चिनियाँ नागरिकलाई अष्ट्रेलिया आउन रोक, नागरिकलाई चीन नजान सरकारको घोषणा
सिड्नी ।अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय नोवेल कोरोना भाइरसको संक्रमण बढेसँगै अष्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न आदेश दिएको छ । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए । उनले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताए। अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ । रासस/एएफपी
अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ संचालन, डेढ करोड लागतमा निर्माण
काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौं ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज ट्रेल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरे । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । ८ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । रासस
७० प्रतिशत ग्राहक बैंकमा जानु नपर्ने याेजना ल्याउँदै एनएमबी बैंक, साथमा एफएमओ र सीसीडी
काठमाडौं । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ । कृषक आफ्ना कृषि उपज व्यापारीलाई बिक्री गरिरहेका छन् तर त्यही मध्येकी एक कृषक अर्थात् रङ्गमञ्चकी कलाकार लक्ष्मी बर्देवा आफूले उत्पादन गरेको कृषि उपज व्यापारीलाई बेच्न छाडेर आफैं उद्यम गर्न थालेकी छिन् । यही सामान्य लाग्ने विषय समेटिएको विज्ञापनले भन्ने सन्देश हो, ‘साना तथा मझौला उद्यम गर्न चाहुनुहन्छ भने एनएमबी बैंकमा आउनुस् र सहजै कर्जा लिनुस् ।’ पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था साना तथा लघु उद्यमतिर आकर्षित भइरहेका छन् । कृषि र साना तथा मझौला उद्योगको विकास नगरी आर्थिक समृद्धि कोरा कल्पना मात्रै हुनजान्छ भन्ने ध्येयका राखिएको छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी । “३० वर्षे बैंकिङ करियरमा हरेक दिन हरेक मिनेट मेरा लागि सिकाइका समय बनिरहेका छन् । सुखमा मात्तिइन्, दुःखमा पनि आत्तिने बानी छैन । हरेक क्षणलाई सदुपयोग गरेको छु । त्यसैले नै मलाई सफलता दिएको छ”, उनले भने, “बैंकिङ आफैंमा रिस्की क्षेत्र पनि हो तर यसलाई फुकी फुकी विचार गरी गरी अगाडि बढ्दा सफलता मिलेको छ ।” बैंकिङ क्षेत्रका शुरुवाती दिनहरु अहिले जस्तो सहज थिएन । तीनवटा सरकारी बैंक थिए भने तीनवटा निजी क्षेत्रका त्यसमा पनि विदेशी लगानीका बैंक थिए । बैंकिङ कारोवार गर्न असाध्यै गाह्रो थियो । उपभोक्ता बैंक खोज्दै जानुपर्दथ्यो तर अहिले बैंकहरुले ग्राहक खोज्दै हिँडेका छन् । तत्कालीन ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहायक पदबाट बैंकिङ करियर शुरु गर्नुभएका केसी यतिबेला एउटा सफल बैंकरका रुपमा थिए । जीवनमा पाएको सफलताका कथा मात्रै सुनाउनु भएन दुःखका पाटाहरु खोले। जीवन सिकाइ हो, अनुभवले खारिँदै जाँदा दुःख पनि सुखमा परिणत हुँदै जान्छन्, मैले सिकेको जीवनमन्त्र यही हो, भाग्यले यहाँसम्म पुर्यायो, केसीको मुहारमा विगतमा ती दिन ताजा बनेर आए । जतिबेला सामान्य एलसी खोल्नसमेत महिना दिन लाग्थ्यो, ग्राहकहरु भौंतारिँदै हिँड्थे । बैंकका कर्मचारी कुनै छुट्टै ग्रहबाट आएका जस्ता थिए । समयले परिवर्तन ल्यायो, सोच बदलियो, मान्छेका चाहना र अवसर पनि बदलिए । बैंक उद्योगका रुपमा विकास हुँदै गयो, आज म जहाँ छु, त्यो मेरो मेहनतको परिणाम हो, केसी विगतमा हराए। उनले भने, “सहायक पदबाट जागिरे जीवन शुरु गरेको मेरा लागि बैंकको उच्च पद प्राप्त हुनु नै सफलताको उच्चतम विन्दु हो । मेरा लागि परिवारको सहयोग, अनि भाग्य दुवै सफलता कारक बने । सिकारु मेरो चरित्र आज पनि उस्तै छ ।” केही समय स्ट्याण्र्डड चार्टडमा गुजारेपनि एनएमएबी फाइनान्स हुँदै विकसित भएको हाल एनएमबी बैंकका हरेक शाखामा काम गरेको अनुभव नैसहयोगी बने । “म सेलीब्रेटी होइन, तर अवसरको भने सदुपयोग गरे । यो नै मेरो जीवनको सफलताको यात्रा हो । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गर्यो । ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि सञ्चित मुनाफा ५४ करोड ८९ लाख रुपैयाँ र शेयर स्वाप अनुपातबाट ६० करोड ३६ लाख जगेडा कोषमा राखेको छ । सिमेन्ट उद्योगमा क्रान्ति नै ल्याएको नेपाली साझेदार सहितको होङ्सीमा नेपाली बैंकहरुले १६ अर्ब लगानी गरेका छन् । त्यसमा एनएमबीले मात्रै ६ अर्ब ७५ करोड लगानी गरेको छ । सिडिसीको नेपाल प्रवेश पनि सोही बैंकबाट भएको हो । गत फागुनमा सिडिसीले बैंकलाई १ अर्ब ५० करोड ऋण दिएको छ । त्यो सिडिसीको पहिलो लगानी थियो । बैंकले विदेशी रणनीतिक साझेदारको परामर्शमा धेरैभन्दा धेरै साना तथा मझौला कर्जामा ध्यान दिएको छ । विदेशबाट कर्जा ल्याएर बैंकले गाउँगाउँमा गएर कृषि कर्जा प्रवाह गर्दै आएको छ । महिला उद्यमशील महासङ्घसँग सम्झौता गरेर १२ हजार महिलासँग बैंक जोडिन लागेको छ । विदेशबाट फर्केका नेपालीलाई कर्जा प्रवाह गर्न लागेको छ । यसै आर्थिक वर्षमा एक हजारभन्दा धेरैलाई यस्तो कर्जा प्रवाह गर्न लागेको छ । देशभित्रै पूँजी निर्माण देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जोगाड गरौ भन्नेतर्फ ध्यान दिएको छ एनएमबीले । गत वैशाख १ गतेदेखि प्रधानमन्त्रीले शुरु गरेसँगैनेपालीको बैंक खाता अभियानले सार्थक सफलता पाइरहेको छ । पूँजी निर्माण गर्ने र बैंकिङ पहुँच पुर्याउने त्यो एउटा सुवर्ण अवसर नै थियो । खर्च गर्ने मात्रै होइन बचत गर्ने पनि बानी पनि बसाल्ने अभियान हो त्यो । ‘खोलौं खाता’ भन्ने नाराले बैंकिङ उद्योगलाई सहयोग गरेको छ । एनएमबी अब राजधानीभन्दा पर दूरदराजमा जान प्रयत्न गरिरहेको छ । वाग्मती प्रदेशभन्दा पर जाऔँ र केही गरौँ भन्ने सोँच छ बैंकको । सपना दूरदराजमा छन् । चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् । लगानी शहरभन्दा पर जरुरी भइसकेको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ । नेपालको समस्या बचत नगर्ने अनावश्यक खर्च गर्नेमा छ । नेपाल भित्रिएको रु आठ खर्ब जति विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विलाशिताका सामानमा पैसा बगिरहेको छ । सरकारले शुरु गर्नुभन्दा पहिल्यै एनएमबी बैंकले ‘एक घर, एक बैंक खाता’ भन्ने अभियान नै चलाएको थियो । त्यसको ब्रान्ड एम्बेस्डर महानायक राजेश हमाल हुनुहुन्थ्यो । बचत गर्नुपर्छ भनेर वित्तीय साक्षरता अभियान चलाउने पहिलो बैंक थियो एनएमबी । कृषि उद्यमशीलतामा ध्यान जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरौं भन्ने बैंकको मूलमन्त्र छ । त्यसले रोजगारी सिर्जना हुन्छ र आर्थिक गतिविधि पनि बढाउँछ भन्नेतर्फ ध्यान दिएको छ । बैंक खाता अभियान शुरु भएपछि दुई लाख जति नयाँ खाता थपिए । नेपालमा वार्षिक दुई खर्ब रुपैयाँ जतिको कृषि उपज आयात भइरहेको छ । नेपालमा काम गर्ने मान्छे छन्, उद्यमशीलता भएका किसान पनि छन् । बजार छ, उपभोग पनि छ । उत्पादन गर्ने किसान र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाले हालीमुहाली गरेका छन् । दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ । त्यो अवस्थाको अन्त्यका लागि कृषि उद्यमशीलतालाई जोड दिएको छ बैंकले । काम गर्न सक्ने ६० लाख कामदार विदेशमा छन् । “उनीहरु सीप सिकिरहेका छन् । उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ”, लगानीको विराट क्षेत्र देखिरहेको केसीले सुनाए । नेपालमा रहेको अपार सम्भावना पानीमा बगेर गइरहेको छ । त्यो सम्भावनालाई यथार्थतामा परिणत गर्ने केसीको सोँच छ । ऊर्जामा ठूलो लगानी बैंकले कृषिको अलावा ऊर्जा क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । जलविद्युत्का अलावा वैकल्पिक ऊर्जामा पनि ध्यान दिएको छ । नेपाललाई मध्यस्तरीय आय भएको देश बनाउने महत्वपूर्ण माध्यम भनेकै ऊर्जा हो । पछिल्ला १५ वर्षमा निजी क्षेत्रले गरेको लगानीले ठूलो योगदान गरेको छ । व्यापारिक घराना पनि ऊर्जामा लगानी गर्न आएका छन् । त्यसमा एनएमबी बैंकको ठूलो साथ छ भन्छन् केसी । सो बैंकले मात्रै ४० भन्दा बढी परियोजनामा लगानी गरेको छ । १६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रतिबद्धता जनाएको छ । एनएमबी बैंकको साझेदार संस्था पनि ऊर्जामा लगानी केन्द्रित गर्न चाहन्छ । डचहरुको