५० परियोजनामध्ये १४ वटाको संक्षिप्त सूची तयार, कसकाे लागत कति ?
काठमाडौं । नेपाल लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएका ५० सार्वजनिक परियोजनामध्ये हालसम्म १४ वटाकाे संक्षिप्त सूची तयार भएकाे छ । लगानी बोर्डको कार्यालयले हालसम्म करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरकाे १४ परियोजनाहरुको पूर्वयोग्यता मुल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताहरुको संक्षिप्त सूची बनाएकाे हाे । यीमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भईसकेको छ । सम्मेलनपश्चात, १० अर्ब ५४ कराेड रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यानुफ्याक्चरिङ् तथा एसेम्ब्लिङ्ग प्लान्ट परियोजनाका लागि कोरियाको मोटेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । साथै, प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको चाइना नेपाल फ्रेण्डसीप पार्क निर्माणका लागि समेत समझदारी भएको छ । त्यस्तै, विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २ छुट्टाछुट्टै कम्पनीसँग समझदारी पत्र(एमओयू) मा हस्ताक्षर भएको छ । यसैगरी, प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनाहरु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेका छन् । यी परियोजनाहरु अघि बढेसँगै देशको उर्जा, उद्योग, यातायात तथा कृषि लगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने बाेर्डले जनाएकाे छ । साथै, सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु समेत कार्यान्वयन भइरहेका बाेर्डले बताएकाे छ । लगानी बोर्डले हाल करिब ५६५ अर्ब रुपैयाँ कुल परियोजना लागत भएका ९ वटा विभिन्न क्षेत्रका परियोजनाहरु कार्यान्वयन तथा सहजीकरण गरिरहेको छ । जसमध्ये करिब १०४ अर्ब रुपैयाँ लागतको अरुण-तेस्रो जलविद्युत परियोजनाले बाँध, विद्युतगृह तथा सुरुङ्ग जस्ता महत्त्वपूर्ण संरचना निर्माणमा करिब एक तिहाई काम पूरा गरिसकेको छ । त्यस्तै, २०१८ बाट व्यवसायिक उत्पादन थालेको होङ्गसी सिमेन्ट प्रा.लि. ले दोस्रो चरणको उत्पादन योजनाका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । यसै वर्ष सिलान्यास भएको हासिन नारायणी सिमेन्ट उद्याेगले २०२० को जूलाइभित्र आफ्नो उत्पादन थाल्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाईरहेको छ । २०७५ चैत्रमा जारी सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐनले लगानी बोर्डको कार्यक्षेत्र बढाउँनुका साथै थप जिम्मेवारी समेत प्रदान गरेको छ । यसबीचमा लगानीकर्ताहरुलाई एकै स्थानबाट सबै सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बोर्ड कार्यालयमै एकल-विन्दु सेवा केन्द्र स्थापना गरी सो केन्द्रलाई ड्यासबोर्डको समेत प्रयोग गरी एकिकृत प्रणाली मार्फत सेवा प्रवाह गर्ने प्रक्रिया थालनी गरिएको छ । निकट भविष्यमा जारी हुने सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली लगायत विभिन्न कार्यविधि तथा निर्देशिकाले लगानी बोर्डका अरु प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरुलाई थप सरल र प्रभावकारी बनाउने छ ।
वर्षाका कारण आन्तरिक उडान प्रभावित
काठमाडाैं । सामान्य वर्षातले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिक रुपमा प्रभावित भएको हाे। अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र (भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा केहि समस्या भएको छ । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स(आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको छ । आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको उनले बताए । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस
पर्यटन विकासका लागि २० वर्षे गुरुयोजना तयार, वार्षिक तीन करोड आम्दानी हुने
