ब्रिजस्टोनको पहिलो शोरुम काठमाडौंको ज्ञानेश्वरमा, टायरकाे सम्पूर्ण सेवा सुविधा पाइने
काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रालिले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम विस्तार गरेकाे छ । नेपालमै पहिलो पटक विस्तार गरिएको उक्त शोरुमको शुभारम्भ बुधबार(माघ १५ गते) बाट भएको हो । जहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् । केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका बिक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने योजना बनाएको छ । एटिसि प्रालि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनी हो । नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जालमार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ । ब्रिजस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमावर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्पनीका प्रबन्धक निर्देशक मनोज सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै उक्त शाेरूम खाेलिएकाे हाे । साथै, गाडी चालकहरुले गाडीको समग्र प्रफर्मेन्समा टायरको भुमिका र महत्व धरै हुने भएकाले यस बारे बुझ्न आवश्यक रहेको उनले बताए । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको टायर बिक्री तथा सेवाहरु एकै छाना मुनि उपलब्ध भएको सेवा केन्द्रबाट गाडीधनी तथा चालकहरुले सेवा सुविधा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
साना संस्थासँगको मर्जर हाम्रो रणनीति नै थियो, अब विदेशमा शाखा खोल्छौंः सुनिल केसी
नेदरल्याण्डसको स्थापित इन्भेष्टमेन्ट कम्पनी एफएमओको समेत लगानी रहेको एनएमबी बैंकले यो वर्ष सेयरधनीलाई ३५ प्रतिशत लाभांश दियो । यो वर्ष बैंकहरुले दिएको लाभांशमा एनएमबीको नै उच्च थियो । फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबी बैंक अहिले नेपालका सबैभन्दा राम्रा बैंकहरुमा गनिन्छ । एनएमबीले विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्जर गरेर आफ्नो उपस्थिति नेपालभर बनाएको छ । यस्तै, एनएमबी बैंकले नै सबैभन्दा पहिला नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ । एनएमबी बैंकको व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृतको रुपमा सुनिल केसीले संहालिरहेका छन् । नेपालको बैंकिङ क्षेत्रको अवस्था, एनएमबी बैंकको रणनीति, व्यवसायिक सफलताको कारण जस्ता विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीसँग विकासन्युजले गरेकाे कुराकानीः एनएमबी बैंकले यो वर्ष ३५ प्रतिशत लाभांश दिएको थियो, यो कसरी सम्भव भएको थियो ? बैंकका प्रमुख सरोकारवालामध्ये सेयरधनी पनि एक प्रमुख सरोकारवाला हुन् । सेयरधनीकै कारणले बैंक स्थापना भएको हुन्छ । त्यसैले बैंकप्रति उहाँहरुको साह्रै ठूलो योगदान हुन्छ र बैंकको उहाँहरुप्रति धेरै ठूलो दायित्व हुन्छ । हाम्रो बैंकको नीति नै स्थायित्व कायम हुने गरी सेयरधनीलाई प्रतिफल दिने भन्ने छ । यो बीचमा नयाँ कामहरु हामीले थुप्रै गर्यौं । जस्तो कि विदेशी साझेदार ल्याउँदा हामीले प्रिमियम मूल्यमा सेयर बेच्यौं । प्रिमियम मूल्यबाट प्राप्त भएको रकम पनि हामीसँग भयो । यस्तै विगत केही वर्षयता एनएमबी बैंकले राम्रै नाफा गरेको छ । तीन वर्षयता औसतमा २७ प्रतिशत जति लाभांश सेयरधनीलाई दिएका छौं । बजारमा कन्सोलिडेसन हुदै गर्दा, देशको आर्थिक विकासले गति लिइरहदा बैंकिङमा पनि हामीले थुप्रै अवसरहरु देखिरहेका छौं । त्यस्तो अवसर प्राप्त गर्न बैंकको व्यवसाय बृद्धि हुनुपर्छ । यसरी व्यवसाय बृद्धि गर्न बैंकको पुँजी पनि बढ्दै जानुपर्छ । राष्ट्रले तोकेअनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भए हुन्छ । हाम्रो बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ । हामीसँग भएको रिजर्भको रकमलाई बोनस सेयर दिएर चुक्ता पुँजीमा परिणत गरिरहेका छौं । यसले पनि लाभांश धेरै दिन सहयोग पुगेको छ । यी सेयरधनीलाई बढीभन्दा बढी लाभांश कसरी दिन सकिन्छ भन्ने हिसावले यस्ता सबै कामहरु योजनाबद्ध ढंगले गरेका कारण हामीलाई सजिलो भएको हो । बैंकले विगत ३ वर्षमा २७ प्रतिशतको औसतमा लाभांश दिएको कुरा गर्नुभयो, आगामी दिनहरुमा पनि यति नै प्रतिफल दिन सकिएला ? अलि चुनौतिपूर्ण नै छ । चुनौति किन छ भने पुँजी बृद्धि निकै छोटो समयमा नै भयो । छोटो अवधिमा नै २ अर्ब रुपैयाँबाट चुक्ता पुँजी बढाएर १४ अर्ब रुपैयाँ बनायौं । अरु बैंकको अवस्था पनि यस्तै हो । छोटो समयमा नै पुँजी धेरै बढेका कारण अबका दिनमा उच्च दरमा प्रतिफल दिन चुनौति छ भनेको हूँ । अर्काे कुरा पछिल्ला दिनहरुमा व्याज अन्तर (स्प्रेड) दरमा पनि कम गर्नुपर्ने भएको छ । यसले व्याजबाट प्राप्त हुने आम्दानी घट्छ । अरु प्रकारका कम्प्लायन्स खर्चहरु (एएमएल जस्ता) बढ्दै गएका छन् । त्यसैकारण उच्च दरमा लाभांश दिन अबका दिनहरुमा चुनौति देखिएको हो । तर, पनि बजारको प्रतिफल दरभन्दा उच्च दिने भन्ने हाम्रो प्रयास रहन्छ । यो भनेको बजारमा पाइने मुद्दति निक्षेपको व्याजदर वा अन्य दीर्घकालिन लगानीको प्रतिफलभन्दा बढी प्रतिफल दिने हाम्रो कोसिस छ । मुख्य कुरा भनेको पुँजी बृद्धिकै चरणमा भएको बेलामा र बजारमा व्यवसाय बृद्धिको राम्रो अवसर प्राप्त नभएको बेलामा प्रतिफलमा दबाब हुन्छ । त्यस्तो बेलामा रिटर्न अन इक्वीटी (आरओई) घटेर जान्छ । बैंकिङ क्षेत्रकै आरओई हेर्ने हो भने विगत ३ वर्षकोभन्दा अहिले कम भएर गएको छ । यसो भनेर तपाईले बैंकबाट प्राप्त हुने प्रतिफल केही घट्न सक्छ, त्यसका लागि मानसिक रुपमा तयार भएर बस्नुस् भन्ने सन्देश दिन खोज्नुभएको हो ? राम्रो गरेर धेरैभन्दा धेरै प्रतिफल दिने प्रयासमा हामी छदैछौं । राम्रो केही नयाँ गर्ने सोचमा हामी भइरहन्छौं, अहिले पनि छौं । तर, पनि अहिले पुँजी बढाएर एउटा तहमा पुर्याइसकेको अवस्थामा उच्च दरको प्रतिफलको अपेक्षा गर्नुभन्दा पनि स्थापित्व हुने प्रकारको प्रतिफलको अपेक्षा भयो भने अलि सजिलो हुन्थ्यो कि भन्ने कुरा हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा चलेको मर्जर तथा एक्वीजीसनमा एनएमबी बैंकले साना बैंक वित्तीय संस्थासँग मात्रै मर्जर तथा एक्वीजीसन गर्यो, यो तपाईहरुको रणनीति नै थियो कि ठूलो संस्थासँग कुरा नमिलेर यस्तो भएको हो ? प्रत्येक बैंकको आफ्नै खाले रणनीति हुन्छ । सन् २००८ मा फाइनान्सबाट हामी पनि बैंकमा स्तरोन्नति भएका थियौं । त्यो बेला ३÷वटा संस्थालाई नै स्तरोन्नति भएर बैंक बन्न राष्ट्र बैंकले दिएको थियो । हामीसँगै त्यो बेला स्तरोन्नति भएका बैंकहरु अहिले अस्तित्वमा छैनन् । एनएमबी बैंक भने व्यवसायिक रुपमा सफल हुदै प्रतिस्पर्धी बैंकको रुपमा अग्रणी बैंक भएर स्थापित भएको छ । तपाईंले जुन मर्जरको कुरा गर्नुभयो, आजभन्दा ३/४ वर्षअघि हामीले ३/४ वटा विकास बैंक र फाइनान्स कम्पनीलाई हामीमा मर्ज गर्यौं । तीन महिना अगाडि राष्ट्रियस्तरको एउटा विकास बैंकलाई मर्ज गर्यौं । यो मर्जर हामीले हाम्रो रणनीति अनुसार नै गरेका थियौं । जस्तो कि नेपाल संघीय संरचनामा गयो । देश संघीय संरचनामा गएपछि नेपालको आर्थिक गतिविधि पनि विकेन्द्रीकृत भएर जान्छ भन्ने हामीलाई लागेको थियो । त्यो बेलासम्म हामी काठमाडौं तथा अन्य प्रमुख शहरी क्षेत्रमा केन्द्रीत भएर व्यवसाय गरिरहेका थियौं । आर्थिक गतिविधिहरु विकेन्द्रीकृत हुँदा त्यस्तो क्षेत्रमा पनि हाम्रो उपस्थिति