सवारी चालकबाट २ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध मुद्दा दायर
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेकाे हाे। उनले मोटरसाइकलको कागजात माग्ने क्रममा लाइसन्स राखी कुनै चिट नदिइ सेवाग्राहीसँग घुस लिएका थिए। मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा गल्ती गरेको भेटिएमा नियमानुसार राजस्व रसिद काटी पठाउनु पर्ने हुन्छ। तर खड्काले सो नगरी उल्टै दुख दिएको बुझिएको छ। लाइसेन्स फिर्ता दिन पटकपटक बार्गेनिङ गरी दुई हजार लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।
रुस्लान अब देश बाहिर पनि, कुन कुन देशमा पाइन्छ ?
काठमाडाैं । नेपालको अतिलोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ । नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुनेमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् । रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो । रुस्लानको गुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ । चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सेवाग्राहीबाट घुस लिने मालपोत कार्यालयका नवलपरासीका खरिदार पक्राउ
काठमाडौं। सेवाग्राहीबाट घुस लिने भूमि सुधार तथा मालपोत कार्यालयका नवलपरासीका खरिदार नेत्र बहादुर चौधरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई ४० हजार घुस लिइसकेपछि नियन्त्रणमा लिइएको हो । जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक(पटक घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ दफा ३ को उपदफा (१) को खण्ड ख बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
नेप्से २८ अंकले बढेर उच्च बिन्दुमा, नेपाल लाइफसहित ६ वटा बीमा कम्पनीको बढी कारोबार
काठमाडौं । नेप्से परिसूचक एक सातामा २८ अंकले उकालो लागेको छ । गत माघ १० गते १२९७ अंकमा रहेको परिसूचक माघ १६ गतेसम्म बढेर १३२५ अंकमा पुगेको छ । जुन यस साताकै उच्च बिन्दु हो । गत साताभन्दा यो साता नेप्से परिसूचकमा सुधार देखिएको छ । साताको पहिलो दिन आईतबार नेप्से १२७६ अंकमा रहेको थियो । त्यसपछि निरन्तर उकालो नेप्से बुधबार सामान्य एक अंकले घटेको थियो । तर बिहीबारको बजारले सुधारको गति लिएको छ । सो दिन नेप्से परिसूचक १९.५१ अंकले बढेर १३२५.३८ अंकमा आईपुगेको छ । सातादिनमा परिसूचक उकालो लागेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा घटेको छ । चालु सातामा पाँच दिनको कारोबारमा कूल ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत साताको तुलनामा २ अर्ब रुपैयाँ घटी हो । पछिल्लो साता सेयर बजारमा ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, यस साता कारोबार संख्या पनि घटेको छ । गत साता ८६ हजार ४९० पटक कारोबार भएको थियो भने यस साता जम्मा ७२ हजार १८८ पटक सेयर कारोबार भएको छ । पाँच दिनको कारोबारमा सबैभन्दा बढी कारोबार गर्नेको टप टेन लिष्टमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको २१ करोड ६८ लाख, प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ९६ लाख, गुराँस लाइफ इन्स्योरेन्सको १७ करोड ६७ लाख, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड ९७ लाख र शिखर इन्स्योरेन्स कम्पनीको १६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक र प्रभु बैंक मात्रै बढी कारोबार गर्नेको टप टेन लिष्टमा परेका छन् । यी दुई बैंकको क्रमशः २९ करोड ४२ लाख र १७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लघुवित्त संस्थामध्ये डिप्रोक्स लघुवित्त र ग्रामिण विकास लघुवित्तको क्रमशः १६ करोड ८२ लाख र १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तो स्वरुपमा पुनरागमन हुने भयो विलासी हमर गाडीको
