विकासन्युज

नेप्से २८ अंकले बढेर उच्च बिन्दुमा, नेपाल लाइफसहित ६ वटा बीमा कम्पनीको बढी कारोबार

काठमाडौं । नेप्से परिसूचक एक सातामा २८ अंकले उकालो लागेको छ । गत माघ १० गते १२९७ अंकमा रहेको परिसूचक माघ १६ गतेसम्म बढेर १३२५ अंकमा पुगेको छ । जुन यस साताकै उच्च बिन्दु हो । गत साताभन्दा यो साता नेप्से परिसूचकमा सुधार देखिएको छ । साताको पहिलो दिन आईतबार नेप्से १२७६ अंकमा रहेको थियो । त्यसपछि निरन्तर उकालो नेप्से बुधबार सामान्य एक अंकले घटेको थियो । तर बिहीबारको बजारले सुधारको गति लिएको छ । सो दिन नेप्से परिसूचक १९.५१ अंकले बढेर १३२५.३८ अंकमा आईपुगेको छ । सातादिनमा परिसूचक उकालो लागेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा घटेको छ । चालु सातामा पाँच दिनको कारोबारमा कूल ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत साताको तुलनामा २ अर्ब रुपैयाँ घटी हो । पछिल्लो साता सेयर बजारमा ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, यस साता कारोबार संख्या पनि घटेको छ । गत साता ८६ हजार ४९० पटक कारोबार भएको थियो भने यस साता जम्मा ७२ हजार १८८ पटक सेयर कारोबार भएको छ । पाँच दिनको कारोबारमा सबैभन्दा बढी कारोबार गर्नेको टप टेन लिष्टमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको २१ करोड ६८ लाख, प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ९६ लाख, गुराँस लाइफ इन्स्योरेन्सको १७ करोड ६७ लाख, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड ९७ लाख र शिखर इन्स्योरेन्स कम्पनीको १६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक र प्रभु बैंक मात्रै बढी कारोबार गर्नेको टप टेन लिष्टमा परेका छन् । यी दुई बैंकको क्रमशः २९ करोड ४२ लाख र १७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लघुवित्त संस्थामध्ये डिप्रोक्स लघुवित्त र ग्रामिण विकास लघुवित्तको क्रमशः १६ करोड ८२ लाख र १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तो स्वरुपमा पुनरागमन हुने भयो विलासी हमर गाडीको

काठमाडौं । संसारभरका महंगा तथा विलासी गाडीका सौखिनहरुका लागि खुसीको खबरको छ । विश्वप्रसिद्ध हमर ब्राण्डको गाडीको पुनउत्पादन हुने भएको छ । पुरानो संस्करणको जस्तो इन्धनमा आधारित नभई हमर अब ब्याट्रीबाट चल्ने गाडीको रुपमा बजारमा आउने भएको छ । आर्थिक संकटको कारण देखाउँदै केही वर्ष अघि अमेरिकी कम्पनी जनरल मोटर्सले हमरका चारचक्के गाडीको उत्पादन बन्द गरेको थियो । केही समयअघि आफ्नो ब्राण्डको धेरैभन्दा धेरै राष्ट्रमा उपस्थिति जनाउने भन्दै नेपालमा पनि तीनवटा हमर जीप भित्रिएका थिए । ‘सन् २०२० लाई हाम्रो अतिअपेक्षित गाडी, सिएमजी हमर इभी ब्याट्री इलेक्ट्रिक ट्रकको राष्ट्रिय टिभीमा प्रशारण सहित सुरु गर्दैछाैं’, केही समयअघि आफ्नो आधिकारी वेभसाइटमा जनरल मोटर्सले उल्लेख गरेको छ । हिजो (बिहीबार) मात्रै ब्याट्रीबाट चल्ने नयाँ हमर पिकअप ट्रक यस वर्षको मे महिनामा आधिकारीक रुपमा सार्वजनिक हुने तर बिक्री भने सन् २०२१ सेप्टेम्बरबाट सुरु गर्ने कम्पनीले घोषणा गरेको छ । प्रसिद्ध बास्केटबल खेलाडी लिब्रन जेम्सको खेल खेल्ने खेलामा सो गाडीको ३० सेकेण्ड लामो कमर्सियलमा यसको केही भाग देखाइने जनाइएको छ । तथापि कम्पनीले गाडीको प्रारम्भिक टिजर भने आफ्नो वेबसाइटमा राखिसकेको छ । ‘शून्य उत्सर्जन र शून्य सिमितताका कारण हाम्रो पहिलो पूर्णत विधुतीय सिएमसी हमर इभीले नयाँ क्रान्तिको थालनी गर्नेछ,’ कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । कम्पनीका अनुसार यो गाडी एक हजार हर्जपावर क्षमताको हुनेछ, जुन जनरल मोटर्सको हालसम्मकै शक्तिशाली गाडी भएको कम्पनीले जनाएको छ । मात्र तीन सेकेण्डभित्र शून्यबाट ६० एमपीएचसम्म जान सक्ने यो पिकअपले ११५०० टर्क क्षमता उत्पादन गर्नेछ । ‘हाम्रो यो विद्युतीय ट्रकले हामीमाथि शंका गर्नेहरुलाई चकित पार्नेछ भने हाम्रा ग्राहकहरुलाई आनन्दित तुल्याउने छ’, कम्पनीले अगाडी आफ्नो वेबसाइटमा लेखेको छ । अघिल्लो संस्करणको जस्तै डिजाइन भए तापनि आउन लागेको हमर पिकअप पृथक देखिने बताइएको छ । तथापि, यस गाडीको मूल्य एवं एकपटकको चार्जपश्चात कति किमीको यात्रा तय गर्छ भन्नेबारे केही खुलाइएको छैन । कम्पनीले उसको अमेरिकास्थित डेट्रोइटस्थित प्लाण्टबाट नयाँ हमरको उत्पादन गर्नेछ, जुन प्लाण्टमा उसले २.२ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । सो प्लाण्टमा करिब २२ सय जना कर्मचारी कार्यरत रहनेछन् ।