वित्तीय संस्थासँग एनएमबी बैंक जोडिएको छ । नेदरल्यान्डको एफएमओ बैंकको साझेदार हो । सो संस्थाको १५ प्रतिशत शेयर एनएमबीमा छ । दिगो विकास गर्न दीर्घकालीन लगानी गरौं भन्ने उनीहरुको सोच छ । बैंकले सौर्य ऊर्जामा पनि लगानी गरेको छ । रुफ टफ सोलार परियोजनामा पनि त्यसमा समेटिएको छ । नेट मिटरिङ गर्ने कार्यविधि नेपाल विद्युत् प्राधिकरणले ल्याएको छ । “विद्युत् पर्याप्त हुने वित्तिकै नयाँ प्रकारको लगानी जुट्छ । रासायनिक मल कारखाना खुल्छन् । नयाँ सिमेन्ट उद्योग खुल्छन् । “लागत घटेपछि मूल्य प्रतिस्पर्धी हुन्छ”, उनले भने । राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै ऊर्जामा लगानी गर्ने पर्ने बताए । “लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरण लाग्यो, हामीजस्ता बैंकहरुले पनि लगानी गर्यौ । आजको दिनमा जश प्राधिकरणले लिन्छ तर बैंकको लगानी पनि कम छैन नि, देश उज्यालो भएको जश हामीले पनि पाउनुपर्छ”, ? “हामीले दिगो विकास गर्ने क्षेत्रका रुपमा ऊर्जालाई लियौं”, उनले भने, “नेपालमा ३ सय ६० दिन घाम लाग्छ, सौर्य परियोजनामा लगानी गर्दा फाइदा हुन्छ । हामी गरेको कामले भावी पुस्तालाई पनि फाइदा पुग्ने हुनुपर्छ ।” सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पछ्याउन बैंक तथा वित्तीय संस्था लागेका छन् । नेपालका सबै बैंक तथा वित्तीय संस्थाको पैसा जम्मा पार्दा पाँच हजार मेगावाटभन्दा बढी निर्माण गर्ने स्रोत जम्मा हुँदैन । लगातार आठदेखि १० प्रतिशतको आर्थिक वृद्धिका लागि ठूलो लगानी चाहिन्छ । उनले ‘क्वान्टम लिप’को कुरा गरे । नेपालको पूँजीले मात्रै त्यो छलाङ हान्न नसक्ने अवस्था छ । उच्च आर्थिक वृद्धिका लागि ऋण लिन डराउनु हुँदैन तर त्यसलाई सदुपयोग गरेको उनको भनाइ छ । नेपालको कूल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा मात्रै ऋण छ । अरू देशले ७५ प्रतिशतसम्म पनि ऋण लिएका छन् । संसारभर दिगो विकासका लागि फाइनान्सिङ गर्ने कोष छन् । डच फाइनान्सले लगानी गरेको र स्वपूँजी नै राखेकाले पनि एनएमबीलाई सजिलो भएको उनको धारणा छ । “नेपालको आर्थिक क्षेत्रमा हामीले केही नयाँ गरौं भन्ने लाग्यो । अरू बैंकभन्दा फरक छन् हाम्रो लगानी गर्ने मोडल । यसअघि नै विदेशी संस्थाले लगानी गरेका कारण पनि हामीलाई सजिलो भयो”, उनले भने, “पुराना वैधानिकताले पनि काम ग¥यो । नेपालमा पैसा चाहिने समय आयो भन्ने भएपछि हामीले विदेशी संस्थाबाट पैसा ल्यायौँ ।” गत आवमा मात्रै १३ खर्ब जतिको व्यापार घाटा भयो । त्यसलाई घटाउने दायित्व सरकारको मात्रै होइन होला । हाम्रो पनि हो भन्ने ठानेर आन्तरिक रुपमा आर्थिक गतिविधि बढाउन केन्द्रित भएको उनकाे भनाई छ । “विदेशबाट आएको भन्दा ठूलो परिणाममा पैसा विदेशिएको छ । त्यसलाई रोक्न केही न केही त अवश्यै गर्नुपर्छ नि”, उनले भने। कूल ३०० भन्दा बढी साना तथा मझौला उद्योगमा लगानी गरेको छ । साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनुपर्छ भन्ने सोचका साथ प्रदेश–१, प्रदेश–५ र गण्डकीमा बलियो उपस्थिति जनाएको छ बैंकले । भौगोलिक हिसाबले बजार पहुँच विस्तारका लागि मर्जरमा गएको केसी विस्तारमा सुनाउनुहुन्छ । बैंकको प्राथमिकताको क्षेत्र कृषि, ऊर्जा, पर्यटन जस्ता सरकारले प्राथमिकता दिएका नै हुन् । साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड जरुरी छ भन्ने रणनीतिले काम गरेको छ । राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग रणनीतिक रुपमा मर्जरलाई जोड दिएको छ । त्यसले बिग मर्जर नै चाहिन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ । केही वर्षअगाडिसम्म काठमाडौंसहित केही प्रमुख शहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थे । अहिले देशभर विस्तार भएको छ । पछिल्ला तीन वर्षमा देशको आर्थिक वृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसले पनि बैंकलाई अवसरै अवसर दिएको छ । किन एनएमबी बैंक सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर एनएमबी बैंकले बचत मात्रै गर्दैन । बचत भएको पैसा बृहत्तर आर्थिक लाभ हुने क्षेत्रमा लगानी गर्छ । जो कोहीले बचत गरेको रकम पनि कहाँ लगानी भयो भनेर हेर्न जान्न सक्छ । एनएमबीले दिगो क्षेत्रमा लगानी बढाएको छ । कुनै ठूलो होटलमा खुल्यो भने त्यसले पोल्ट्री, डेरी र बेकरी उद्योगमा सहयोग पुर्याउँछ भन्ने ठानेको छ बैंकले । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता अगाडि सारेको छ । यस्तै सुशासनका आधारमा हेर्दा केसीले नेतृत्व गरेको बैंक शीर्ष स्थानमा छ । अधिकाशं ग्राहक सन्तुष्ट छन् किनकि विदेशीदेखि स्वदेशी लगानीकर्ता पनि खुशी छन् । कर्मचारी सञ्चयकोषसमेत बैंकको लगानीकर्ता हो । डिजिटल बैंकिङमा पनि उस्तै ध्यान दिएको छ । ग्राहकलाई पछिसम्म सम्झने खालको सेवा दिएका छौँ, उनले आफ्नो बखान आफैँ गरे तर सत्यमा टेकेर । “ नेपालको कर्पोरेट बैंकिङ एवम् सुशासनमा एनएमबी बैंक अरूभन्दा धेरै माथि छ ।” नेपालमा मोबाइलको प्रभाव बढ्दै गएको छ । हरेकको हातमा स्मार्ट फोन छ । हामी अब विद्युतीय बैंकिङमा जान लागेका छौं । ७० प्रतिशत ग्राहक बैंकमा नै नआइकन पनि कारोवार गर्ने वातावरण बनाउन लागेको केसीले सुनाए । ग्राहकलाई गुणस्तरीय सेवा दिने हाम्रो पहिलो लक्ष्य छ । गाडी किन्न पैसा माग्न आयो भने सहजै दिने तर केही उद्यम गर्छु भन्नेलाई धितो खोज्ने प्रवृत्तिको कहिले अन्त्य हुन्छ होला ? “बाहिरबाट हेर्दा सवारीसाधनमा भएको लगानी अनुत्पादक नै लाग्न सक्छ तर संसारभर नै अटो फाइनान्सिङ भइरहेको छ । त्यसले आर्थिक गतिविधि भइरहेको छ भन्ने पनि देखिन्छ तर हाम्रोमा बाध्यता छ । सार्वजनिक सवारीको अवस्था बेहाल छ । मानिसहरु गाडी नै नभए पनि मोटरसाइकल भने पनि किनौँ भन्ने अवस्थामा छन्”, उनले भने । रेल सञ्जाल विस्तार नभएको अवस्थामा बाध्यता नै छ ।आर्थिक गतिविधि बढेर नेपाल विस्तारै फैलिँदैछ । सवारीसाधन अत्यावश्यक नै भइसकेको छ । त्यसका कारण यो उत्पादनशील क्षेत्र नै हो । सवारी साधनमा बढी लगानी किन ? एनएमबीले विद्युतीय सवारी साधारण खरिद गर्नेलाई आधार दरमा नै ऋण दिएको छ । वातावरणीय सुरक्षा एवम् जगेर्नाका लागि पनि त्यसो गरिएको छ। यातायातको क्षेत्रमा सरकार वा बैंकले थप लगानी गर्ने बेला आएको छन् । राम्रोसँग वातावरण बनाइदिनुस् कोही पनि व्यक्तिगत सवारीसाधन लिएर हिँड्दैन । व्याज किन बढी छ ? ब्याजदर बजारले निर्धारण गर्छ । माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तले ब्याजदर निर्धारण गर्छ । राष्ट्र बैंकको निर्देशन छँदैछ । गत वर्षभन्दा यस वर्ष कम ब्याजदर छ तर निक्षेपकर्ताको पनि हित हेर्नुपर्छ । उनीहरुलाई मार्ने कुरा भएन । मूल्य वृद्धिको मात्रा पनि हेनुपर्नेछ । एकल विन्दुमा ब्याजदर ल्याउने विषय पनि बजारले नै निर्धारण गर्ने कुरा भएको छ । बढी ब्याजदर भएको कुरा गलत हो । बैंकिङ सुरक्षामा अब्बल विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ । जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन । एनएमबी बैंकले के गरिरहेको छ रु हाम्रो स्वाभाविक प्रश्न थियो । विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । जस्तोसुकै सुरक्षा प्रणाली राख्दा पनि ह्याक भइरहेको छ । केही समयपहिले चिनियाँ ह्याकरले प्रणाली नै झण्डै सिध्याएका थिए । सचेत देखिनुहुन्छ केसी । निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ । अर्कोतिर बैंकले जर्मनीको एक सेक्युरिटी अडिट गर्ने कम्पनीलाई बोलाएर अडिट गरायो । त्यसको निष्कर्ष आयो, एनएमबी बैंक हरेक तवरले सुरक्षित छ । आइएसओ मान्यता मान्यता प्राप्त बैंकको प्रमाणपत्र पनि पायो । ‘बैंक अफ दी इयर’को पटक पटक मान्यता पाएको सो बैंकले सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन । केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा छैन एनएमबी बैंक । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीकाे व्यक्तित्व बैंकका प्रमुख कार्यकारी अधिकृतभन्दा काम गर्ने सन्दर्भमा एनएमबी बैंकका प्रमुख कार्यकारी शक्तिशाली छन् । करिब ८० प्रतिशतभन्दा बढी ऋणको निर्णय गर्ने क्षमता केसीसँग छ । व्यवस्थापनले पनि केसीलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको छ । सुशासनमा अब्बल रहेको बैंकमा व्यावसायिक वातावरण छ । विदेशी लगानीकर्ता एफएमओले पनि त्यही सिकाएको छ । सरकारी स्वामित्वको कर्मचारी सञ्चयकोषको निर्देशक पनि सञ्चालक समितिमा छन् । बैंकका संस्थागत लगानी बढी भएकाले पनि बोर्ड र व्यवस्थापनको बीचमा हुनुपर्ने सम्बन्ध सुमुधुर छ । विश्वासको मात्रा बढी छ । दैनिक काम कारवाहीमा सञ्चालक समिति लाग्नु हुँदैन, नीतिगत र दीर्घकालीन निर्णयमा लाग्नुपर्छ भन्ने संस्कार स्थापित छ । जसका कारण पनि निर्णय क्षमताका हिसाबले प्रमुख कार्यकारी अधिकृत केसी शक्तिशाली छन् । केसीले ऋणको निर्णय गर्ने अधिकतम अधिकार शाखा प्रमुखलाई पनि दिए । उच्च व्यवस्थापनका कर्मचारीसँग सुमधुर सम्बन्ध छ जसले संस्थागत हितमा निर्णय गर्छ । कसलाई ऋण दिने, ब्याजदर कति हुनेजस्ता विषयमा सञ्चालक समिति लाग्दैन । पछिल्ला तीन–चार वर्षको अवधिमा एनएमबीले विभिन्न पाँच वटा विकास बैंकलाई आफूमा समाहित गरायो । त्यसले पनि विश्वासको वातावरणलाई थप मजबुत बनाएको छ । जनतामा विश्वास बढेको छ । मर्ज गर्दा वा प्राप्ति गर्दा समस्या के कस्ता हुँदा रहेछन् ? फरक प्रणाली र कार्यशैली भएका कर्मचारीलाई एकै ठाउँमा ल्याएर काम गराउनु जटिल विषय हो, तेरो र मेरो भन्ने हुँदोरहेछ । राम्रो योजना भएन भने जटिलता हुन्छ तर हामीले सबैलाई मिलाएर ल्याएका छौं । कर्मचारीलाई तेरो र मेरो भन्ने गरेका छैनौं । फरक चिन्तनमा काम गर्नेको मनोविज्ञान बुझेर परिचालन गरेका छौं । सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने विषय सबैभन्दा महत्वपूर्ण रहेछ । पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा एनएमबी बैंकका स्रोत फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो, एनएमबी । विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्ज गरेर आफ्नो उपस्थिति देशभर पु¥याएको छ । नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ । बैंकले राम्रै नाफा कमाएको छ । केन्द्रीय बैंकले तोकेका ८ अर्ब रुपैयाँ चुक्ता पूँजी भए पुग्नेमा अहिले १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाली बैंक पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा गएर स्रोत जुटायो । नेपालका बैंकहरुको अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन । त्यसैले सबैका लागि त्यो नयाँ काम थियो तर अप्ठेरासँग जुधेर बैंकले विदेशबाट पैसा ल्यायो र लगानी गरेको सिइओ केसीले बताए। “विदेशीले पनि पत्याउँदा रहेछन, पैसा ल्याउने हैसियत पनि राख्दोरहेछ भन्ने सन्देश प्रवाह भयो । त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारका लागि हामीले अवसर पायौँ”, उनले भने । बैंकले ऋणको किस्ता भुक्तानी गर्न थालिसकेको छ । ३० खर्ब रुपैयाँ निक्षेप भएको बजारमा चार–पाँच अर्ब विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन तर नजिर स्थापना गर्ने कुरा नै महत्वपूर्ण थियो । विदेशबाट ऋण ल्याउने बेलामा एनएमबीको डिडिए गरियो । त्यसले पनि धेरै कुरा सिकायो बैंकलाई । त्यो घटनालाई कोसेढुङ्गाका रुपमा लिनुहुन्छ केसी । एफएमओका अधिकारी एनएमबी बैंकको सञ्चालक समितिमा छन् । सञ्चालक समितिमा आउने व्यक्तिसँग संसारभरको ठूलो बैंकिङ अनुभव छ । त्यस्तो व्यक्तिबाट हामीले केही नयाँ कुरा सिक्ने अवसर पाएको उहाँको भनाइ छ । विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिन्छन् । नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रित छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन् । नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसाबले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउनु अत्यावश्यक छ । रासस
व्यावसायिक च्याउखेतीतर्फ महिला, थोरै लगानीमा मनग्य आम्दानी
