सगरमाथा इन्स्योरेन्स कम्पनी २५ औ वर्षमा प्रवेश, डिजिटजलाईजेसन विषेश प्राथमिकतामा रहने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५ औ वर्षमा प्रवेश गरेको छ । उक्त इन्स्योरेन्स कम्पनीले वि.स. २०५३ साल साउन २ गतेबाट निर्जीवन बीमा व्यवसाय शुरु गरेको हो । सो इन्स्योरेन्स कम्पनीले २५ औ वर्षमा प्रवेश हुदै गर्दा डिजिटल कारोबार प्राथमिकतमा रहेकाले सबैलाई डिजिटल युगमा समावेश गराउने उदेश्य रहेको जानकारी दिएको छ । सुरुवाती चरणमा कम्पनीले ‘विग अर स्मल सेक्यूरिटी फर अल’ नारा ल्याएको थियो । नेपालको बीमा इतिहासमा वैदेशिक लगानी सहित संयुक्त साझेदार भित्र्याउन कम्पनीको भुमिका अग्रणी रहेको छ । इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समिति, ग्राहक, सेयरधनी तथा शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले काठमाडौको थापाथलीमा आफ्नो कार्यालय स्थापना गरी बीमा व्यवसायको सुरुवात गरेको थियो । सो समयमा कम्पनीका कर्मचारीहरु जम्मा १० जना मात्र रहेका थिए । हाल कम्पनीको आफ्नै सुविधा सम्पन्न भवन रहेको छ । इन्स्योरेन्स कम्पनीले देशव्यापी रुपमा ७ वटै प्रदेशबाट बीमा सेवा प्रवाह गरि रहेको छ । उक्त कम्पनीले हाल ७३ कार्यालय तथा ३ सय ६१ कर्मचारी मार्फत बीमा सेवा प्रवाह गर्दै छ । सुरुवाती चरणमा कम्पनीको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको थियो । अहिले कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ पुगि सकेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापना कालको प्रथम वर्षमा बीमा शुल्क ५९ लाख ७ हजार ६ सय ७६ संकलन गरी ४४ हजार दाबी–भुक्तानी गरेको थियो । आर्थिक वर्ष २०७६।७७ को अन्त्यसम्म आइपुग्दा कम्पनीले २ अर्ब १९ करोड ४७ लाख संकलन गरेको छ भने १ अर्ब ३ करोड रुपैयाँ दाबी–भुक्तानी गर्न सफल भएको छ । वि.स. २०७२ सालको विनाशकारी भुकम्पमा देशभर ठूलो धनजनको क्षति हुन पुगेको थियो । सो अवस्थामा सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सबैभन्दा बढी संख्यामा दाबी परेको थियो । कम्पनीले आफूलाई परेको १ अर्ब ९३ करोड बराबरको दाबी–भुक्तानी सहजै फछ्र्योट गर्न सफल भयो । सो दाबी–भुक्तानी पश्चात कम्पनीले बीमित समक्ष आफ्नो विश्वासमा थप वृद्धि हनु पुगेको दाबी गरेको छ । साथै, भोलिका दिनमा आइ पर्ने जस्तो सुकै चुनौतीकोपनि सामना गर्न आफूहरु सक्षम रहेको कम्पनीले जानकारी दिएको छ । ‘भीआईपी अन द स्पट’ कम्पनीले हाल संचालनमा रहेको ‘भीआईपी अन द स्पट’ (भेकल इन्स्योरेन्स पोलिसी) कार्यक्रम देशैभर संचालन गर्ने जनाएको छ । सरकारले प्राथमिकतामा राखेको कृषि, बालि तथा पशुपन्छि र लघु बीमालाई प्राथमिकतामा राख्ने तथा डिजिटल्ली काम अघि बढाउने कम्पनीको उदेश्य छ । भीआईपी अन द स्पट, (भेकल इन्स्योरेन्स पोलिसी) सवारीमा लागू हुने बीमा पोलिसी हो । कम्पनीले अन्र्तराष्ट्रिय दाबी–भुक्तानीको अभ्यासलाई आत्मसाथ गर्दै भिआई अन स्पट मार्फत तत्काल दाबी–भुक्तानीको अभ्यास गर्दै आएको छ । दुर्घटनाको खबर पाउन साथ कम्पनीले तत्कालै छिटो–छरितो बीमा सेवा दिन ‘भिआईपि अन द स्पट’ पोलिसी थप सहयोगी हुने जनाएको छ । सोही २५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले समेत शुभचिन्तक सबैमा कृतज्ञता व्यक्त गरेका छन् । ‘हाम्रो कम्पनीमा सेयरधनीहरुले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण छ, २०७२ सालको भुकम्पमा समेत ठूलो संख्याको दाबी पर्दा हामीले सहजै भुक्तानी गर्न भयौ, कृषि बीमालाई सहजिकरण गर्ने, लघु बीमामा जोड दिने तथा डिजिटलाइजेसनमा सबैलाई जोडने हाम्रो उदेश्य रहेको छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्यूजसँग भने । प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विश्वभर कोरोना महामारी (कोभिड–१९) ले ठूलै प्रभाव पारि रहेको बेलामा आफूहरु हतोत्साहीत नभई आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको जानकारी दिएका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा म्याग्दी जिल्लाकाे पहिरो पिडितलाई सहयाेग
