राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा सञ्चालन गरेकाे छ । उक्त कार्यालयको उद्घाटन शुक्रबार कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि शुरु गरेका थिए । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री माननीय प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको समेत जानकारी गराए । बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।
अबैध क्रसर खानीको अनुगमन सचेतमा मात्र सीमित
काभ्रेपलाञ्चोक । वर्षौंदेखि अवैधानिक (मापदण्डविपरीत)रुपमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वर्षैपिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक कागजात जिल्ला ल्याउन भन्दै ‘सचेत’ गराउँछ । गत साल जस्तै अनुगमन, विधि प्रक्रिया यस वर्ष पुस महिनामा पनि दोहोरिएको छ । जिल्लास्थित अनुगमन समितिले अनुगमनपछि प्रतिवेदन तयार गर्छ र त्यसउपर सरोकारवाला डाकेर छलफल गर्ने संस्कारलाई यस वर्ष पनि निरन्तरता दिने योजना बनाएको छ । दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडाढुङ्गा खानी गत साल नै बन्द गर्ने निर्णय भए पनि हालसम्म बन्द गरिएको छैन । वर्षौंदेखि अवैधरुपमा सञ्चालित खानी सञ्चालकले वर्षेनी ‘दर्ता प्रक्रियामा छौँ’ भन्ने जवाफ दिने गरेका छन् । अनुगमनका क्रममा सम्झौता बेगर बालुवा उत्खनन् गरिएकोसमेत पाइएको छ । यस वर्षको अनुगमनपछि ३ नं प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरिएको जिल्ला समन्वय समितिप्रमुख उद्धव केसीले बताए । “प्रदेश मन्त्रालयबाट कारवाहीप्रति कुनै आदेश नआउँदा जिल्लास्तरीय अनुगमन समितिले केही गर्न सक्दैन”, उनले भने । गत सालको अनुगमन प्रतिवेदनले जिल्लाका २३ वटै खानी तथा क्रसर अवैधानिक देखाएको थियो । तर पटक–पटक सरोकारवाला जनाउँदै जिसस पदाधिकारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी एवं नागरिक समाजसँग छलफल गरेर अवैध खानी बन्द गर्ने निर्णय नै गरे पनि बन्द गराउन सकिएको छैन । गत साल बन्द गरिएको भनिएका नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडाढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी २०६१ सालदेखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालीले २०६५ सालदेखि रोशी गाउँपालिका–७ मा विनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लु साइमन रोडाढुङ्गा उद्योग प्रालीले २०६६ सालदेखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडाढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएका खानी हुन् । तर यी निर्वाध रुपमा चलिरहेका छन् । प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेल खानी क्षेत्रस्थित आफ्ना मातहतका युनिटलाई अवैध खानी बन्द गराउन निर्देशन दिएको बताए । “प्रदेश सरकार प्राकृतिक स्रोतसम्बन्धी कानून निर्माण गर्ने तयारी गर्दैछ, त्यसपछि जिल्लास्थित क्रसर तथा खानीलाई व्यवहारिक मापदण्डमा ल्याइनेछ”, केसीले भने । उनका अनुसार जिल्लामा सञ्चालित २३ वटा (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) तथा चार वटाको खानी दर्ताविना अवैधानिक रुपमा सञ्चालन हुँदै आएका छन् । काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार चलेका छैनन् । अनुगमनका क्रममा अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको छ । अवैधानिक खानीका कारण बस्तीसमत जोखिममा पर्ने देखिन्छ । ठकेदार कम्पनीले उत्खनन क्षेत्रमा उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङ बोर्ड राख्नुपर्ने नीति बनाइए पनि कसैले राखेका छैनन् । रासस
डा. खतिवडाको कार्यकाल सकिँदै, फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने
काठमाडौं । आगामी फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने भएको छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा हुने भएकोले नयाँ अर्थमन्त्री हुने करिब पक्का छ । राष्ट्रियसभामा ५९ जना सदस्य हुन्छन् । यीमध्ये प्रत्येक प्रदेशबाट ८ जनाका दरले ७ प्रदेशबाट ५६ जना सदस्य निर्वाचित हुन्छन् । यस्तै, ३ जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक व्यवस्था छ । यी ५९ जना सदस्यमध्ये एक तिहाई अर्थात १९ जना सदस्यको कार्यकाल २ वर्षमा सकिन्छ । सदस्यको कार्यकाल गोलाप्रथाबाट गरिन्छ । यसरी गोला तान्दा अर्थमन्त्री डा. खतिवडाले २ वर्षे कार्यकालको गोला तानेका थिए । डा. खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । उनको कार्यकालयआगामी फागुन पहिलो साता सकिदैछ । राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल सकिनु एक महिना अगाडि नै निर्वाचिन गर्नुपर्ने भएकोले आगामी ९ माघमा राष्ट्रियसभा सदस्य निर्वाचन हुदैछ । यो निर्वाचनको लागि डा. खतिवडालाई उम्मेदवार बनाइएको छैन । ९ माघमा राष्ट्रियसभाका १८ जना सदस्यको मात्रै निर्वाचन हुनेछ । १ जना सदस्य फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् । तर, यस्तो नियुक्तिका लागि पनि डा. खतिवडा पर्ने सम्भावना छैन । राष्ट्रपतिले नियुक्त गरेको व्यक्ति लगत्तै अर्काे कार्यकालको लागि फेरि नियुक्त गर्न कानुनी अवरोध सिर्जना हुन्छ । तर, सांसद नभएपनि डा. खतिवडाले अरु ६ महिना मन्त्री बन्न कानुनी रुपमा भने पाउने छन् । यसका लागि सत्तारुढ नेकपा गैरसांसदलाई मन्त्री बनाउन तयार हुनुपर्नेछ ।
बागलुङमा पम्पिङ प्रविधिबाट खानेपानी उपलब्धः वर्षौदेखिको समस्या अन्त्य
बागलुङ । निसीखोला गाउँपालिका–२ काल्नेचौरमा गाउँदेखि ५ सय मिटर तलको मुहानबाट ‘पम्पिङ’ गरेर खानेपानी उपलब्ध गराइएको छ । अर्नाकोट देउराली ग्रामिण खानपानी तथा सरसफाइ आयोजनामार्फत देउराली, घम्पु, बेङ्ग्री र थुम गाउँका १ सय ९२ घरधुरीमा खानेपानी सुविधा पुगेको हो । खानेपानी ‘पम्पिङ’ गर्न १८ किलोवाटको लघुजलविद्युत् आयोजनासमेत निर्माण गरिएको आयोजनाका अध्यक्ष लालबहादुर कुँवरले जानकारी दिए । निसीखोला गाउँपालिकाको ३६ लाख अनुदान, रेडक्रस कास्कीमार्फत् युनिका फाउण्डेशन नेदरल्याण्डस्को रु १९ लाख तथा स्थानीयवासीको रु १५ लाख बराबरको जनश्रमदान गरी करिब रु ७० लाखको लागतमा आयोजना सम्पन्न भएको जनाइएको छ । आयोजना निर्माणमा कर्मफ्लाइट्स फाउण्डेशन र एशियन पावर कम्पनीले प्राविधिक सहयोग गरेका थिए । आयोजनाबाट उत्पादित बिजुलीमध्ये १० किलोवाट स्थानीयवासीले उपभोग गरेका छन् । बाँकी पानी ‘पम्पिङ’मा खपत भएको छ । चरम खानेपानीको संकट व्यहोर्दै आएका स्थानीयवासी गाउँमा खानेपानी ल्याइएपछि औधि खुशी छन् । गाउँको तल मुहान भएका कारण गाउँमा खानेपानी सुविधा पुर्याउन सहज थिएन । आठ वर्षअघि सोही ठाउँमा बनेको ‘पम्पिङ’ आयोजना प्रभावकारी नभएपछि नयाँ आयोजना निर्माण गरिएको थियो । आयोजना निर्माणको काम गत जेठ १५ गतेदेखि शुरु भएको थियो । आयोजना क्षेत्रमा रहेका पुराना खानेपानी ट्याङ्कीसमेत मर्मत गरी प्रयोगमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले सबै गाउँबस्तीमा स्वच्छ खानेपानीको सुविधा पुर्याइने बताए । “विभिन्न निकाय र सङ्घसंस्थासँग मिलेर खानेपानी र सरसफाइको अभियानलाई तीव्रताका साथ अगाडि बढाउँछौँ”, उनले भने । अर्नाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बेगबहादुर कुँवरले ‘पम्पिङ’ प्रविधिको खानेपानी आयोजनाले गाउँलेलाई राहत दिलाएको प्रतिक्रिया दिए । पछिल्लो समय जिल्लामा यस्तो प्रविधि अपनाएर धमाधम खानेपानी आयोजना निर्माण भइरहेका छन् । रासस
निर्माणधीन क्रिकेट रंगशालालाई कलाकारद्वारा आर्थिक सहयोग