जरुरी छ भन्ने हामीलाई लागेको थियो । साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनु पर्छ भन्ने हामीलाई लागेको थियो । त्यस्ता उद्यम व्यवसाय नै बृद्धि भएर जाने हाम्रो विश्लेषण थियो । यस्तो अवस्थामा हामी आफैले शाखा विस्तार गर्नुभन्दा पनि हाम्रो उपस्थिति तुलनात्मक रुपमा कमजोर भएका स्थानमा रहेका बैंक वित्तीय संस्थासँगको मर्जरलाई हामीले प्राथमिकता दियौं । आर्थिक गतिविधि बढ्ने अनुमान गरिएका प्रदेश–१, प्रदेश–५ र प्रदेश–४ मा हाम्रो बलियो उपस्थिति चाहिन्छ भन्ने हामीलाई लागेको थियो । प्रदेश–३ मा हामी आफै थियौं । यही रणनीति अनुसार सो प्रदेशलाई कार्यक्षेत्र बनाएर वा त्यस्ता प्रदेशमा बलियो उपस्थिति भएका बैंक वित्तीय संस्थालाई हामीसँग मर्ज गरायौं । भौगोलिक हिसावले बजार पहुँच विस्तारका लागि हामीले मर्जर गरेका थियौं । हाम्रो बैंकको प्राथमिकताको क्षेत्र कृषि, उर्जा, पर्यटन जस्ता सरकारले उच्च प्राथमिकता दिएका क्षेत्र नै हुन् । सरकारको लगानी हुने र सरकारले विशेष ध्यान दिएको क्षेत्रमा हाम्रो पनि बलियो उपस्थिति चाहिन्छ भन्ने हामीलाई लागेको थियो । यस्तै, साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड चाहिन्छ भन्ने हाम्रो रणनीति थियो । यस्ता क्षेत्रमा राम्रो काम गरेका वा राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग हामीले मर्जर गर्यौं । त्यसैकारण हामीले विगतमा रणनीतिक रुपमा मर्जरलाई उपयोग गरेका थियौं । यसका लागि बिग मर्जर नै आवश्यक छ भन्ने भएन । हाम्रो आवश्यकता अनुसार हामीले रणनीति बनाएर कार्यान्वयन गर्दै गएका हौ । बैंक वित्तीय संस्थाहरुको पुँजी छोटो समयमा नै धेरै बढ्यो । यसको तुलनामा उद्योग प्रतिष्ठानहरुको विकास र स्थापनाको संख्या कम छ । यस्तो हुँदा बैंक ठूलो हुने तर व्यवसाय नपाउने भन्ने समस्या हुन सक्दैन ? बैंकिङ व्यवसाय आफैमा जोखिमपूर्ण व्यवसाय नै हो । तर, बैंकको पुँजी जुन अनुपातमा बढेको छ, त्यसको तुलनामा अन्य क्षेत्रको विकास वा आर्थिक गतिविधिमा बृद्धि भएको छैन । तर, हाम्रो बुझाई के हो भने देश संघीय प्रणालीमा गएपछि आर्थिक गतिविधि बढेका छन् । केही वर्ष अगाडिसम्म काठमाडौं सहित ३÷४ वटा प्रमुख शहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थ्यो । अहिले यस्तो गतिविधि देशभर फैलिएको छ । अझै फैलदैछ । विगत ३ वर्षदेखि देशको आर्थिक बृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि छ । यहाँ पनि बैंकले अवसर देखिरहेको हुन्छ । यही अवसर प्राप्त गर्न पनि बैंकको पुँजी बृद्धिले सहयोग गर्छ । अर्काे कुरा, नेपालमा अझै पनि बैंकिङ पहुँच बाहिरको जनसंख्या ठूलो छ । पहुँचमा भएकोमध्ये ठूलो संख्या अझै पनि ‘अण्डर सर्भ’मा छ । केही बैंकिङ गतिविधि अनौपचारिक माध्यमबाट पनि भएको देखिन्छ । बैंक आफैपनि व्यवसायको ढोका खोल्दै जानुपर्ने हुन्छ । त्यसका लागि आफैले केही इनोभेसन गर्ने र नयाँ तथा सम्भावना धेरै भएका क्षेत्रमा लगानी बृद्धि गर्ने हो । जस्तो कि हामीले उर्जा र पर्यटनमा बढी जोड दिइरहेका छौं । स्तरीय होटलको संख्या बढ्यो भने पर्यटकको बसाई लम्बिन्छ । यसले साना तथा मझौला उद्यम व्यवसायलाई सहयोग गर्छ । पर्यटकको बसाई लामो भएपछि साना साना क्याफे, बेकरी, पोल्टी जस्ता भ्यालु चेनमा संलग्न व्यवसाय बृद्धि हुन्छ । यस्तै, उर्जा क्षेत्रमा लगानी बढाएका छौं । उर्जाको उत्पादन बृद्धि भएपछि उद्योगहरुको उत्पादन क्षमता बढ्यो । प्रतिस्पर्धी क्षमता बृद्धि भयो । र, सँगै यसले नेपालमा प्रत्येक्ष विदेशी लगानी तथा नयाँ लगानी भित्र्याउन सहयोग पुग्यो । बैंकिङ क्षेत्रले यसरी हेर्नुपर्छ भन्ने लाग्छ । अहिले प्राप्त भएको बृद्धिलाई सहयोग पुर्याउन