चिठ्ठा प्रणालीले आकर्षक मानिएको जापानको वैदेशिक रोजगारी नै गुम्ने खतरा

काठमाडौं । नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । केही नीतिगत समस्याका कारण नेपाली कामदारलाई रोजगारीका लागि जापान जान समस्या भइरहेको छ । गत चैतमा जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदारलाई परीक्षा प्रणालीबाट सहजै जापान लैजान सक्ने सम्झौता भएपनि त्यसमा केही नीतिगत समस्याहरु देखा परेका हुन् । जापान सरकार र नेपाल सरकारबीच कामदार लैजान सक्ने समझदारी भएसँगै युवाहरुमा जापान जाने मनोवल बढ्यो । तर, जापान कसरी जाने ? कुन प्रक्रिया पुर्याए राेजगारीकाे लागि जापान जान पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएकाे छ । राेजगारीकाे लागि जापान जान आधारभूत भाषा परीक्षा (एनफाेर) गर्नै पर्ने हुन्छ । एनफाेर तहकाे भाषा परीक्षा पास गरेपछि लिइने शीप परीक्षणमा सफल हुनुपर्छ । तर, अहिले अभ्यासमा रहेकाे व्यवस्था अनुसार एनफाेर नगरेकाहरूले पनि चिठ्ठा भर्न पाइन्छ । यसरी चिठ्ठा भर्दा जापानी भाषा सम्बन्धी ज्ञान नभएकाहरू पनि सहभागी हुने र त्यस्तै व्यक्तिलाई चिठ्ठा पर्ने गरेका कारण जापानले दिएकाे राेजगारीकाे अवसर प्राप्त गर्नबाट नेपाली बन्चित भएका हुन् । चिठ्ठा भर्ने तर एनफोर नपढ्ने प्रवृति बढेसँगै सरकारले यसप्रति चासो देखाएको छ । अहिले सरकारले रोजगारीको आधार भाषा परीक्षा पास भएका विद्यार्थीले मात्र ‘लक्की ड्र’ (चिठ्ठा) भर्न पाउने प्रणालीको कुरा उठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव दिपक ढकालले बताए । एनफोर उत्र्तिण नगरेका युवाको बढ्दो आवेदनसँगै सक्षम युवाले अवसर नपाउने गरेको उनको भनाइ छ । जापान रोजगारको विषयमा सरकार गम्भीर भएको उनले बताए । ‘जापान सरकारले कतिपय रोजगारीको कार्यविधि गोप्य राख्ने गरेको छ, ती नीति तथा कार्यविधि प्रष्ट पार्नुभन्दा कतै रोजगारी त गुम्ने होइन भन्ने डर छ,’ उनले भने । सन् २०१९ मा कति युवा जापान गए भन्ने जानकारी मन्त्रालयसँग छैन । नर्सिङ केयरगिभरमा एक हजारका लागि चिठ्ठा खुलाएसँगै १३ हजारले आवेदन दिएका थिए । याे वर्ष करिब ८ हजार जनाले परीक्षा दिन पाउने मन्त्रालयले जनाएको छ । रेमिटान्सले अर्थतन्त्र धानेको नेपालमा सरकारले रोजगारीको राम्राे गन्तव्य मुलुक खोजिरहेकाे छ । व्यवसायिक रुपमा १ सय १० वटा देशमा वैदेशिक रोजगार खुल्ला गरेपनि सरकारको तर्फबाट ७ वटा मुलुकसँग कामदार पठाउने सम्बन्धी सम्झौता भएको छ । मलेसिया, कतार, साउदी, यूएई, कुवेत, बहराइन, ओमान हुन् जसले वैदेशिक रोजगारीको ६५ प्रतिशत हिस्सा ओगटेको छ । पाँच वर्षमा जापानले झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिट्को सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । जापानमा क्रमशः युवा उमेर समूहको संख्यामा कमी र वृद्धवृद्धाको संख्यामा वृद्धि हुँदै गएको छ । त्यसले गर्दा उनीहरूको रेखदेखका लागि पछिल्लो समय केयरगिभरको माग उच्च छ । जापानमा खासगरी चीन र भियतनामबाट केयरगिभरका लागि आवश्यक कामदार आपूर्ति बढी हुन्छ । ती मुलुकले क्रमशः कामदार पठाउन कम गरेपछि जापानले विकल्पमा नेपाली कामदार लैजाने इच्छा देखाएको हो ।

