विकासन्युज

खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै

काठमाडाैं । वैदेशिक रोजगारका लागि दैनिक हजारको संख्या नेपाली युवा जनशक्ति बाहिरिने गर्छ । विदेशमा काम गर्ने युवाले कमाएर नेपाल पठाएको रकमले नै नेपाली अर्थतन्त्रलाई थेगेको अवस्था छ । स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भन्दै सरकारले वार्षिक ठूलो परिमाणको रकम खर्च गर्ने गरेपनि यसले अपेक्षित उपलब्धी प्राप्त गर्न सकेको छैन । रोजगारीको खोजीमा लाखौं युवा जनशक्ति विदेशिनु पर्ने बाध्यता छ । सरकारले देशमा वार्षिक ५ लाख युवालाई रोजगारी दिने लक्ष्य राखेको छ । अहिले संचालनमा रहेको १५औं आवधिक योजनाले पनि वार्षिक ५ लाख जनशक्ति श्रम बजारमा आउने र त्यसलाई रोजगारी प्रदान गर्नु चुनौति रहेको उल्लेख गरेको छ । वार्षिक ५ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि त्यसमा सरकार आफैले आपूर्ति गर्न सक्ने रोजगारीको संख्या निकै कम हुन्छ । आवश्यक रोजगारी प्रदान गर्ने कार्यमा निजी क्षेत्रको भूमिका नै सर्वाेपरी हुने गरेको छ । वार्षिक ५ लाख नेपाली विदेशिदै बैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ६२ हजार २३ जना बैदेशिक रोजगारीको लागि विदेश गएका थिए । यस्तै २ लाख ५८ हजार ६ सय ३ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । यी दुबै तथ्यांक जोड्दा सो आर्थिक वर्ष ६ लाख २० हजार ६ सय २६ नेपाली विदेश गएका थिए । यस्तै, गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए । सो आर्थिक वर्ष २ लाख ४३ हजार ८ सय ६८ जना विदेशमा रोजगारी खोज्दै विदेशिएका थिए भने २ लाख ७२ हजार ६ सय १८ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । सो वर्ष ५ लाख १६ हजार ४ सय ८६ नेपाली विदेशमा रोजगारी खोज्दै गए । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा पनि ठूलो संख्यामा नेपाली विदेश गएका छन् । विभागका अनुसार सो अवधिमा ७९ हजार ६ सय ८० जना नेपाली रोजगारी खोज्दै विदेश गए । यस्तै ८० हजार ८ सय ९१ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । विदेश जाने ७५ प्रतिशत कामदार अदक्ष वैदेशिक रोजगारमा ७५ प्रतिशत अदक्ष नेपाली युवा जाने गरेको श्रम मन्त्रालयको एक प्रतिवेदनमा उल्लेख छ । जम्मा २ प्रतिशत दक्ष नेपाली श्रमिक वैदेशिक रोजगारका लागि बाहिरिने गर्छन् । २३ प्रतिशत अर्धदक्ष श्रमिक वैदेशिक रोजगारका लागि जाने गरेको मन्त्रालयको तथ्यांकमा समावेश छ । रेमिटान्सले थेगेको अर्थतन्त्र आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा थियो । गत आर्थिक वर्ष १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा थियो । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा छ । व्यापार घाटाको अवस्था कहालिलाग्दो रहेपनि विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिटान्सको कारण नेपाली अर्थतन्त्रको जग हल्लिन पाएको छैन । अर्थात रेमिटान्सले नै नेपाली अर्थतन्त्रको जग थेगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । यस्तै, गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा नै ३ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ रेमिटान्स नेपाल आएको छ । व्यापार घाटाको कारण समस्या पर्न सक्ने नेपाली अर्थतन्त्रलाई रेमिटान्सले बचाएको तथ्यांकले देखाउँछ । तर कम छैनन् सास्ती नेपाली अर्थतन्त्रको जग थेग्ने रेमिटान्सको आधार बनेको बैदेशिक रोजगारीमा समस्याको चाङ छ । विदेश जानेक्रममा नै ठगिने, गन्तव्य देशमा भनेको काम नपाइने, त्यहाँ पनि अनेकन समस्या भोग्नुपर्ने जस्ता वाध्यता रहेका छन् । श्रमिकको सहजतालाई मध्यनजर गर्दै पछिल्लो समय वैदेशिक रोजगार विभागले नयाँ ई–टोकन तथा ई–स्टीकर सेवा प्रदान गरेको छ । यस्तो व्यवस्थाले केही हदसम्म राहत भने दिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक दुई जनाको मृत्यु हुने गरेको बैदेशिक रोजगार वोर्डको तथ्यांक छ । पछिल्लो समय वैदेशिक रोजगारमा गएर त्यहाँको नियम कानुन नबुझ्दा कयौं नेपाली विदेशको जेलमा छन् । रोजगारका लागि विदेश गएकामध्ये ८ हजार नेपालीले दुर्घटना तथा विरामी भएको कारण ज्यान गुमाउनु परेको छ । यस्तै, २३ जना नेपाली विभिन्न देशमा गम्भीर स्वास्थ्य अवस्थाको कारण उपचाररत छन् ।

