दुई साता लकडाउन गर्नुपर्ने विज्ञहरुकाे सुझाव, प्रधानमन्त्रीले जनाए सहमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई साता लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् । स्राेतका अनुसार विज्ञहरुले ओलीलाई दुई हप्ता लकडाउन गर्न सुझाएका हुन् । यही तरिकाले अघि बढे झन ठूलाे जाेखिम हुने भन्दै उनीहरुले लकडाउन गर्न बाहेकाे विकल्प नभएकाे बताएका हुन् । स्राेतका अनुसार विज्ञहरुकाे याे सुझावमा ओली सहमत भएका छन् । ओलीले काेराेनाकाे जाेखिम झन बढ्दै गएकाेले सबैले मिलेर यसकाे न्यूनिकरण गर्नु पर्ने बताएका छन् । उनले विज्ञहरुकाे सुझावलाई सकारात्मक रुपमा लिएकाे स्राेतकाे भनाई छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । यस्तै बैठकमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका छन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन् । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । काठमाडौं उपत्यकामा पनि झन बढी जोखिम बढ्दै गएको छ । विभिन्न तह तप्काबाट पनि सरकारले फेरि लकडाउन गर्नु पर्ने आवाज उठिरहको छ । आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरुर्लाइ अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेकाे हाे । यसका साथै संक्रमितहरुकाे सम्पर्कमा गएकाहरुले नजिककाे स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ । यसरी दैनिक जाेखिम बढ्दै गएकाेले सरकारले पुन: लकडाउन गर्ने हाेकि भन्ने अनुमान पनि धेरैकाे छ ।
नेप्सकाे स्वतन्त्र सञ्चालकमा बालकृष्ण जोशी नियुक्त, काे हुन उनी ?
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स(नेप्स) काे स्वतन्त्र सञ्चालमा बालकृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा विज्ञको रुपमा पहिचान बनाएका जोशीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । फिनटेचको क्षेत्रमा विगत २० वर्षभन्दा लामो अनुभव भएका जोशीले बैंक तथा वित्तीय संस्थाहरुको लागि क्रस बोडर डिजिटल पेमेन्टको प्लेटफर्म निर्माण गर्नमा महत्वपूर्ण भुमिका निभाएका छन् । उक्त प्लेटफर्मले बैंक तथा वित्तीय संस्थाहरुलाई संयुक्त राज्य अमेरिकाबाट आफ्नो नेटवर्कमा सेतो लेवल विप्रेषण वा व्यावसायिक भुक्तानी सेवाहरु प्रदान गर्न सहयोग गर्दछ । उनले श्रृजना गरेको प्लेटफर्म विश्वका १५ भन्दा बढि मुलुकहरुमा लागु गरिएको छ । जोशीले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा ख्यातीप्राप्त ब्राण्डहरु थमेल रेमिट, लिपफ्रग टेक्नाेलाेजी र म्याचनेटकाे सफलतापूर्वक स्थापना गरिसकेका छन् । नेप्सले उनको विभिन्न क्षेत्रको अन्तर्राष्ट्रियस्तरको विज्ञताबाट भरपूर्ण फाइदा उठाउन सक्ने विश्वास लिएको छ । नेप्सले कार्ड प्रोसेसिबको क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको छ । यस कम्पनीले १ हजार ९ सयभन्दा बढी एटीएम मेसिन र १५ हजारभन्दा पीओएस मेसिनको सहायताबाट बार्षिक रुपमा ३ करोड ३० लाख भन्दा बढी सफल कारोबारबाट २३ अर्ब ७० करोड रूपैयाँको कारोबार गर्दै आएको छ । कम्पनीले अत्याधुनिक प्रविधिको माध्यमबाट भुक्तानी प्रणालीलाई सहज र सरल बनाउँदै लगेको छ भने विश्वका प्रमुख भुक्तानी सञ्जालहरु मास्टर कार्ड, भिसा कार्ड र युनियन पे कार्डको लागि प्रोसेसिबको कार्य गर्दै आईरहेको छ । नेप्स, नेपालमा पहिलो पटक जुन २०१९ मा ग्रिन पिनको शुरुआत गर्ने कम्पनी थियो । ग्रीन पिन, जुन पिन अधिक सुरक्षित र वातावरण मैत्री हुन्छ । नेप्सले हाल मोवाइल बैकिङ्ग, क्यूआरबाट गरिने भुक्तानी, मुल्य अभिवृद्धि सेवा जस्तै एटीएम मेसिनबाट खाता स्थानान्तरण, रकम जम्मा, रकमान्तर, एटीएम कार्ड रहित नगद झिक्ने कार्यको लागि एकिकृत रुपमा थालनीको कार्य गरिरहेको छ । यस कम्पनीले जैव मेट्रिक लेनदेन समाधानको माध्यमबाट बैंकमा खाता नभएका ग्राहकहरुलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यस कम्पनीले भुक्तानी र वित्त इकोसिस्टमलाई अधिक मजबुत र विभिन्न प्रमुख सुरक्षा समाधान प्रदायकहरु सँग समन्वय गरी आफ्नो सिस्टमलाई सुरक्षित बनाउनको लागि काम गर्ने योजना बनाउँदै छ । नेप्स, नेपालका ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय सस्थाहरुको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्वन्धि सेवा प्रदान गर्ने उद्देश्यले स्थापित लिमिटेड कम्पनी हो ।
तपाईलाई काेराेना भएकाे शंका छ ? यी १४ अस्पतालमा गएर नि:शुल्क परीक्षण गराउनुस्
काठमाडाैं । सरकारले कोरोना प्रभावित जिल्लाबाट आएका व्यक्तिहरुको १४ अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पीसीआर परीक्षण गर्ने बताएकाे हाे । सूचनामा काेराेनाकाे शंका लागेकाहरुले नजिकैकाे स्वाव संकलन केन्द्रमा गएर पीसीआर परीक्षण गर्न अनुराेड्ढ गरेकाे हाे । काठमाडौं उपत्यकामा कोरोना संक्रमण जोखिम बढी रहेको हुँदा शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तीव्र बनाइएको सूचनामा उल्लेख छ । गाइडलाइनमा परेका व्यक्तिहरुले पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल गएर कोरोनाको पीसीआर परीक्षण निःशुल्क गरेर सहयोग गर्न अनुरोध गरिएकाे छ । यस्तै, मन्त्रालयले कोरोनाको शंकास्पद व्यक्तिको सम्पर्कमा आएका र कोरोना प्रभावित स्थानहरुबाट आएका व्यक्तिले नजिकैको हब, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पतालका लेभल १, २ र ३ अस्पतालमा गएर बिहान ९ बजेदेखि १ बजेसम्म गएर स्वाब संकलन गरिने बताएकाे छ ।
८ वर्षमा एशियन लाइफको जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ-राजेश कुमार श्रेष्ठ
राजेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन विषयमा स्नातक (विएल) डिग्री पनि लिनुभयो । १७ वर्ष नेपाल बैंकमा काम गरेपछि उहाँ २०५९ पुसमा एनसीसी बैंकमा प्रवेश गर्नुभयो । एनसीसी बैंकमा रहँदा विरगञ्ज शाखा प्रबन्धक, काठमाडौं शाखा प्रबन्धक, आन्तरिक लेखापरिक्षण प्रमुख भएर काम गर्नुभयो । २०६३ साल फागुनमा उहाँ महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । उक्त फाइनान्समा ५ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेपछि २०६९ साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएको आज ठिक ८ वर्ष पूरा भएको छ । ८ वर्षमा उहाँले के गर्नुभयो, के गर्न सक्नुभएन ? २०६४ सालमा खुलेका ४ कम्पनी मध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनी कसरी अगाडि आयो ? एशियनको सबल पक्ष के हुन् ? एउटा बैंकको सीईओ पद जति ग्ल्यामर देखिन्छ, बीमा कम्पनीको सीईओ किन हुँदैन ? प्रस्तुत छ विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाई बैंकिङ पृष्ठभूमिबाट बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आउनुभयो । बीमा