काठमाडौं । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि सप्तरीको सुरुङगा नगरपालिका–२ तेतहरी महिला च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । उनीहरु समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा महिला समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको महिला किसान बताउँछन् । “च्याउखेती गरेर मासिक आठ हजारदेखि १० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको छु”, सुरुङगा नगरपालिका–२ तेतहरीकी अञ्जना सिंहले भने, “च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।” उनलाई यतिबेला बजारसम्म च्याउ पुर्याउन भ्याइनभ्याई भइरहेको छ । आफ्नै जग्गामा च्याउखेती गर्दै आएकी अञ्जनालाई कतिबेला च्याउ टिप्ने र बजारसम्म पुर्याउने भन्ने हतारो भइरहेको छ । सामान्य लेखपढ गर्न मात्र जानेकी सिंहले अहिले आफ्नो जग्गामा च्याउ उत्पादन गरी गाउँ नजिकैको कदमाहा, दौलतपुर, भेडिया, शिशुवारीलगायतका बजारमा पु¥याएर राम्रो आम्दानी गर्दै आएको बताइन् । केही वर्षअघिसम्म कुनै काम गर्न नजानेको भन्दै परिवारका सदस्यबाट अपमानजनक व्यवहारको पीडा खेप्दै आएकी सिंहले च्याउखेती गरेर राम्रो आम्दानी गर्न थालेपछि अहिले परिवारमा मात्र होइन, उनको प्रशंसा गाउँभरि नै हुन थालेको छ । करीब तीन वर्षदेखि व्यासायिकरूपमै च्याउ गर्न थालेकी हुन्, “ कुनै दिन त एक हजार रुपैयाँसम्म पनि बिक्री भइहाल्ने गरेकाले च्याउखेतीबाट आफू सन्तुष्ट रहेको छु ।” स्थानीय महिला समूहमा आबद्ध भएकी अञ्जना त्यही समूहकै माध्यमबाट च्याउखेतीको तालीम लिएर व्यावसायिक रूपमै च्याउखेती शुरु गरे । च्याउखेतीबाटै परिवारको गुजारासँगै छोराछोरीलाई उच्च शिक्षामा पढाउँदै आएको अञ्जनाले बताइन् । सोही ठाउँकै पविता चौधरीले पनि करीब दुई वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय सप्तरीबाट तालीम लिएर व्यावसायिकरूपमै च्याउखेती गर्न थालिन् । विनाकाम अरुको विषयमा कुरा काटेर समय बिताउँदै आएकी पविता लालीगुँरास सामाजिक परिवारमा आबद्ध छिन् । उनले भनिन्, “त्यत्तिकै कुरा काटेर समय बिताउनुभन्दा केही काम गरेर आम्दानी गर्ने सोच पलाएपछि च्याउखेतीतर्फ आकर्षित भएकी हुँ ।” च्याउ खान स्वादिष्ट र स्वस्थ्यकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले सप्तरीका बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । च्याउको मूल्य महङ्गो भएकाले सप्तरीका बजारमा च्याउको बिक्री कम भए पनि आफूले उत्पादन गरेको च्याउ व्यापारीमार्फत काठमाडौंसहित देशका विभिन्न शहरमा पुग्ने गरेको पविताको कथन छ । थोरै लगानीमा लोभलाग्दो आम्दानी हुन थालेपछि अञ्जना र पविता मात्रै होइन, सो ठाउँका अधिकांश महिलाले च्याउखेतीलाई नै आम्दानीको मुख्य आधार बनाएका छन् । महिला यसरी व्यावसायिकरूपमै च्याउखेती गर्न थालेपछि अहिले यो बस्तीको परिचयसमेत फेरिएको छ । महिलाले च्याउ उत्पादन गरेरै आम्दानी गर्न थालेपछि यो बस्तीलाई च्याउ बस्तीका रूपमा समेत चिनिन थालिएको स्थानीयवासी बताउँछन् । च्याउ खेतीलाई एउटा नगदे बाली तथा व्यावसायिक पेशाको रूपमा लिएर च्याउखेती गर्दै आएका छौँ, अञ्जनाले भनिनन्, “समयअनुसार धान, गहुँ र अन्य तरकारी खेतीसमेत गर्छौ बाँकी समयमा हामी च्याउखेती गर्दै आएका छौं।” आम्दानीको राम्रो उपाय पाएपछि अहिले सो बस्तीका महिला मासिक १ सयका दरले मासिक बचतसमेत गर्दै आएकी छन् । समूहमा आबद्ध सदस्यले आयआर्जनका लागि च्याउखेतीका साथै गाउँमा अधिकारमुखी अभियानसमेत सञ्चालन गर्दै आएको अञ्जनाको कथन छ । शुरुमा हामीलाई च्याउखेतीबारे जानकारी थिएन, समूहका अध्यक्षसमेत रहनुभएकी अञ्जनाले भनिन्, “जब सामाजिक परिवारमा आबद्ध भएर, त्यहीमार्फत समूहमै च्याउखेतीसम्बन्धी तालीमसँगै सहुलियतदरमा च्याउको बीउ उपलब्ध भएपछि हामी च्याउखेतीमा जोडिएका हौं ।” घरकै काममा सीमित रहँदै आएकी यहाँका महिलामा पछिल्लो समय देखिएको परिवर्तनबाट अरु ठाउँका महिलाले पनि पाठ सिकेर व्यावसायिकरूपमा अघि बढ्न सके महलिाप्रतिको सामाजिक दृष्टिकोणमा समेत परिवर्तन आउने स्थानीय बुद्धिजीवी रामप्रसाद चौधरीको भनाइछ । रासस
सिन्धु विकासको दशौं बार्षिक साधारण सभा, बनोस शेयर ११.५ प्रतिशत
काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हाे। साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी दिएको छ । बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । वि.स २०७६ माघ १७ देखि संचालन भएको उक्त साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन प्रतुत गरेको थियो । वि।सं२०६७ साल भाद्र २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय बनेपामा कर्पोरेट राखी कारोवार संचालन भइरहेको छ ।
बाजुरामा मौसमी फ्लुको सङ्क्रमणले एकैसाथ ३० विद्यार्थी बिरामी
बाजुरा । मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए। विद्यालयमा अध्ययन गर्ने १ सय विद्यार्थीमध्ये ३० बिरामी परेका छन् । तीमध्ये तीन सिकिस्त बिरामी छन् । तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताए । शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ । एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ । धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ । सिकिस्त बिरामी परेका नवीन विक, दीक्षा विक र सृष्टि रावललाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको विद्यालयले जनाएको छ । विद्यालयका सञ्चालक शङ्कर मल्लले विद्यार्थीमा देखिएको लक्षणबारे जिल्ला अस्पताललाई समेत जानकारी दिएकाे छ । बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको छ । जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जटिल प्रकृतिको अवस्था भए आफूहरुले पनि त्यसलाई प्रत्यक्ष निगरानीमा राख्ने बताए । रासस
पहिलो पटक प्रदेश स्तरीय चित्रकला प्रदर्शनी विराटनगरमा
काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कला प्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रम ४० जनाभन्दा बढी व्यक्तित्वको चित्रकला अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले थियो । छ वटा विभाग यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भ्रमण वर्षलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ ललितकलाकारको प्रयोग गरेर कला तथा संस्कृतिमा पर्यटकहरुलाई तान्नमा जोड दिने प्रदेशको लक्ष्य रहेको छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण आवश्यक पर्दछ । प्रमुख अतिथि माननीय सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।
बचत गर्ने ८ तरिकाः यसपाली सेयर किन्ने, पाँच वर्षमा गाडी किन्ने, ५० नकट्दै घर बनाउँने
काठमाडौं । जीवनमा कमाउन जति जरुरी छ, उत्तिनै जरुरी छ जोगाउन पनि । अपेक्षाभन्दा कम पारिश्रमिक, लगानीले दिन नसकेको आकर्षक मुनाफा, अत्यावश्यक सामाग्रीहरुको चुलिँदो भाउ, मानिसको बढ्दो चाहना र आकांक्षा तथा हरेक दिन तपाईँको काँधमा थपिइरहेको नयाँ-नयाँ बोझ एवं जिम्मेवारी, यी सबै पक्षलाई ध्यान दिँदा लाग्छ बचत असम्भव छ । तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने बचत गर्नुपर्ने भनेकै यी र यस्तै कठिनाइको बीच नै हो, ताकि आज जुन संकटबाट तपाईँ गुज्रिरहनुभएको छ, त्यो भविष्यमा नदोहोरियोस् । यसकारण बचत बाध्यता र मानसिकता दुबै हो । बचत गर्ने बानीले तपाईँ भविष्यप्रति कति गम्भिर हुनुहुन्छ वा आफ्नो जीवनलाई कुन दिशातर्फ अग्रसर गराईरहनुभएको भन्ने पनि दर्साउँछ । तसर्थ, हामीले तपाईँहरुका लागि बचत गर्ने बानीको विकास गर्न सघाउने केहि सरल उपायहरु लिएर आएका छाैं। १. कर्जाबाट मुक्ति सबैभन्दा पहिले कर्जा वा अन्य कुनै पनि किसिमको आर्थिक बोझबाट मुक्त नभइ तपाईँले बचत गर्न थाल्न सक्नुहुन्न । ब्याजमा लिएको कर्जाले त अझ तपाईँको कमाई र खर्च गर्ने तालमेललाई नै असन्तुलित बनाइदिन्छ । हरेक महिनाको अन्त्यमा तपाईँ आफ्नो कमाईको कति हिस्सा कहाँ र कसलाई तिर्ने भन्नेमै अन्योलमा रहनुपर्दछ । तसर्थ, तपाईँले आफ्नो कमाईको आधारमा सकेसम्म चाँडो कसरी कर्जाबाट मुक्त हुने भन्नेतर्फ योजना बनाई सोको कार्यान्वयनमा लागिहल्न जरुरी छ । २. आकस्मिक कोषको स्थापना हामी सबैलाई थाहा छ, जीवन सँधैभरी हामीले चाहेको वा सोचेको तरिकाले चल्दैन । यस अनिश्चित जीवनमा भविष्यमा आइपर्ने भैपरी आउने जस्तोसुकै अवस्थाको लागि आफू तयार रहनु नै बुद्धिमानी हो । एक पटक कल्पना गर्नुस् त, कुनै एक रात तपाईँको परिवारको कोहि सदस्यको स्वास्थ्यमा समस्या आयो र उहाँलाई तत्कालै उपचारको