बैंकिङले क्याटलिष्टको भूमिका निर्वाह गर्नुपर्छ । त्यसरी विकास भएपछि त्यसको फाइदा बैंकले पनि पाउँछन् । बैंकले आफ्नो प्रणालीभित्र नै अवसर सिर्जना गर्ने र त्यसबाट फाइदा लिदैजाने हो । तरलता अभावको समयमा एनएमबी बैंकले विदेशबाट पहिलो पटक ऋण ल्याएर लगानी गर्यो, त्यसरी गरिएको लगानी व्यवसायिक रुपमा कत्तिको उपयुक्त देखियो ? एनएमबी बैंकले पहिलोपटक विदेशबाट ऋण लिएको थियो । सुरुको समय भएकोले नियम कानुनहरु बनिनसकेको र अनुभव पनि नभएका कारण हामीलाई केही अप्ठेरो महसुस भयो । धैरै कुरामा अस्पष्टता पनि थियो । तर, नेपालको लागि आवश्यक छ भन्ने महसुस भएर सरकार तथा नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्दै जानुभयो । सरकारी निकायबाट हामीले सहयोग पाएकै हौं । नेपाली बैंक पहिलो पटक अन्तराष्ट्रिय बजारमा गएर स्रोत जुटाउँदै थियो । त्यसैकारण थुप्रै प्रकारका अप्ठेराहरुको सामना गर्यौं । नेपालको आफ्नै रेटिङ भएको थिएन । नेपालका बैंकहरुको अन्तराष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन । त्यसैले सबैका लागि नयाँ प्रकारको काम थियो । तर, जे जस्तो अप्ठेरो सामना गरेर भएपनि हामीले पहिलोपटक विदेशबाट पैसा ल्याएका थियौं । त्यसरी पैसा आएपछि सकारात्मक सन्देश प्रवाह भयो । पहिलो कुरा त विदेशबाट ल्याएको रकम नियामकको निर्देशन अनुसार उत्पादनशील क्षेत्रमा नै लगानी गर्न सक्यौं । दोस्रो कुरा, आम सर्वसाधारणमा हाम्रो बैंकप्रति विश्वास अझ बढ्यो । यो बैंकलाई विदेशीले पनि पत्याउँदा रहेछन्, विदेशबाट पैसा ल्याउने हैसियत पनि राख्दो रहेछ भन्ने सन्देश प्रवाह भयो । त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारको लागि हामीले अवसर पायौं । हामीले ल्याएको ऋणको किस्ता भुक्तानी गर्न थालिसकेका छौं । यसले नेपालका बैंकलाई दिएको ऋणको भुक्तानी सहज छ भन्ने सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह भयो । यही नजिरका कारण अरु बैंकलाई पनि विदेशबाट ऋण ल्याउन सहज भयो । ३० खर्ब रुपैयाँ निक्षेप भएको बजारमा ४/५ अर्ब रुपैयाँ विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन होला । तर, नजिर स्थापना र सन्देश प्रभावहको हिसावले महत्वपूर्ण काम भयो । हामीले विदेशबाट ऋण ल्याउने बेलामा हाम्रो बैंकको डीडीए भयो । अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कम्पनीसँग डीडीएमा बस्दा विश्व बैंकिङ अभ्यास र यसको कार्यान्वयनका नयाँ कुराहरु धेरै सिक्ने अवसर पायौं । त्यसैकारण एनएमबी बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलो पटक विदेशबाट ऋण ल्याउँदा त्यो घटना कोषेढुंगा सावित भएको थियो । व्यवसायिक रुपमा पनि हामीलाई नोक्सानी भएन । एनएमबी बैंकमा पनि विदेशी साझेदार छ, विदेशी साझेदार हुँदा बैंकहरुलाई पुँजीको साथै प्रविधि, दक्षता, अनुभव जस्ता कुरामा सहयोग कत्तिको प्राप्त भएको छ ? पुँजी मात्रै आउनु त्यति ठूलो कुरा होइन । एनएमबी बैंककै कुरा गर्दा १४ अर्ब रुपैयाँ पुँजी छ । यसको १५/२० प्रतिशत पुँजी भनेको त्यति ठूलो रकम होइन । एनएमबी बैंकमा नेदरल्याण्डको सरकारी स्वामित्वको एफएमओ बैंकको सेयर लगानी छ । यो बैंकको उच्चतहको अधिकारी एनएमबी बैंकको संचालक समितिमा आउने गर्नुहुन्छ । एफएमओबाट एनएमबी बैंकको संचालक समितिमा आउने व्यक्तिसँग संसारभरको धेरै ठाउँमा काम गरेको बैंकिङ अनुभव हुने गर्छ । त्यस्तो व्यक्तिसँग संचालक समितिमा बस्दा हामीले केही नयाँ कुरा सिक्ने अवसर पाइरहेका हुन्छौं । नयाँ अभ्यासहरु नेपालमा भित्र्याउने, हामीले गरेका केही अभ्यासहरु ठीक छैनन् भने मिलाउने जस्ता काममा सहयोग प्राप्त हुन्छ । किनभने नेपाली बैंकिङ क्षेत्र आफैमा