काठमाडौं । संसारभरका महंगा तथा विलासी गाडीका सौखिनहरुका लागि खुसीको खबरको छ । विश्वप्रसिद्ध हमर ब्राण्डको गाडीको पुनउत्पादन हुने भएको छ । पुरानो संस्करणको जस्तो इन्धनमा आधारित नभई हमर अब ब्याट्रीबाट चल्ने गाडीको रुपमा बजारमा आउने भएको छ । आर्थिक संकटको कारण देखाउँदै केही वर्ष अघि अमेरिकी कम्पनी जनरल मोटर्सले हमरका चारचक्के गाडीको उत्पादन बन्द गरेको थियो । केही समयअघि आफ्नो ब्राण्डको धेरैभन्दा धेरै राष्ट्रमा उपस्थिति जनाउने भन्दै नेपालमा पनि तीनवटा हमर जीप भित्रिएका थिए । ‘सन् २०२० लाई हाम्रो अतिअपेक्षित गाडी, सिएमजी हमर इभी ब्याट्री इलेक्ट्रिक ट्रकको राष्ट्रिय टिभीमा प्रशारण सहित सुरु गर्दैछाैं’, केही समयअघि आफ्नो आधिकारी वेभसाइटमा जनरल मोटर्सले उल्लेख गरेको छ । हिजो (बिहीबार) मात्रै ब्याट्रीबाट चल्ने नयाँ हमर पिकअप ट्रक यस वर्षको मे महिनामा आधिकारीक रुपमा सार्वजनिक हुने तर बिक्री भने सन् २०२१ सेप्टेम्बरबाट सुरु गर्ने कम्पनीले घोषणा गरेको छ । प्रसिद्ध बास्केटबल खेलाडी लिब्रन जेम्सको खेल खेल्ने खेलामा सो गाडीको ३० सेकेण्ड लामो कमर्सियलमा यसको केही भाग देखाइने जनाइएको छ । तथापि कम्पनीले गाडीको प्रारम्भिक टिजर भने आफ्नो वेबसाइटमा राखिसकेको छ । ‘शून्य उत्सर्जन र शून्य सिमितताका कारण हाम्रो पहिलो पूर्णत विधुतीय सिएमसी हमर इभीले नयाँ क्रान्तिको थालनी गर्नेछ,’ कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । कम्पनीका अनुसार यो गाडी एक हजार हर्जपावर क्षमताको हुनेछ, जुन जनरल मोटर्सको हालसम्मकै शक्तिशाली गाडी भएको कम्पनीले जनाएको छ । मात्र तीन सेकेण्डभित्र शून्यबाट ६० एमपीएचसम्म जान सक्ने यो पिकअपले ११५०० टर्क क्षमता उत्पादन गर्नेछ । ‘हाम्रो यो विद्युतीय ट्रकले हामीमाथि शंका गर्नेहरुलाई चकित पार्नेछ भने हाम्रा ग्राहकहरुलाई आनन्दित तुल्याउने छ’, कम्पनीले अगाडी आफ्नो वेबसाइटमा लेखेको छ । अघिल्लो संस्करणको जस्तै डिजाइन भए तापनि आउन लागेको हमर पिकअप पृथक देखिने बताइएको छ । तथापि, यस गाडीको मूल्य एवं एकपटकको चार्जपश्चात कति किमीको यात्रा तय गर्छ भन्नेबारे केही खुलाइएको छैन । कम्पनीले उसको अमेरिकास्थित डेट्रोइटस्थित प्लाण्टबाट नयाँ हमरको उत्पादन गर्नेछ, जुन प्लाण्टमा उसले २.२ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । सो प्लाण्टमा करिब २२ सय जना कर्मचारी कार्यरत रहनेछन् ।
चिठ्ठा प्रणालीले आकर्षक मानिएको जापानको वैदेशिक रोजगारी नै गुम्ने खतरा
काठमाडौं । नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । केही नीतिगत समस्याका कारण नेपाली कामदारलाई रोजगारीका लागि जापान जान समस्या भइरहेको छ । गत चैतमा जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदारलाई परीक्षा प्रणालीबाट सहजै जापान लैजान सक्ने सम्झौता भएपनि त्यसमा केही नीतिगत समस्याहरु देखा परेका हुन् । जापान सरकार र नेपाल सरकारबीच कामदार लैजान सक्ने समझदारी भएसँगै युवाहरुमा जापान जाने मनोवल बढ्यो । तर, जापान कसरी जाने ? कुन प्रक्रिया पुर्याए राेजगारीकाे लागि जापान जान पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएकाे छ । राेजगारीकाे लागि जापान जान आधारभूत भाषा परीक्षा (एनफाेर) गर्नै पर्ने हुन्छ । एनफाेर तहकाे भाषा परीक्षा पास गरेपछि लिइने शीप परीक्षणमा सफल हुनुपर्छ । तर, अहिले अभ्यासमा रहेकाे व्यवस्था अनुसार एनफाेर नगरेकाहरूले पनि चिठ्ठा भर्न पाइन्छ । यसरी चिठ्ठा भर्दा जापानी भाषा सम्बन्धी ज्ञान नभएकाहरू पनि सहभागी हुने र त्यस्तै व्यक्तिलाई चिठ्ठा पर्ने गरेका कारण जापानले दिएकाे राेजगारीकाे अवसर प्राप्त गर्नबाट नेपाली बन्चित भएका हुन् । चिठ्ठा भर्ने तर एनफोर नपढ्ने प्रवृति बढेसँगै सरकारले यसप्रति चासो देखाएको छ । अहिले सरकारले रोजगारीको आधार भाषा परीक्षा पास भएका विद्यार्थीले मात्र ‘लक्की ड्र’ (चिठ्ठा) भर्न पाउने प्रणालीको कुरा उठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव दिपक ढकालले बताए । एनफोर उत्र्तिण नगरेका युवाको बढ्दो आवेदनसँगै सक्षम युवाले अवसर नपाउने गरेको उनको भनाइ छ । जापान रोजगारको विषयमा सरकार गम्भीर भएको उनले बताए । ‘जापान सरकारले कतिपय रोजगारीको कार्यविधि गोप्य राख्ने गरेको छ, ती नीति तथा कार्यविधि प्रष्ट पार्नुभन्दा कतै रोजगारी त गुम्ने होइन भन्ने डर छ,’ उनले भने । सन् २०१९ मा कति युवा जापान गए भन्ने जानकारी मन्त्रालयसँग छैन । नर्सिङ केयरगिभरमा एक हजारका लागि चिठ्ठा खुलाएसँगै १३ हजारले आवेदन दिएका थिए । याे वर्ष करिब ८ हजार जनाले परीक्षा दिन पाउने मन्त्रालयले जनाएको छ । रेमिटान्सले अर्थतन्त्र धानेको नेपालमा सरकारले रोजगारीको राम्राे गन्तव्य मुलुक खोजिरहेकाे छ । व्यवसायिक रुपमा १ सय १० वटा देशमा वैदेशिक रोजगार खुल्ला गरेपनि सरकारको तर्फबाट ७ वटा मुलुकसँग कामदार पठाउने सम्बन्धी सम्झौता भएको छ । मलेसिया, कतार, साउदी, यूएई, कुवेत, बहराइन, ओमान हुन् जसले वैदेशिक रोजगारीको ६५ प्रतिशत हिस्सा ओगटेको छ । पाँच वर्षमा जापानले झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिट्को सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । जापानमा क्रमशः युवा उमेर समूहको संख्यामा कमी र वृद्धवृद्धाको संख्यामा वृद्धि हुँदै गएको छ । त्यसले गर्दा उनीहरूको रेखदेखका लागि पछिल्लो समय केयरगिभरको माग उच्च छ । जापानमा खासगरी चीन र भियतनामबाट केयरगिभरका लागि आवश्यक कामदार आपूर्ति बढी हुन्छ । ती मुलुकले क्रमशः कामदार पठाउन कम गरेपछि जापानले विकल्पमा नेपाली कामदार लैजाने इच्छा देखाएको हो ।
उपकार इँटा उद्योगका एक मजदूर मृत फेला
काभ्रेपलाञ्चाेक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए । सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए । मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले बताएका छन् । सदायले उद्योगमा मिस्त्रीको काम गर्दै अाएका थिए ।
विद्यार्थी हुनु त यस्तो पो !
काठमाडाैं । आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ रूपैयाँ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका-५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेका छन् । पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका-५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गरे । पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पुर्याएको योगदानको प्रशंसा गरे । पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताए । रासस