प्लाज्मा थेरापीका लागि काेराेना निकाे भएकाहरुलाई रक्तदान गर्न अपिल
भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ । भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताए । प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा सङ्क्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा. सापकोटा बताउँछन् । क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए । उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए । भरतपुर अस्पतालले डा सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ । आवश्यकता र रगतको मौज्दातको आधारमा रगत सङ्कलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए ।
चितवनमा ४० वर्षिया महिलाकाे कोरोना सङ्क्रमणबाट मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
ढोरपाटन पहिराे: चारको शव भेटियो, बेपत्ता १३ को परिचय खुल्यो
सांकेतिक तस्विर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताए । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ । रासस
निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो । बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ । हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ । यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ । अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको छ । रासस
कामना सेवा विकास बैंकले अटो तथा होटल व्यवसायीलाई व्याजमा विशेष छुट दिने
काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्र अन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्त सम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिइसकेको छ । उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रैमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
डा. खतिवडा अर्थमन्त्रीमा दोहोरिन्छन् वा दोहोरिँदैनन् ? निर्णय भोलिको सचिवालयको हातमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोलि बिहान ११ बजे बस्दैछ । भोलिको सचिवालयले एउटा महत्वपूर्ण निर्णय गर्नेछ । बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा कसलाई मनोनयन गर्ने भन्ने बारे महत्वपूर्ण निर्णय गर्दैछ । सो पदका लागि दुई जना अर्थात नेकपाका उपाध्यक्ष बामदेव गौतम र अर्थमन्त्री डा.युवराज खतिवडाको नाम चर्चामा छ । धेरैले खतिवडा राष्ट्रियसभामा दोहोरिने सम्भावना न्यून देखेका छन् । बामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा देखाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली अहिले ठूलो दवावमा परेका छन् । किनकि डा. खतिवडा उनका प्रिय पात्र हुन् भने गौतमसँग उनको छुट्टै समझदारी भएको छ भने सचिवालयका धेरै सदस्यहरु गौतमकै पक्षमा छन् । भोलि सचिवालयको बैठक बस्ने भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बीच अहिले भेटवार्ता जारी छ । ओलीलाई भेट्न प्रचण्ड अहिले बालुवाटार पुगेका छन् । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । भोलिको बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ । त्यससँगै बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुने र ती दुई जनामध्ये कसलाई राष्ट्रिय सभामा लैजाने भन्ने निर्क्याैल हुने छ । यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुनः आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ । बहुमत सदस्य भने गौतमको पक्षमा उभिएका छन् । खतिवडाको भदौ २० गते अर्थमन्त्रीको पद स्वतः समाप्त हुँदैछ । यदि उनलाई राष्ट्रियसभामा लिइएन भने अर्थमन्त्रीको रुपमा रहेको उनको यात्रामा भदौ २१ गतेबाट बिराम लाग्नेछ । सम्बन्धित सामग्री: अर्थमन्त्री डा. युवराज खतिवडा यस कारण रुचाइएनन् प्रधानमन्त्रीसँग गौतम नजिकिँदा रक्षामन्त्री र अर्थमन्त्रीको पद धरापमा
विश्वका एक करोड ८२ लाखभन्दा बढी सङ्क्रमितले जिते काेराेना
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका छन् । यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ । हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार ४३१ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ । रुस १० लाख ५ हजार जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरस मुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ । रासस/एएफपी
काठमाडौंमा निषेधाज्ञा खुकुलो बन्यो, यी हुन् सहजै गर्न पाइने काम
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आज पुनः एक हप्ता निषेधमाज्ञा थप्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् । अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो। यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए। यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताए। यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ। [pdf id=235298]