काठमाडौ । चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन ज्योति काफ्ले (गल्कोटे बा) र अशोक धिताल (बाहुन डन) ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन् । जनस्तरको सहयोग जुटाउदै निर्माणधीन रंगशाला बनाउन नेपाल टेलिभिजनको चर्चित टेलिफिल्म भ्रदगोलका निर्देशकद्धय गल्कोटे बा र बाहुन डनले नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । पर्यटन प्रर्वद्धनसँगै रंगशाला बनाउने महाअभियानस्थलमा नै भद्रगोल युनिटसहित पुगेको टोली टेलिफिल्म समेत छायाकंन गर्दै नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको निर्देशक ज्योति काफ्ले (गल्कोटे बा) ले बताए । उनले भने, यत्रो अभियान चलिरहदाँ केही हदसम्म सानो सहयोग र श्रमदानसगैँ अभियानलाई थप सहयोग जुटाउन हामी यहीं आएर सहयोग गरेका हौँ, सानो सहयोग भएपनि यो अभियानलाई थप सहयोग आउने अपेक्षा छ । सोही अवसरमा धुमुर्सलाई समेत अभियान गराउदै भद्रगोल टोली एक एपिसोड श्रृखला रगंशाला केन्द्रीत हुने पनि बताएको छ । सोही अवसरमा कुराकानी गर्दै अर्का निर्देशक धितालले भद्रगोलमा थप सशक्तका साथ जनजिवनसगा सरोकार राख्ने विषयमा केन्द्रित हुने प्रतिक्रिया समेत दिए । धुमुर्सले भने रंगशाला बनाउने अभियान जो जसले जहाँबाट पनि सहयोग गर्न सक्ने भन्दै कलाकार टोलीहरुको साथले आफुहरुलाई थप हौसला मिलेको बताए । भद्रगोल युनिट आफ्नो नयाँ भाग छायांकनसगैँ झण्डै ३ घण्टा पनि निर्माणस्थलमा श्रमदान पनि गरेको थिए ।
विष्णुकुमारीको विदेश यात्राः चलिरहेको पसल बेचेँ, ९० हजार तिरेर चीनको दाङदोङ पुगेँ
काठमाडौं । नुवाकोटकी ३० वर्षीय विष्णुकुमारी तामाङ काठमाडौंको नेपालटारमा सानोतिनो टेलर चलाउँथिन् । उनले टेलर संचालन गरेको ५ वर्ष जति भइसकेको थियो । उनले आफ्नो टेलरमा २ जनालाई रोजगारी पनि दिएकी थिइन् । टेलर राम्रै चलेको थियो । आम्दानीले जेनतेन घरव्यवहार चलाउन पुगेको थियो । तर, यही बीचमा कसैले चीनमा गएर गार्मेन्टमा काम गर्न पाइने र मासिक २ सय ५० अमेरिकी डलर तलब पाइने कथा सुनायो । विष्णुमाया लोभिइन् । ‘कमाई राम्रै हुन्छ भने, विदेश देख्न पनि पाइने कमाइ पनि हुने भएपछि विदेश जान तयार भएँ, मासिक २ सय ५० डलर तलब हुन्छ भनेका थिए, ९० हजार रुपैयाँ तिरेर विदेश गएँ,’ विष्णुकमारीले भनिन् । उनी करिब ७ महिना अगाडि चीनको ल्याओनिङ प्रान्तस्थित दाङ्दोङ सहरको गार्मेट फ्याक्ट्रीमा कामका लागि पुगिन् । काम भने उनलाई पहिला सुनाए जस्तै गार्मेन्ट फ्याक्ट्रीमै पाइन् । तर, तलब भने कम । ‘तलब मासिक २ सय ५० डलर हुन्छ भनेका थिए, तर हामीलाई मासिक ५० डलरको दरले दिइयो, त्यो फ्याक्ट्रीमा हामी ४४ जना नेपाली महिला थियौं, हामीले यति तलबले हुदैन भन्यौं, अनि राति नै थप ५० डलर दिएर मासिक सय डलरमा काम लगाउने भने,’ उनले सुनाइन् । विष्णुकुमारीसँगै गएका अन्य महिलामध्ये केहीलाई सिलाई बुनाईबारे सामान्य जानकारी पनि थिएन । काम गर्ने फ्याक्ट्रीमा राम्रो व्यवहार पनि हुदैनथ्यो । वैदेशिक रोजागारीको लागि एकैचोटी ४४ नेपाली महिला पुर्याइएको दाङ्दोङ सहर चीन–उत्तर कोरिया सिमाना नजिक पर्छ । अहिले विष्णुकुमारी नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किसकेकी छन् । उनीसँगै गएकी रामेछाप घर भएकी रमिला घले भने म्यानपावरलाई ८० हजार रुपैयाँ बुझाएर दाङ्दोङ पुगेकी थिइन् । उनलाई पनि मासिक २ सय ५० डलर नै तलब दिने भनेर लगिएको थियो । ‘तलब पनि भनेअनुसार दिएनन्, एक दिनमा कम्तिमा पनि ११ घण्टा काम गर्नुपथ्र्याे, काम गर्न असाध्यै गाह्रो थियो, नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्कन सक्यौं,’ घले भन्छिन् । सरकारले बैदेशिक रोजगारीको लागि चीन खुल्ला गरेको छैन । उनीहरु सबैजना अवैध रुपमा चीनमा काम गर्न पठाइएका व्यक्ति हुन् । विदेशमा आफन्त गुमाउँदै दैनिक २ परिवार बैदेशिक रोजगारीको शिलशिलामा अहिले