मौद्रिक नीतिबाट ग्रील तथा घरेलु साना उद्योग व्यवसायीहरु उत्साहित
काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नितिबाट ग्रील तथा घरेलु साना उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटवालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट आफुहरु उत्साहित भएकाे बताए । उनी भन्छन्, ‘शिथिल अर्थतन्त्रलाइ चलायमान बनाउन रोजगारी सृजना गर्न आत्मानिर्भर अर्थतन्त्र निर्माण गर्न महंंगी नियन्त्रण गर्न अर्थतन्त्रको मेरुदण्ड निजि क्षेत्रलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराइ ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न प्रोत्साहित गर्न मौद्रिक नीति केन्द्रित भएकोमा ग्रील तथा स्टील व्यवसायी महासघं हार्दिक स्वागत गर्दछ । ’ उद्योग तथा व्यवासायहरु बन्द हुँदा बैकको सावा र ब्याज बुझाउन नसकेका ६ महिना देखि २ वर्षसम्मको समयावधी थप गर्न पुनर्तालिकिकरण गर्ने , घर भाडा र कर्मचारिको तलब भुक्तानी गर्न नसकेका उद्योग सुचारु गर्न चालू पुँजीको अभावमा परेर चिन्तित उद्योगीलाई चालु पुँजीकाे २० प्रतिशतसम्म पुनर्कजा ५ प्रतिशतसम्म उपलब्ध गराउने कुराहरु मौद्रिक नीतिले सम्बोधन गरेकोले साना उद्योग व्यवसायस्हरु उत्साहित भएको उनले बताए । मौद्रिक नितिले सम्बोधन गरेका लक्ष्य प्राप्ती गर्न पुनर्कर्जा कोषको ५ गुणा सम्म पुनर्कर्जा उपलब्ध गराउने नीतिले सहयोग पुग्ने कटवाल बताउछन् ।
बाजुराकाे साँफे मार्तडी सडक तत्काल सञ्चालन नहुने
बाजुरा । बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको छ । द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक पहिराले भाँसिएको छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय साँफेबगरले डोजर प्रयोग गरे पनि सडकको अवस्था सुधार्न नसकिएको इञ्जिनीयर दमनकुमार विष्टले जानकारी दिए । बूढीगङ्गा नदीको कटान र लगातारको वर्षाका कारण पहिरो नरोकिँदा बाटो सुचारु गर्न थप समस्या देखिएको हो । बल्दे क्षेत्रबाट १०० मिटर जति बाटो नयाँ कटान गरिए पनि द्धवारी क्षेत्रबाट थप पहिरो गएको छ भने अम्कोटको गाउँ तल पर्ने भागको सडकमा पनि पहिरो गएर सडक भाँसिएको छ । साता दिनभित्र अवरुद्ध बाटो सुचारु गर्ने गरी काम शुरुआत गरिए पनि सञ्चालनमा समस्या देखिएको डिभिजन कार्यालय प्रमुख ललित खनालले बताए । शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे नेतृत्वको टोलीले अवस्थाबारे जानकारी लिएको छ । सडक डिभिजन कार्यालय प्रमुख ललित खनालसहित बाजुराका स्थानीय तहका व्यक्तिसहितको टोलीले बाटोको अवस्थाबारे जानकारी लिनुका साथै सञ्चालको उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । द्धवारी मन्दिर नजिकैको खोलाबाट अर्को बाटो निर्माण गर्ने की भन्ने विकल्पबारे छलफल भए पनि पुनः पहिरो गएकै क्षेत्रमा अल्पकालीन उपाय निकाल्ने र दीर्घकालीन समाधानका लागि पहल जारी राख्ने विषयमा छलफल गरिएको छ । निर्माण गरिएको एकतिरको सडकसमेत पहिरोमा भाँसिएपछि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन । सडक पहिरोले भाँसिएपछि दुईसाता दिनदेखि साँफे मार्तडी सडक पूर्णरुपमा बन्द भएको छ । सवारीसाधन मार्तडीबाट द्धवारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदलयात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्रा लागिसमेत जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।
तत्काल अनलाइन कक्षा सुचारु गर्न माग
काठमाडौं । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भने, “अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ ।” विद्यालय सञ्चालकले सरकारसँग वार्ता गर्नुभन्दा पनि अभिभावकसँग समाधानको लागि गम्भीर छलफल गर्नुपर्ने उनको भनाइ छ । अनेरास्ववियुका संयोजक ऐन महरले निजी विद्यालयले अहिले अनलाइन कक्षा बन्द गरेर उदासिनता देखाएको आरोप लगाए । निजी विद्यालय सञ्चालकले राखेका कतिपय माग संवदेनशील रहेकाले समस्या समाधानका लागि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको बताउँदै विद्यालयले अनलाइन कक्षा तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए । प्याब्सनका महासचिव कुमार घिमिरेले आफूहरुले राज्यसँग सहुलियत मागे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । एनप्याब्सनका महासचिव सुवास न्यौपानेले अनलाइन कक्षा बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरे । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय सञ्चालकले चैतभन्दा अगाडिदेखि नै शिक्षकलाई तलबभत्ता नदिएको आरोप लगाए । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिए ।
