विकासन्युज

चट्याङबाट जुम्लामा मरे ५ सय भेंडा, लाखाैंकाे क्षति

सिँजा । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउने छ । चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो । बुढथापाले भन्नुभयो, “सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।” जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका थिए ।

सुदूरपश्चिममा ५३ हजारभन्दा बढीकाे कोरोना परीक्षण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ । पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो । सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो । पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ सङ्क्रमित पुगेका छन् । यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन् । यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ/आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय सङ्क्रमित पुगेका छन् । हालसम्म कोरोनाका कारण कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ । देशका अन्य प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यसयता कसैको मृत्यु भएको छैन । कोरोनाको सङ्क्रमण दर भने निरन्तर बढ्दो छ । सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको झण्डै ८४ प्रतिशत हो । समुदायमा फैलिने जोखिम बढ्दै पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्न थालेसँगै रोकथामको प्रयासस्वरूप कैलाली र कञ्चनपुरमा हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहाडका कतिपय स्थानीय तहहरू ‘सिल‘ गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको बताए । उनले भने, “हाल फाटफुटरूपमा समुदायस्तरमा कोरोना देखिन थालेको भए पनि रोग समुदायस्तरमै फैलिइसकेको छैन, ‘लोकल ट्रान्समिसन‘को रूपमा देखिएको छ ।” भारतलगायतबाट भित्रिने नागरिकलाई क्वारेन्टिनमा बसाउँदा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना गर्न गराउन भएको कमीकमजोरी, क्वारेन्टिनहरू अव्यस्थित भएको र नागरिकहरूले पनि सतर्कता तथा सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । भारतबाट भित्रिने नागरिकलाई हाल स्थानीय प्रशासनको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धितकै घर पठाउने गरिएको छ । होम क्वारेन्टिनमा बसेका व्यक्तिको स्वास्थ्यमा केही समस्या भएपछि मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ । प्रदेशमा गौरीफण्टा र गड्डाचौकी लगायतका सीमा नाकाबाट नेपाल भित्रिने क्रम अझै रोखिएको छैन । पछिल्ला दिनमा लक्षणसहितका सङ्क्रमित फेला पर्न थालेको भए पनि यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । दैनिक जाँचको दायरा बढ्दै सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ । यद्यपि सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ । प्रदेश सरकारको निर्णयबमोजिम सेती प्रादेशिक अस्पताल धनगढी र डोटी जिल्ला अस्पतालमा पिसिआर मेसिनको व्यवस्थासहित नयाँ प्रयोगशाला सञ्चालनमा आइसकेको छ । बैतडी जिल्ला अस्पतालमा पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको सहयोगमा डडेलधुरामा समेत पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनमा आइसकेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोनाका कारण जटिलता उत्पन्न हुने अवस्थाका विरामीलाई राख्नुपर्ने व्यवस्थाका लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको जानकारी दिए । “२० वटा भेन्टिलेटर खरिद प्रक्रियामा छन्”, मन्त्री सुवेदीले भने, “सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा गरी १८ वटा आइसियुको व्यवस्था भइसकेको छ ।”

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न ओली-दाहालबीच छलफल शुरू

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच छलफल शुरू भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने उल्लेख गरिएको छ।

भदौ मसान्तसम्म लाइसेन्सकाे म्याद सकिए पनि जरिवाना नलाग्ने

फाइल फाेटाे काठमाडाैं । बन्दाबन्दीकाे कारणले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लकडाउनकाे कारण बुझाउनु पर्ने जरिवाना शुल्क मिनाहा गरेको जनाएकाे छ। याेसँगै सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए पनि भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन।  

कैलालीका बैंक एक दिन बिराएर मात्रै खुला हुने

काठमाडाैं । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन्। बैंकहरू बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बताइएकाे छ ।

बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने, प्रहरीलाई पनि भत्ता दिने

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ । बैठकले होम आइशोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक सङ्क्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ । उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक सङ्क्रमितको सहयोगीका रुपमा स्थानीयवासीलाई समेत राखिने भएको छ । आइसोलेशन सहयोगी सङ्क्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ । होम आइसोलेसशनमा रहने सङ्क्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत रु चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी सङ्क्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत रु ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ । यस्तै सङ्क्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार रु दुई हजान दिइने निर्णयसमेत भएको छ । सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टिन स्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिए । साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षायकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति रु एक हजार प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ । यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ । हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पिसिआर टेष्ट गरिएको छ । नगरपालिकामा जम्मा सङ्क्रमित १३० पुगेका छन् । यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन् । एक सय दुई जना कोरोना सङ्क्रमित अस्पताल तथा घरमा आइसोलेशनमा बसिरहेको नगरपालिकाले जनाएको छ । आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पिसिआर टेष्ट गर्ने बैठकले निर्णय गरेको छ ।

शिक्षक र विद्यार्थीकाे लागि टेलिकमकाे सस्ताे डाटा प्याक, ३१५ रुपैयाँमा २४ जीबी

काठमाडौं । कोभिड-१९ का कारणले ठप्प भएको पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलको समुपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता सम्पन्न भएको हो । कोभिड-१९ ले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका ‘गाइडलाइन्स फर फ्यासिलिटेटिङ मोड अफ लर्निङ इन हाइयर एजुकेसन २०७७’ लाई मध्यनजर गरी सो सम्झौता भएको टेलिकमले जनाएकाे छ । सो सम्झौता अनुसार मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने छ । सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएकाे छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । यो प्याकेज प्रयोग गर्नका लागि विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले [email protected] मा इमेल पठाउन सक्नेछन् । साथै नेपाल टेलिकमको वेबसाइट  बाट यो सेवा उपलब्ध गराउनका लागि आवश्यक तयारी गरिरहेको टेलिकमले जनाएकाे छ । सो समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्यरुपमा उत्रन लागेको बताए । उनले मुलुकको उच्च शिक्षाको व्यवस्थापन गरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गरिरहेको टेलिकमबीच भएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञान आदानप्रदान गर्नसक्ने उल्लेख गरे । यसैगरी सो अवसरमा आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई कम्पनीले राष्ट्रिय दायित्वको रुपमा लिएको बताए ।

भरतपुर अस्पतालकाे आइसोलेसनबाट भागे एक संक्रमित

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।