमई बैंकको सेयर कारोबार भइसक्नु पर्ने हो ।
निर्देशिकाको नियम ४७ को (४) मा एकीकृत कारोबार शुरु भएसँगै सेयर कारोबार पनि शुरु हुने व्यवस्था मिलाउन भनिएको छ ।

‘सूचिकृत संगठित संस्थाहरु गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्नुपर्नेछ,’ बोर्डले लागू गरेको निर्देशिकामै उल्लेख गरिएको छ ।
तत्काल सेयर कारोबार शुरु गर्न नसक्नेहरुका लागि पनि बोर्डले सुविधा दिएको छ ।
‘तर एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकीकृत कारोबार शुरु भएको बढीमा १५ दिनभित्र सेयरको कारोबार शुरु गर्नुपर्नेछ,’ भनिएको छ ।
ग्लोबल आईएमई बैंकले भने नियामकले तोकेका दुबै समयसीमा कटाएको छ । एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दापनि कारोबार शुरु भएको छैन । सेयरको कारोबार शुरु नहुँदा दुबैं बैंकका गरी करिब १ लाख सेयरधनीले आफ्नो सम्पत्ति विक्री गर्न पाएका छैनन् ।
अर्काे सातादेखि खुल्छः बैंक
बैंकले भने अर्काे सातादेखि सेयर कारोबार खुल्ने जानकारी दिएको छ । बैंकको प्रबन्धपत्र, नियामावली बनाउने जस्ता कामले केही ढिलाई भएको बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए ।
‘प्रबन्धपत्र र नियमावली बनाउन बाँकी थियो, यसका लागि कम्पनी रजिष्टारको कार्यालयमा पनि केही समय लाग्यो, अब त्यो काम सकिएको छ, सेयर कारोबार शुरु गर्नको लागि सीडीएसमा निवदेन दिएका छौं, अर्काे साताबाट कारोबार खुल्छ,’ ढकालले भने ।