निर्यात वृद्धि गर्न ‘निर्यात केन्द्र’ खोलिँदै, अर्थमन्त्री भन्छन–‘वस्तु निर्यातमा कसैले घुस मागे मलाई सम्पर्क गर्नुस्’

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खडिवडाले वस्तु निर्यात वृद्धि गर्न निर्यात केन्द्र खोलिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसमा बोल्दै उनले लामो समयदेखि वस्तु व्यापार घाटा भएकोले निर्यात बढाउन निर्यात केन्द्र खोलिने बताएका हुन् । उनले कार्यक्रममा नियमित वस्तु व्यापार घाटा आफ्नो टाउको दुखाईको विषय बनेकोसमेत बताए । ‘सरकारले व्यापार घाटा घटाउन र निर्यात घटाउन करको दायरा बढायो, नेपालको व्यापार घाटा कम गर्न सरकार काम गरि रहेको छ ।’ उनले भने । आयातित वस्तु भएपनि २० प्रतिशत मूल्य वृद्धि हुने वस्तु सरकारले आयात गरेर निर्यात गर्न दिरहेको उनकाे भनाइ छ । सानाे बजार भएको वस्तुको उत्पादन वृद्धि गरेर मात्रै नेपालको व्यापार घाटा घटाउन नसकिने उनकाे भनाइ छ। त्यसैले विश्व बजारमा धेरै माग भएको वस्तु उत्पादन जोडमा उनले धारणा राखे । ‘वस्तु निर्यातमा कसैले घुस माग्यो भने भन्नुस, हामी कार्वाही गर्छौ, उद्याेग स्थापना गर्न कानुनको सहज बनाइँदै छ । उनले भने । नेपाल चेम्बर अफ कमर्सकमा अध्यक्ष राजेश काजी श्रेष्ठले निर्यात दिवस कार्यक्रममा मात्र सिमित भएकाे गुनासाे गरे । उनले वस्तु निर्यातमा केही परिवर्तन नभएकाे बताए । । नेपालबाट विदेश निर्यात गर्दा सहज र सरल बनाउनु पर्ने उनकाे भनाइ छ । कार्यक्रममा उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयालले निर्यात व्यापार घाटा कम देखिए पनि नेपाली बजार व्यापार घाटामा नै रहेकाे बताए । अब व्यापार घाटा कम गर्न विस्तृत छलफल गर्नु पर्ने उनकाे धारणा छ ।

एनआरएनलाई एभरेष्ट बैंकको बचत खातामा विशेष सुविधा, क्रेडिट कार्डमा ५०% छुटसहित कर्जामा उच्च प्रतिफल

काठमाडौं । एभरेष्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिने भएको छ । बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउने उद्देश्यले बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ । बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको हो । एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको छ । बैंकले एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई-स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ । हाल बैंकले ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

ढुंगानाकाे नियुक्तीसँगै लगानीकर्तामा उत्साह, भन्छन्-‘अब पुँजी बजारले राम्रै फड्को मार्छ’

