विकासन्युज

एनआरएन लघुवित्तको ३९ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको ३९ लाख २८ हजार ८७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज (भदौ १८ गते बिहीबार) मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था, दिव्या लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । यी तीन संस्था एक बराबर एक बराबर एक(१ः१ः१) को अनुपातमा गाभिएर एनआरएन लघुवित्तको नामबाट कारोबार शुरु गर्ने भएका हुन् । त्यसपछि प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको ३९ लाख २८ हजार ८८ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै संस्थाको सो मात्राको सेयर आगामी आइतबार(भदौ २१ गते) बाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।

एनआईसी एशिया क्यापिटलले सेयरधनीलाई साढे ३ कराेड बराबरकाे लाभांश वितरण गर्ने

काठमाडाैं । एनआईसी एशिया क्यापिटल सेयरधनीलाई ३ कराेड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हाे । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।  

नेपाली अलैँचीको ‘ट्रेडमार्क’ कार्यान्वयन, एभरेस्ट विग कार्डिमम भनेर चिनिने

इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सकिन्छ । निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो । ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र(अलैँची व्यवसायी सङ्घ)ले २०६७ सालदेखि गृहकार्य शुरु गरेको थियो । विभिन्न समितिमार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिह्न र अलैँचीको दाना राखिएको छ । ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैँची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले जानकारी दिए । ट्रेडमार्क कार्यान्वयनपछि नेपाली अलैँचीको गुणस्तर सुधार हुने व्यवसायीको भनाइ छ । “हामीले अन्तर्राष्ट्रिय बजारमा अलैँची पठाउँदा ट्रेडमार्कअनुसार गुणस्तरमा ध्यान दिनुपर्छ अन्यथा अलैँची निर्यात नहुन सक्छ”, महासचिव भट्टराईले भने । ट्रेडमार्क कार्यान्वयनका लागि कानून व्यवसायी÷परामर्शदातामार्फत अलैँची निर्यात हुने मुलुकमा सन्देश पठाइएको छ । सरकारबाट लोगो जारी भएपछि भारत, पाकिस्तान र युएईमा ट्रेडमार्क पठाइएको थियो । “हाम्रोबाट मुख्य तीन देशमा बढी अलैँची जाने भएकाले यी देशमा पठाइहालेका हौँ”, भट्टराईले भने, “पाकिस्तानबाट चाहिँ लोगो स्वीकृति भएर आयो । अन्य देशमा प्रक्रियामा छ ।” ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी(एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन(सीसी)मा वर्गीकरण गरिएको छ । व्यवसायीले अलैँची निर्यातका क्रममा किसानसँग समेत वर्गीकरण छुट्याएर किन्नु पर्ने मापदण्ड रहेको महासङ्घका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । तीनवटा मापदण्डमा छुट्याउँदा किसानले अलैँचीको मूल्य पनि मापदण्डअनुसारकै गुणस्तरअनुसार फरक/फरक पाउने कार्कीको भनाइ छ । ट्रेडमार्क जारी भएलगत्तै विभिन्न मुलुकमा पठाए पनि ‘अत्यन्तै’ ढिला मात्रै प्रतिक्रिया आएको हो । “कानून व्यवसायीमार्फत काम गर्नुपर्छ । कस्तो प्रतिक्रिया आउँदैछ भनेर सोध्यौँ, ठिकै छ भन्नुहुन्छ । सबैकुरा बुझिँदैन”, महासङ्घका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, “पाकिस्तानबाट त हुन्छ भन्ने प्रतिक्रिया आयो अन्य देशबाट पनि आउँछ भन्ने प्रतीक्षामा छौँ ।” नेपालको अलैँची हालसम्म भारतकै ट्रेडमार्कमा निर्यात हुन्छ । नेपालबाट अलैँची पठाए पनि कतिपय देशमा ट्रेडमार्क नहुँदा भारतीय अलैँचीकै ब्राण्डमा चिनिन्छ । भारतमार्फत अहिले अलैँची निर्यात गर्नुपर्दा पटकपटक समस्या पर्ने गरेको छ । “भारत हाम्रो अलैँची जाने माध्यम पनि हो र प्रतिस्पर्धी पनि हो । त्यसैले समस्या आउँछ”, व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले भने, “तर ट्रेडमार्क कार्यान्वयनमा आएपछि भने केही सहज होला ।” खाडी मुलुकमा ‘हलाल सर्टिफिकेट’ अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याए पनि खाडी मुलुकमा भने नेपालबाट जाने अलैँचीमा उल्लेखनीय सुधार हुनुपर्ने व्यवसायीको भनाइ छ । खाडी मुलुकमा अलैँचीको मूल्य भने अन्य मुलुकको भन्दा बढी हुन्छ तर गुणस्तरीय बनाउन नसक्दा अलैँची नबिक्ने सम्भावना हुन्छ । “नाङ्गो हातले अलैँची टिप्न मिल्दैन र बास्नादार अलैँची चाहिन्छ”, महासङ्घका अध्यक्ष कार्कीले भने, “किसानलाई अलैँचीसम्बन्धी तालीमको खाँचो पर्छ । सबैतर्फबाट गर्नुपर्छ ।” अलैँचीको गुणस्तर सुधार्नका लागि भने सरकारी निकायको चासो बढ्नु पर्ने कार्कीको भनाइ छ । “कृषिका राम्रै मान्छेलाई पनि अलैँचीको बारेमा अझै थाहा छैन । प्रोत्साहनका कार्यक्रम चाहिन्छ”, उहाँले भन्नुभयो, “भट्टी सुधारका कार्यक्रमसमेत चाहिन्छ ।” नेपालबाट ट्रेडमार्क लागेर गएपछि बिक्री भएको मुलुकमा बाहेक अन्य मुलुकमा अलैँचीको प्याकिङ खोल्न मिल्दैन । यसले गर्दा अलैँची व्यवस्थित हुने भएकाले अलैँची गुणस्तरीय हुने बताउनुहुन्छ कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेल । “अहिले हाम्रो ९५ प्रतिशत अलैँची भारत जान्छ । ट्रेडमार्क आएपछि भने भारतकै मातहतबाट जाने अलैँची पनि हाम्रै भनेर चिनिन्छ ।” कति निर्यात हुन्छ अलैँची ? सरकारले कृषिजन्य पदार्थको निकासीमा प्रवद्र्धन गरे पनि अलैँचीको निर्यात भने घट्दो क्रममा देखिन्छ तर सरकारको प्रथमिकता अलैँचीमा कम परेको व्यवसायी बताउँछन् । भारत निर्यात गर्दा भन्सार समायोजन नहुँदा पनि व्यवसायीले बढी रकम बुझाउनु परेको व्यवसायी बताउँछन् । भारतमा उत्पादन हुने अलैँचीमा भारतको सहयोग अत्यन्तै बढी छ तर नेपालमा भने किसानको मात्र प्रयत्नले अलैँची उत्पादन हुन्छ । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणामले गिरावट आएको हो । रासस –