उपकार इँटा उद्योगका एक मजदूर मृत फेला

काभ्रेपलाञ्चाेक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए । सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए । मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले बताएका छन् । सदायले उद्योगमा मिस्त्रीको काम गर्दै अाएका थिए ।

विद्यार्थी हुनु त यस्तो पो !

काठमाडाैं । आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ रूपैयाँ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका-५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेका छन् । पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका-५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गरे । पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पुर्याएको योगदानको प्रशंसा गरे । पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताए । रासस

लप्सीफेदीको डाँडामा सुविधा सम्पन्न मैत्री सेवाश्रम

काठमाडौं । अग्लो डाँडा । सिरीरीरी.. हावा । वरीपरी घना जंगल । त्यही घना जंगलको बीचमा छ एउटा चिटिक्क परेको वस्ती । त्यो वस्तीका सबै घरका उस्तै संरचना । रंगरोगन पनि उस्तै। सायद त्यो ठाउँमा पुग्ने जोकोही पनि मोहीत हुँदा हुन् । पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३३ वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण। मानिसहरुले भन्ने गर्छन् नी–‘स्वर्गको आभास’ । हो, त्यस्तै महसुस हुन्छ त्यो ठाउँमा पनि । पहिलो पटक देख्नेहरुले सोच्दा हुन् यो कुनै विदेशी फाइभ स्टार होटल त होइन ? अहँ, भ्रममा नपर्नु । यो न कुनै फाइभ स्टार होटल हो नत कुनै विदेशी वस्ती नै । यो हो शंखरापुर नगरपालिका–४ मा जेपी प्रतिष्ठान द्वारा संञ्चालित मैत्रिसेवाश्रम हो। आश्रम २०७३ फागुनदेखि सञ्चालनमा छ। ज्येष्ठ नागरिकलाई शान्त र प्राकृतिकमैत्री वातावरणमा जीवनयापन गराउनका लागि आश्रम खोलिएको हो। जुन ठाउँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमश्रृंखला, प्राकृतिस्थल साँखु मेलम्ची राजमार्गको नजिकको दक्षिणमा पौराणिक एवं ऐतिहासिक साँखु सहर र प्रसिद्ध वज्रयोगिनीको मन्दिर, उत्तर लाङटाङ हिमाल मनोरम हिमशृंखला, गोसाइँकुण्ड र हेलम्बु, पूर्वमा पर्यटकीय नगरी नगरकोटक को लोभ लाग्दो र मनोरम दृश्य देख्न सकिन्छ । त्यही ठाउँमा रमाई रहेका देख्न सकिन्छन् ६० वर्ष पार गरी सकेका वृद्धवृद्धा । जेपी प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेर उनीहरु को स्याहार सुहार गरिरहेको छ । यसै प्रतिष्ठानका अध्यक्ष हुन् मित्रसेन दाहाल । उनै दाहालको अवधारणमा स्थापना भएको जेपी प्रतिष्ठान । भनिन्छ नी–जसको कोही छैन उसको भगवान हुन्छ । हो मित्रसेन पनि ती वृद्धवृद्धाका लागि भगवान बनेका छन् । दिनभरी आश्रमका वृद्धवृद्धाहरुलाई खुवाउँछन् । उनीहरु सँगै खेल्छन् । र, राती उनीहरु सँगै सुत्छन् । ‘जसको जिवन शुखद हुँदैन, शारीरिक रुपमा कमजोर हुन्छन्, घरमा पालन पोषन गर्ने मानिस पाउँदैनन्, उनीहरुलाई ल्याएर हामी आश्रममा यहाँ राख्छौं,’ दाहालले भने । निश्चित संख्यामा अशक्त, असाय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्यौउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्दै आएका उनको भनाइ छ । राष्ट्रलाई उल्लेखनिय योगदान गरेका व्यक्तिलाई पनि सरकारको सिफारिस अनुसार आश्रममा राख्ने गरेको उनले बताए । सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेको लागि ३५ सय लिइने गरेको प्रतिष्ठानले जनाएको छ। यसमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको दाहालले बताए। आश्रममा अहिले २५ जना ज्येष्ठ नागरिक छन्। मैत्रिसेवा आश्रमको प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ। प्रतिष्ठानले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ। ‘हामीलाई यहाँ बाहिरबाट धेरै खाद्यवस्तु किन्दैनौं, हामीले बरु यहाँ उत्पादन गरी बढी भएका खाद्य पदार्थ बिक्री गर्ने गरेका छौँ,’ दाहालले भने। विशुद्ध सामाजिक सद्भावबाट अभिप्रेरित भएर समाजका विभिन्न व्यक्तिहरूको सामूहिक प्रयास र संग्लनतामा २०५१ सालमा स्थापना भएको यस जेपी प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रतिष्ठानको विधानबमोजिम सदस्यता माग गर्ने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पुर्याफई विभिन्न किसिमका सदस्यता पनि प्रदान गर्दै आइरहेको छ। प्रतिष्ठानमा नेपाल सरकारको निजी साझेदारीबाट १० वटा घर बनेका छन् । नेपाली सेना कल्याणकारी कोषको सहयोगबाट १० वटा घर र प्रतिष्ठानको आफ्नै पहल र डोनसेनबाट १३ घर गरी जम्मा ३३ घर निर्माण भइसकेका छन् । यहाँ ज्येष्ठ नागरिकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्नमैत्रि सेवा आश्रम भएको दाहालको दाबी छ। ‘आश्रमसम्म पुग्नका लागि सडक पनि हामीले नै बनायौं, अहिले धेरै भौतिक पूर्वाधार निर्माण भइसकेका छन्, हाल सम्म २५ करोड रुपैयाँ लागत लागेको छ,’ दाहालले भने । जसले सुखमय जीवनयापन गर्न पाउँदेनन्, तिनीहरुलाई सुरक्षित र शुखमय जीवनयापनका लागि प्रतिष्ठान खालिएकाे उनले बताए । अहिले प्रतिष्ठानसँग ५ सय रोपनी जग्गा छ । त्यसमध्ये एक सय रोपनी मात्रै प्रतिष्ठानको नाममा भएको उनले बताए । प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पुर्या उने उद्देश्यले दीर्घकालीन कृषि योजना, सहयोग कार्यक्रम, ओखलढुंगाको साझेदारीमा जिल्लाको बेतिनी र सल्लेरी तथा बरुणेश्वरको विभिन्न वडाहरूमा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, जसले गर्दा यसबाट धेरै किसानहरू लाभान्वित भएका प्रतिष्ठानका अध्यक्ष दाहालले बताए। जो सँग सन्तान र सम्पत्ति छैन । उनीहरुलाई प्रतिष्ठानले आफूकहाँ राख्ने गरेको छ । आश्रममा सुविधा सम्पन्न अस्पताल पनि निर्माणाधीन छ । भारत सरकारको सहयोगमा एउटा एम्बुलेन्स पनि राखिएको छ । दाहाल आश्रमलाई अझैं विस्तार गर्ने सोचमा छन् । वृद्धवृद्धाहरु सँग रमाउन पाउँदा उनी खुशी छन् ।

मुख्यमन्त्री पौडेलले भनेः पाँच वर्षभित्र बागमती प्रदेशमा आमूल परिवर्तन हुन्छ

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताए । उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताएका छन् । शिक्षालय बेराजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुन नहुने भन्दै सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर रोजगार बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने गरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । भूकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा आगामी सयौँ वर्षका लागि हुनेगरी पुनःनिर्माणको कामसमेत गराएको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये मकवानपुरमा २५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको जानकारी दिए । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पले नष्ट भएका भौतिक संरचनाको दीर्घकालीन सोंचका साथ भएको पुनःनिर्माणले उत्साहित बनाएको बताए । उनले हामीले प्राप्त गरेको ठूलो उपलब्धिको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने उल्लेख गरे । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उनको भनाइ थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडिपरेको यस क्षेत्रले विकासको लय समातेको बताए ।

दुई माइक्रोफाइनान्सको ३१ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको छ । शुक्रबार समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।