धेरै नै कलिलो क्षेत्र हो । विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिने गरेका छन् । विदेशका सफल बैंकहरुले जस्तो अभ्यास गरेर सफलता पाएका छन्, त्यस्ता अभ्यासहरु नेपाल ल्याउन हामीलाई सहयोग प्राप्त भएको छ । यो कुरा हाम्रा लागि धेरै नै महत्वपूर्ण हो । हामी छिटै नै अलि फरक किसिमले अगाडि बढ्न सक्नुका पछाडि यही संस्थागत सुशासनको असल र सफल अभ्यास लागू गरेका कारण पनि हो । यस्तै, हाम्रो विदेशी साझेदारले प्राविधिक सहयोग भनेर हामीलाई आर्थिक सहयोग नै दिएर केही परियोजना संचालन गर्न पनि सकेका छौं । जस्तो कि गत वर्ष हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रबद्र्धनको काम गर्यौं । बैंकको आधुनिकीकरणमा काम गर्यौं । बैंकको डिजिटाइजेसनमा काम गर्यौं । अब नेपालमा इन्भारोमेन्टर सोसल रिस्क म्यानेजमेन्ट ल्याउने योजनामा छौं । यस्ता नीतिगत तहका फाइदाहरु, आर्थिक फाइदा, रणनीतिक योजना बनाउन प्राप्त हुने जानकारी जस्ता विषयले हामीलाई धेरै फाइदा भएको छ । यस्तै, विदेशको राम्रो संस्थासँगको साझेदारी भन्ने वित्तिकै त्यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जाने सन्देश पनि राम्रो हुन्छ । नेपालमा पनि बहुराष्ट्रिय बैंक वा विश्व बजारमा ख्याति प्राप्त गरेका राम्रा बैंकको उपस्थिति बढे हुन्थ्यो भन्ने अपेक्षा सरकारी निकायको छ, यसमा बैंकहरु आफैले पहल गर्न सक्दैनन् ? नेपालको अन्तराष्ट्रिय व्यापारको लागि बहुराष्ट्रिय बैंकमार्फत नै जानुपर्ने हुन्छ । किनभने नेपाली बैंकहरुले विदेशमा त्यस्तो धेरै शाखा संजाल छैन । नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रीत छ । नेपालको अन्तराष्ट्रिय व्यापारको लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन् । नेपाली बैंकिङलाई अर्काे स्तरमा लाने हो, नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसावले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउन आवश्यक छ । यसले बहुराष्ट्रिय बैंकसँगको हाम्रो निर्भरता घट्छ । तर, अहिले पनि नेपालमा नभएका अरु विदेशी बैंकहरुले पनि यस्तो सुविधा दिइरहेका छन् । विदेशका ठूला बैंकहरु करेस्पोन्ण्डेन्ट बैंकिङको लागि नेपालमा आइरहेका छन् । नेपाली बैंक आफै सिंगापूर, हङकङ, दुबै जस्ता स्थानहरुमा शाखा विस्तार गर्न जाने हो भने अन्तराष्ट्रिय व्यापारको फाइदा लिन सकिन्छ । विदेशमा शाखा विस्तार गरेर अन्तराष्ट्रिय व्यापारको फाइदा लिनको लागि एनएमबी बैंकले पनि सोचिरहेको छ ।
पाँच वर्षसम्म पुल निर्माण अधुरै, स्थानीय भन्छन्- अब छिट्टै मुआब्जा नपाए सडक बन्द गर्छाैं
काठमाडाैं । महाकाली लोकमार्गअन्तर्गत खलङ्गाको धौलीगाड खोलामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षसम्म पनि अधुरै छ । स्थानीयवासीसँग मुआब्जा विवादका कारण रोकिएको पुल निर्माण कार्य अधुरै रहेको हो । २०७१ असार ३० गते पुल निर्माणका लागि आशिस कन्ट्रक्शन धनगढीसँग कूल दुई करोड ३२ लाख सात हजार रूपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणको एकापट्टि आधा पिलर बनेपछि मुआब्जा विवाद भएको थियो । पुल निर्माणस्थलको एकापट्टि स्थानीयवासीको पाँच आना जमिन परेको छ । पुल बन्ने ठाउँमा परेको जमिनको उचित मुआब्जा नदिँदा स्थानीयवासीले काममा अवरोध गरेका थिए तर अहिलेसम्म पुल निर्माण गर्न र मुआब्जा विवाद समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको जग्गाधनी हर्कबहादुर ठगुन्नाले बताए । विसं २०७० को महाकाली बाढीपछि सोही क्षेत्रका स्थानीयवासीले मुआब्जा दर झण्डै रु ४६ लाख पाएका थिए । पछिल्लो समय पुल निर्माणको क्रममा मुआब्जा आधा कम गर्दा स्थानीयवासीले मुआब्जा लिन अस्वीकार