कम्पनीको ८ वर्ष सीईओ भईसक्नुभयो । बैंकको सीईओ निकै ग्ल्यामरस देखिन्छ, इन्स्योरेन्सको सीईओमा त्यो देखिन्न, किन ? तपाईले सहि कुरा गर्नुभयो । बैंकको सीईओ र बीमाको सीईओमा फरक नै ग्ल्यामरको हो । हुन त बैंकिङ र बीमा दुबै व्यवसायिक संस्था हुन्, सेवा प्रदायक संस्था हुन् । फरक के छ भने बैंकको सीईओ र ग्राहकबीच प्रत्यक्ष सम्पर्क हुन्छ । कर्जा लिन, व्याजदर घटाउन, निक्षेपको सुरक्षा गरिदिन वा निक्षेपमा बढी व्याजको लागि नेगोसिएट गर्न मानिसहरु बैंकका सामान्य कर्मचारी देखि सीईओसम्म पुग्छन् । मार्केटिङ भ्यूबाट हेर्दा पनि बैंकका कर्मचारी, सीईओहरु ग्राहकको ढोकाढोकामा पुग्नै पर्छ, कर्जाको लागि वा निक्षेपको लागि । यसले ग्राहक र बैंकका कर्मचारीबीच अन्तर्क्रिया र सम्बन्ध राम्रोसँग हुन्छ । तर बीमा कम्पनीको कर्मचारी वा सीईओ बीमितसँग प्रत्यक्ष अन्तर्क्रिया वा सम्बन्ध हुँदैन । अभिकर्ता मार्फत बीमा गराइन्छ । अभिकर्ताहरु नै बीमितको ढोकाढोकामा पुगेका हुन्छन् । मैले सुनेको थिए इण्डियामा ‘बि वेयर अफ दी इन्स्योरेन्स एजेन्ट’ भनेर ढोकामा टाँस्थे रे । बीमा अभिकर्ता पटक पटक आउँछन्, विजनेशको कुरा गरेर झन्झट गर्छन् भनेर । नेपालमा पनि बीमाको बुझाई कम छ । ३ लाखको मोटरसाईकल किनेर तुरुन्त बीमा गर्छन्, तर आफ्नो जीवन बीमा गर्दैनन् । आफ्नो जीवन अमूल्य छ भनेर मानिसहरुले बुझेका छैनन्, हामीले बुझाउन सकेका पनि छैनौं । सामाजिक दृष्टिकोणमा पनि फरक छ । समाजमा पनि परिचय गराउँदा उहाँ त फलानो बैंकको सीईओ, फाइनान्सको सीईओ हुनुहुन्छ भनेर चिनाउँछन् । बीमा कम्पनीको सीईओलाई चिनाउँदा ‘उहाँ बीमा कम्पनीमा काम गर्नुहुन्छ’ भनेर चिनाउँछन् । बैंकको कर्मचारी भनेपछि मान्छे नजिक हुन खोज्छन् । आज पनि नचिनेको बैंकबाट कर्जा लिन निकै गाह्रो हुन्छ । चिनेको छ भने सजिलो हुन्छ । चिनेको मान्छेलाई निक्षेपमा प्वाइट ५ प्रतिशत बढी व्याज दिने अधिकार हुन्छ । कर्जामा कम व्याज गरिदिनसक्छ । यस्ता आशा भनौं वा लोभले मानिसहरु बैंकका कर्मचारी वा सीईओसँग नजिक हुन्छन् । तर त्यहि बीमा अभिकर्ता भनेपछि मान्छेहरु टाढाटाढा हुन खोज्छ । त्यस्तै, बैकिङ सेवा सबैलाई आवश्यक परिरहेको हुन्छ भने जीवन बीमाको पैसा बचत भएपछि गरौंला भन्ने मानिसहरुको सोच हुन्छ । त्यसैले बैंकिङ क्षेत्र ग्ल्यामर जबको रुपमा आउँछ भने बीमा त्यति ग्ल्यामरसको रुपमा लिईंदैन । भविष्यमा पनि यस्तो होला वा परिवर्तन आउँला ? समयसँगै मानिसको सोच पनि परिवर्तन हुन्छ । आवश्यकता पनि परिवर्तन हुन्छन् । कार्यप्रणालीमा परिवर्तन हुन्छ । हिजोको दिनमा बीमाले समयमा भुक्तानी दिँदैनन् भन्ने गुनासो थियो भने अहिले त्यो हटेको छ । हामी बीमा दावी भएको ३ दिनभित्र भुक्तानी गर्ने अभ्यास गरिरहेका छौं । दुर्घटनाको केसमा एक दिनमै दावी भुक्तानी गर्छौ । विगतमा यूनिटीले बीमाको नाममा ६/७ अर्ब उठाएर भाग्यो वा सरकारले कारवाही गरेपछि बन्द भयो । त्यसले बीमाप्रति धेरै मानिसको धारणा नराम्रो बनायो । अहिले परिस्थिति फरक हुँदैछ । बीमा गर्नुपर्ने रहेछ, अप्ठ्यारो अवस्थामा बीमाबाट लाभ हुँदो रहेछ भन्ने सन्देश समाजमा गएको छ । बैंकिङ क्षेत्रबाट आएको व्यक्ति, बीमा कम्पनी चलाउन कठिन भएन ? बैकिङ पृष्ठभूमिबाट आएको व्यक्तिले बीमा कम्पनीको सीईओको जिम्मेवारी समाल्न नसक्ने भन्ने हुँदैन । व्यवस्थापकीय काम धेरै हुँदैन । प्राविधिक