विकासन्युज

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भने । राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

५७ हजार विदेशी पर्यटक मुस्ताङमा, भ्रमण शुल्क महँगो भएका कारण अघिल्लो वर्षभन्दा कम

मुस्ताङ । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिएका छन् । सन् २०१८ मा ५९ हजार ८३८, २०१७ मा ५२ हजार ४७५ र २०१६ मा ३९ हजार १७ ले मुस्ताङ भ्रमण गरेका थिए । पुरानो पदमार्ग सडकमा परिणत भएको र उपल्लो मुस्ताङ भ्रमणको शुल्क महँगो भएका कारण पर्यटक आगमनमा असर परेको लोमान्थाङका होटल व्यवसायी रामबहादुर गुरुङले बताए । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । मे महिनामा १२ हजार १४० र अप्रिलमा १० हजार २६६ भित्रिएको तथ्याङ्क छ । जनवरीमा ५०५, फेब्रुअरीमा ४४५, मार्चमा पाँच हजार ३७८, जुनमा तीन हजार ६१०, जुलाईमा दुई हजार १४०, अगस्टमा दुई हजार २७८ आएका छन् । यसैगरी, सेप्टेम्बरमा पाँच हजार ११८, नोभेम्बरमा पाँच हजार ८६२ र डिसेम्बरमा एक हजार ८९ ले मुस्ताङ घुमेका छन् । मुस्ताङ भ्रमण गर्ने पर्यटकमा सार्क मुलुकका पर्यटक बढेका छन भने पश्चिमी देशका पर्यटक आगमन घटेको देखिएको छ । करिब चार हजार पर्यटक अर्धनिषेधित क्षेत्र मानिएको उपल्लो मुस्ताङ घुम्न गएका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन् । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा करिब ३०० होटल तथा लज सञ्चालनमा छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । पोखरा–जोमसोम हवाई र म्याग्दीदेखि बेनी–जोमसोम सडक भएर मुस्ताङ पुग्न सकिन्छ । पर्यटकको बसाई अवधि र आकर्षण बढाउन सडकमा परिणत भएका पदमार्गको विकल्पमा नयाँ पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । रासस

इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा, स्थानीयवासी हर्षित

मंगलबारे । इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नभई फिर्न सकिने बताए । उनी मात्र हैन सो क्षेत्रका धेरै स्थानीयवासीको लामो समयदेखिको प्रतीक्षा र धैर्य सफल रूपमा परिणत भएको छ । यस सडक इलाम नगरपालिकाको भञ्ज्याङ हुँदै पुवाखोला–सोयाक, राकसे–बेलाँसे, चिसापानी–दानाबारी हुँदै झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कल हुँदै चारआलीबाट ८६ किमि लामो यात्रा पार गर्नु पर्दछ तर द्रुत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ । यस सडकमा बस सेवा शुरु भएपछि स्थानीयवासी जति हर्षित छन्, कच्ची सडक भएकाले उति नै निराश पनि छन् । सडकमा कालोपत्रे नभइञ्जेलसम्म यसको भविष्य अन्योल नै रहने भन्दै सडकलाई कालोपत्रे गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । उनीहरूका अनुसार सडकको अवस्था सुधार गर्न इलाम नगरपालिका लाग्ने हो भने इलाम सदरमुकाममा समेत चहलपहल बढ्ने छ । इलामबाट तराई जोड्न हाल मेची राजमार्ग बाहेक, गाग्रेभञ्ज्याङ, जितपुर दानावारी सडक र इलाम माइखोला हुँदै चिसापानी, दानावारीबाट विर्तामोड पुग्ने सडक सञ्चालनमा छन् । मङ्गलबारे र इलामबाट भएका अन्य सडकसमेत चिसापानी र दानाबारीबाट भेट्टिने भएकाले पनि यस सडकमा हाल बाक्लो रूपमा सवारी सञ्चालन हुँदै आएका छन् । रासस

डिएभि वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं । डिएभि. कलेजको वातावरण क्लबले बुधबार ललितपुरको बज्रबाराहीमन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको उक्त कार्यक्रमकाे सरसफाइ अभियान बिहान दश बजे शुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।

नक्कली कागजात बनाइ लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ

काठमाडाैं । नक्कली कागजात बनाई अरुको ट्रायल दिइराखेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई नेपाल ड्राइभिङ सेन्टर सुकेधाराबाट बिहीबार बेलुका ४ बजे पक्राउ गरेको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिइरहेका मकवानपुर घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्दै आएका मानबहादुर ब्लोन  र ललितपुर घर भइ हाल सोही ठाउँमा बस्ने सरोज शाही पक्राउ परेका हुन् । प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत अन्य सरकारी कागजात नक्कली बनाइ अरुको ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