काठमाडाैं । नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन् । शेयर बजारसँग विज्ञ व्यक्ति बाेर्डकाे अध्यक्षमा नियुक्त भएकाे भन्दै लगानीकर्ता  र शेयरबजारसँग सम्बन्धित जानकारहरू उत्साहित भएका हुन् । बोर्डका नवनियुक्त अध्यक्ष  ढुंगानालाई लगानीकर्ताले मात्र हाेइनन् मंगलबारकाे शेयर बजारले  समेत स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेर अनुभव बटुलेका ढुंगानाकाे कार्यकाैशल र जिम्मेवारी बहन गर्ने क्षमता कतिकाे छ भनेर हामीले शेयर बजारसँग सम्बन्धित निकायका प्रतिनिधीहरूसँग बुझ्ने प्रयास गरेका छाैं । के भन्छन् उनीहरू ? भरत रानाभाट-अध्यक्ष, ब्रोकर एसोसियशन ‘नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर आएको राम्रो अनुभवका अनुसार रेगुलेटरको हिसावले पूँजी बजार राम्रो होला जस्तो लाग्छ । नेप्सेमा सूचीकृत कम्पनी भनेको बैंक तथा वित्तीय संस्था नै धेरै छन् । जुनचाहिँ नवनियुक्त अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा हुँदा रेगुलेटरको हिसावले रेगुलेशन गरेका कम्पनीहरु भए । त्यस्तै, मोनिटरी पोलिसीले मार्केटलाई जसरी असर गर्थ्यो उहाँले राष्ट्र बैंकमा बस्दा त्यो सबै भोगेको हिसावले उहाँ मार्केटप्रति नजिकबाट हेरेको बुझेको मान्छेको रुपमा चिनिनु हुन्छ । साथै, उहाँको नेचरवाइज हेर्दा उहाँले सबै पक्षलाई व्यवस्थित ढंगले लैजानु हुन्छ भन्ने आशा छ ।’ राधा पोखरेल- अध्यक्ष,नेपाल पूँजी बजार लगानीकर्ता संघ ‘पुँजी बजारको नियामक निकाय, धितोपत्र बोर्डले धेरै समयपछि अध्यक्ष पाएको छ । जो शेयर बजारका विज्ञ हुनुहुन्छ । साथै, उहाँलाई धेरै जनाबाट छनोट गरेर ल्याइएको हुँदा बजारले राम्रो गति लिने आशाका साथ हामी स्वागत नै गर्छौं । पुँजी बजारको कुरा गर्नु पर्दा बजारमा यति धेरै समस्याहरु देखिएका छन् कि महत्वपूर्ण कामहरु कार्यान्वयन गर्नमा समेत ढिला सुस्ती भएको छ । जस्ताे पुँजीगत लाभकाे गणना जस्तो भारित औसतको कुरा जुन बोर्डले नै गर्नुपर्ने थियो, तर अहिलेसम्म पेन्डिङमै छ । केही ल्याउनु पर्दा रातारात नै ल्याइन्छ तर त्यसलाई कार्यान्वयन गर्न नियामक निकायले हप्तौं, महिनौं, वर्षौं लगाएको पाइन्छ । त्यसैले, अहिलेको नवनियुक्त अध्यक्षले बजारका समस्यालाई प्राथमिकतामा राखेर लगानीकर्ताको समस्याहरु एकदम सूक्ष्म रुपले अध्ययन गरेर छिटोभन्दा छिटो समाधान गर्नुहुन्छ भन्ने आशा छ । साथै, लगानीकर्तालाई पेनिक नबनाई उनीहरुको चराईरहेको घाउमा मलम पट्टी लगाउनु हुन्छ भन्ने धेरै आशा छ ।’ चन्द्र सिंह साउद- प्रमुख कार्यकारी अधिकृत,नेप्से ‘नेप्सेका पूर्व सञ्चालक अर्थात बोर्डका नयाँ अध्यक्ष ढुंगानालाई स्वागतका साथै नयाँ कार्यकालको लागि शुभकामना छ । धेरै पहिलेदेखि पुँजी बजार बुझ्नु भएको उहाँसँग राष्ट्र बैंकको विभिन्न विभागमा बसेर काम गरेको राम्रो अनुभव छ । त्यसैले उहाँको कार्यकालमा पुँजी बजारले राम्रै फड्को मार्ने खालका नीति नियम तथा लगानीकर्ताको चाहना अनुसारको नीतिगत सुधार हुन्छ भन्ने आशा छ ।’ मुराहरी पराजुली-  प्रवक्ता, नेप्से ‘बाेर्डमा नयाँ अध्यक्ष जो आउनु भएको छ, उहाँ शेयर बजारको विज्ञ हुनुहुन्छ । जसले गर्दा बजार विकासको हिसावले राम्रो हुनेछ । संस्थाको हिसावले हेर्दा उहाँ यस संस्थामा बसेर काम गर्नु भएकाले सेबोन र नेप्सेको सम्बन्धको बारेमा राम्रो जानकार हुनुहुन्छ । त्यसैले उहाँको कार्यकालमा काम गर्न हामीलाई धेरै सजिलो हुन्छ भन्ने आशा छ । सुझावको बारेमा भन्नु पर्दा धेरै जसो पुँजीबजारका कुराहरु निष्पक्ष छन् त्यसैले यो क्षेत्रमा गर्नु पर्ने कामहरुमा उहाँको साथ, सर्पोट तथा सहयोग पाइन्छ भन्ने आशा गरेका छौं ।’

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो अडियो नोटिस बोर्ड सहितको सेवा केन्द्र

काठमाडौं । माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधरित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । गाह्रकले बैंकको विभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् । बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसंग सम्बन्धित सूचना आदान-प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ । बैंकले हाल १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

घरेलु लघुवित्तको अध्यक्षमा आङ देण्डी शेर्पा, आजै शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा आङ देण्डी शेर्पा चयन भएका छन् । संस्थाको १५औं सञ्चालक समितिको बैठकले शेर्पालाई सर्वसम्वत रुपमा अध्यक्षपदमा चयन गरेका हुन् । नवनियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका का.मु. निर्देशक विरेन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेश कुमार जोशि साथ संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीको उपस्थित थियो । यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोडभन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

केही वर्षअघि करोडमा नाफा देखाउने कम्पनीहरु अहिले अर्बाैं कमाउँछन्- परशुराम कुँवर क्षेत्री