विषयहरुमा जान्ने मान्छेलाई जिम्मेवारी दिने, आफू पनि अपडेट हुँदै जाने नियमित प्रकिया नै हुन् । अनुभवजन्य भन्दा पनि अन्य प्रकृतिको चुनौतिहरु, कठिनाईहरु आए । जस्तै, यस कम्पनीको व्यवस्थापकीय नेतृत्वमा म आउँदै गर्दा यस कम्पनीले एक विषम परिस्थितिको सामना गरी रहेको थियो । कम्पनीले लाभांश वितरण सम्बन्धमा फरक निर्णय गरेको थियो । कम्पनीमाथि नियामकले एक प्रकारको कारवाही गरेको थियो । नियमनकारी निकायबाट जारी ६ प्रतिशतको इन्सेन्टिभ वितरणको कारण जीवन बीमा अभिकर्ताहरु असन्तुष्ट थिए, आन्दोलित थिए । कम्पनीका कर्मचारीहरु पनि असन्तुष्ट थिए । कम्पनीको उच्च व्यवस्थापनका व्यक्तिहरुले राजीनामा दिएका थिए । त्यस कठिन अवस्थामा कम्पनीलाई समाल्न स्वभाविक रुपमा गाह्रो भयो । हामीले संयमित रुपमा कम्पनीलाई अगाडि बढाउने प्रयास गर्यौं । पछि पनि हामीले गम्भिर र प्रतिकूल परिवेशको सामना गर्नुपर्यो । २०७२ सालको महाभूकम्पको सामना गर्नुपर्यो । आर्थिक वर्ष २०७३/७४ मा सरकारले थप १० वटा जीवन बीमा कम्पनीहरुलाई इजाजत दिएपछि बजारमा ठूलो तरङ्ग पैदा भयो । यस कम्पनीबाट करिब ५०/६० जना अनुभवी कर्मचारीहरु अन्य कम्पनीमा गएको कारण यस कम्पनीमा असहज अवस्था सिर्जना हुन गयो । उक्त समयमा खुल्न लागेका अधिकांश नयाँ कम्पनीहरुको लक्ष्य यसै एशियन लाईफ इन्स्योरेन्सका अनुभवी कर्मचारीहरुलाई २/३ पद माथि दिएर, दोब्बर तेब्बर तलब दिएर भए पनि ताना तान गर्ने अवस्था थियो । त्यस्तो संकटको घडीमा यस कम्पनीमा रहेका कर्मचारी साथीहरुले व्यवस्थापनलाई साथ दिई कम्पनीलाई बचाउन तथा व्यवसायमा वृद्धि गर्न समेत ठूलो सहयोग गरे जसको कारण आ.व.२०७४/७५ मा कम्पनीले प्रथम बीमा शुल्कमा ८१.८१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भयो भने आ.व.२०७५/७६ मा प्रथम बीमा शुल्कमा ७१ प्रतिशतले वृद्धि भएको थियो । फेरी हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ । यस परिवेशमा पनि कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमा शुल्क संकलनमा वृद्धि गर्न सफल भएको छ । महाभूकम्प गएको वर्ष पनि हामीले व्यवसाय वृद्धि गर्यौं । एकै पटक ठूलो संख्यामा अनुभवी कर्मचारीले छोड्दा पनि व्यवसाय वृद्धि गर्यौं । अनेक आपतविपत्का बावजुद पनि कम्पनीको ग्रोथ नियमित रह्यो । र, २०६४ सालमा स्थापना भएका चारवटा कम्पनीहरु मध्ये एशियन लाइफले आफूलाई अब्बल स्थानमा राखिराख्न सफल भएकाे छ । एशियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको ८ वर्ष अवधिमा के कस्तो उपलब्धी भए ? म यस कम्पनीको व्यवस्थापनमा आउँदा आ.व. २०६८/६९ मा, कूल बीमा शुल्क १ अर्ब ३ करोड रुपैयाँ थियो । जीवन बीमा कोष २ अर्ब १४ करोड रुपैयाँ थियो । २० वटा शाखा, ७० वटा उपशाखा थिए । अभिकर्ता संख्या करिब ४५ हजार रहेको थियो । आ.व. २०७६/७७ मा प्रथम बीमा शुल्क १ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । कुल बीमा शुल्क ४ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । जीवन बीमा कोष करिब २२ अर्ब रुपैयाँ भएको छ । शाखा संख्या ३६, उपशाखा संख्या १०४, अभिकर्ता संख्या करिब ९० हजार पुगेको छ । एशियन लाइफ इन्स्याेरेन्स कमपनीकाे बीमा शुल्क आम्दानी यस अवधिमा जीवन बीमा कोषको वृद्धि असाध्यै राम्रो छ । ८ वर्षमा जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ । त्यस्तै, ८ वर्षमा बीमा शुल्क साढे ४ गुणाले वृद्धि भएको छ । नेटवर्कको कुरा गर्दा डोल्पा, मनाङ्ग र मुस्ताङ्ग वाहेक ७४ जिल्ला मै शाखा, उपशाखा कार्यालयहरु रहेका छन् । शाखा, उपशाखा कार्यालय नभएका जिल्लाहरुमा पनि अभिकर्ताको उपस्थिति रहेकोछ । ७७ वटै जिल्लामा हामीले व्यवसाय विस्तार गरेको छौं । ०६४ सालमा खुलेका अन्य जीवन बीमा कम्पनीहरु भन्दा एशियन लाइफ हरेक दृष्टिले अगाडि छ । जीवन बीमा क्षेत्रमा भईरहेका असल अभ्यास के के हुन्, सुधार गर्नुपर्ने विषय के के छन् ? पछिल्लो समयमा १० वटा नयाँ कम्पनी खुलेपछि बीमा बजारको विस्तार उच्चदरमा भएको छ । नयाँ कम्पनीको प्रवेशपूर्व बीमा पहुँच ६/७ प्रतिशत मात्र थियो । अहिले २६ प्रतिशत पुगेको छ । एकै पटक १० वटा जीवन बीमा कम्पनी बजारमा आउँदा चुनौतिहरु पनि आए । सर्वाभाइबल अफ द फिटेस्टको अवस्था आयो । सबै कम्पनीहरु आफूलाई बचाउन र टिकाउन आक्रामक रुपमा अगाडि बढे । सबै कम्पनीहरुले कार्यक्षेत्र विस्तार गरे । सिस्टममा एकिकृत गर्दै लगेका छन् । अपरेशनलाई क्रमशः अटोमेशन गर्दै लगेका छन् । अभिकर्ता उत्पादनमा जोड दिने, ग्राहकको सेवास्तर वृद्धि गर्ने कार्यमा जोड दिए । ८ वर्षअघि सुशासनको परिपालनाको मामलामा बीमा क्षेत्र पछाडि नै थियो । अहिले धेरै सुधार भएको छ । यस मामिलामा बीमा समितिको भूमिका धेरै राम्रो रह्यो । बीमाप्रतिको विश्वास बढाउनको लागि, बीमा कम्पनी बलियो बनाउनको लागि, बीमा बजार विस्तारको लागि, सर्वसाधारणमा बीमाको पहुँच बढाउनको लागि बीमा समितिले खेलेको भूमिका राम्रो छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्ना संरचनाहरु परिवर्तन गरिरहेका छन्, कार्यप्रणालीमा परिवर्तन गरिरहेका छन् । नयाँ १० वटा कम्पनी आउनुपूर्व निदाएका थिए, नयाँ कम्पनी आएपछि पुराना कम्पनी पनि जागेका हुन् ? यसलाई यसरी पनि नहेरौं । बीमाबारे जनचेतनाको कमी छ । आर्थिक अवस्थाले पनि मानिसहरुको लागि बीमा प्राथमिकताको सूचिमा धेरै पछाडि छ । अहिले पनि ७४ प्रतिशत मानिसले आफ्नो बीमा गराएका छैनन्र। पहिला बीमा कम्पनीहरु अलि सुसुप्त भएको र अहिले बढी जागरुक भएको कुरा त सहि नै हो । नयाँ कम्पनी आएपछि पनि उनीहरुको ग्रोथ पनि राम्रो देखिएको छ । पुराना कम्पनीहरुको पनि व्यवसाय वृद्धि भएकै छ । पछिल्लो समय बीमाको पहुँच वृद्धि हुनुमा बीमा अभिकर्ता इन्सेन्टिभ स्थीर हुनु पनि एउटा कारण हो । हामीसँग जीवन बीमाको इतिहास ५० वर्षको भईसक्यो । तर ४६ वर्षसम्म अभिकर्ताले पाउने इन्सेन्टिभ अस्थिर भयो । कहिले बढ्ने, कहिले घट्ने । त्यसले बीमा कम्पनी र अभिकर्ता एकदमै अन्यौलमा रहेको पाइन्छ । कतिपय अभिकर्ता पलायन भए । किनकी अस्थिरताले बीमा बजारप्रति विश्वास नै जागेन । अरुको भविष्यको आर्थिक सुरक्षा गर्न भनेर कार्यस्थलमा खट्ने अभिकर्ताले आफ्नै आर्थिक भविष्य असुरक्षित भएको कुरा हामीलाई सुनाउँथे । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईँ सर आउनुभएपछि इन्सेन्टिभ सम्बन्धि विवाद पनि टुङ्ग्याई दिनुभयो । इन्सेन्टिभ दर पनि स्थीर भयो । त्यसले पनि बजार विस्तारमा मद्दत गरेको छ । त्यस्तै, २०७२ सालमा महाभूकम्पले बीमाप्रतिको जनचेतना वृद्धिमा सहयोग गरेको छ । बीमाको महत्व सर्वसाधारणले बुझ्न थालेका थिए । यस परिवेशमा २०७४ सालमा नयाँ कम्पनी आए । विगत तीन वर्षमा आर्थिक वृद्धि दर पनि लगातार ६/७ प्रतिशत रह्यो । सर्वसाधारणको आय स्तर पनि वृद्धि भएको छ । यी सबै कुराले बजार विस्तारमा सहयोग गरेको छ । बीमा अभिकर्ताको इन्सेन्टिभ वृद्धि भएपनि, स्थीर भएपनि बीमा अभिकर्ताहरु अहिले पनि पूर्णकालिन भएका छैनन्, पार्टटाइम जबको रुपमा लिन्छन्, किन ? जीवन बीमामा अभिकर्ताको ठूलो महत्व छ । अभिकर्ताहरु सन्तुष्ट नभएसम्म बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुन पनि सक्दैन । अभिकर्ता कतिबेला सन्तुष्ट हुन्छन्, कतिबेला पूर्णकालीन हुन्छन् भने जब उनीहरु आर्थिक रुपमा सुरक्षित हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालमा अभिकर्ताले पाउने इन्सेन्टिभ एकदमै कम पनि छैन, धेरै पनि छैन । मध्यमस्तरको रहेको छ । तपाईले नै भन्नुभयो एशियन लाइफमा ९० हजार जना अभिकर्ता छन् । अरु कम्पनीको डाटा पनि यस्तै उच्च देखिन्छ । तपाईहरुले देखाउने सबै अभिकर्ता पूर्णकालिन छन् ? अभिकर्ता पेसाप्रति समर्पित छन् ? सबै बीमा कम्पनीको डाटा जोड्दा झण्डै ६ लाख अभिकर्ता छन् । तर त्यसमा १५ देखि २० प्रतिशत मात्र सक्रिय छन् । नयाँ वा पुराना जुनसुकै कम्पनीबाट तालिम लिएका, अभिकर्ता बनेका व्यक्ति हुन्, १५ देखि २० प्रतिशत मात्र सक्रिय हुन्छन् । त्यसमा पनि पूर्णकालिनको संख्या निकै कम छ । सबैतिर अनलाईन कारोबार विस्तार हुँदै गएका छन् । बीमा कम्पनीहरुले पनि डिजिटल सेवालाई विस्तार गर्दै लगेका छन् । अनलाइन सेवा विस्तार हुँदै जाँदा कुनै मानिसले अनलाइनबाटै बीमा पोलिसी लिने, प्रिमियम भुक्तानी गर्ने दिन कति पर छ ? अर्थात बीमा अभिकर्ता विस्तापित हुने सम्भावना कति छ ? तत्काल त्यस्तो परिस्थिति नहोला । बीमा समितिले ३ लाखसम्मको बीमा पोलिसी अनलाईनबाट बिक्री गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले काम गरिरहेका छन् । तर प्रभावकारी कम भएको छ । बीमितहरु पनि अनलाइन फ्रेण्डली छैनन् । अनलाइन पोलिसी सेल अभ्यास क्रमशः विस्तार होला तर तत्काल अभिकर्ता भूमिकाहीन बन्ने अवस्था आउँदैन । नेपालमा बैंकास्योरेन्सको अभ्यास किन विवादित भयो ? बैंकास्योरेन्स भन्दा पनि कर्पोरेट एजेन्सीको रुपमा काम शुरु भएको थियो । त्यसमा केही विवाद छन् । बैंकहरुको भूमिका पनि विवादमा परेको छ भने बीमा अभिकर्ताहरुले आफ्नो रोजगारी गुम्ने भयो भनेर विरोध पनि गरेका छन् । मेरो विचारमा बैंकास्योरेन्स बन्न नै गर्नु ठिक होइन । ५/६ लाख अभिकर्ता बेरोजगार बनाउने गरी कर्पोरेट एजेन्सीमा जानुपनि हुँदैन । यसबारे अध्ययन गरेर सबैको हित हुने गरी नयाँ विधि निर्माण गरिनुपर्छ । बैंकास्योरेन्सलाई निषेध गर्नु पनि ठिक होइन । किनकी आज सबै स्थानीय तहमा बैंकहरु पुगेका छन् । बैकिङ पहुँच पनि बढी छ । बैंकप्रति सर्वसाधारणको विश्वास पनि राम्रो छ । बैंकास्योरेन्सलाई कर्पोरेट एजेन्सीको रुपमा लैजानु हुन्न । बैंकले बीमा गर्दा पाउने कमिशन अभिकर्ताले पाउने कमिशन भन्दा कम गरिनुपर्छ । केही आचारसंहिता बनाइनुपर्छ । बैंकहरुले बीमालाई ग्राहक सेवा वृद्धि गर्ने स्कीमको रुपमा लैजानुपर्छ, कमिशनको लागि मात्र होइन । एशियन लाइफको सवल पक्ष के हो ? यस कम्पनीले १२/१३ वर्षको दौरानमा जीवन बीमा कोष २२ अर्ब रूपैयाँ बराबर बनाएको छ । जीवन बीमा क्षेत्रका अन्य पुराना कम्पनीले उक्त समयावधीमा समयमा रु.