विकासन्युज

नेपाल बंगलादेश बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण

फिदिम । नेपाल बंगलादेश बैंकले पाँचथरस्थित श्री गढी माध्यमिक विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ते प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए ।  प्रशिक्षण मैत्री समाज नेपालकाे सहायतामा पुस ४ सम्पन्न भएकाे हाे । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो । यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले बताए ।

उखु किसानकाे पैसा भुक्तानी हुने भएपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिएका हुन् । सो मिलले किसानको करिब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” रासस

बाकसभित्र लुक्दै विमान चढेर भाग्न सफल भएका थिए निशानका पूर्व कार्यकारी प्रमुख कार्लोस गोन

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो अपार्टमेन्टबाट भाग्दै लेवनन पुगेका गोनलाई जापानी अधिकारीहरुले कुनै पनि हालतमा जापान फर्काउने र कानुन बमोजिम कारवाहि गरिछाड्ने अठोट लिएका छन् । भाग्न अपनाएको शैली सीसीटीभी फुटेजमा देखिए अनुसार स्थानिय समय अनुसार दिउँसो दुई बजेर ३० मिनेट जाँदा कार्लोस आफ्नो निवासबाट एक्लै बाहिर निस्कन्छन् । उनी एउटा मास्कको सहायताले अनुहार ढाक्दै कुनै होटलमा पुग्छन् जहाँ उनको भेट दुई जना व्यक्तिहरुसँग हुन्छ । ती दुई सहित कार्लोस शिनागावा स्टेशन पुग्छन् र ओसाका जाने रेल चढ्छन् । ओसाकामा पुगेर उनीहरु विमानस्थल नजिकैको एउटा होटलमा बस्छन् । अधिकारीहरुले जनाए अनुसार होटलबाट एयरपोर्ट जाने क्रममा कार्लोसका दुई साथीहरु सांगितीक उपकरण बोक्ने एउटा ठूलो बाकस लिएर निस्कन्छन् । कार्लोस लुकेर बसेको सो बाकस ठूलो साइजको भएको हुनाले एयरपोर्टको एक्सरे मेशिनमा अटाउँदैन र विना कुनै सुरक्षा जाँच नै एयरपोर्ट भित्र रहेको एउटा निजी विमानसम्म पुग्न सफल हुन्छ । कार्लोस गोनसँग लेवनन, ब्राजिल र फ्रान्सका गरी तीन ओटा देशहरुको पासर्पोट थियो । लेवनन सरकारसँग नजिकको सम्बन्ध रहनु र त्यसैगरी लेवनन र जापानका बीच प्रत्यर्पण सन्धी पनि नहुनुले कार्लोसलाई लेवनन जान उचित लागेको हुनसक्छ । यदी उपरोक्त दुई देश बीच प्रत्यर्पण सन्धी गरिएको हुन्थ्यो भने लेबननले कार्लोसलाई पक्राउ गरी जापानलाई सुम्पिन सक्थ्यो । मौनता भङ्ग गर्ने सम्भावना अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार उक्त निजी विमानमार्फत् टर्की हुँदै लेवनन पुग्न सफल भएका कार्लोस गोनले बुधवार यसै विषयका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो मौनता भङ्ग गर्ने सम्भावना प्रवल रहेको छ । यस्तो थियो कार्लोस माथि लागेको आरोप ६५ वर्षिय कार्लोस् गोनलाई कम्पनीमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो भने लगत्तै उनी कम्पनीबाट निलम्वनमा पनि परेका थिए । १०८ दिनसम्मको हिरासत बसाइपश्चात् उनी धरौटीमा रिहा भएका थिए । हिरासतबाट बाहिर निस्किए पनि उनलाई देश छाडेर बाहिर जान तथा आफ्नी श्रीमतीसँग भेट्न लगायतका प्रतिबन्ध चाहिँ लागिरहेको थियो । यस किसिमका नजरबन्दीको बावजुद पनि केहि दिन अघि मात्र उनी टोकियो स्थित आफ्नो घरबाट नाटकिय शैलीमा भागेर लेवनन पुग्न सफल भएका थिए । एक समय नायक मानिन्थे कार्लोस हाल आर्थिक अनियमितताको आरोप खेपिरहेका कार्लोसलाई जापानमा कुनै समयमा नायकको संज्ञा दिइएको थियो । सन् २००१ मा उनले टाट पल्टिन लागेको निशान कम्पनीमा प्रमुखको भूमिका सम्हाले पछि सो कम्पनीको अवस्थामा काया पलट नै ल्याइदिएका थिए ।

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाउने काम तीव्र

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । कामपाले मङ्गलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृत रूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । कामपाले अहिले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न सङ्घ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताए । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा रु दुई लाख जरिवाना पनि असुल गरिसकेको छ । त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले जानकारी दिए । सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । रासस

‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामान र सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान र सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछन् । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्ट द्धारा लिइएको छ ।

बजार विस्तारमा आक्रामक बन्यो एलआईसी नेपाल, चाहेको पैसा व्याजसहित किस्ताबन्दीमा, ७५ लाखको दुर्घटना बीमा

काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् । १६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए ।

भारतबाट लगानीकर्तालाई नेपाल ल्याउन भारतीय दुतावासको आग्रह

काठमाडौं । नेपाल परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका छन् ।  परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि मित्रराष्ट्र भारतका चार्ज डे अफेयर्स डा. अजय कुमार बीच मंगलबार भारतीय दूतावासमा भएकाे भेटघाट एवं छलफलमा माेरले साे कुरा बताएका हुन् । साथै, अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गरेका थिए । चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तिब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए । विराटनगरम आइसिपि निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउदै भारत नेपालमा लागनी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजिकरण गर्न सधैँ तयार रहेको उल्लेख गरेका छन् ।

सुनको मूल्य निरन्तर उकालो लाग्दै, प्रतितोला ७६ हजार ५ सयमा कारोबार

काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँ बढेर ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर परेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै मंगलबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँ बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा बिक्री भएको थियो भने बुधबार चाँदी प्रतितोलामा एकै दिन २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।