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर छ भने साना र नयाँ बैंकलाई प्रतिस्पर्धामा टिक्न सकिदैन कि भन्ने डर छ । ग्लोबल आईएमई बैंकलाई पनि आफ्नै किसिमका चुनौति छन् । पुँजी र बिजनेशमा मात्र ठूलो भएर पुगेन, सेयरधनीलाई दिने लाभांश र सरकारलाई तिर्ने करमा पनि सबैभन्दा ठूलो बन्नु अबको चुनौति हो । मर्जपछिको व्यवस्थापन अर्को ठूलो चुनौति हो । प्रस्तुत छ मर्जपछि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका परशुराम कुँवर क्षेत्रीसँग  यिनै विषयको पेरीफेरीमा केन्द्रित भई विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पाैडेलले गरेकाे विकास वहस । तपाई मर्जरको पक्षमा खुलेर लाग्नुभएको थियो र सफलता पनि मिलेको छ । ठूलो बैंक हुँदाको मजा कत्तिको हुँदोरहेछ ? ग्लोबल आईएमई बैंक ठूलो मात्र भएन, बलियो पनि भएको छ । यस अर्थमा हामी धेरै खुशी छौं । ठूलो र बलियो बैंक भईसकेपछि बजारले, स्टेकहोल्डरहरुले धेरै अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नु अब हाम्रो चुनौति हो । आजको ग्लोबल आईएमई बैंक तीन वटा वाणिज्य बैंकसहित १८ वटा बैंक तथा फाइनान्सको संगम भएको छ । यहाँ काम गर्ने कर्मचारीको लागि, उच्च व्यवस्थापन तहमा काम गर्नेको लागि, सञ्चालक समितिको लागि मर्ज भनेको सामान्य विषय भईसक्यो । हामीलाई बानी परिसकेको छ । त्यसैले हामीले मर्जको समझदारी गरेको ५ महिनामा मर्जको सबै काम सम्पन्न गरेका छौं । मर्जरको क्रममा बाहिर देखिने सबै काम पूरा भए । भित्रको व्यवस्थापकीय काम कति बाँकी छन् ? पोष्ट मर्जरको इस्यू पनि धेरै छैनन् । ठूलो बैंक भईसकेपछि सोही अनुसार व्यवस्थापन गर्न केही नयाँ नीति बनाउनुपर्छ । त्यसतर्फ हामीले काम गरेका छौं । संस्थामा रि–इन्जिनियरिङ गरेर सेवालाई थप प्रभावकारी बनाउन नयाँ विभाग नै खडा गरेर काम गरेका छौं । डिजिटाइजेशन डिपार्टमेन्ट खोलेर यसतर्फ सेवालाई प्रभावकारी बनाउँदै छौं । मर्जपछि २९ वटा शाखा मर्ज नै गरिसक्यौं । अब मर्ज भएका शाखाको सट्टा नयाँ शाखा खोल्छौं । मर्जको कारण देखाउँदै उपभोक्ताले कुनै सेवा नपाउने अवस्था छ कि छैन ? पटक्कै छैन । सुधार गर्नुपर्ने ठाउँ होला । साविकको जनता बैंकका कर्मचारीलाई फिनाकल सफ्टवेयर चलाउन मर्ज पूर्व नै सिकायौं । मर्जपछिको सेवा सञ्चालन सहज होस् भनेर हामीले तालिम मात्र दिएनौं, ५० पेज लामो सरुवाको सर्कुलर जारी गर्यौं । जहाँ साढे ४ सय कर्मचारी सरुवा भएका थिए । दुबै बैंकका कर्मचारी आपसमा सट्टापट्टा गराएर मर्जपछि प्रयोग हुने फिनाकल सफ्टवेयर चलाउन सिकायौं । अहिले हामी फेरी फिनाकल सफ्टवेयरलाई पुनः अपग्रेड गर्ने तयारीमा छौं । मर्जपछि ग्लोबल आईएमई बैंकका अगाडि अवसरहरु के के छन्, जुन अरु बैंकले पाउँदैनन् ? पहिला त हामी ठूलो लगानी गर्न सक्ने भएका छौं । कर्जा लगानी मात्र होइन, राम्रो प्रविधि भित्र्याउन आवश्यक लगानी गर्न सक्छौं । दोस्रो, म तपाईसँग मेरो अनुभव सुनाउन चाहान्छु । म जनता बैंकमा छँदा हामीले सीडीसी लगायत विदेशी संस्थासँग ऋण लिने धेरै प्रयास गर्यौं । त्यो सफल भएन । अहिले हामी विदेशी संस्थासँग ऋण लिन सक्ने भएका छौं । ग्लोबल आईएमई बैंकले त मर्जपूर्व नै आईएफसीसँग २ करोड अमेरिकी डलर ऋण लिईसकेको छ । अहिले हामीले अरु संस्थासँग पनि ऋण लिन कुरा गरिरहेका छौं र उनीहरु सकारात्मक देखिएका छन्, हामीलाई पत्याएका छन् । विश्व बजारमा हाम्रो विश्वसनीय बढेको छ । नेपाललाई विदेशी पुँजी आवश्यक छ । विदेशबाट ऋण लिएर नेपालमा लगानी वृद्धि गर्न हामीलाई अब सजिलो भएको छ । जसरी नेपाल सरकारबाट स्वीकृत लिएर आईएफसीले विदेशमा नेपाली रुपैयाँमा ऋणपत्र निष्काशन गर्दैछ, त्यसरी हामी पनि विदेशी बजारमा ऋणपत्र बेच्न सक्छौं । तेस्रो, हाम्रो शाखा सञ्जाल सबै जिल्लामा छ । करिब ३०० शाखा छन् । ब्रान्चलेश बैकिङ नेटवर्क पनि करिब ३०० छ । देशभित्र ६०० भन्दा बढी सम्पर्क सञ्जाल छ । हामी घर घरमा, परिवार परिवारमा जोडिएका छौं । हाम्रा ग्राहक नै २० लाख छन् । हामीले नयाँ प्रडक्ट ल्याउँदा त्यसको प्रभाव देशभर छिट्टै हुन्छ । दुई ठूला बैंक मर्ज भएका छन्, भोलि नै चमत्कार हुन्छ भनेर नसोचौं । तर