१०/१२ अर्ब भन्दा बढी पुर्याउन सकेका थिएनन् । जीवन बीमा कोष भनेको कम्पनीको सबैभन्दा ठूलो स्ट्रेन्थ हो । कम्पनीले यो कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । त्यसले निरन्तर कम्पनीका लागि आम्दानी सिर्जना गर्छ । यस कम्पनीको एशियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे जीवन बीमा काेष सञ्चालक खर्च अरु कम्पनीको तुलनामा निकै कम छ । कम्पनीले कुल बीमा शुल्क आम्दानीको ९५ देखि १०० प्रतिशत जीवन बीमा कोषमा राख्दै गयौं । १९ वटा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी रकम जीवन बीमा कोषमा पठाउने कम्पनी एशियन लाइफ हो । बीमा शुल्कको १०० प्रतिशत रकम जीवन बीमा कोषमा पठाउँदा कम्पनीको खर्च कहाँ जुट्छ ? जीवन बीमा कोषको रकम विभिन्न क्षेत्रमा लगानी गरिएकाे हुन्छ । त्यसरी गरिएकाे लगानीबाट हुने आयबाट हाम्रो सबै सञ्चालन खर्च धानेको हुन्छ । कम्पनीको सेयर लगानीकर्ताले कति लाभांश पाईरहेका छन् ? जीवन बीमा कम्पनीमा १० वर्षसम्म लगानीकर्ताले लाभांशको अपेक्षा गर्नुहुन्न भन्ने पनि गरिन्छ । तर यस कम्पनी सञ्चालनमा आएको तेस्रो वर्ष नै २७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि विभिन्न पटक लाभांश वितरण भएको छ । आर्थिक वर्ष २०७४/७५ को आर्थिक प्रतिवेदनमा केही प्राविधिक त्रुटी भएकोले बीमा समितिबाट स्वीकृत गराउन ढिला भएको छ । बीमा समितिमा निर्णयको प्रक्रियामा रहेको छ । कम्पनीको व्यवसाय पनि राम्रो छ । नियम, कानुन, बीमा समितिका निर्देशनको परिपालना राम्रो छ । त्यसैले आगामी दिन पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् । तपाईको कार्यकालमा भएका उत्कृष्ट तीन काम के के हुन् ? व्यवसाय सुदृढिकरण, व्यवस्थापन सुदृढिकरण र नियमको परिपालना । यी तिनै क्षेत्रमा राम्रो भएको छ । कम्पनी स्थापना भएको ५ वर्षकाे २१४ करोडको बीमा कोष १३औं वर्षमा २२ अर्ब भयो । १३ वर्षको अवधिमा कुनै पनि बीमा कम्पनीले २२ अर्बको जीवन बीमा कोष बनाउन सकेको थिएन । सम्पन्न गर्न नसकेको काम नि ? बीचमा केही उचावचढाव आए । आईटी सिस्टम इन्डियाको भेण्डरसँग लिएका थियौं । त्यसले हामीलाई दुःख दियो । अहिले परिवर्तन गरेर नेपाली कम्पनीसँग काम गरिरहेका छौं । अनलाईन प्रडक्टमा मैले चाहेजति काम गर्न सकिएन । फूल्ली अटोमेशनको काम गर्न सकिएन । मेरो चाहाना २०७५/७६ को साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिएर जाने । तर समयले मलाई दिएन । यसमा मलाई दुःख लागेको छ । त्यसमा एक्चुरीको समस्या, भ्यालुएशनको समस्या, एनएफआरएससँग जोडिएका समस्याले हामी ढिला भयौं । बीमा बोनस दर न्युनतम ६५ रुपैयाँ पुर्याउने मेरो सोच थियो । बीमाङ्कीय मूल्याङकन ढिला हुँदो मेरो लक्ष्य पूरा भएन । अपरलाईनमा अहिले पनि हाम्राे बाेनस दर ८७ रुपैयाँ छ । यो नेपालकाे सबैभन्दा बढी बाेनस रेट हो । एशियनले २०७४/७५ देखि साधारणसभा गर्न नसकेको देखियो । २०७५/७६ को साधारणसभा त कुनै पनि जीवन बीमा कम्पनीले गर्न सकेका छैनन्, समस्या के हो ? मुख्य कुरा नेपालमा एक्चुरी छैनन् । बीमा समितिको एक्चुरीले २०७४/७५ नयाँ मापदण्ड बनाएको छ, जुनअनुसार नेपालका बीमा कम्पनीले एक्चुरी गराउँदै आएका पुराना एक्चुरीले काम गर्न नपाउने भए । नयाँ एक्चुरीहरु नियुक्त गर्नुपर्ने भयो । त्यसले पनि समय लियो । २०७५/७६ देखि बीमा समितिले भ्यालुएशन रिपोर्टिङको नयाँ फर्म्याट गर्नुपर्ने व्यवस्था गर्यो । २०७४/७५ देखि एनएफआरएस पनि लागू भयो । यी