विकासन्युज

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई होटल डेल अन्नपूर्णमा विशेष छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५५ सम्मको छुट पाउनेछन् ।

नेशनल माइक्रोफाइनान्सद्वारा पोखरीयामा न्यानो कपडा वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको छ । पोखरीयास्थित उक्त संस्थामा आबद्ध रहेका ग्राहक सदस्यहरु मध्ये दलित तथा विपन्न परिवारका ३९ जना सदस्यहरुलाई एक एक थान न्यानो कपडा कम्बल वितरण गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष प्रमोद कुमार यादव, सोही वडाको वडा सदस्य श्रीमती रिता देवी अकाश एफ.एम.को संचालक धर्मेन्द्र चौरसिया, समाजसेवी, बुद्धिजिवी, विभिन्न पार्टी प्रतिनिधि, पत्राकारहरु, कर्मचारीहरु, सदस्य तथा अभिभावकहरु गरी करिब ८० जनाको उपस्थिती रहेको थियो ।

नाडाद्वारा ट्राफिकलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौं । नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा १३ सदसिय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख  ढकालसंगकाे छलफलपछि मोटरसाइकल प्रदान गरेको हो । उक्त भेटघाटमा राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणका बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख  ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरेका छन् । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए । सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्दै सडकको अवस्था र राजधानीमाका पुल सक्दो चाँडो निर्माणगरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गरेका छन् । छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गरेका छन् । छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गर्दै सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राखेका छन् । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो।

त्रिभुवन विमानस्थलः यात्रुकाे चापलाई व्यवस्थापन गर्न पार्किङ क्षमता बढाइँदै

काठमाडौं । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक ५ सय हाराहारीमा जहाजको ओहर दोहर हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताए । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताएका छन् । विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिए । उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् । महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उनको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तरराष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८ सय ४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७ सय ५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ । विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्न सकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तरराष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ । विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ । रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । “अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ”, उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

सरकारले भूमि बैंक खोल्दै, जग्गा नभएकाहरुले पनि खेतियोग्य जमिन पाउने

काठमाडौं । सरकारले उत्पादन वृद्धि गर्न भूमि बैंक खोल्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सरकार भूमि बैंक खोल्ने प्रयासमा रहेकाे बताएका हुन् । ‘सरकार भूमि बैंक खोल्ने तयारीमा लागेको छ, भूमि बैंकको स्थापना पछि खेतियोग्य जमिन बाँझो रहँदैन, आफुले उपयोग गर्न नसक्ने जग्गा धनीले भूमी बैंकमा लगेर राख्न र जग्गा नहुने तर कृषि उत्पादन गर्न चाहानेहरुले पनि भूमि बैंकबाटै जग्गा प्राप्त गरी उत्पादन गर्न सक्ने छन् ।’ अर्थमन्त्रीले भने । सरकारले तोकेको मूल्य भूमि बैंकमा बाँझो जग्गा राख्नेले पाउने छ भने उत्पादन गर्न चाहानेले पनि सरकारले तोकेको मूल्यमा जग्गा प्रयोग गरी उत्पादन गर्न पाउने छन् । सरकारले कृषिमा आत्मनिर्भर गराउन, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराएर बाँझो खेती योग्य जग्गालाई प्रयोगमा ल्याउन लागेको हो । कृषकलाई बैंकिङ ऋण, बीमा र बजार मूल्यसम्बन्धी जोखिम बहन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र उत्पादित वस्तु बिक्री-वितरणमा सजिलो हुने पनि उनले बताए । ‘समावेशीभन्दा अलि माथि उठ्ने गर्नु पर्यो, हामी समावेशी विकासमा नै छौ, लैंगिक विभेद पनि छ, हाम्रो जातजातीबीचमा पनि कमाईमा फरक छ, सम्पत्तिको असमान वितरणले पनि समाज भएको प्रभावलाई सरकारले  हेर्नु पर्नेछ, यो अवस्थामा भूमि बैंक खोल्न उचित हुन्छ ।’ उनले भने । खानी भएको देशमा पनि समान र समावेशी विकास भएको छैन । आर्थिक वृद्धिमात्रै भएको छ । सबै स्रोतको प्रयोग गर्दा मात्रै समावेशी विकास हुने उनको भनाइ छ ।  सम्पूर्ण उत्पादन क्षेत्रमा सरकारले हेर्न नसकेको उनले बताए । भूमि र पुँजीको समानुपातिक वितरण गर्ने कुरामा सरको काम गरी रहेको उनको भनाइ छ । जग्गा धनीलाई जमिन बाँझो नराख्न र खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति ल्याउने उनकाे भनाइ छ । विभिन्न स्थानिय सरकारले पनि भूमि बैंक कार्यक्रम अगाडि सारेका छन् ।  नेपालको २७ प्रतिशत जमिन कृषियोग्य भए पनि भूमि बैंकको अभावका कारण कार्यान्वयनमा कठिनाइ रहेको छ । विसं २०६८ को जनगणना अनुसार देशको ७४ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर भए पनि ५३ प्रतिशत नागरिकसँग आधा हेक्टरभन्दा थोरै जमिन छ । हाल देशमा धेरै जमिन बाँझो छ । सरकारको यो प्रयासले पनि धेरै जमिन उपयोग विश्वास छ । भू-उपयोग नीतिअनुसार सरकारले याे कार्यक्रम अगाडि बढाउने भएकाे हाे ।

नारायणगढ–बुटवल सडक विस्तारकाे काम तीव्र

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उनले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिँदै भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको उनले बताए । रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताएका छन् । उनका अनुसार प्रतिटिपर रु ५ सय २५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए । माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको जानकारी दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएकाले सम्झौतालाई प्रभाव पार्ने गरी माटो खन्ने काम भएमा ठेक्का रद्द गरेर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको पौडेलले बताए । सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ । रासस

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त शर्माले सोमबार(पुस २१ गते) नै बैंकको सञ्चालक समितिको ५२६औं बैठकबाट पदबहाली गरेकी छिन् । उनी निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् ।

प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले फरार अभियुक्त आफैँ अदालतमा हाजिर

निजगढ । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन् । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा प्रहरीले फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो देखाएपछि विगत लामो समयदेखि फरार रहेका पनि केही पक्राउ परेका छन् भने केही अदालतमा आफैँ हाजिर हुन पुगेका छन् । अदालतले कसुरबमोजिम कारागार पठाउने र जरिवाना असुली गर्ने गरेको छ । गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी आफैँ आएर अदालतमा हाजिर हुने गरेका जिल्ला अदालत बाराले जनाएको छ । प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले पनि उनीहरु आफैँ अदालतमा आउने र कैद सजाय तथा जरिवाना भुक्तान गर्ने गरेका आएका अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए । गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी हरेक दिन पाँच/सातजना आफैँ अदालत आउने गरेका ज्ञवालीले जानकारी दिए । प्रहरीले विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनैतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरी अदालत ल्याउन थालेपछि अरू त्यस्ता व्यक्तिसमेत आफैँ अदालत आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइरहेका स्रेस्तेदार ज्ञवालीले बताएका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले तीन महिनाको अवधिमा करिब १ सय ५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ भने प्रहरीले पक्राउ गर्ने डरले कतिपय मानिस आफैँ अदालतमा आएर निवेदन दिने तथा हाजिर गर्ने गरेका अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक परिवर्तन भएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी उपरीक्षक सानुराम भट्टराईको सरुवा भएपछि प्रहरी उपरीक्षक विकासराज खनाल प्रमुख भएर आएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरीतस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका हुन् । रासस