चिसो बढेसँगै हवाईयात्रुको चाप, दैनिक ५० उडान
काठमाडौं । नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो । दशैं, तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको सङ्ख्या एक हजार २ सयदेखि एक हजार ५ सयसम्म पुग्छ । यो सङ्ख्या विगत वर्षभन्दा बढी हो । चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए । “अहिले तीन हजारदेखि चार हजार रुपैयाँसम्म टिकट पाइरहेको छ”, विमानस्थल प्रमुख ठाकुरले भने, “आयस्रोत बढेका कारण छिटो र सहजरूपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।” नेपालगञ्ज विमानस्थलमा दशैँ, तिहार र मानसरोवरको याममा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगञ्ज–काठमाडौँ आवातजावत गर्ने यात्रु धेरै छन् । पहाडी जिल्लामा जानेभन्दा बेँसी झर्नेको सङ्ख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए । “नेपालगञ्ज–काठमाडौँको भाडादर रु १० हजार हुँदा पनि नागरिक जहाज चढ्थे । अहिले त्योभन्दा धेरै कम छ”, सिग्देलले भने । सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताए। भ्रमण वर्ष शुरु भए पनि घुम्नका लागि पश्चिम आउने पर्यटकको सङ्ख्या भने कमै छ । नेपालगञ्ज विमानस्थल आन्तरिक यात्रुले नै धानेको छ । यो विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ । पहिलेका वर्षहरुमा चिसोको समयमा पटक–पटक हवाई उडान अवरुद्ध हुने गरेकामा यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगञ्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रको केन्द्रमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । वर्षेनी यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा भने नागरिकले अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुहरुको गुनासो छ । सडक यात्रामा धेरै चापमा परिने र दुःख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो । अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाईमार्ग प्रयोग गर्ने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । विमान चढ्ने यात्रुको चाप हेर्दा गत वर्षभन्दा यस वर्ष अझै बढ्ने देखिएको विमानस्थल प्रमुख ठाकुरले बताए । “सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ”, ठाकुरले भन्नुभयो, “हवाई भाडा पहिलेजस्तो महङ्गो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाईयात्रुको चाप बढेको हो ।” अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो । रासस
महिन्द्राका ‘एक्सयूभी-३००’ अब चितवनमा पनि, विभिन्न ६ रंगमा पाइने(मूल्य सहित)
काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेडले अब चितवनमा पनि ‘एक्सयूभी-३००’ बिक्री वितरण शुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राले आफ्नो स्पोर्ट्स यूटिलिटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ गण्डकी प्रदेश र बुटवल पश्चात चितवनमा बिक्री वितरण शुरु गरेको हाे । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। समारोहमा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले भने- ‘हामी एक्सयूभी ३०० चितवनमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’ अग्नि ग्रुपका स्थानीय विक्रेता सेन्ट्रल अटो जोन प्रा. लि. चितवनका प्रबन्ध निर्देशक राजेन्द्र बताजुका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले चितवनमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रूपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रूपैयाँ रहेकाे छ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रूपैयाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रूपैयाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार रूपैयाँ र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रूपैयाँ तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी-स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षित गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।
दाङको घोराही बजारमा दुई करोड लगानीमा ७१ वटा विद्युतीय खम्बा जडान
काठमाडाै । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे हो । घोराही बजारको कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिए को छ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ । एपेक्स नेपालले दुर्ई करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताए। एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले पहिलो चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएको जनाएकाे छ। “पहिलो चरणअन्तर्गत ७१ वटा खम्बामध्ये ५० वटा खम्बा जडान भइसकेका छन्”, उनले भने, “दुई दिनभित्रै बाँकी खम्बा जडानको काम सम्पन्न गर्छौं ।” जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेको बताए । कम्पनीले सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ । रासस
मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा
काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उनले गुनासो गरे । उनले भने, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।” “सडक डिभिजनले जिल्ला मालपोत कार्यालयमा बुझाएको खबर मात्र पाएका छु, लालपुर्जा भने दिएको छैन”, रौलेले भने। केवल एक पात्रकाे रुपमा रहेका राैल जस्ता सडकमा परेर काटिएको जग्गाको लालपुर्जा सोही ठाउँका रामप्रसाद उपाध्यायले समेत नपाएको बताए । “डिभिजन सडकले मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दियाै, तर काहाँ छन् कुनै पत्ता छैन”, उपाध्यायले भने । साँफे–मार्तडी राजमार्ग सडक छेउमा रहेको जग्गाको आधा भाग काटिएका छ । त्यस्तै बडीमालिका नगरपालिका साविकको बूढीगङ्गा गाविस–६ का स्थानीय रङ्ग बडुृवालले पनि मुआब्जाका लागि दिएको लालपुर्जा अझै पाउन सकेका छैनन् । सडकमा खेतीयोग्य जमिन काटिएपछि मुआब्जा पाए पनि सडक निर्माण सकिएको वर्षाै बित्दा पनि उक्त जग्गाधनी पुर्जा नपाएको बडुवालले बताए। लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण निकाल्न समस्या भएको बडुवालको भनाइ रहेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउन र व्यवसाय गर्न लालपुर्जा अनिवार्य धितो राख्न चाहिने भएकाले सो नहुँदा ऋण लिन कठिन भएको बडुवालले दुखेसो गरे । साँफे–मार्तडी राजमार्ग सडकमा परेका बूढीगङ्गा नगरपालिका साविकका बाह्रविसको इकडीगाड हुँदै कुल्देवमाडौँको बार्जुगाड, बाम्का, फालासै र बह्मतोला गाविसको सेरा, बल्दे अमकोट र बडीमालिका नगरपालिकाका साविकको बूढीगङ्गा र मार्तडी गाविसमा रहेका तिपाडा, रिला, जडांगा, रापक र मार्तडीका गरी २२५ बढी परिवारका जग्गाधनी प्रमाण पुर्जा जिल्ला मालपोत कार्यालयमा थन्किएका छन् । सडक डिभिजन कार्यालय साँफेका अनुसार राजमार्ग सडकमा परेका जग्गाधनीलाई मुआब्जा बुझाएको र जग्गाको कित्ताकाट गर्नका लागि जिल्ला मालपोत कार्यालय बाजुरामा पत्रसहित जग्गाधनीका प्रमाण पुर्जा बुझाएको जनाएको छ । मालपोत कार्यालय बाजुराले नै जग्गाधनीका प्रमाणपत्र बुझाउन ढिलाइ गरेको बताइएको छ । सडक डिभिजन कार्यालयले २२५ जना बढीको जग्गाधनी प्रमाण कार्यालयको लिखितपत्रसहित बुझाएको भए पनि सडकको क्षेत्रमा जग्गाको कुनतर्फ काटिएको हो भन्नेबारेमा यकिन नभएकाले उक्त प्रमाणपत्र दिन नसकेको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण पाण्डेले बताए । सडक डिभिजनको त्रुटिका कारण जग्गाधनीको प्रमाणपत्र बुझाउन नसकेको पाण्डेले स्वीकार गरे। “सडकमा परेका जग्गा काटिएको क्षेत्र स्पष्ट भए यो समस्या नै आउने थिएन”, पाण्डेले भने । सडक डिभिजन साँफेलाई काटिएका जग्गाको लगत माग्दा लगत नै नदिएको मालपोत प्रमुख पाण्डेको भनाइ रहेको छ । सडकमा परेका जग्गाको नीतिगत रुपमा नक्सा नभएकाले जग्गाधनी पुर्जा दिन नमिल्ले पाण्डे बताए । कित्ताकाटमा प्राविधिको नै गल्ती भएकाले नापी कार्यालयले सडकमा परेका जग्गाको क्षेत्र खुलाउने गरी पुन सर्भे गर्नपर्ने आवश्यक रहेको पाण्डेको भनाइ छ । मालपोत कार्यालयमा विगतदेखि थन्किएका जग्गाधनीका प्रमाण पुर्जा फिर्ता गर्न नापी कार्यालय बाजुराबाट अमिनले सर्भे गरेर मात्र दिन सकिने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । नापी कार्यालयमा कर्मचारी अभावका कारण सडकमा परेका जग्गाको पुनः सर्भे गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेकाे भनाइ ५ । सडकको क्षेत्र खुलाउने गरी तत्काल अमिन खटाएर जग्गा प्रमाण पुर्जा फिर्ता गर्ने प्रतिवद्धता उनले भने । साँफे–मार्तडी राजमार्ग सडकमा परेर काटिएका जग्गाको पुनः सर्भे गराउन सडक डिभिजन कार्यालय साँफे तयार रहेकाले बिदाको समयमा सर्भे गर्ने तयारी थालिएको प्रजिअ न्यौपानेको भनाइ थियो । साँफे–मार्तडी राजमार्ग सडकखण्ड निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । रासस
‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत, २०७८ सालसम्म सम्पन्न गर्ने लक्ष्य
काठमाडाै । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनको अनुसार धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको हो । डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य छ । हाल यस क्षेत्रका तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ । कल्चौडीभिर र बुधसिंहघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको हुँदा लक्ष्यभित्र कालोपत्रे सम्पन्न गर्न सकिने निर्माण व्यवसायीले जनाएको । मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशूली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ । “चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ”, उनले भने, “कार्यालय स्थापनाको समयमा नौ अर्ब ५० करोड रुपैयाँ बजेट प्रक्षेपण गरे पनि त्यो रकम अहिलेनै अपुग हुने देखिएको छ ।” योजनाअन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति ३० प्रतिशत छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना प्रमुख भण्डारीले जानकारी दिए । रासस
कुमारी जबको वेवसाईट र मोवाईल एप सञ्चालनमा, बेरोजगारलाई सजिलो हुने
काठमाडौं । कुमारी जब प्रा.लि. ले आफ्नो वेवसाईट र मोवाईल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आफ्नो वेवसाईटको स्तर वृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एप सञ्चालनमा ल्याएको हो । रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले www.kumarijob.com नामक वेवसाईट सो वेवसाईट तथा एपको सञ्चालनमा ल्याएको हो । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जबले यही पौष १६ गते आफ्नो छैटाैं वार्षिकउत्सव सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरेको थियो । कम्पनीका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले नव संसाधनका क्षेत्रमा क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै, आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लाग्ने उनले बताए ।
ब्रदर्स ग्रुपले बीरगंजमा खाेल्याे दोस्रो शाखा, दैनिक १० हजार आम्दानी गर्ने लक्ष्य
काठमाडाैं । ब्रदर्स ग्रुपले ‘द बियर्ड सप-२’ जेन्स पार्लरको दोस्रो शाखा बीरगंजको पानी टंकी चोकमा एक कार्यक्रम गरी संचालनमा ल्याएको हो । उक्त पार्लरको उद्घाटन तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि लोकेश सिंहले गरेका हुन् । कार्यक्रममा अध्यक्ष सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिने भन्नकाे लागि राम्रो उदाहरण ब्रदर्स ग्रुपले प्रमाणित गरेकाे बताएका छन् । ‘नेपाली युवाहरुले आफ्नो स्वदेशमा सानोतिनो काम नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने हरुले ब्रदर्स ग्रुपबाट सिक्नु पर्ने तथा विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय हाे ।’ उनले भने-‘तन मन धन लगाएर ईमानदारीताका साथ स्वदेशमै व्यवसाय गर्दा फाइदा हुन्छ ।’ पार्लरमा मसाजदेखि कपाल काट्ने, कपालमा कलर गर्ने, मेकअप लगाएत सबै खाले सुविधा रहेको तथा अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने, विधार्थी तथा असाहायहरुलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको ब्रदर्स ग्रुपका प्रोपाईटर रिशाल रमन शाहले जानकारी गराएका छन् । दैनिक १० हजारसम्म पहिलो पार्लरबाट आम्दानी भईरहेको तथा दोस्रो शाखाबाट पनि यस्तै आम्दानी हुने अपेक्षा समेत गरेको शाहले बताएका छन् । द ब्रदर्स गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका १० जना युवाहरुले रोजगारी समेत पाएका प्रोप्राईटर शाहले जानकारी गराएका छन् । विपिसी कलेजमा बिबिएसमा अध्ययनरत बारा र पर्साका विद्यार्थीहरुले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडी द बियर्ड सप जेन्स पार्लर सञ्चालन गरेका हुन्। विद्यार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने उदेश्यले ब्रदर्स ग्रुपको निर्माण गरी उक्त पार्लर सञ्चालनमा ल्याएका हुन् । जुन अहिले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको र जसबाट विद्यार्थीहरुले राम्रो आय आर्जन गरी उदाहरणीय कार्य गरेका छन् । राम्रो आम्दानी भएको तथा आमाबुवासँग पढाई खर्चको लागि पटक पटक पैसा माग्नु नपरेको हुनाले अहिले उनीहरू निकै हर्षित छन्।
३४ विमानस्थल कालोपत्रे, लुक्ला र सिमिकोटमा हेलिप्याडको निर्माण अन्तिम चरणमा
काठमाडाैं । मुलुकमा सञ्चालित कूल ५५ विमानस्थलमध्ये ३४ विमानस्थलको कालोपत्र गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले साना ठूला गरी ३४ विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न गरिएको जनाएको हो । प्राधिकरणको २१औँ वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनअनुरुप साना आन्तरिक विमानस्थल डोटी, साँफेबगर, डोल्पा (जुफाल), लामिडाँडा, थामखर्क, विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्गको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ भने वैतडी, बझाङ, इलाम, गुल्मी रेसुङ्गा र कालीकोटमा कालोपत्र गर्ने कार्य जारी रहेको छ । लुक्ला र सिमिकोटमा बढ्दो पर्यटकीय गतिविधिका कारण हेलिकोप्टर उडान चापलाई दृष्टिगत गरी ठूला हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जोमसोम र जुम्ला विमानस्थलको ओभरले सम्पन्न गरिएको छ । ठूला आन्तरिक विमानस्थल विराटनगर विमानस्थलको धावनमार्ग तथा ट्याक्सीमार्गमा ओभरलेको कार्य, एप्रोन र टया्क्सी मार्ग विस्तारको कार्य सम्पन्न भएको छ । नेपालगञ्ज विमानस्थलमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले कार्य सम्पन्न भएको छ भने ६ वटा आन्तरिक वायुयान क्षमताको एप्रोन विस्तार कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले गर्ने कार्य सम्पन्न भएको छ । पोखरा पुरानो विमानस्थलको धावनमार्ग, एप्रोन तथा ट्याक्सी मार्गको स्तरोन्नति गरिएको छ । यसैगरी चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा ‘फायर पाइटिङ भेहिकल’ का साथ उद्धार तथा अग्नि निवारण सेवा उपलब्ध गराइएको छ । राजविराज विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्ग ओभरले कार्य सम्पन्न भई नयाँ टर्मिनल भवन पनि निमार्ण गरिएको छ । ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । सोहीअनुरुप चन्द्रगढी, विराटनगर, राजविराज, नेपालगञ्ज तथा धनगढी विमानस्थलकाे गुरुयोजना तयार भइसकेको छ । रासस