दैनिक कम्तिमा १ हजार नेपाली विदेश जाने गरेका छन् । बैदेशिक रोजगार वोर्डका अनुसार यसरी विदेश गएकामध्ये दैनिक औसत २ जना नेपालीले विदेशमै ज्यान गुमाउने गरेका छन् । विदेशमा ज्यान गुमाउने नेपालीका नजिकका नातेदारलाई सरकारले प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले सहायता रकम दिन्छ । विदेशमा पतिको मृत्यू भएपछि सरकारले दिने सहायता रकम लिन काठमाडौं आएकी थिइन् सल्यानकी जुना ठकुरी । २९ वर्षीय जुना २ सन्तानकी आमा हुन् । ३ वर्ष अगाडि मलेसिया गएका उनका श्रीमान् रामेश्वर ठकुरीको मृत्यु भएको थियो । ‘आज नाइट बसमा आएकी हूँ, मेरा दाजु र श्रीमानका दाजु (जेठाजु) पनि सँगै आउनु भएको छ,’ १३ पुसमा दिउसो बैदेशिक रोजगार बोर्डमा भेटिएकी जुनाले भनिन् । रामेश्वर बैदेशिक रोजगारी सकेर नेपाल फर्कने तयारीमा थिए । उनी नेपाल फर्कन १ महिना मात्रै समय बाँकी थियो । इलाम घर भएकी ३१ वर्षीय इशा राई पनि वोर्डमा चक्कर लगाउदै थिइन् । उनका श्रीमान् केशव राईको बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा मृत्यु भएको थियो । इशा पनि आफ्ना जेठाजुसँग सहायता रकम लिन काठमाडौं आएकी थिइन् । यी प्रतिनिधि घटना मात्रै हुन् । बैदेशिक रोजगारीको अध्यारो पक्षमा महिला पीडित हुने अवस्था बढ्दै गएका तथ्यांकले देखाएको छ । केही घटनामा महिला आफै प्रत्यक्ष रुपमा प्रभावित भएका छन् भने केही घटनामा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । वार्षिक रुपमा वैदेशिक रोजगारीका लागि गएका करिब ८ सय जनाले ज्यान गुमाउने गरेको तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छ । आर्थिक वर्ष २०७४/७५ मा ८ सय २१ जनाले ज्यान गुमाएका थिए ।
नयाँ वर्षसँगै सिटिजन्स बैंकले शुरु गर्यो एटिएममा मास्टरकार्ड सेवा
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो एटिएममा मास्टरकार्ड सेवा शुरुवात गरेको छ । भ्रमण वर्ष २०२० को शुरुवातसँगै विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मेइस्टो तथा सर्रस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् । नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डवाहकलाई बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आएको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटिएम. र १ सय २ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
धर्मपथमा निर्माण गर्ने भनिएको पार्किङस्थल कामपाद्वारा रद्द
काठमाडौं । काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बहुतले पार्किङस्थल निर्माणको काम प्रक्रियामा गइसकेको भए पनि कानूनी समस्या रहेको भन्दै रद्द गरेको हो । उक्त स्थानमा पार्किङ निर्माणको काम २०७३ सालबाटै अघि बढेको थियो । त्यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणले महानगरलाई तिर्नुपर्ने राजश्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका विषयमा अध्ययन गरी हिसाब मिलान गर्न सिफारिस गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पाँच वटा सार्वजनिक शौचालयसहित ३६ वटा बस बिसाउनी निर्माण गर्न अनुमति दिने बैठकले निर्णय गरेको छ । बैठकले वडा ३२ मा दर्ता भएर सञ्चालन हुँदाहुँदै सञ्चालक बेपत्ता भएको हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । बैठकका अन्य निर्णयमा वडा २७ को वडा कार्यालयको भवन निर्माण सम्झौता गर्ने, चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, शङ्खधर पार्क निर्माणका लागि मध्यपुरथिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्रभित्रका पैदलमार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगरबाट मर्मतसम्भार तथा व्यवस्थापन गर्नेलगायत छन् । बैठकले यही पुस २९ गते नगरसभाको मिति तय पनि गरेको छ । रासस