विकासन्युज

नेकपा सचिवालय बैठक शनिबार बस्ने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन हुने छ । थापाका अनुसार आज दुई अध्यक्षबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

इलाममा ४ करोडको लगानीमा एपोलो ट्रमा सेन्टरको संचालनमा

मङ्गलबारे । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ । इलाम नगरपालिका—६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब रु चार करोडको लगानीमा सञ्चालन आएको सो सेन्टरमा चार जना विशेषज्ञ चिकित्सकसहित ३३ जना चिकित्सक र कर्मचारी कार्यरत छन् । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित सो सेन्टरको आज सञ्चालक डा सञ्जय शाहले एक कार्यक्रमका बीच शुभारम्भ गरे । निजी क्षेत्रबाट शुुरु भएको सो सेन्टरमा हार्डजोर्नी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी एवम् फिजिसियनको सेवा सञ्चालनमा आएको छ । छिट्टै नै सघन उपचार कक्ष (आइसीयु) सहितको सेवा सञ्चालन गरिने बताइएको छ । एक मात्र सरकारी अस्पताल भएको इलाममा निजी क्षेत्रबाट अत्याधुनिक सेवा सुविधासहित अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य ज्वरो आउँदा समेत थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यताको अब अन्त्य भएको स्थानीयवासीको भनाइ छ । सामान्य उपचारका लागि पनि जिल्लावासीलाई झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जानुपर्ने समस्याको अन्त्यका लागि यो सेन्टर सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश चापागाईले बताए । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ र तेह्रथुमवासीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । सो अवसरमा इलाम नगरपालिका— ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ४ का अध्यक्ष नुतनदेव दुलाल, नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष शिव गौतम, समाजसेवी धर्म गौतम, इलाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मदन श्रेष्ठ (दुर्गा)ले व्यापारभन्दा पनि सेवाको रुपमा अस्पताल सञ्चालन गर्न आग्रह गर्दै यसको निरन्तरताको शुभकामना व्यक्त गरे ।

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआरएन दिईएको छ । यससँगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो । जसमा ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका थिए । सम्बन्धित समाचारः ९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?  

प्रसूतिगृहले २ सय शय्याकाे आइसोलेसन बनाउने

काठमाडौ‌ं । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ । नेपालमा कोभिडको संक्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उनले भने, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।” अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै एक सय महिलालाई सम्भावित सङ्क्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो । कोभिड–१९ को संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताए । कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो । एक साता खटिएकाहरु एक साता नआउने गरी आलोपालो गरी काम तोकिएको उनले बताए । अस्पतालमा कार्यरतलाई यसअघि पनि सङ्क्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो । उनले भने, “आधा मात्रै कार्यरत हुँदा सङ्क्रमण देखिएर कोही आइसोलेशन बस्दा पनि अरुले सेवा नियमित गर्न सक्छन् ।” अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको स‌ंख्या कम नभएको अस्पतालको तथ्याङ्््कले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको सङ्ख्या २० देखि ३० छ । उनले भने, “सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।” अस्पतालले कोभिड–१९ को सङ्क्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ । अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उनले बताए । अस्पतालले दिनमा तीन पटकसम्म निसङ््क्रमण गर्ने गरिएको छ । उनले भने, “यहाँका सेवा नियमित गरेर संक्रमण पनि नफैलियोस् भन्ने गरी अस्पतालले काम गरिरहेको छ ।” अस्पतालले अहिलेसम्म कुनै पनि सेवा अवरुद्ध गरेको छैन । सामान्यावस्थामा पनि अरु जिल्लाका अस्पतालबाट रिफर भएर धेरै बिरामी समेत आउने गरेका थिए । अहिले विभिन्न निजी संस्थाले सेवा अवरुद्ध गरेका कारण अस्पतालमा प्रसूति सेवा लिन आउनेको स‌ंख्यामा कमी आएको छैन । अस्पतालमा केही समय पहिले तीन चिकित्सकसहित नौ कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको थियो । त्यस्तो समयमा कुनै कुनै वार्ड मात्रै सिल गरिए पनि अस्पताल नियमित रुपमा सञ्चालनमा थियो । उनले भने, “संक्रमण देखिएकाको कन्ट्याकमा आएकाको खोजी गरेर परीक्षण गर्ने र त्यस ठाउँलाई क्लोरिनले सफा गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।” अस्पतालमा आउने बिरामीमध्ये संक्रमणको जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिए । कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा सङ््क्रमितको नजीकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । सङ््क्रमणको शङ्का लागेकाहरुलाई अस्पतालले रिपोर्ट नआउँदासम्म छुट्टै राख्दै आएको छ । उनीहरुको पोजेटिभ आएमा आइसोलेशन शय्यामा र नेगेटिभ आएमा अरु बिरामीसँगै राखेर उपचार गरिन्छ । अस्पतालमा कार्यरत कर्मचारीलाई पहिलो चरणको सुरक्षा सामग्री मास्क, फेस शिल्ड र पञ्जाको व्यवस्था गरिएको छ । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भने अर्काे तहको सुरक्षा सामग्रीको व्यवस्था गरिँदै आएको छ । उहाँले भन्नुभयो, “सम्भावित सङ््क्रमितको समेत उपचार गर्नेहरुलाई पिपिईलगायतका सबै आबश्यक सामग्री उपलब्ध गराइएको छ ।” रासस