तीन वटा पक्षमा धेरै परिवर्तन भएकोले बढी समय लागेको हो । नयाँ सिस्टमअनुसार एक पटक आर्थिक प्रतिवेदन पास भएपछि नियमित गर्न सजिलो हुन्छ, धेरै समय लाग्दैन । एशियन लाइफ इन्स्याेरेन्स कम्पनीमा तेस्राे कार्यकालकाे लागि तपाईकाे नियुक्ती हुन्छ कि हुँदैन ? सबैलाई थाहा छ कि बीमा समितिले जारी गरेकाे संस्थागत सुशासन निर्देशिका अनुसार कुनै पनि कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक वा प्रशाशकले बढिमा २ कार्यकाल मात्र नियमित काम गर्न पाउँछ । त्याे निमय यस कम्पनीमा पनि लागू हुन्छ । साउन २१ गतेदेखि म यस कम्पनीमा रहदिन ।
अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा देखियाे कोरोनाभाइरस संक्रमण
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण देखिनेमा १४ प्रहरी र एक सिभिल ड्राइभर रहेकाे आयोगको एक कर्मचारीले बताएका छन् । १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएकाे उनले बताए ।
फेरि लकडाउन हुने सम्भावना बढ्याे, बाहिर हिडडुलमा पनि कडाई
काठमाडाैं । देशका काेराेना भायरसकाे जाेखिम बढेसँगै पुन: लकडाउन हुन सक्ने सम्भावना बढेकाे छ । देशमा पुन: लकडाउन गर्ने वा नगर्ने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न विज्ञहरुसँग छलफल गर्दैछन् । यही बीचमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अनावश्यक रुपमा बाहिर ननिस्कन सर्वसाधारणहरुलाई अनुराेध गरेकाे छ । मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्ताे आग्रह गरेकाे छ । काठमाडाैं उपत्यकामा पछिल्लाे समय झन जाेखिम बढ्दै गएकाेले अनावश्यक रुपमा बाहिर ननिस्कन मन्त्रालयले सूचना जारी गरेकाे हाे । मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेकाे हाे । यसका साथै संक्रमितहरुकाे सम्पर्कमा गएकाहरुले नजिककाे स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ । उपत्यकामा साेमबार ५१ जना कोरोना संक्रमित थपिएका थिए । हाल काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।
कालापानी क्षेत्रमा भारतिय सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै भारत
दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । “विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए”, व्यास–२ का मुकेश बुढाथोकीले भने, “अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेका थिए ।” नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्छन्, “ ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।” नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् । व्यासका स्थानीयवासी भन्छन्, “भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।” भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ । नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेले भन्नुभयो, “व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।”
प्रधानमन्त्री ओलीले भने: सरकारको कामले मात्रै कोरोना नियन्त्रण हुँदैन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’ सोही बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए । उनले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने भन्दै मुख छोपेर हिँड्न बानी पार्नुपर्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ ।