
काठमाडाैं । ब्रदर्स ग्रुपले ‘द बियर्ड सप-२’ जेन्स पार्लरको दोस्रो शाखा बीरगंजको पानी टंकी चोकमा एक कार्यक्रम गरी संचालनमा ल्याएको हो । उक्त पार्लरको उद्घाटन तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि लोकेश सिंहले गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिने भन्नकाे लागि राम्रो उदाहरण ब्रदर्स ग्रुपले प्रमाणित गरेकाे बताएका छन् । ‘नेपाली युवाहरुले आफ्नो स्वदेशमा सानोतिनो काम नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने हरुले ब्रदर्स ग्रुपबाट सिक्नु पर्ने तथा विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय हाे ।’ उनले भने-‘तन मन धन लगाएर ईमानदारीताका साथ स्वदेशमै व्यवसाय गर्दा फाइदा हुन्छ ।’

पार्लरमा मसाजदेखि कपाल काट्ने, कपालमा कलर गर्ने, मेकअप लगाएत सबै खाले सुविधा रहेको तथा अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने, विधार्थी तथा असाहायहरुलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको ब्रदर्स ग्रुपका प्रोपाईटर रिशाल रमन शाहले जानकारी गराएका छन् ।
दैनिक १० हजारसम्म पहिलो पार्लरबाट आम्दानी भईरहेको तथा दोस्रो शाखाबाट पनि यस्तै आम्दानी हुने अपेक्षा समेत गरेको शाहले बताएका छन् । द ब्रदर्स गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका १० जना युवाहरुले रोजगारी समेत पाएका प्रोप्राईटर शाहले जानकारी गराएका छन् ।
विपिसी कलेजमा बिबिएसमा अध्ययनरत बारा र पर्साका विद्यार्थीहरुले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडी द बियर्ड सप जेन्स पार्लर सञ्चालन गरेका हुन्। विद्यार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने उदेश्यले ब्रदर्स ग्रुपको निर्माण गरी उक्त पार्लर सञ्चालनमा ल्याएका हुन् ।
जुन अहिले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको र जसबाट विद्यार्थीहरुले राम्रो आय आर्जन गरी उदाहरणीय कार्य गरेका छन् । राम्रो आम्दानी भएको तथा आमाबुवासँग पढाई खर्चको लागि पटक पटक पैसा माग्नु नपरेको हुनाले अहिले उनीहरू निकै हर्षित छन्।