दीर्घकालमा यसको असर पक्कै पनि राम्रो हुनेछ । ग्लोबल आईएमई बैंक अबको ५ वर्ष वा १० वर्षपछि कुन पोजिसनमा रहनेछ ? यो प्रश्न अलि काल्पिनक भयो । तैपनि भविष्यको योजना त हुन्छ नि ? पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले अहिले नै हामी सबैभन्दा ठूलो बैंक हौं । मर्ज पूर्व दुई बैंकले गरेको नाफा जोड्दा राष्ट्रिय वाणिज्य बैंकको भन्दा ३५ लाख रुपैयाँ कम हुन्छ । मलाई लाग्छ पुस मसान्तमा हामी सबैभन्दा बढी नाफा गर्ने बैंक हुनेछौं यद्यपी मैले नाफालाई सबै कुरा ठान्दिन । हामी ठूलो मात्र होइन, हरेक कोणबाट लिडिङ बैंक बन्नुपर्छ । सबैंको लागि बैंक भन्ने हाम्रो नारा नै हो । सबैको रोजाईमा पहिलो बैंक ग्लोबल आइएमई बनाउनुपर्छ । ग्राहकले बैंकिङ सेवा लिनुपर्दा पहिला ग्लोबल आईएमई बैंक संझिउन् । कर्मचारीले जागिर खान पहिला ग्लोबल आइएमई बैंक नै रोजुन् । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामक संस्थाले ग्लोबल आईएमई बैंक भन्ने वित्तिकै यो बैंकले राम्रो गर्छ, जे पायो त्यहि गर्दैन भनेर सोचुन् । ठूलो हुनु र असल हुनु फरक कुरा हो । हामी असल बैंक बन्ने छौं । ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो त भयो । अब सेयरधनीलाई पनि सबैभन्दा उच्चदरका लाभांश कहिले दिन्छ ? हामी यति नै लाभांश दिन्छौं भनेर भन्नु परिपक्व हुँदैन । हाम्रो प्रयास सबै स्टेकहोल्डरका एस्पेक्टेशनहरुलाई सकेसम्म मिट गर्दै जान्छौं । ग्लोबल आईएमईले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दियो । आगामी वर्ष यो दर स्थीर रहला वा बढ्ने सम्भावना छ ? कोशिस बढाउने नै हुन्छ । नाफा कति हुन्छ भन्ने विवरण हामी प्रत्येक त्रैमासमा प्रकाशित गर्दै जान्छौं । लाभांश कति दिने भन्ने निर्णय बोर्डबाट हुन्छ । त्यसभन्दा माथि नेपाल राष्ट्र बैंक छ । मेरो काम नाफा कमाउने हो । बैंक मर्ज हुनुपर्छ भन्नेहरुले गर्ने विभिन्न तर्क मध्ये एउटा हो ‘ठूलो बैंक भएपछि ठूलो कर्जा लगानी गर्न सक्छन् ।’ नेपालको औद्योगिकरणको अवस्था उत्साहजनक छैन । धेरै संख्यामा ठूला उद्योगहरु खुलेको देखिदैन । ठूलो बैंकले ठूलो कर्जा लगानी गर्न बजारमा ठूलो कर्जाको माग कस्तो छ ? यो आर्थिक वर्षमा कर्जाको माग कम भएको छ । मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् । अर्बौै नाफा गरेर सरकारलाई कर तिर्ने कम्पनीहरु आईरहेका छन् । केही वर्ष अघिसम्म करोड नाफा गरेर कर तिर्ने कम्पनी औलामा गन्न सकिन्थ्यो । अहिले अर्बौ नाफा गर्ने कम्पनीहरु खुलेका छन् । राजनीतिक समस्या समाधान भएका छन् । राजनीतिक दलहरुले पनि आर्थिक विकासका एजेण्डा उठाउन थालेका छन् । देखिएका समस्या समाधान हुने भएका छन् । मलाई लाग्छ अब इकोनोमीले टेकअफ लिँदैछ । एकातिर निरन्तर ६/७ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अर्कोतिर तपाई भन्दै हुनुहुन्छ कि ‘इकोनोमि बाउन्स व्याक हुन्छ, टेकअप लिँदैछ ।’ यसले अर्थतन्त्रको बारेमा अन्यौलता दर्शाउदैन ? अर्थतन्त्रमा तलमाथि भईरहेको हुन्छ, मुटुको चाल जस्तो । अर्थतन्त्रका विभिन्न क्षेत्र मध्ये कुनै क्षेत्र राम्रो हुन्छ भने कुनै क्षेत्र खराब हुन्छ । अहिले सिमेन्ट र छड उद्योगको अवस्था राम्रो छैन कि भन्ने कुरा आएको छ । बैंकहरुको नाफाको ग्रोथ नै पहिलो त्रैमासमा करिब ६ प्रतिशत मात्र रह्यो । यो भनेको नेपालको इतिहासमा ज्यादै कमजोर अवस्था हो । मेरो भनाई के हो यस्तो अवस्था धेरै समय रहँदैन । किनकी हाम्रो देशमा विकास निर्माणका काम धेरै हुन बाँकी छ । तपाईले भन्नुभयो कि हिजो करोड नाफा गर्ने कम्पनीहरु अहिले अरब नाफा गरिरहेका छन् । के नेपाली कम्पनीहरुको नाफा वृद्धि उच्चदरमा देखिएको हो ? आर्थिक पारदर्शीता अपनाउने, सरकारलाई कर तिर्ने मामिलामा पछिल्ला वर्षमा निजी कम्पनीहरु अगाडि बढेका हुन् ? मूल्य अभिवृद्धि कर ऐन लागू भएपछि नै निजी क्षेत्रको वित्तीय पारदर्शीता बढेको छ । उनीहरुले तिर्ने कर पनि बढेको छ । सशस्त्र द्वन्द्वको बेलामा, राजनीति संक्रमण भएको बेलामा, दैनिक १२/१५ घण्टा लोडसेडिङ भएको बेलामा पनि सरकारी लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भयो, जबकी