लागि लानका लागि तपाईँसँग आवश्यक पैसा छैन भने तपाईँ के गर्नुहुन्छ ? हो यी र यस्तै प्रतिकुल परिस्थितसँग सहज रुपमा सामना गर्नसक्ने उपाय भनेको एक आकष्मिक कोषको स्थापना हो जसमा तपाईँले आफ्नो आयको केहि प्रतिशत रकम हरेक हप्ता वा महिना छुट्याउन सक्नुहुन्छ । ३. आर्थिक योजनाको विकास प्रत्येक महिनाको सुरुमै आफू र आफ्नो परिवारको आवश्यकता केके हुन् र सो आवश्यकता पूर्तिका लागि कति पैसाको आवश्यकता पर्छ र सो श्रोत कहाँबाट कसरी जुटाउने भनेर योजना बनाउँदा तपाईँ आर्थिक रुपले सहज अवस्थामा रहनु हुनेछ । महिनाको अन्त्यमा तपाईँले कहाँ, केका लागि, कति खर्च गर्नुभयो भनेर लेखाजोखा गर्नुभयो भने तपाईँले सहजै कति पैसा आवश्यक बस्तुका लागि, कति पैसा अनावश्यक चिजका लागि तथा कति पैसा फजुलमा खर्च गर्नुभयो भनेर पत्ता लगाउन सक्नुहुन्छ । र, यसपश्चात तपाईँले अनावश्यक कार्य वा क्षेत्रमा गर्नुभएको खर्च नियन्त्रण गर्ने बानीको विकास गर्न सक्नुहुन्छ । ४. मनको नियन्त्रण त्यसो त आफ्नो परिवार एवं साथीभाईसँग बसेर कफि वा बियर पिउन, बजारमा आएका राम्रा एवं ब्राण्डेड कपडा लगाउन अथवा मन मिल्ने मान्छेसँग कतै पर घुम्न जान कसलाई रहर नलाग्ला ? तर यहि रहर अनायासै जब बानी बनिदिन्छ, त्यसपछि तपाईँले बचत गर्ने त परको कुरा आफ्नो कमाईले जीवन चलाउन पनि मुश्किल पर्न थाल्छ । तसर्थ, मात्रै त्यस्तो रहर पाल्नुस्, जुन पूरा गर्न तपाईँ सक्षम हुनुहुन्छ । त्यसैले त हाम्रो लोककथन नै छ नि घाँटी हेरी हाड निल्नुपर्छ भनेर । जब आफ्नो हैसियतअनुसारको रहर पाल्नुहुन्छ तब तपाईँको खर्च नियन्त्रण हुनथाल्छ, जसलाई तपाईँले भविष्यको लागि साँचेर राख्न सक्नुहुन्छ । ५. लक्ष्य तोक्नुस् लक्ष्य तोक्नुहोस्, आफैलाई चुनौती दिनुहोस् र सो चुनौती पूरा गर्नतर्फ अग्रसर रहनुहोस् । यसले तपाईँलाई अगाडी बढ्न र जीवनलाई अर्थपूर्ण बनाउन पनि सहयोग गर्दछ । आफूसँग भएको अतिरिक्त रकमको बचत गर्दै सो जम्मा भएको पैसाले म यति समयमा यो काम गर्छु भनेर उदेश्य लिनुहोस्, जस्तो कि अबको पाँच वर्षमा म सेकेण्ड ह्याण्ड नै भएपनि गाडी किन्छु, ४९ वर्षको उमेरसम्म चार कोठाको एक तले घर बनाउँछु, अथवा अर्को वर्षसम्म यति कित्ता सेयर किन्छु लगायत । ६. अतिरिक्त आयको स्रोतको खोजी मानाैं तपाईँको महिनाभरीको कमाइ तपाईँको घर खर्च धान्न वा परिवार चलाउनमात्र सीमित छ जसको कारण तपाईँले बचत गर्न सकिरहनुभएको छैन । यस्तो अवस्थामा आफ्नो बिहान वा साँझको समयलाई सदुपयोग गर्दै तपाईँले अतिरिक्त आयको स्रोतको खोजी गर्न सक्नुहुन्छ । करेसाबारीमा तरकारी लगाएर एकातिर तपाईँले छरछिमेकमा बेच्न सक्नुहुन्छ वा सोही तरकारीको उपभोग गरेर तपाईँले तरकारी खरिद गर्नमा भइरहेको खर्चलाई नियन्त्रण गरी थोरै भएपनि बचत गर्नसक्नुहुन्छ । धेरै थकान वा तनाव नहुने अथवा तपाईँको रुचिको जुनसुकै काम गरेर तपाईँले अतिरिक्त आय गरी सो रकमलाई बचत गर्न सक्नुहुन्छ । ७. आवश्यक रकमभन्दा बढी पैसा नबोक्ने यदि तपाईँमा खर्च नियन्त्रण गर्न सक्ने क्षमता छैन भने खल्तिमा त्यतिमात्र पैसा बोक्नुहोस् जति तपाईँलाई आवश्यक छ । मानौं कार्यालय गएर घर फर्कँदासम्म तपाईँलाई बसभाडा वा खाजा खर्च जम्मा २०० रुपैँया भए पुग्छ भने त्यतिमात्र नगद बोकेर निक्सनुस् । त्यसैगरी घरखर्च चलाउनको लागि तपाईँलाई महिनाभरी जती रकमको जरुरत पर्छ, त्यतिमात्रै घरमा राख्नुस् । बाँकी पैसा बैंक वा सहकारीमा खाता खोलेर राख्नुस् । आवश्यकताभन्दा बढी पैसा साथमा हुँदा तपाईँलाई आवश्यकताभन्दा बढी खर्च गर्ने हिम्मत आउनसक्छ । ८. स्रोतको अधिकतम प्रयोग तपाईँले सकियो भनेर फ्याँक्नु भएको मन्जनको बट्टामा कतै अर्को तीनपटक दाँत मोल्न पुग्ने मन्जन त बाँकी छैन ? सकिन लागेको साबुनको टुक्राटाक्री जोड्दा कतै सिङ्घै साबुन पो बन्छ कि ? हो हेर्दा साना र सामान्य लाग्छन् । तर यस्तै सानो सानो कुरामा ध्यान दिँदा पनि तपाईँले ठूलो रकम बचत गरिरहनुभएको हुन्छ । अर्को एक वर्ष राम्ररी चल्न सक्ने तपाईँको मोटरसाइकल कतै बेच्न त खोजीरहनुभएको छैन ? स्रोतको अधिकतम प्रयोग गर्ने बानीले तपाईँको खर्चको ठूलो हिस्सालाई बचाउन सक्छ ।