वर्षासँगै भारी हिमपातले जनजीवन कष्टकर, हवाइ उडान बन्द

सुर्खेत । कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले जानकारी दिए । “बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन”, लामाले भने, “वर्षेनी यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।” हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गरेका छन् । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताएका छन् । । चिसोमै भए पनि बिहीबार जुम्लामा छाउगोठ भत्काउने महाअभियानको कार्यक्रम सम्पन्न गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले राससलाई जानकारी दिए । उनले सरकारी कार्यालयमा बिहीबारदेखि चिसो बढेकोले काम गर्न गाह्रो भएको बताए । “जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ, यद्यपि आगो बालेर भए पनि नियमित सेवा प्रवाह हुन्छ न”,, उनले भने । कतिपय आकस्मिक काम यही समय हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भनेर कार्यालय खुला नै रहने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताएका छन् । रासस

आरआर स्ववियुद्वारा ‘वृहत रचनात्मक सप्ताह २०७६’ सम्पन्न

काठमाडाैं ।  रत्न राज्य क्याम्पस (आरआर) स्ववियुद्वारा आयोजित वृहत रचनात्मक सप्ताह २०७६ बुधबार सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति तपेन्द्रजंग शाहीको अध्यक्षता तथा सत्तारुढ नेकपा(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका नेता आर सि लामिछाने लगायतको उपस्थिति रहेको थियो। यहि पुस ८ गते खेलकुदमन्त्री जगत विश्वकर्माको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रमको उद्घाट गरिएको थियो। कार्यक्रममा सभापति शाहीले वृहत रचनात्मक सप्ताह कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

यामाहाको बेस्ट सेलिङ्ग स्कुटर रे जेड; फ्यासिनो र रे जेड आर पछिपछि

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् । यामाहाले फरक टेस्ट भएकाहरुलाई लक्षित गर्दै फरक किसिमका स्कुटरहरु नेपालमा उपलब्ध गराएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का अनुसार यामाहाले स्कुटर सेग्मेन्टतर्फ २५ प्रतिशतको हाराहारीमा स्थान ओगटेको छ । एमएडब्लूले नेपालमा फ्यासिनो, रे जेड तथा रे जेडआर गरी सो ब्राण्डका ३ मोडेलहरु बिक्री गर्दै आइरहेको छ । रे जेड रे जेड यामाहाको बेस्ट सेलिङ्ग स्कुटर हो । पुरुष वर्गलाई लक्षित गरेर निर्माण गरिएको यो स्कुटर हेर्दा स्पोर्टी देखिन्छ । त्यसैगरी, यसको लामो र चौडा सिटले राइडरका साथै पछाडितर्फ बस्नेलाई पनि आरामदायक यात्रा प्रदान गर्न मद्दत पुर्याउँछ । यस स्कुटरमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस स्कुटरको दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ भने यस स्कुटरमा ५ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । फ्यासिनो रेट्रो डिजाइन प्रदान गरिएको यस स्कुटरको विभिन्न पार्ट्सहरुमा क्रोमको फिनिसिङ्ग दिइएको छ । यामाहाले प्रिमियम स्कुटरको रुपमा निर्माण गरेको फ्यासिनोलाई नेपाली बजारमा विशेषगरी महिलाहरुले बढि रुचाएको पाइएको छ । यस स्कुटरको इञ्जिन क्षमता ११३ सीसीको रहेको छ भने यसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको यस स्कुटरमा ५.२ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । रे जेड आर रे जेड भन्दा अझ स्पोर्टी लुक्स प्रदान गरेर यामाहाले रे जेड आरलाई बजारमा ल्याएको हो । यसका ‘डिस्क’, ‘ड्रम’ र ‘स्ट्रीट र्याली यूबीएस’ गरी तिन भेरियन्टहरु उपलब्ध रहेका छन् । रे जेड आर डिस्कमा अगाडिको चक्कामा डिस्क ब्रेक समावेश छ भने रे जेड आर ड्रममा चाहिँ दुईओटै चक्काहरुमा ड्रम ब्रेक समावेश छन् । त्यसैगरी, रे जेड आर स्ट्रीट र्याली यूबीएसमा चाहिँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्युवलेस टायर, अगाडिको चक्कामा डिस्क ब्रेक, नकल गार्ड, ठूलो बुट स्पेस र यूबीएस जस्ता विशेषताहरु समावेश रहेका छन् । यूबीएस अर्थात् युनिफाइड ब्रेकिङ्ग सिस्टम त्यस्तो ब्रेकिङ्ग प्रविधि हो जसले पछाडिको ब्रेक लगाउँदा अटोमेटिक अगाडिको ब्रेक पनि लाग्न जान्छ । यसले दुवै ब्रेकमा चाहिएको प्रेशर प्रदान गरेर स्कुटरलाई चाहेकै ठाउँमा सुरक्षित साथ रोक्नमा मद्दत गर्दछ । इञ्जिन तर्फ भने यी सवै भेरियन्टहरुमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । यस्तो छ मूल्य