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् । बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्ने बैंकले जनाएको छ । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गरेको बैंकले बताएको छ ।
मौद्रिक नीतिले सुविधा दिएकै दिन सेयर धितो कर्जामा इन्भेष्टमेन्ट बैंकले ल्यायो आकर्षक योजना
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयरधितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरिएको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि भनिएको छ । यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो । मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आकर्षक स्कीम ल्याएको छ । इन्भेष्टमेन्ट बैंकले एक वर्षसम्म व्याजदर परिवर्तन नहुने गरी सेयर धितो कर्जा प्रदान गर्ने स्कीम ल्याएको छ । र, कर्जाको व्याजदर पनि ९.९९ प्रतिशत कायम गरिएको छ । ‘एक वर्षसम्म ९.९९ प्रतिशत मात्रै व्याज हुने गरी सेयर धितो कर्जा प्रवाह गरिरहेका छौं, यस्तो सुविधा प्रयोग गर्नको लागि बैंकको नजिकको शाखामा सम्पर्क गर्नुहोला,’ नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहकलाई पठाएको एसएमएसमा उल्लेख छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको तौलिहवामा १९ औं शाखा कार्यालय
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले शुक्रबार १९ औ शाखाको रुपमा कपिलवस्तु जिल्लाको तौलिहवा बजारमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर ५ का क्षेत्रिय प्रबन्धक बरुण पौडेल र तौलिहवा शाखाका शाखा प्रबन्धक नविनबहादुर श्रेष्ठको समुपस्थितिमा १९ औ शाखा विस्तार भएकाे हाे । यस संस्थाको प्रदेश नम्बर १ मा चारवटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय रहेको छ भने तौलिहवामा उन्नाइसौं शाखा कार्यालयको सुरुवात पछि प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयहरु सहित जम्मा २१ वटा शाखा कार्यालयहरु संचालनमा छन् । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड रहेको छ भने निक्षेप संकलन रु.४ अर्ब ८४ करोड तथा कर्जा लगानी रु.३ अर्ब ७१ करोड प्रवाह भएको छ ।
तीन महिनाको विपद्: कूल १५५ को मृत्यु, ५२ बेपत्ता
काठमाडौं । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । विपद्मा परेर कूल २४९ घाइते छन् । उनका अनुसार अहिले पनि उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनस्थापनको काम जारी छ । मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिराले पु¥याएको छ । प्राधिकरणबाट प्राप्त विवरणानुसार पहिरामा परेर कूल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । कूल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिए । सबैभन्दा बढी पहिरो गत जेठ ३१ पछि खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्याङ्क छ । उक्त अवधिमा पहिरामा परेर मात्रै १०० जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । यसपटक नसोचेको क्षेत्रमा पहिरो खस्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेकाले पनि बाढीपहिराका घटना बढेको तथा भूकम्पले असर गरेकाले पहिरो खसेको भूगर्भविद् शिवकुमार बाँस्कोटाले बताए । यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ । त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म २५० भन्दाबढी विपद्का घटना भएको विवरणमा उल्लेख छ । जेठ ३१ गते पर्वतको दुर्लुङमा पहिरो खसेको थियो । त्यसमा परेर नौ जनाले अकालमै ज्यान गुमाए । असार ८ गते पाल्कापो सम्बोबारीमा पहिरो खस्दा चार जनाको मृत्यु भयो । त्यस्तै बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा सात जनाको मृत्यु भएको थियो । असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाए भने अझै धेरै बेपत्ता छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकका बाह्रबीसे र भोटेकोशीमा बाढी पहिरामा परेर दुई जनाको मृत्यु भयो भने अझै २० जना हराइरहेका छन् । म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकामा बाढीपहिरो जाँदा २७ जनाको मृत्यु भयो भने चार जना अझै बेपत्ता छन् । यस्तै कास्की, जाजरकोट, लमजुङलगायत जिल्लामा पनि बाढी र पहिराले धनजनको क्षति पु¥याएको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि पुनःन्यूनचापीय रेखा नेपाल नजीक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । उक्त मनसुन झण्डै चार दिन कायम रहने जनाइएको छ ।
माैद्रिक नीतिले हामीलाई सन्तुष्ट बनायाे: सराेजकाजी तुलाधर
काठमाडौं । वित्तीय संस्था संघले मौद्रिक नीति राम्रै आएको प्रतिक्रिया दिएको छ । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले पुरै बैंक तथा वित्तीय संस्थाहरु सन्तुष्ट भएको बताएका छन् । कोरोना भाइरसको बिचमा आएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई सन्तुष्ट पारेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याएका योजना तथा कार्यक्रमहरु समय र परिस्थती अनुरुपकै भएको उनको भनाई छ । उनले विकासन्युज सँग प्रतिक्रिया दिँदै भने, ‘हामीले यो समयमा धेरै अपेक्षा गर्नु पनि हुँदैन, समय परिस्थिती अनुसार मौद्रिक नीति राम्रै छ, खास गरी क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यसले सन्तुष्ट नै बनाएको छ ।’ यस वर्षको मौद्रिक नीतिले खासगरी क्षेत्र पहिचान गरी बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न निर्देशन दिएको बताउँदै उनले कृषिमा १५ प्रतिशत र उर्जाम १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था सकारात्मक भएको उनको भनाई छ ।
सीसीडी गणना विधिमा राष्ट्र बैंककाे चलाखी, लगानीयाेग्य पुँजी थाेरै थपिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) बढाउन दिएको दबाब राष्ट्र बैंकले घुमाउरो माध्यम अपनाएर हटाएको छ । चालु आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिले सीसीडी अनुपात ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत बनाए पनि बैंकहरुलाई लगानीयोग्य रकम (तरलता) उपलब्ध हुने सम्भावना कम छ । सीसीडी अनुपात बृद्धि गरेसँगै स्रोत गणनाको लागि पहिला गरिएका सबै प्रकारका व्यवस्था खारेज गरिएकोले बैंकमा तरलता खासै बढ्ने नदेखिएको हो । ‘कोभिड–१९ संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरुको साधन प्रवाह अभिवृद्धि गर्न कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) को सीमा २०७८ असार मसान्तसम्मको लागि ८० प्रतिशतबाट बढाई ८५ प्रतिशत कायम गरिनेछ । कर्जा स्रोत परिचालन अनुपात गणना गर्दा यसभन्दा पहिले गर्ने गरिएका सबै प्रकारका समायोजनहरु खारेज गरिनेछन्,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ । सीसीडी अनुपात बृद्धि गर्ने निर्णयसँगै थप गरिएको दोस्रो वाक्यले बैंकहरुमा तरलता खासै बढ्ने नदेखिएको हो । यसअघि २ वर्ष अवधि पूरा भएको र भुक्तानी गर्ने समय कम्तिमा १ वर्ष बाँकी रहेको मुद्दति निक्षेपलाई सीसीडी गणनामा समावेश गर्नु पर्ने थिएन । यस्तै, विदेशबाट ल्याइएको रकम, पुनरकर्जा र सरकारी ऋणपत्रहरुमा गरिएको लगानी पनि सीसीडीमा गणना गर्नुपर्ने थिएन । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले यस्ता व्यवस्था खारेज गरेपछि सीसीडी अनुपात बढाएर ८५ प्रतिशत पुर्याए पनि तरलता खासै नबढ्ने बैंकरले बताएका छन् । ‘पहिला सीसीडी गणनामा केही अस्पष्टता जस्तो थियो, अहिले यसलाई प्रष्ट, सरल र सबैले बुझ्ने गरी कार्यान्वयन गर्न खोजिएको छ तर पहिलाको सबै प्रावधान खारेज गरिएकोले तरलता खासै बढ्दैन,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने । मौद्रिक नीतिले यसअघिका सबै व्यवस्थामा भएका द्वीअर्थ व्यवस्था हटाएर सरल बनाएको र सकेसम्म सबैलाई सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गर्ने प्रयास गरेको प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सीसीडी रेसियाेमा गरिएकाे परिवर्तनले थप ७० अर्ब रूपैयाँ लगानी पुँजी सिर्जना हुन्छ । मौद्रिक नीतिले मर्जरमा जाने बैंक वित्तीय संस्थालाई अनिवार्य नगद अनुपात (सीआरआर) मा ०.५ प्रतिशत र बैधानिक तरलता अनुपात (एसएलआर) मा १ प्रतिशत छुट दिने भनिएको छ । यस्तो सुविधा पाउनको लागि बैंक वित्तीय संस्थाले मर्जर र एक्वीजीसन प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रमा एकीकृत कारोबार सुरु गरिसक्नुपर्ने हुन्छ । त्यस्तो संस्थाले २०७९ असार मसान्तसम्म यस्तो सुविधा पाउने भनिएको छ । सामान्य हिसावले हेर्दा सीआरआरको ०.५ प्रतिशत र एसएलआरको १ प्रतिशत गरी मर्जरमा जाने बैंक वित्तीय संस्थाले कुल निक्षेपको डेढ प्रतिशत रकम थप परिचालन गर्न पाउने देखिन्छ । तर, कर्जा लगानीको लागि सीसीडीले नियमन गर्ने भएकोले यस्तो व्यवस्थाबाट थप स्रोत परिचालनको सम्भावना कम भएको बैंकरको भनाइ छ । ‘सीसीडी अनुपातको सीमासम्म कर्जा प्रवाह भएको छैन भने सीआरआरको पैसा नै चाहिएन, सीसीडी अनुपातको सीमा कायम भएको अवस्थामा सीआरआरबाट आएको पैसा लगानी गर्न पाइने होइन, सीआरआर कम भएका कारण प्राप्त भएको स्रोतलाई अन्य लगानीमा प्रयोग गर्न पाइयो, बढी आम्दानी हुने गरी कर्जा प्रयोजनमा प्रयोग गर्न पाइदैन,’ एक बैंकरले भने । बैंकरका अनुसार सीआरआर कम गर्दा प्राप्त हुने स्रोतलाई बैंक तथा वित्तीय संस्थाले औसतमा ५ प्रतिशत प्रतिफल प्राप्त हुने सरकारी ऋणपत्र, आफ्ना कर्मचारीलाई कर्जा तथा यस्तै प्रकृतिका अन्य क्षेत्रमा भने लगानी गर्न पाउने छन् ।
डिजिटल टिभी अपरेटर एसोसिएसन गठन, अध्यक्षमा आचार्य
काठमाडौं। डिजिटल टिभी अपरेटरहरुले डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपाल गठन गरेका छन् । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा समितिकाे गठन भएकाे हाे । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डिजिटल टिभी अपरेटर संस्था गठन भएकाे बताइएकाे छ । समिति सदस्यमा म्याक्स टिभीका दिनेश सुवेदी, मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका विनय बोहोरा, ब्रोड टिभीका विनोद तिमिल्सिना, नेट टिभीका निरज राजभण्डारी, प्रभु टिभीका रविन सुवेदी र क्लियर टिभीका अमित थापा रहेका छन्। डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपालको नामबाट छाता संगठनमार्फत अपरेटर तथा उपभोक्ताहरुको हकहित संरक्षण गर्ने उदेश्य लिइएको अध्यक्ष आचार्यले बताए। उनले डिजिटल प्रविधिलाई अर्थतन्त्रमा समेट्ने उद्देश्यले समिति गठन गरिएकाे बताए । यसका साथै उनीहरुले ४ वटा भारतीय न्युज च्यानलको प्रसारणमा रोक लगाएकाे पनि बताएका छन् । भारतीय समाचार च्यानल आजतक, एविपी न्यूज, जी न्यूज र इन्डिया टिभी च्यानललाई नेपालमा हेर्न नमिल्ने उनले बताए ।