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको छ । विभिन्न चरणको छलफलपछि गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको हो । विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो”, थापाले भने, “यसको थप विकासका लागि आजैदेखि काम थाल्न आवश्यक छ ।” गाउँपालिकाका प्रमुख थापाका अनुसार गुरुयोजनाअनुरुपका नीति तयार गरी विकासका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगिनेछ । उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने लक्ष्य बनाइएको छ । काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिए । गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि माघ महीनाभित्रमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणको काम शुरु गर्ने भएको छ । बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को डिपिआर तयार भइसकेको छ । थापाका अनुसार दृश्यावलोकन स्तम्भ निर्माणपछि गाउँपालिकालाई वार्षिक तीन करोड रुपैयाँ आम्दानी हुनेछ । त्यस्तै पर्यटकलाई आकर्षित गर्नका लागि जिप फ्ल्यार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कामलाई अगाडि बढाइएको छ । दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफामा उद्यान निर्माणलाई अगाडि बढाइएको छ भने जनप्रतिनिधि उद्यान निर्माण सम्पन्न भइसकेको छ । २० वर्षभित्र पर्यटकलाई कम्तीमा दुई रात बन्दीपुरमा बास बस्न सक्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको थापाले जानकारी दिए । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोकसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ । ती सबै होटलमा एकैपटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् । रासस
राष्ट्रिय अनुसन्धान विभागले माग्याे २ सय ३२ जना सहायक सूचक, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ। सहायक सुचकका लागि एसईई उत्तीर्णले पनि आवेदन गर्न सक्ने बताइएकाे छ । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन पाउने विभागले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ। विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर १ सय ५० रूपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रूपैयाँ लाग्नेछ। विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।
नौ महिनादेखि शिक्षकले पाएनन् तलब
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् । चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले नौ महिनादेखिको तलब पाउन बाँकी रहेको बताए। विद्यार्थीको सङ्ख्या थोरै हुँदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भने, “त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।” विद्यालयको घाटापूर्ति नहुँदा अन्यौलता बढेको छ उनले भने, “विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिक रुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।” विसं २०२९ मा विद्यालय स्थापना भएको थियो । रासस
भारतले नहरमा पानी बन्द गरेपछि रोकिएको गण्डक जलविद्युत् केन्द्रमा पुनः उत्पादन शुरु
नवलपरासी । करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो । गत मङ्सिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए । केन्द्रमा हाल दैनिक झण्डै तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ । पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौँदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमित रूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेसिनरीका सामान पुरानो भएपछि तीन टर्वाइनमध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहुँदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं तीन वर्षदेखि बिग्रेको अवस्था छ । हाल सञ्चालनमा रहेको २ नं टर्वाइन (एउटा मात्र) टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेको एउटा टर्वाइनसमेत उपकरण र मेसिनरीका सामान पुरानो हुँदासमेत टर्वाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा रहेको मेसिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ । केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । नहरमा आवश्यकताअनुसार पानी आए पनि र राम्रा उपकरण नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरूपमा उत्पादन हुन सकेको छैन । करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरणहरु मर्मत वा फेर्नुपर्ने अवस्थामा रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत् मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब रु एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको । सो केन्द्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन् । सो केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ कबाट परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । सो विद्युत्गृह सन् १९७९ मा निर्माणसम्पन्न भई सञ्चालनमा आएको थियो । भारत र नेपालको सम्झौताअनुसार विद्युत्गह सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवन र संचरना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन् । केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करिब ५० कर्मचारी कार्यरत छन् । रासस
विद्युत विधेयक: प्रतिस्पर्धाबाट अनुमतिपत्र, ३ मेगावाटका आयोजना स्थानीय तह मातहत
काठमाडाैं । विद्युत उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रस्पिर्धाको माध्यमबाट सक्षम प्रवद्र्धकको छनोट गर्ने गरी नयाँ विद्युत विधेयक मस्यौदा तयार भएको छ । विद्युत सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयककाे मस्यौदामा निश्चित पुँजी, प्राविधिक तथा व्यवसायिक क्षमता र अनुभव भएको प्रवद्र्धक बिनाभेदभाव सहभागी हुन पाउने समान अवसर प्रदान गरिने बताइएको हाे । मस्यौदामा ३ मेगावाटसम्म जडित क्षमताको विद्युत उत्पादन आयोजना र सोको प्रसारण लाईनको लागि सम्बन्धित स्थानीय तह र एकभन्दा बढी स्थानीय तहमा पर्ने भएमा त्यस्तो आयोजना प्रदेश सरकारको मातहतमा हुने बताइएको छ । अहिलेसम्म यस्ता सबै आयोजना केन्द्र सरकार मातहत रहने व्यवस्था थियाे । तीन मेगावाटभन्दा माथि २० मेगावाटसम्म जडित क्षमताको विद्युत उत्पादन आयोजना र सोको प्रसारण लाईनको लागि प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा पर्ने भएमा त्यस्तो आयोजनाको हकमा संघीय सरकारको मन्त्रालयले अधिकार प्रदान गर्ने उल्लेख गरिएकाे छ । देश संवैधानिक रुपमा संघीय प्रणालीमा गएसँगै विद्युत् र जलस्रोत तीनवटै सरकारकाे साझा अधिकार सुचीमा राखिएकाे छ । पुरानो ऐनलाई परिमार्जन तथा संशोधन गर्न लागिएको हो । प्रस्तुत मस्यौदामा बढीमा दुईवटा संस्थालाई मात्रै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृती दिन सकिने उल्लेख गरिएकाे छ । विद्युत् उत्पादनको अनुमतिपत्रमा नै विद्युत् निर्यात गर्न पाउने उल्लेख भएकोमा निर्यातका लागि छुट्टै स्वीकृती लिनु नपर्ने व्यवस्था मस्याैदामा छ । मस्यौदामा अन्तर्राष्ट्रिय वा क्षेत्रीय विद्युतको विनिमय (इनर्जी एक्सचेन्ज वा इनर्जी बैंकिङ) सम्बन्धी अवधारणाका आधारमा विद्युतको आयात निर्यात तथा व्यापार गर्न सकिने व्यवस्था गरिएको छ । ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रविणराज अर्यालले विदेशी लगानी कम रहेको अवस्थामा यो मस्यौदाले लगानी बढाउन सहयोग पुग्ने बताए । उनले जलविद्युतमा अधिकतम नागरिकको सहभागिता, ग्रामीण विद्युतीकरण र ऊर्जा विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न पनि नयाँ विद्युत् ऐन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई अझ बढी सहभागी गराउनका लागि यसले धेरै सहयोग गर्ने उनको भनाइ छ । ऊर्जा मन्त्रालयका सहसचिव तथा विधेक मस्यौदा निर्माण समितिका संयोजक तोयनाथ अधिकारीले नीजि क्षेत्रको सशक्त सहभागिता हुने गरी नयाँ ऐन ल्याइएको बताए । उनले अबको विद्युत व्यापार प्रतिस्पर्धाको आधारमा हुने बताउँदै सर्वेक्षणको लागि भनेर अनुमति पत्र नदिइने बताए । अब एउटै अनुमति पत्रबाट विद्युत उत्पादन गर्न सकिने उनको भनाइ छ । विधेयकको मस्यौदा परिमार्जनसहित थप पुरस्कृत गर्न ऊर्जा मन्त्रालयले नीजि ऊर्जा उत्पादक, ऊर्जा विज्ञ, लगानीकर्ता तथा सरोकारवालासँग छलफल तथा राय माग गरेको छ । विद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी आधुनिक र सवल विद्युत प्रसारण तथा वितरण प्रणालीको निर्माण तथा विस्तार गरी सबै प्रकारका ग्राहकलाई विद्युत आपूर्ति गर्न सहज हुने मस्याैदामा उल्लेख छ । यस ऐनको मस्यौदाले आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार सहज हुने बताइएको छ ।
बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँच घाइते
चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् । चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । रासस