पर्यटन मन्त्रालयको खर्च ५९ प्रतिशतमै सीमित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च गरेको जनाएको हो । मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८१ प्रतिशत खर्च गरेको थियो । मन्त्रालयले अपेक्षाकृत प्रगति नगरेको स्वीकारेको छ । मन्त्रालयका प्रवक्ता तथा सकमल प्रसाद भट्टराईले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न सामग्रीहरुको अभावले उल्लेख्य प्रगति नभएको बताएका छन् । उनले मन्त्रालयले पुँजीगत तर्फ ६४ वित्तीय तर्फ ५४ प्रतिशत र चालु तर्फ ८० प्रतिशत प्रगति भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पनि मन्त्रालयको वार्षिक प्रगति उत्साहजनक नभएको बताए । उनले कोरोना भाइरसको कारण उल्लेख्य काम हुन नसकेको बताए । ‘कोरोना नभएको भए हामी धेरै काम गर्थ्यौं, कोरोना नभएको भए भैरहवा विमानस्थलको निर्माण सम्पन्न भइसक्थ्यो त्यसमा साढे तीन अर्ब रकम खर्च हुन सकेन, निजगढ विमानस्थलमा पनि खर्च हुन सकेन, पोखरा विमानस्थलमा पनि त्यस्तै समस्या आयो, त्यसेले सोचेको जस्तो काम भएन,’ उनले भने । उनले कोरोना नभएको भए मन्त्रालयको प्रगति ९० प्रतिशत हुन सक्ने बताए ।

रोजगार गुमाएका युवालाई १० लाखसम्मको बिना धितो कर्जा, गाउँपालिका नै जमानी बस्ने

राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ । गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि शुरु गर्न लागेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार यस सम्बन्धी कार्यविधि तयार भइसकेको छ । कर्जा प्राप्त गर्न कुनै कठिनाइ हुन नदिन गाउँपालिका नै जमानी बसेर सहजीकरण गर्न लागेको हो । यो कार्यका लागि राष्ट्रिय वाणिज्य बैंक र गरिमा विकास बैंकसँग सम्झौताको प्रक्रिया शुरु भएको छ । “यो कार्यक्रमले स्वदेशमै केही गर्न चाहने युवालाई सानो ऋणका लागि महिनौ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ”, अध्यक्ष कक्षपतिले भने, “खासगरी घरेलु तथा साना उद्योग र कृषि कर्म गर्न चाहने युवाहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।” औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकामा निजी क्षेत्रको आकर्षणसमेत बढ्दै गएको छ । स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको अध्यक्ष कक्षपतिले बताए । गत आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रु. ९२ लाख प्राप्त गरेको थियो । बाँकेमै नमूना गाउँपालिकाका रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठूला लगानीकर्ता आकर्षित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको अध्यक्ष कक्षपतिको भनाइ छ । खजुरालाई भौतिक पूर्वाधार मात्रै नभई स्वास्थ्य र सामाजिक विकासको रुपमा पनि अघि बढाउने योजनाका साथ काम भइरहेको छ । गाउँपालिकावासीमा स्वास्थ्यको पहुँच बढाउन सबै वडामा स्वास्थ्य सेवा विस्तार भइसकेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष कक्षपतिले बताए । उनका अनुसार, गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र क्यान्सर अस्पताल समेत रहेकाले आधारभूत स्वास्थ्य सेवालाई जनमैत्री बनाउँदै लगिने छ । रासस

सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता

काठमाडाैं  । १८ लाख ३७ हजार २९३ सेयरधनीकाे सम्पूर्ण सम्पत्तिको विवरण र कारोबार विवरण राखेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ११ महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । नयाँ सीईओको रुपमा भदौ १० गते बुधबार पूर्णप्रसाद आचार्यले पद वहाली गर्दै छन् । सोमबार सीडीएससीकाे सीईओ पदमा नियुक्ती पाएका आचार्यले मंगलबार विकासन्युजसँग कुरा गर्दै आफ्ना पाँच प्राथमिकता बताएका छन् । सीडीएसको सेवा प्रभावकारी बनाउने र लगानीकर्ताको विश्वास जित्ने प्रयास गर्ने उनको पहिलो योजना छ । सीडीएस अपरेटिङ सिस्टममा समस्या छ भन्ने गुनासो बाहिर आफूले सुनेको बताउँदै त्यसको समाधानमा आफू लाग्ने उनले बताए । सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने उनको दोस्रो प्राथमिकता छ । ‘अहिले नेपालमा टीप्लस थ्री छ । विश्वका धेरै देशमा टी प्लस टु रहेछ । नेपालमा पनि जतिसक्दो छिटो टी प्लस टु लागू गर्छु’ विकासन्युजसँगको कुराकानीमा उनले भने । लगानीकर्ताको डिजिटल केवाइसी उनको तेस्रो प्राथमिकता रहेको छ । ‘लगानीकर्ताको केवाईसी विवरण एक पटक सीडीएस एण्ड क्लियरिङमा अपडेट भएपछि दोस्रो पटक कही कतै पनि लगानीकर्ताले केवाईसी भर्न नपर्ने अवस्था बनाउने छु’ आचार्यले भने । एउटा ब्रोकर कम्पनीमा केवाईसी भरेका लगानीकर्ताले अर्को ब्रोकर कम्पनी वा सीडीएससीको सिस्टम चलाउने कुनै पनि ठाउँमा फेरि केवाईसी फारम भर्नु नपर्ने उनले बताए । लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने उनको चौथो प्राथमिकता छ । ‘अहिले पनि सीडीएससीले तीन तहमा डाटा राखेको छ । त्यसमा शंका गर्नु पर्ने अवस्था छैन । तर एकीकृत डाटालाई राजधानी बाहिर पनि राख्नु पर्ने मैले देखेको छु । त्यो काम गर्नेछु’ उनले भने । सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने उनको पाँचौं प्राथमिकता छ । ‘धेरै देशमा सेन्टर डिपेजिटरी सिस्टम चलाउने डेडिकेटेड एक्ट रहेछ । नेपालमा सीडीएससी सञ्चालनको लागि छुट्टै ऐन, नियमको खाँचो देखेको छु, त्यसतर्फ काम गर्छु’ उनले भने । उनले पुँजीबजार राजधानीमा मात्र भएकोले यसलाई देशभर विस्तार गर्न र लगानीकर्तामा जनचेतना फैलाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि बताए । त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्क शास्त्रमा एमएससी र पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबीए गरेका आचार्यले कृषि विकास बैंकमा ३० वर्ष काम गरी नायव महाप्रबन्धकबाट अवकाश पाएका थिए । उनी खुला प्रतिस्पर्धाबाट सीडीएससीको प्रमुख कार्यकारी अधिकृत भएका हुन् ।

स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा

वालिङ । गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए । “यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो” मेसु मरासिनीले भने, “कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।” अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मङ्गलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले बताए । कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसीलगायतको कन्ट्याक ट्रेसिङ गरी ७१ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।