सरकारले पहिले नै निकै महत्वकांक्षी लक्ष्य राखेको हुन्थ्यो । पारदर्शितामा सुधार भएसँगै आर्थिक गतिविधिमा वृद्धि आएकोले नै सरकारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेको हो । तर कर कार्यालयमा बुझाएको आयव्यय हिसाव नै बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएपछि व्यवसायिक क्षेत्रबाट कर्जाको माग नै कम भयो भन्छन् नि बैंकर्सहरु ? के बैंकर्सहरुको तर्क गलत हुन् ? ठूला कम्पनीहरुमा यस्तो समस्या छैन । उनीहरुले लुकाएर लुक्दैन भन्ने बुझिसकेका छन् । स्वीजरल्याण्डमा लुकाएर राखेको सम्पत्तिबारे पनि सूचनाहरु चुहिएका छन् । उनीहरुलाई राज्यले प्रश्न त गर्छ । उता सम्पत्ति शुद्धिकरण विभागले सोध्छ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर । साना तथा मझ्यौला व्यवसायीमा भने यस्तो समस्या छ । यो समस्या पनि एक दुई वर्षमा हल हुन्छ । व्यक्तिगत रुपमा म आफै पनि भन्छु ट्याक्स छलुवालाई बैंकले पैसा दिनु हुन्न । मैले बैंकका साथीहरुलाई पनि भन्ने गरेको ट्याक्स छलुवालाई ऋण दिन हामी प्रतिस्पर्धा नगरौं । जसले कर तिर्छ, त्यो कम्पनी नाफामा हुन्छ । नाफामा रहेको व्यवसायलाई कर्जा दिँदा बैंकको लगानी पनि सुरक्षित हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझ्यौला कर्जा र व्यक्तिगत कर्जा लगानीमा जोड दिइरहेको बेलामा नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा (घर कर्जा, सवारी कर्जा, घरायसी कर्जा) लगानी गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको कर चुक्ता प्रमाणपत्रको आधारमा र मासिक किस्ता आयको ५० प्रतिशत बढी नहुने गरी मात्र कर्जा लगानी गर्न निर्देशन दिएको छ । बैंकर्सहरुले यो व्यवस्थाको विरोध गरिरहेका छन् । यसप्रति तपाईको धारणा के हो ? राष्ट्र बैंकको निर्देशन ठिक छ । यो पहिला नै आउनुपर्थ्याे अहिले आयो । तर यसमा केही अस्पष्टता छन् । त्यसलाई स्पष्ट पार्नुपर्छ । परिवारमा श्रीमान श्रीमती दुबैको आय छ भने त्यसलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ । कृषि आयमा आय कर छुट छ । कृषिमा आधारित आम्दानीबारे स्पष्ट हुने आधारहरु बन्नुपर्छ । रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन । कुनै ग्राहकले मेरो कृषि आम्दानी यति, रेमिट्यान्स आम्दानी यति छ भनेर ऋण माग गर्यो भने त्यसलाई बैंकले कसरी लिन्छ ? मैले यसअघि नै भने कि यस्ता विषयमा राष्ट्र बैंकले प्रष्ट पार्दै, बजारलाई सहजीकरण गर्दै जानुपर्छ । विगतमा बैंकहरुले कृषिमा आधारित आम्दानीलाई पत्याउदैन थिए, कर्जा प्रवाह गर्नको लागि त्यस्तो आम्दानीको स्रोतप्रति विश्वास गर्दैनन् थिए । अब पत्याउनु पर्ने दिन आएको हो ? पहिला पनि पत्याउथे, अब पनि पत्याउँछन् । तर वर्षमा १ लाख आम्दानी हुने आधार छैन, १० लाख कृषिबाट कमाई हुन्छ भन्दा पत्याउन सकिदैन । घर भाडा आयको केसमा पनि पत्याउनै गाह्रो हुने फाइल आउछन् । त्यस्तोलाई हामीले अस्वीकार गर्छौ । सानो कम्पनी, धेरै कारोबार पनि छैन, नाफा पनि छैन, तर लाखौं तलब खान्छ भनेर स्यालरी सर्टिफिकेट ल्याउँछन्, अब कसरी पत्याउने ? त्यो कागजको टुक्रालाई कसरी पत्याउने ? अब आयकरको प्रमाणपत्र भएपछि बैंकलाई त सजिलो हुन्छ । राष्ट्र बैंकको नयाँ सर्कुलरले बजारमा कस्तो असर पार्ला ? एक ढेड वर्षको लागि यसले केही समस्या पार्ला । त्यसपछि धेरै सजिलो हुन्छ । अब बैंक स्टेटमेन्टका आधारमा उसको आय हेर्न सकिन्छ । मेरो विचारमा अब ५० हजारभन्दा बढीको सबै कारोबार बैंकबाट मात्र गर्नुपर्छ । त्यस्तो भयो भने कृषिको आम्दानी, घर भाडा आम्दानी लगायत सबै आम्दानी पारदर्शी हुन्छ । त्यसका आधारमा बैंकले कर्जा दिन सजिलो हुन्छ । बैंकमा लगानी योग्य रकम बढेको र व्याजदर घट्न लागेको हो ? विगत १७ महिनामा बैंकहरुको सीडी रेसियो उच्चतम विन्दुमा पुग्दा ९१.४ प्रतिशत भएको रहेछ । यदि अहिले सीडी रेसियो त्यो विन्दुमा पुग्ने गरी लगानी गर्न हो भने थप ५४ अर्ब कर्जा लगानी गर्न सक्छन् । त्यसैले अहिलेको स्थीति सहज छ । बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन । अब विग टेष्ट मागको पहिलो सातामा हुन्छ । एनसेलले २२ अर्ब कर तिर्नुपर्छ । यस वर्षको अनुमानित आयकरको ४० प्रतिशत पुस मसान्तमा तिर्नुपर्छ । यस्तो कर गत वर्ष ८० अर्ब रुपैयाँ सरकारको खातामा गएको थियो । बैंकहरुको पनि नाफा कम छ । कर्पोरेट क्षेत्रको पनि नाफा कम छ । ८० अर्बको सट्टामा ६० अर्ब नै सरकारी खातामा गयो भने पनि बैंकमा तरलता टाइट हुन्छ । तर सरकारको विकास खर्च १० प्रतिशत मात्र भएको छ । अब सरकारले भटाभट खर्च गर्न थाले, ठेकदारहरुले पनि भुक्तानी पाए भने फेरी बजारमा पैसा आउँछ । पोहोर परार जस्तो तरलताको हाहाकार हुने सम्भावना छैन । बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन । राष्ट्र बैंकको नीति निर्देशनहरु बैंकको नाफा बढाउने सहयोग गर्ने खालको छैनन्, बरु घटाउने खालका छन् । बैंकको नाफा बढाउन व्यवस्थापन पक्षलाई बैंकका सञ्चालक तथा प्रवद्र्धकको निकै दवाव परेको बताइन्छ । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । यसले बैंकहरुलाई जोखिममा पार्दैन ? समग्रमा हेर्दा बैंकहरु जोखिममा छैनन् । खराव कर्जा पनि कम छ । संस्थागत सुशासन पनि राम्रो छ । बैंकभित्र गडबड गर्यौ भने तिमीहरु जेल जानुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले दिईरहेको छ । गडबड गर्नेहरु जेल पनि परेका छन् । हाम्रा छिमेकी देशमा एउटा बैंकका सञ्चालकले अर्को बैंकबाट कर्जा लिने र कर्जा नतिर्ने अभ्यास देखिन्छ तर नेपालमा त्यस्तो छैन । यहाँ कर्जा नतिर्नेलाई कालोसूचीमा राख्ने अभ्यास भएको छ । तर बैंकहरुमा नयाँ प्रकारको जोखिमहरु बढेको देखिन्छ । पहिला साना कर्जा हुन्थे । धितो प्रयाप्त हुन्थ्यो । कर्जा उठेन भने धितो बेचेर पनि बैंकले पैसा उठाउथ्यो । तर अहिले ठूलो परियोजनाहरुमा ठूलो कर्जा जान थाले । त्यसमा धितो प्रयाप्त हुँदैन । यस्ता परियोजनाहरु असफल भए भने बैंकको लगानी पनि जोखिममा पर्छ । यस्ता जोखिमबारे बैंकहरु सचेत हुनुपर्छ । अहिले भएको लगानीको जोखिम, निक्षेपको बजार, कर्जाको बजार, व्याजदर, नेपालको सबैभन्दा ठूलो बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभएकोमा बधाई छ । यो ठाउँमा आईपुग्न तपाईले मिहेनत कति गर्नु पर्याे, भाग्यले कति साथ दियो ? मिहेनत गर्नै पर्यो । गाउँको मान्छे, सामान्य किसानको छोरो, यो ठाउँमा आइपुग्न मिहेनत त गर्नै पर्यो । तर मिहेनत धेरैले गरेका हुन्छन् । मिहेनतले मात्र पनि पुग्दैन । मलाई भाग्यले पनि साथ दिएको छ । मिहेनत बलवान हो कि भाग्य ? म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिव २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो ।  जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विचारमा दुबै हो । दुई मध्ये एक छान्नुपर्यो भने कर्म नै छान्छु । भाग्य छ भन्दैमा ढोकामा दुध दोहेएर हुँदैन । कति वर्ष भयो बैंकिङ क्षेत्रमा लाग्नु भएको ? मैले बैकिङ शुरु गरेको सन् १९८६ जुनमा हो । ३४ वर्ष भयो । तपाईमाथि एउटा आरोप पनि छ । तपाई जुन जुन बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभयो, ती सबै बैंक विलय भएर गए । जस्तो बैंक अफ एशिया, ग्राण्ड वा जनता । यसबारे तपाईको भनाई के छ ? म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिब २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । यो बैंकमा कर्मचारीको हैसियतले पाएको सेयर मसँग छ । मर्ज भएर त्यो बैंकले सेयरधनीका लागि राम्रो प्रतिफल दिएको छ । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो । मर्जपछि यो बैंकको सेयरधनीलाई पनि फाइदा भएको छ । जनता बैंकका लगानीकर्ताले स्वेच्छाले ग्लोबल आईएमई बैंकमा मर्ज गरेका हुन् । जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विगतका अन्तरवार्ता पढ्नु भयो भने देख्नुहुन्छ, म बैंकमा हुँदा पनि, नहुँदा पनि, बैंकहरु मर्ज हुनुपर्छ भनेको छु । बैंकहरुबीचको मर्जले सबैलाई लाभ नै हुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले मलाई के चुनौति छ भने हामीले राम्रो गर्न सक्यौ भने बजारमा राम्रो सन्देश जान्छ । अरु बैंक पनि मर्जमा जान्छन् । मर्ज गरेर राम्रो भएन भने नराम्रो सन्देश जान्छ । यो विषयमा हामी गम्भिर छौं ।

महासचिवमा हामी जित्दैछौं: डा. दिपेन्द्र पाण्डे

काठमाडौं। नेपाल चिकित्सक संघको चुनावमा महासचिवमा स्वतन्त्र रुपमा उभिएका डा. दिपेन्द्र पाण्डेले आफुहरुले जित्ने पक्का बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा आफ्नो ऐजेण्डाहरु प्रस्तुत गर्दै डा. दिपेन्द्र पाण्डेले उक्त कुरा बताएका हुन् । डा‍. पाण्डेले नेपाल चिकित्सक संघको आगामी माघमा हुन लागेको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । डा. पाण्डे १० वर्ष देखि मेडिकल एक्टिभिस्टको रुपमा चिकित्सकहरुको हक अधिकारको लागि लड्दै आएका छन् । यस्तै उनी ३ वर्ष यता सरकारी चिकित्सक संघको नेतृत्व गर्दौ आएका छन् । उनी भन्छन्, ‘सरकारी र गैर सरकारी भन्नुपर्दा नि समग्रमा सबै चिकित्सकको ऐजेण्डालाई समग्रमा लिएर बढ्ने हो भने समस्याहरुको सुनुवाई र हल हने मैले बुझेको छु । ‘ डा. पाण्डेले उठाएका एजेण्डाहरु