पाँचथरका सबै सङ्क्रमित निको भएर घर फर्किए , क्वारेन्टिन पनि खाली
पाँचथर । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ । पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् । यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दोस्रो सङ्क्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् । क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।
चार मुक्तकः भ्रष्टहरु कै मनोमानी
१. केही दिनदेखि अविरल झरी छ पानी छ । अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।। लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।। २. बाढी पहिरोसँगै कयौँ सपना बग्यो आज प्रकृति नै निर्मम बन्यो के के लग्यो आज ।। चाहिँदा काम नदिने छाता–नाता उस्तै लाग्छ आश देखाइ आफन्तैले पुनः ठग्यो आज ।। ३. जथाभावी बाटो खन्यौ अनि भासिएँ म सर्वेसर्वा म हुँ भन्यौ अनि भासिएँ म ।। सदुपयोग होइन चरम दोहन भएपछि रक्षक नै भक्षक बन्यौ अनि भासिएँ म ।। ४. सह्यो प्रकृतिले अत्ति भएपछि यो उग्र भो विवेक गुमाइ जनले मास्दै गएपछि यो उग्र भो ।। अन्योन्याश्रित सम्बन्ध यो विर्सिएर फेरि स्वार्थ पूरा गर्नतिर लएपछि यो उग्र भो ।। [email protected]
नवलपरासीकाे निजी विद्यालयले शुल्क नलिने
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । “विद्यालयले लिने गरेको मासिक शुल्क, कम्युटर, यातायातलगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ”, उनले भने । वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैँ स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताए । “बन्दाबन्दीका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्”, उनले भने ।
गत आर्थिक वर्षमा बाँकेमा साढे २३ हजार सवारी कारबाहीमा
बाँके । गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारवाहीमा परेका छन् । उक्त कारबाहीमा रु एक करोड २९ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ । जसमा ट्रक कारवाहीबाट रु ३७ लाख ७४ हजार ५००, जीपकारबाट रु २५ लाख ४० हजार ५००, मोटरसाइकलबाट रु २२ लाख ८५ हजार ५००, बसबाट रु २० लाख ७४ हजार ५००, ट्रयाक्टरबाट रु १५ लाख १४ हजार ५००, टेम्पोबाट रु दुई लाख ९९ हजार र अन्य सवारी साधनको कारवाहीबाट रु दुई लाख ८८ हजार ५०० राजश्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । सो अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा छ बालक, तीन बालिका, १२ महिला र ५२ जना पुरुष रहेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । यस्तै पाँच बालिका, ११ बालक, ३२ महिला र ११० पुरुष गरी १५८ जना गम्भीर घाइते भए भने तीन बालिका, आठ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भए । सवारी दुर्घटनामा ४० पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ जीपकार, २३ बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, सात माइक्रो, चार टिपर र एक अन्य सवारी दुर्घटना भएका छन् । प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिनालाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको सङ्ख्या धेरै छ ।
नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित
काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचन आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उनले बताए । नेपाल टेलिकममा ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर छ । माघ ०७६ मा नै फाेरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको दुई लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरी लागू गर्नुपर्ने माग उनीहरूको छ ।