काठमाडौं । अग्लो डाँडा । सिरीरीरी.. हावा । वरीपरी घना जंगल । त्यही घना जंगलको बीचमा छ एउटा चिटिक्क परेको वस्ती । त्यो वस्तीका सबै घरका उस्तै संरचना । रंगरोगन पनि उस्तै। सायद त्यो ठाउँमा पुग्ने जोकोही पनि मोहीत हुँदा हुन् ।
पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३३ वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण।
मानिसहरुले भन्ने गर्छन् नी–‘स्वर्गको आभास’ । हो, त्यस्तै महसुस हुन्छ त्यो ठाउँमा पनि । पहिलो पटक देख्नेहरुले सोच्दा हुन् यो कुनै विदेशी फाइभ स्टार होटल त होइन ?
अहँ, भ्रममा नपर्नु । यो न कुनै फाइभ स्टार होटल हो नत कुनै विदेशी वस्ती नै । यो हो शंखरापुर नगरपालिका–४ मा जेपी प्रतिष्ठान द्वारा संञ्चालित मैत्रिसेवाश्रम हो। आश्रम २०७३ फागुनदेखि सञ्चालनमा छ। ज्येष्ठ नागरिकलाई शान्त र प्राकृतिकमैत्री वातावरणमा जीवनयापन गराउनका लागि आश्रम खोलिएको हो।
जुन ठाउँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमश्रृंखला, प्राकृतिस्थल साँखु मेलम्ची राजमार्गको नजिकको दक्षिणमा पौराणिक एवं ऐतिहासिक साँखु सहर र प्रसिद्ध वज्रयोगिनीको मन्दिर, उत्तर लाङटाङ हिमाल मनोरम हिमशृंखला, गोसाइँकुण्ड र हेलम्बु, पूर्वमा पर्यटकीय नगरी नगरकोटक को लोभ लाग्दो र मनोरम दृश्य देख्न सकिन्छ ।
त्यही ठाउँमा रमाई रहेका देख्न सकिन्छन् ६० वर्ष पार गरी सकेका वृद्धवृद्धा । जेपी प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेर उनीहरु को स्याहार सुहार गरिरहेको छ ।
यसै प्रतिष्ठानका अध्यक्ष हुन् मित्रसेन दाहाल । उनै दाहालको अवधारणमा स्थापना भएको जेपी प्रतिष्ठान ।
भनिन्छ नी–जसको कोही छैन उसको भगवान हुन्छ । हो मित्रसेन पनि ती वृद्धवृद्धाका लागि भगवान बनेका छन् । दिनभरी आश्रमका वृद्धवृद्धाहरुलाई खुवाउँछन् । उनीहरु सँगै खेल्छन् । र, राती उनीहरु सँगै सुत्छन् ।
‘जसको जिवन शुखद हुँदैन, शारीरिक रुपमा कमजोर हुन्छन्, घरमा पालन पोषन गर्ने मानिस पाउँदैनन्, उनीहरुलाई ल्याएर हामी आश्रममा यहाँ राख्छौं,’ दाहालले भने ।
निश्चित संख्यामा अशक्त, असाय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्यौउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्दै आएका उनको भनाइ छ । राष्ट्रलाई उल्लेखनिय योगदान गरेका व्यक्तिलाई पनि सरकारको सिफारिस अनुसार आश्रममा राख्ने गरेको उनले बताए ।
सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेको लागि ३५ सय लिइने गरेको प्रतिष्ठानले जनाएको छ। यसमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको दाहालले बताए। आश्रममा
अहिले २५ जना ज्येष्ठ नागरिक छन्।
मैत्रिसेवा आश्रमको प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ। प्रतिष्ठानले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ।
‘हामीलाई यहाँ बाहिरबाट धेरै खाद्यवस्तु किन्दैनौं, हामीले बरु यहाँ उत्पादन गरी बढी भएका खाद्य पदार्थ बिक्री गर्ने गरेका छौँ,’ दाहालले भने।
विशुद्ध सामाजिक सद्भावबाट अभिप्रेरित भएर समाजका विभिन्न व्यक्तिहरूको सामूहिक प्रयास र संग्लनतामा २०५१ सालमा स्थापना भएको यस जेपी प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रतिष्ठानको विधानबमोजिम सदस्यता माग गर्ने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पुर्याफई विभिन्न किसिमका सदस्यता पनि प्रदान गर्दै आइरहेको छ।
प्रतिष्ठानमा नेपाल सरकारको निजी साझेदारीबाट १० वटा घर बनेका छन् । नेपाली सेना कल्याणकारी कोषको सहयोगबाट १० वटा घर र प्रतिष्ठानको आफ्नै पहल र डोनसेनबाट १३ घर गरी जम्मा ३३ घर निर्माण भइसकेका छन् ।
यहाँ ज्येष्ठ नागरिकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्नमैत्रि सेवा आश्रम भएको दाहालको दाबी छ।
‘आश्रमसम्म पुग्नका लागि सडक पनि हामीले नै बनायौं, अहिले धेरै भौतिक पूर्वाधार निर्माण भइसकेका छन्, हाल सम्म २५ करोड रुपैयाँ लागत लागेको छ,’ दाहालले भने ।
जसले सुखमय जीवनयापन गर्न पाउँदेनन्, तिनीहरुलाई सुरक्षित र शुखमय जीवनयापनका लागि प्रतिष्ठान खालिएकाे उनले बताए । अहिले प्रतिष्ठानसँग ५ सय रोपनी जग्गा छ । त्यसमध्ये एक सय रोपनी मात्रै प्रतिष्ठानको नाममा भएको उनले बताए ।
प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पुर्या उने उद्देश्यले दीर्घकालीन कृषि योजना, सहयोग कार्यक्रम, ओखलढुंगाको साझेदारीमा जिल्लाको बेतिनी र सल्लेरी तथा बरुणेश्वरको विभिन्न वडाहरूमा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, जसले गर्दा यसबाट धेरै किसानहरू लाभान्वित भएका प्रतिष्ठानका अध्यक्ष दाहालले बताए।
जो सँग सन्तान र सम्पत्ति छैन । उनीहरुलाई प्रतिष्ठानले आफूकहाँ राख्ने गरेको छ । आश्रममा सुविधा सम्पन्न अस्पताल पनि निर्माणाधीन छ । भारत सरकारको सहयोगमा एउटा एम्बुलेन्स पनि राखिएको छ । दाहाल आश्रमलाई अझैं विस्तार गर्ने सोचमा छन् । वृद्धवृद्धाहरु सँग रमाउन पाउँदा उनी खुशी छन् ।