नबिल ब्यालेन्सड फण्ड २ र इक्वीटी फण्डको भदौ २५ गते बुक क्लोज

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्सड फण्ड २ र नबिल ब्यालेन्सड इक्वीटी फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । उनीहरुले ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने भएका हुन् । यी दुई फण्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल वितरण गर्न लागेका हुन् । जसमध्ये ब्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ । सो मिति(भदाै २५ गते) भन्दा अघिल्लो दिन अर्थात भदौ २४ गतेसम्म इकाई खरिद गरी नामसारीमा आएका सबै इकाईधनीहरुले सो मात्राको प्रतिफल पाउने छन् । सम्बन्धित समाचारः नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले लाभांश वितरण गर्ने    

चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

काठमाडाैं । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड बिस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको बिस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ । सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युत्को पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार १०० रुख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१/३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौँ चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताए । कतिपय स्थानीयवासीले बिरोध गरेपनि मुआब्जा दिइने भएकाले समस्या नहुने उनको भनाइ छ । उहाँका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्याङ्कन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उनले भने, “अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।” स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताए । काठमाडौँ महानगरपालिकाले सो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ । आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रुख काटिसकेको छ । सडक निर्माण शुरु भएपछि नै नयाँ रुख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रुख रोपिएको थियो । उनले भने, “यो खण्डमा सडक बनाइरहँदा रुख पनि रोपिनेछ ।” चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण शुरु भएको थियो । सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । विसं २०७१ मा शुरु भएको सडक निर्माण विसं २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो । चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण शुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण शुरु गर्नेछ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन शुरु गर्ने बताइएको छ । सो सडकमा दुइ ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुनेगरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । पहिलो चरणमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले छ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एक एक किमी फरकमा आकाशे पुल बन्ने छ ।

मेरो सेयरकाे ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को मेरो सेयर सफ्टवेयरमा ‘माई पोर्टफोलियो’ हेर्न सुविधा अनिश्चितकालको लागि बन्द भएको छ । मेरो सेयरको ‘माई पोर्टफोलियो’मा प्राविधिक समस्या देखिएकाले सीडीएससीले केही समयको लागि उक्त सेवा सुविधा बन्द गरेको हो । उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको छ । ‘विगत केही दिनदेखि प्राविधिक समस्याको कारणले मेरो सेयरको माई पोर्टफोलियोमा लाष्ट ट्रान्जेक्सन प्राइस(पछिल्लो कारोबारको मूल्य) तथा लाष्ट क्लोजिङ प्राइसमा अन्तिम मल्य प्राप्त गर्न सकिएकाे छैन । त्यसैले उक्त समस्या समाधानको लागि आवश्यक कार्य भइरहेकोले हालको लागि माई पोर्टफोलियो हेर्ने सुविधा बन्द गरिएको हो ।’- सीडीएससीले भन्याे । साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।

मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर फर्कियो

काठमाडाैं । बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो । बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ । हेलिकप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ । गएराति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । यहाँको बाटो क्षत्विक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन । त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाडी जान नसकेपछि थप उद्धार टोलीसहित पैदल नै घटनास्थलतर्फ गइरहेको बताए । प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन् । उनका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीबाट यहाँ ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ । नगरपालिकाको चार वटा वडामा बढी क्षति भएको उनले जानकारी दिए ।

काेराेनाकाे बिच मत्स्येन्द्रनाथको रथ तानियाे, जनस्वास्थ्य मापदण्ड पालना गरिएन

काठमाडौं । काेराेनाकाे कहरबिच ललितपुरको पुल्चोकमा रहेको युवाहरुले रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् । असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै युवाहरुले बिहान ९ बजे रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालन नगरी रथ तानेकाे हेर्नलाई ठुलाे संख्यामा मानिसहरुकाे भिड लागेकाे थियाे ।