गर्दै पुल निर्माणमा अवरोध गरेका हुन् । उचित मुआब्जा नपाएको भन्दै जग्गाधनी स्थानीय हर्कबहादुर ठगुन्ना र विष्णुराम हुम्लीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले ०७३ माघ ५ गते जग्गाको पुनःमूल्याङ्कन गरेर मुआब्जा दिन फैसला सुनायो तर सर्र्वोच्चले दिएको फैसलाअनुसार हालसम्म सरकारले मुआब्जा दिन तयार नभएको जग्गाधनी ठगुन्नाको आरोप छ । उनले भने, “हामी मुआब्जाकै लागि जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेका हौँ, तर सम्मानित अदालतले गरेको फैसलाअनुसार हालसम्म कार्यान्वयन भएको छैन । जग्गाको पुनः मूल्याङ्कन समयसापेक्ष हुनुपर्छ ।” पच्चीस मिटर लम्बाइमा निर्माण गरिने पुल निर्माण नहुँदा अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवतजावत हुँदै आएको छ । जग्गाको उचित मुआब्जा दिन माग गर्दै स्थानीयवासीले पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । “पाँच वर्षसम्म पनि सरकारले हेर्दैन”, ठगुन्नाले भने, अब चाँडो मुआब्जा नपाए सडक बन्द गर्नुको विकल्प छैन । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सर्वोच्चको आदेशानुसार जग्गाको मूल्य पुनःनिर्धारण गर्ने सम्बन्धमा सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुखसँग छलफल भइरहेको बताए । पहिलेका कार्यालय प्रमुखको सरुवा भएको रहेछ । अहिले नयाँ कार्यालय प्रमुख काठमाडौँमा भएको कारण केही ढिलाइ भएको हो । एक साताभित्र डिभिजनल प्रमुखलाई जिल्ला बोलाएर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सम्भव भएसम्म शुक्रबारसम्म बैठक बसेर टुङ्ग्याउँछौँ, उनले भने । सडक डिभिजन पाटन बैतडीका प्रमुख रमेश चौधरी पुलको बारेमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर निकास निकालिने बताए । विगतदेखि काम रोकिएको रहेछ, यो विषयमा जिल्ला पुगेर छलफल गर्छौं । जिल्ला दररेट निर्धारण समितिले पुनःमूल्याङ्कन गरेर सिफारिस पठाए हामी मुआब्जा दिएर रोकिएको पुल निर्माण कार्य अघि बढाउँछौँ, उनले भने । मुआब्जा विवादका कारण रोकिएको पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदारसमेत आफ्नो काममा ढिलाइ भएको भन्दै पटकपटक समाधान गर्न आग्रह गर्दै आएको छ । दार्चुला सदरमुकाम खलङ्गा नजिकै पुल निर्माण नहुँदा बर्खायाममा सर्वसाधारण र सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । ०७० पछि बाढीले बगाएको सबै क्षेत्रमा तटबन्ध निर्माण भइसक्दा पनि त्यो क्षेत्रमा पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीलाई समस्या परेको छ । रासस
नेपाल बंगलादेश बैंकद्वारा मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण
काठमाडौं । नेपाल बंगलादेश बैंकले बुधबार कमलादी काठमाडौँस्थित मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ । मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजना गरेको थियो । त्यसमा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष झरना रानालाई मायाको चिनो को स्वरूप क्यापहरु हस्तान्तरण गरेका हुन् । यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले व्यक्त गरेका थिए ।
एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन ललितपुर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतगजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका हुन् । यस बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै समाजमा सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । एभरेष्ट बैंककाे नयाँ शाखासहित ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएममार्फत सेवा दिंदै आईरहेको छ ।
हेटौडा सहिद स्मारकलाई कृषि विकास बैंककाे सहयोग
काठमाडौं । कृषि विकास बैंकले मकवानपुर हेटौडास्थित शहिद स्मारकलाई सहयोग गरेको छ । पार्कभित्र पर्यटकहरुलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा ९ लाख ५० हजार रुपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पुर्याएको छ । पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैकले आफ्नो नयां एटिएम मेसिन समेत राखी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट मंगलबार संयुक्त रुपमा उद्घाटन गरेको हो । उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम, कृषि विकास बैंक शाखा व्यवस्थापन विभागका विभागिय प्रमुख अजय रिमाल, प्रदेश कार्यालय वीरेन्दनगरका निर्देशक जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक रामप्रसाद गजुरेलको समेत उपस्थिति रहेको थियो ।
क्यान इन्फोटेक फागुन २ गतेदेखि शुरु, विशेष आकर्षणमा गेमिङ जोन, विद्यार्थीलाई ५० प्रतिशत छुट
काठमाडौं । सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आगामी फागुन २ गतेदेखि शुरु हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्न लागेको सञ्चार तया सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी उक्त प्रदशनी तथा सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा हुने छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले फागुन ७ गतेसम्म अर्थात ५ दिन हुने उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकाे छ। सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । जसको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वल्डलिंक कम्यूनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् भने जिनिस सोल्युशन, लर्ड बद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् । ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । त्यसैगरी क्रियटिभ पार्टनरमा आर आर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च र अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ । प्रदर्शनीलाई सफल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एसोसिएशन अफ इंजिनियरिङ कलेज नेपालले सहयोग गरेका छन् । त्यसैगरि अन्तर्राष्ट्रिय संस्था असोसियो (एशियन–ओसिनिएन कम्प्युटिङ इन्डष्ट्रि अर्गनाइजेसन) र विट्सा (वर्ल्ड इन्फरमेसन टेक्नोलोजि एण्ड सर्भिसेस् अलाइन्स) को पनि यसको आयोजनामा सहयोग रहेको छ । प्रदर्शनीमा रहेका १७४ स्टल मध्य करिब ८० प्रतिशत स्टल बुकिङ भइसकेका छन् । यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । क्यान महासंघले यसका निम्ति सार्वजनिक सुचना निकालेरै स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेको छ । सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई नेशनल आईसीटी डे को अवसर पारेर पुरस्कृत गर्ने घोषणा यस अघि नै गरि सकिएको आयोजकले जनाएकाे छ । प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो । इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको छ । रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचना प्रविधि मेलाको विशेष आकर्षण रहने छ । यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पाटनर ओसियनल क्यान महासंघसँग मिलेर ई-स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुबै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै, बिजेताहरुले प्रमाणपत्र सहित एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्ने छन् । क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको छ, विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् भने सामुदायिक तथा सरकारी विद्यालय/कलेजका विद्यार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूले निशुल्क प्रवेश पाउन सक्नेछन् । यसैगरि, फागुन ४ गतेलाई ‘बिजनेस डे’ तोकिएको छ । क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना बाण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक झटमा बिक्री समेत गर्नेछन् । अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहनेछन् । प्रदर्शनीमा प्रभु पे, वर्ल्डलिंक, भायानेट, एनसेलले विशेष आकर्षक योजनाहरु सार्वजनिक गर्दै छन् भने स्मार्ट सेलले ९९ रुपैयाँ पर्ने सिम कार्ड र त्यसमा ९० रुपैयाँको रिचार्ज, २०० एम.बि डाटा, १० वोटा एस.एम.यस निशुल्क उपलब्ध गराउने छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक आयोजना गरिँदै आएको छ । सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ । क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स. इ-वेष्ट म्यानेजमेण्ट, मिटिङ हल, वाइफाइ तथा इण्टरनेट र रोजगार केन्द्र मुख्य छन् । यो वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने कार्यक्रम रहेको थियाे । जसअनुसार प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा क्यान इन्फोटेक सफलतापूर्वक सम्पन्न भैसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा र माघ २४ गतेदेखि २८ गतेसम्म बागमती प्रदेशको चितवनमा हुँदै छ । त्यस्तै, फाल्गुन १ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगञ्जमा, फाल्गुन २८ गतेदेखि चैतको १ गतेसम्म प्रदेश ७ को धनगढिमा र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने आयोजकले जानकारी गराएकाे छ ।
बैंकमा फेरि पैसा सकियो, निक्षेप-कर्जा दुबैको व्याजदर बढ्न सक्ने
काठमाडौं । बैंक तथा बित्तीय संस्थामा फेरि लगानी योग्य पुँजीको कमी देखिएको छ । तरल पुँजीको अभावले बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार वृद्धि भएको छ भने व्याज दरमा पनि वृद्धि आएको छ । सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता डा.गुणकर भट्टका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी ३४ अर्ब रुपैयाँ छ । राष्ट्र बैंकले जारी गरेको २० अर्ब रुपैयाँ रिपोको कारण बैकिङ क्षेत्रमा तरलताको अवस्था सामान्य देखिए पनि रिपो परिपक्क हुँदा बजारमा पैसाको अभाव देखिनेछ । पुसको मध्यमा बैंकहरुमा लगानीयोग्य पुँजी करिव ५५ अर्ब रुपैयाँ थियो । अन्तर बैंक कर्जा कारोबार सुस्ताएको थियो । अन्तरबैंक कर्जा व्याज पनि २ प्रतिशतमा झरेको थियो । अहिले अन्तरबैंक कर्जाको व्याजदर ५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा निक्षेप १खर्ब ३० अर्ब रूपैयाँले वृद्धि हुँदा कर्जा लगानी २ खर्ब १३ अर्ब रूपैयाँले वृद्धि भएकोले पनि बैंकिङ क्षेत्रमा लगानी योग्यपुँजीको कमी देखिन आएको उनले बताए । सरकारको विकास खर्च बढ्ने समय भएको बजारमा आशावादी हुने ठाउँ रहेको उनले बताए । तर, रेमिट्यान्स आम्दानी वृद्धि रोकिएको, पाम आयल निर्यातमा समस्या आएको, अन्य नेपाली बस्तुहरुको निर्यात उत्साहजनक नभएकोले निक्षेप वृद्धि दर उच्च हुने सम्भावना कम भएको जानकारहरु बताउँछन् । मंसिर मसान्तसम्ममा निक्षेप वृद्धि ४ प्रतिशत छ भने निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.२ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ क्षेत्रमा लगानी याेग्य पुँजी बढ्दा सेयर बजार हरियाे भएकाे थियाे भने ऋण लिएर व्यवसाय गर्नेहरूमा उत्साहकाे वातावरणा बन्दै थियाे । विगत ३ वर्षदेखि बैंकहरूमा लगानी याेग्य पुँजीकाे कमीले बैंकका ऋणिहरू चर्काे व्याजकाे मारमा परेका थिए ।